पोखराबाट लामो दूरीको सार्वजनिक यातायात आजबाट छुट्दै, होटल तथा रेष्टुरेण्ट समेत खोलिने

सन्तोष बस्याल
पोखरा / 

कोरोना भाइरसका कारण देशमा जारी लकडाउनले करिब ६ महिना लामो दूरीका यातायात साधन थन्किएर बसे । सरकारले ७ साउनमा लकडाउनको अन्त्य गर्यो । बन्दाबन्दीको समाप्तीसँगै संक्रमण संख्या नेपालमा बढ्दै गयो । बाध्य भएर सरकारले फेरि निषेधाज्ञा गर्नुपर्यो । जसले यातायात व्यवसायीमा रहेका केही आशाहरु निराशामा परिणत भए ।

निषेधाज्ञाको चपेटामा आफ्ना १२ लाख मजदुर मर्कामा परेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई पटकपटक ज्ञापन पत्र समेत बुझायो । मागको सुनवाई नभएपछि उनीहरु असोज १ गतेबाट सरकारको अनुमति बिनानै यातायात सञ्चालन गर्ने निर्णयमा समेत पुगे ।

ICAS

त्यसपछि सरकारले असोज ५ गतेबाट लामो दूरीको गाडी गुडाउने निर्णय गर्यो । तर यातायात व्यवसायीहरुको निरन्तरको दबाब पश्चात सरकार बाध्य भएर आजबाट लामोदूरीको सवारी साधन चल्न दिइने भएको हो ।

५ महिना २५ दिन पछि आफ्ना सवारी गुड्न पाउँदा यतिबेला यातायात व्यवसायी हर्षित देखिन्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष एन कुमार शाही भन्छन्,‘ सरकार यो निर्णयलाई हामी स्वागत गर्छौ । सरकारले जारीको गरेको सुरक्षाको मापदण्डलाई अप्नाएर हामीले यातायात सञ्चालन गर्नेछौ । नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो कर्तव्य हो । भौतिक दूरी कायम राख्दै प्रत्येक दुई जनाको सिटमा एक जना मात्रै सवार गर्ने छौं ।’

शाहीले विहिबार पहिलो दिन सिमित यातायात मात्र सञ्चालन गरिने बताएका छन् । उनले भनेका छन्,‘ हामीले बिहिबार पहिलो दिन सिमित यातायात सञ्चालन गर्छौ । पोखराबाट समेत देशका अधिकांश जिल्लामा सवारी गुड्ने छन् । सेनिटाइज गरेर यात्रुलाई चढाइने छ । सवारी साधनलाई समेत पटकपटक सेनिटाइज गरिने व्यवस्था मिलाइएको छ । यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध गर्छु ।’

शाहीले भाडामा भने अघिपछि भन्दा ५० प्रतिशत महङ्गो हुने जानकारी गराएका छन् । यो सरकारको नियमाअनुसार नै भएको उनले उल्लेख गरे ।

त्यसै गरी आजैबाट हवाई उडान सँगै होटल तथा रेष्टुरेण्ट समेत सञ्चालन गर्न व्यवसायीले पाउने भएका छन् । तर विहिबार हवाई उडान भने सम्भव नभएको व्यवसायीहरुले बताएका छन् । एयरलायन्स कम्पनीका अनुसार असोज ५ गते यता उडान भर्न सम्भव छैन ।

पोखरा विमानस्थल कार्यालयका प्रमुख भोला कुमार गुरागाँइ भन्छन्,‘ पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा भरतपुर, पोखरा मुस्ताङ लगायतका क्षेत्रमा धावन मार्ग तयारी अवस्थामा रहेपनि विहिबार नै उडान भर्ने सम्भावना कम छ ।’ मौसमका कारण समेत यो सम्भव नरहेको उनले बताएका छन् ।

विभिन्न एयरलायन्स कम्पनीहरुले अग्रिम टिकट बुकिङ नगरेकाले आजबाट उडान हुने विषय अन्यौल छ । यस्तै, पोखराका होटल तथा रेष्टुरेण्टहरु आजबाट सञ्चालनमा आउने भएका छन् । विहिबार बाटै आफूहरुले समेत व्यवसाय सञ्चालन गर्ने पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी बहादुरी भट्टराई बताउँछन् । भन्छन्,‘लामोदूरीको सवारी साधन र हवाई उडान हुनेभएपछि हामीमा समेत आशा पलाएको छ । पूर्ण रुपमा सञ्चालन हुन १५ दिन लागेपनि आजैबाट केही होटल तथा रेष्टुरेण्ट भने खुल्नेछन् । अहिले हामी सरसफाई, कर्मचारी व्यवस्थापन लगायतको तयारीमा जुटेका छौं ।’

सरकारको स्वास्थ्य सुरक्षाको मापदण्डलाई आत्मसाथ गर्दै आफूहरुले व्यवसाय सञ्चालन गर्ने उनले बताएका छन् । व्यवसाय सुचारु गरिरहँदा सरकारले सहुलियत दरमा कर्मचारीको पिसिआर परीक्षणमा समेतमा साथ दिइने आशावादीमा उनी छन् ।

pokhara internet
Comments
Loading...