ICAS
Rara

प्रणय दिवस : उपहार आदान-प्रदानको मानवशास्त्र

-ई. रोशन गुरुङ/

प्रणय दिवस अब संसारको कुनै एक धर्म अथवा एक भौगोलिक क्षेत्रका मानिसहरुको पर्व मात्र रहेन । यो दिवस संसारको हरेक धर्म र हरेक भुगोलमा बसोबास गर्ने मानिसहरुको निम्ति उत्तिकै महत्वपुर्ण र सबैतिर उत्तिकै चर्चित बनिसकेको छ । अङग्रेजी पात्रोअनुसार हरेक वर्षको फेब्रुअरी १४ मा मनाईने यो पर्व विशेषत प्रेमील जोडीहरुको लागि उत्सव बनेको छ । तेश्रो शताब्दीका रोमन क्याथोलीक पादरी सेण्ट भ्यालेण्टाईनले विवाह वर्जित सैनिकहरुको विवाह गरिदिएका कारण त्यतिखेरको सत्ताले उनलाई मृत्युदण्डको सजाय दियो । उनै रोमन क्याथोलिक पादरीको सम्झनामा यो पर्व हरेक वर्ष प्रेमील जोडिहरुले विशेष रुपमा मनाउने गर्दछन ।

govnotice

हरेक जोडीले यस पर्वलाई आफ्नो तरिकाले विशेष रुपमा मनाउने गरेतापनि यो विशेष दिनमा प्रायजसो जोडीहरुको समानता भने उपहारको आदानप्रदान हो ।

यो लेखमा मैले प्रणय दिवसमा हुने उपहार आदानप्रदानको वैज्ञानिक पक्षलाई केलाउने जमर्को गरेको छु । प्रणय दिवसको दिन प्रेमील जोडिहरु किन उपहारको आदानप्रदान गर्छन ? उनीहरुको सम्बन्धमा उपहार आदानप्रदानले कसरी अहम् भुमिका निर्वाह गर्छ ? यो प्रक्रियाले सम्बन्धलाई कसरी मजबुत पार्छ ? यो लेख यिनै सवालहरुको वरिपरि घुम्नेछ ।

उपहारकै पनि धेरै लामो ईतिहास छ । हामीले विभिन्न समुदाय र सँस्कृतिमा विभिन्न किसिमको उपहार आदानप्रदानको चलन देख्न सक्छौं । म यिनै विभिन्न प्रकारका उपहार आदानप्रदानको चलनहरुको बारेमा कुराकानी गर्न गईरहेको छु । के तपाइलाई लाग्छ कसैले उपहार दियो भने उसले केह ? सामानमात्र दिएको छ ? के त्यो उपहारस्वरुप दिईएको वस्तु या सामानमा अन्य केही कुराहरुपनि जोडीएर आएको हुदैन र ? सामान्यतया, हामी उपहार आदानप्रदानको क्रममा केही वस्तु वा सामानको ओहोरदोहो मात्र देख्न सक्छौं । तर फ्रान्सिसी समाज तथा मानवशास्त्री मार्सेल मौसको धारणामा उपहारको माने यतिमात्रैमा सिमित छैन । मौसका अनुसार उपहार आदानप्रदानमा, उपहार दिने मान्छेले केही वस्तु या सामान मात्र दिएको हुदैन, सट्टामा उसले दिएको उक्त उपहारमा आफ्नो अमुल्य भावनात्मक अंश पनि गाभिएको हुन्छ । त्यसकारण, जब कसैले आफ्नो प्रियतमलाई प्रणय दिवसको अवसर पारेर उपहार दिन्छ भने त्यो उपहारसँगै उसले आफ्नो अंश पनि त्यसमा राखेर दिएको हुन्छ जसकारण उक्त उपहारले सम्बन्धहरुलाई अझ मजबुती तिर धकेल्ने काम गर्दछ ।

  • उपहारको आध्यात्मिक तथा भावनात्मक संयन्त्र

उपहारको भौतिक पाटोमात्र हुदैन । जे दिईएको छ त्यो अवश्य देखिन्छ तर देखिएको वस्तुमात्र उपहार होईन । उपहार दिने मान्छेले अदृश्य रुपमा जे कुरा उपहारसँग जोडेर दिएको हुन्छ त्यो पनि उपहार लिने मान्छेसम्म पुग्छ । ती अदृश्य कुरा माया, सम्मान, आदर, दया, खुसी या फेरि दुखहरुपनि हुनसक्छन् । समाज तथा मानवशास्त्री मौसको विचारमा, उपहार पूर्ण प्रस्तुतिकरण हो, जुन आध्यात्मिक संयन्त्रसँग जोडिएको हुन्छ, र यसले उपहार लिने र दिने दुवैलाई सम्मानको धागोमा बाँध्ने काम गर्छ ।

parichay

यसको तात्पर्य उपहार मात्र केही चिज अथा वस्तुमात्र होईन सट्टामा यो अध्यात्मको त्यो जादुयी शक्ति हो जसले उपहार लिने र दिने जोडिको सम्बन्धलाई अझ मजबुत पार्न सहयोग गर्छ । महान वैज्ञानिक आइज्याक न्युटनको चालसम्बन्धी तेश्रो नियममा भनिएको छ, हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ । जुन उपहार दिएको हुन्छ त्यसले अर्कोपटक उत्तिकै सौहार्दताकासाथ उपहार लिने मान्छेलाई उपहार दिने स्थानमा पुर्याउँछ । प्रेम नै यस्तो आध्यात्मिक शक्ति हो जसले दुईओटा आत्मालाई जोड्ने काम गर्छ । प्रेमिल जोडीहरु एकआपसमा आध्यात्मिक अथवा भावनात्मक रुपमा जोडिईरहन चाहन्छन र उपहारको आदानप्रदानले जोडीहरुलाई मजवुतिका साथ जोडिरहन मद्दत गर्छ ।

