NTHMC
aama movie

अरुले गाउँ छोडे, ऊ गाउँ फर्कियो

पोखरा/

नेपाल कृषिप्रधान देश । कृषिबाटै नेपालको सम्बृद्धि सम्भव भन्दै कराउन थालेको पनि वर्षौं भयो । तर कृषिउपजको आयात घट्ने भन्दा बढ्दो छ । अर्थात आजभन्दा २० वर्ष अगाडी नेपालको कृषि उत्पादनको अवस्था जस्तो थियो अहिले त्यस्तो छैन । देशैभरी अधिकाँश जग्गा बाँझो छ । २० वर्षपछि त विकास हुनुपर्ने हो, तर झन जमीन बाँझो हुने क्रम बढ्दो छ । अर्थात मुलुक प्रगतिमा होईन, अधोगतिमा छ ।

यसको प्रमुख कारण ? सबैको सामु कारण छर्लङ्ग छ– युवाको विदेश पलायन । अर्थात मुलुक रेमिट्यान्सले धानेको छ । सरकारी तथ्यांक अनुसार अहिले पनि दैनिक एक जार ३ सय जनाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि मुलुक छोड्छन् । उता खुल्ला सिमानाबाट देश छोड्नेहरुको तथ्याँक त कसले राख्ने हो र ।

यो नेपालका ७७ वटै जिल्लाको समस्या हो । भनौं राष्ट्रिय समस्या । आफ्नो पूर्जा भएको जग्गा बाँझो राखेर नगद पैसा कमाउने विदेशिनुपर्ने । धेरैलाई बाध्यता होला, तर राष्ट्रिय विकासका हिसाबले यो समस्या नै हो । अझ घर छोड्ने चक्र कस्तो हुन्छ भने, गाउँबाट नजिकैको बजार, बजारबाट जिल्ला सदरमुकाम, जिल्ला सदरमुकामबाट प्रदेशको राजधानी, संघीय राजधानी हुँदै नजिकैका देश र अति विकसित देशमा जाने ।

गाउँ नै रित्तिने गरी धमाधम मानिसहरु विदेश गईरहेका बेला नवलपुर डेढगाउँको एउटा युवकले भने केही ‘उल्टो’ गरिरहेको थियो ८ वर्ष अघि ।

गाउँमा एसएलसी सकेर २०५९ सालमा क्याम्पस पढ्न पोखरा भित्रिएका उज्वल ओझा पढाईसँगै भविष्य पनि भविष्य पनि खोज्दै थिए । यही क्रममा उनले धेरै ठाउँमा जागिर खाए । निजी कम्पनी, शिक्षण सँस्था लगायतमा उनले जागिर खाए । साहित्य सिर्जनामा पनि रुची राख्ने ओझाले पोखराको गजल सन्ध्या स्थापना गर्नमा ठुलो योगदान पुर्याए । उनी गजल सन्ध्याको सँस्थापक सचिव हुने क्रममा थिए ।

सँस्था दर्ता गर्न नागरिकता चाहिने भएकाले नागरिकता लिन रातारात पोखराबाट डेढगाउँ पुगे । घरमा पानी पनि नपिई उनी हतार हतार नागरिकता लिएर फर्किए । उनी पोखरा फर्कंदा त सचिवमा अर्कैको नाम र नागरिकता पेश गरेर सँस्था दर्ता भईसकेको थियो ।

यो घटनाले उनको मन भरङ्ग भयो । जुन उत्साहले उनले गजल सन्ध्या स्थापना गर्न योगदान गरे, परिणाम आउने बेलामा उनी निराश भए र यो स्वभाविक पनि थियो । अनि उनको मनले पोखरा बस्न मानेन । उनी गाउँ फर्किए । एक त उनी आफ्नो मनले खाएको काम गर्नबाट बञ्चित थिए, अर्को उनलाई आर्थिक संकट पनि आईलाग्यो । ६० को दशकमा मासिक २ हजार ५ सय तनखा पाउने जागिरले पोखरा जस्तो महंगो सहरमा गुजार्न पनि कठीन नै थियो ।