  • मुल्य सहितको उपहार

मौसको धारणामा उपहार दिने व्यक्तिले जुनसुकै वस्तु उपहारस्वरुप दिएपनि त्यो सित्तैमा भने हुदैन । सित्तैमा दिएको वस्तुको कुनै मान्यता नै हुदैन । सित्तैमा दिएको वस्तुमा कुनैपनि प्रकारको शक्ति संचय हुदैन । तर प्रकृतिक रुपमा उपहार सित्तै हुदैन, यसले चुम्बकले जस्तो काम गर्छ । उपहारको बदला उपहार चाहीं यसको प्रतिक्रिया हो । जे दिईन्छ, बदलामा अरु केही उपहार स्वरुप फिर्ता आउँछ । जब हामी बजार जान्छांै, किन आफुले चाहेको बस्तुको साटोमा रुपैयाँको अदलाबदली गर्छौ ? हामी किन रुपैयाँको अदलाबदली बिना किन केही सामान घर ल्याउन सक्दैनौ ? किनकी, ती चिजबिजहरु सित्तैमा आउँदैनन । बजारमा जे देख्छौं ति सित्तैका चिजविजहरु होईनन । त्यसकारण, हामीले जे सुकै सामान लिएपनि निर्धारित मुल्य चुकाउनुपर्छ । हामी मनचाहे वस्तुको निम्ति रुपैयाँ तिर्न जसरी राजी हुन्छौ त्यसरी नै उपहार आदानप्रदानमा पनि आफ्ना प्रियतम मान्छेहरुले दिएको सामान सित्तैको हुदैन भलै यो सित्तैको जस्तो देखिन सक्छ । यसले गर्दा लिईएको उपहारको साटो अरु नै उपहारले प्रतिपूर्ति गर्नुपर्ने हुन्छ । उपहारले यही प्रतिपूर्तिको शक्ति स्थापित गर्ने भएकोले प्रेमील जोडीहरुमा एकअर्काप्रति भावनात्मक रुपले जोडिईरहन एउटा अदृश्य धागोको काम गर्दछ ।

  • उपहारको अपुर्व प्रकृति

बजारमा पनि आदानप्रदान हुन्छ, तर त्यो बजारीय आदानप्रदान उपहारको आदानप्रदानसँग नितान्त फरक छ । कसरी ? बजारमा हामी रुपैयाँसँग सामानको अदलाबदली गर्छौं । यो सामान्य बस्तुहरुको अदलाबदली हो । र त्यो भन्दा बढि अरु केही होईन । त्यहाँ दिने व्यक्तिको बस्तुसँग कुनैपनि प्रकारको भावनात्मकता जोडिएको हुँदैन । दिने व्यक्ति यहाँ मुल्यहीन हुन्छ । सामान्यतया दिने मान्छेसँग कुनै सम्बन्ध हुदैन बरु बस्तुहरुको आदानप्रदान मात्र हुन्छ ।

तर उपहार दिनेबेलामा, उपहार र दिने व्यक्तिको विचमा बलियो सम्बन्ध हुन्छ । जब हामीले बजारमा केही सामान किन्छौ त्यतिबेला त्यो सामानको पुर्ण स्वामित्वका साथ त्यो सामान किन्छौ होईन र ? अधिकार र स्वामित्व पुर्णरुपमा साहुबाट हामीमा स्थानान्तरण हुन्छ । त्यसकारण, वस्तु दिने व्यक्तिबाट पुरै रुपमा छुट्टिएर आउँछ । तर उपहार आदानप्रदानमा, उपहार दिने व्यक्तिविना उपहार अपुर्ण हुन्छ । यसमा वस्तु बेचिएको हुँदैन जसले उपहार ग्रहण गर्ने व्यक्तिमा उपहार प्रतिपूर्तिको जिम्मेवारी थपिदिन्छ । उपहारको यही अपुर्व प्रकृतिले जोडीहरुलाई एकअर्कामा बाँधेर राख्ने काम गर्दछ ।

अन्तमा, उपहार भौतिक वस्तुमात्र होईन । उपहारमा आध्यात्मिक र भावनात्मक भावनाहरुपनि मिसिएको हुन्छ । उपहार आदानप्रदानमा, उपहार दिने व्यक्तिले एउटा वस्तुमात्र नभएर आफुभित्रको एक हिस्सापनि दिएको हुन्छ । जोडिहरु यो बारेमा जानकार भएपनि अथवा नभएपनि, उपहरले उनिहरु र उनिहरुको सम्बन्धलाई अदृश्य रुपमा बाँधेर राखेको हुन्छ । (अनुवाद : भरत छन्त्याल)

pokhara internet
Comments
Loading...