‘धेरै जागिर गरियो, दुःख गरियो, योगदान गरियो । तर मलाई गजल सन्ध्यामा धोका भयो ।’ परिचय नेटवर्कसँग उनले भने, ‘पोखरामा गर्ने दुःख गाउँमै गर्छु भनेर फर्किएँ ।’

त्यसो त उनले पोखराबाट काठमाडौं हुँदै विदेशको यात्रा तय गर्न पनि सक्थे । धेरैले गरिरहेका पनि थिए र अहिले पनि विदेश जानको सँख्या घटेको छैन । तर र उनले विदेश भन्दा गाउँ नै रोजे । ‘आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो ।’ उनले भने ।

गाउँ फर्केर उनले सानो लगानीबाट खुद्रा किराना पसल चलाए । पसल राम्रै चल्दै गयो । गाउँमै पहिलो पटक दर्ता गरेरै मदिरा पसल पनि चलाए । त्यो पनि चल्यो । व्यवसायमा एक पछि अर्को सफलता हात पार्दै गएपनि उनमा उत्साह वढ्यो । अहिले उनी हार्डवेयर, ईन्टरनेट, कृषि फर्म वालुवा गिट्टी लगायतका व्यवसायमा आवद्ध छन् ।

डेढगाउँमा पहिले व्यापार गर्न पनि कठीन थियो । त्यहाँबाट पायक पर्ने ठाउँ भनेको तनहूँको दमौली र खैरेनीटार हो । समस्या थियो यातायातको । २०५२/५३ सालतिर भिमादबाट पुर्कोट, घिरिङ् हुँदै बाटो खुलेपनि त्यो बाटो खासै चल्तिको थिएन । अझै कालीगण्डकीको सकस त झनै थियो । काली गण्डकीमा पुन नहुँदा डेढगाउँलाई एक्लो जस्तै बनाईदिएको थियो । त्यहाँ दुई वर्ष अघि एकतर्फी मोटरेबल पुल बनेको छ ।

कालि गण्डकीमा पुल बनेपछि उनको व्यापार झनै उकालो लाग्यो । उनको मात्रै होईन पुरै डेढगाउँको जीवनमा परिवर्तन आयो ।

पैसा कमाएर मात्रै भएन । जीवन त कुस्त पैसा नकमाएपनि चल्छ । पैसासँगै उनमा समाजसेवाको भोक जाग्यो । साहित्यको सपना फेरी व्युँतियो । अब उनले गाउँमा, समाजमा आफ्नो भुमिका खोज्न थाले समाजले उनको क्षमता अनुसारको भुमिका पनि दिएको छ ।

उनी गाउँको माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् । कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्थाको सचिवको भुमिका पनि निर्वाह गरेका छन् । बौदीकाली गाउँपालिका शिक्षा समिति, गाउँपालिकाको राजश्व परामर्श समितिमा पनि उनी आवद्ध छन् । उनी सामुदायिक विकास मञ्चको सचिव पनि हुन् । अनि ‘करुवा’ नामक एउटा साहित्यिक पत्रिकाको सह सम्पादक पनि हुन् । गाउँमा बसेरै उनले साहित्यमा पनि उपस्थिति जनाईरहेका छन् । त्यसो त बौदीकाली गाउँपालिका आधिकारिक रुपमै साहित्यको विकासमा लागिरहेको छ ।

उनी अर्थात, उज्वल ओझा अब डेढगाउँलाई अपरिहार्य बनिसकेका छन् । डेढगाउँलाई विकास गर्न उनको भुमिका अनिवार्य जस्तै बनेको छ ।

पोखराबाट निरास भएर उनले पासपोर्ट बनाएको भए सायद गुमनाम हुन्थे होला । सहरको एउटा छेउमा एउटा घर हुन्थ्यो होला अनि विदेश आउजाउ ज्यानले धानेसम्म हुन्थ्यो होला । यही घटना उनको जीवनको ‘टर्निङ् प्वाईण्ट’ बन्यो ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?