NTHMC

असार र संस्कृति

तुलसी प्रभास
पोखरा / 

अहा, क्या दिन थिए ! असारको झरी । झमझम झरीले पनि रोक्न सक्दैनथ्यो त्यो दैनिकी । बिहान उठ्यो तातो चिया या दूध पिएर बडेमानको डोको बोक्यो । पानी आएको छ भने पानीकागज ओढेर त्यसमाथि डोको बोकेर बसेनीको खरबारीमा घाँस काट्न गइन्थ्यो । तपतप घाँसको भारीबाट पानी चुहिन्जेल डोकोमाथि दुईमुठा खापेर ल्याएपछि बल्ल आमा खुसी हुने । अनि अर्को गिलास तातो दूध पक्का । दूध पनि कुँडे भरि हुन्थ्यो । अँगेनामा तताउँदै फिँजसितको तातो दूध त्यसमाथि कुराउनी मगमग बसाएको । त्यसै बनेको हो र यो शरीर ? त्यो आनन्द कहाँ पाउन् आज यी शहरीया बच्चाहरुले !

roma

असार लागेपछि रोपाईँ सुरु हुन्थ्यो । २–४ दिन लगातार झरी परेर पारी खेतका कान्लाबाट सेताम्य पानीका धारा बगेको देखेपछि र पाखापखेराहरुमा मूल फुट्न थालेपछि हामी सम्झन्थौँ अब रोपाईँ गर्ने बेला भयो । घर नजिकैको मानडाँडाको टारी खेत । रोपाईँ गर्न निकै दुःख थियो । पहिला सिस्नेघारीबाट कुलो खनेर पानी लैजानुपर्ने । खन्दाखन्दै गैराबारीको पहिराले लगिदिन्थ्यो कुलो । फेरि खन्यो फेरि पुर्यो । त्यहाँ पनि एकप्रकारको आनन्द नै थियो । चौपारीमाथि सेन्दाई आउँथे हलो जुवा र खोक बोकेर । बिहानैदेखि गोरु घँस्साइन्थ्यो । जिरे खुर्सानी टोक्दै हली दाइले दुई थाल भात बजाउँथे । उनी पछिपछि म अघिअघि गोरु खेद्दै गइन्थ्यो । खेतालीहरु अघिदेखि नै आएर बीउ काढ्न थालिसकेका हुन्थे । गोरु नारेर सेन्दाइ जोत्न थाल्थे । हामी बाउसेहरु खेतका गरामा पानी मिलाउँदै आली लगाउन थाल्थ्यौँ । गरो तयार भएपछि खेतालीहरु रोप्न आउँथे । हिलो छ्यापाछ्याप हुन्थ्यो । ‘होओर आ’ गर्दै गोरु फर्काउँदा सेन्दाइले पनि खेतालीहरुलाई हिलाम्ये गराइदिन्थे । अनि सुरु हुन्थ्यो फेरी छेडाछेड ।

ICAS

उसिनेका मकै, बेसार, घिउ र चिनी हालेको पहेँला खाजा, अनि गोलभेँडा हालेको करेलाको अचार अर्नि हुन्थ्यो । पहिला सिस्नेघारीका नाग, सिरम, झाँक्री, भएँरलाई एउटा पातमा चढाएर बल्ल हाम्लाई खान दिनुहुन्थ्यो आमाले । जतिसुकै पानीले रुझे पनि पसिना खालखली आइरहन्थ्यो । खेतालीहरु असारे गीत गाउन थाल्थे । हामी लयमा लय मिलाइन्थ्यो । थकाइ भन्ने हुँदैनथ्यो । रोपाइँ आउँदा एउटा पर्व आए झैँ रमाइलो लाग्थ्यो हामीलाई ।

असार हरेक नेपालीको आशा अनि भरोसाको महिना हो । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा लिन्छन् यो महिनालाई नेपालीले । कृषि मै निर्भर यो देशका मनिसहरुले अपनाउने संस्कृति पनि कृषिसँगै सम्बन्धित छ अझै भनौँ कृषि पनि यो देशको संस्कृति हो । हाम्रा धेरैजसो संस्कृतिको निर्माण कृषिमै आधारित छन् । हाम्रा कृषकहरु, खेती लगाउँदा, गोडमेल गर्दा, बाली थन्क्याउँदा जुनसुकै कृषि कर्मको बेलामा पनि गीत गाएर मनोरञ्जन लिने गर्दछन् ।

parichay

विभिन्न जात—जाति, धर्म—संस्कृतिका मानिसहरूको बसोबास रहेको यस देशका बस्तीहरूमा नेपाली लोकसंस्कृतिको भण्डार रहेको हुन्छ । दिनभरि मेलापात गर्ने, साँझपख थाकेर लस्त परेको शरीर घिसार्दै उकालीका चँौतारीमा भारी बिसाएर मनको भारीलाई हलुङ्गो पार्न छेउको चिलाउनेको पात टिपेर बजाउने यस देशका बासिन्दाले लोकसंस्कृतिलाई नै मनोरञ्जनको प्रमुख साधन बनाएका हुन्छन् ।

असार कृषकहरूको कामको महिना हो । कृषकहरू असार रोपेर मंसिर फलाउँछन् । मानो खाएर मुरी उब्जाउने यस महिनामा कठोर परिश्रम गरेर खेती लगाउने काम गर्छन् । खेतमा रोपाइँ गर्दा आफ्नो थकाइ मेटाउन र मनोरञ्जन गर्न असारे गीतहरू सुसेल्छन् । रोपाइँको समयमा रोप्ने खेताल्नीहरू एक आपसमा हिलो छ्यापाछ्याप गर्दै मायाप्रीति साटसाट पनि गर्ने गर्दछन् । तन्नेरीहरू जुहारी खेल्दै सबै खेतालाहरूलाई मनोरञ्जन प्रदान गर्दछन् । कतै कतै रोपाइँमा पञ्चे बाजा समेत बजाउने प्रचलन छ । रोपाइँका बेला गाउँगाउँका कृषकहरू फाँटमा जम्मा भएर रमाइलो गर्दै रोपाइँ गर्ने गर्दछन् । नदी किनाराका फाँटमा रोपाइँ गर्न झर्दा बाटोमा पनि उनीहरु गीत गाउँदै आवतजावत गर्ने गर्दछन् । यस्तै गीतहरू गाएर आफूमात्र नभई अन्यलाई पनि आनन्दित पार्ने गर्दछन् । यसो गर्दा मनोरञ्जन प्राप्त हुनाको साथै कामको थकान पनि महसुस हुँदैन । हात हातमा काम, गलामा गीत, ओठमा मुस्कान र मनका अभिव्यक्तिहरू उनीहरुले सरल र सहज पाराले गुन्जाउने गर्दछन् । जुन कालिदासका कोमल पदावलीयुक्त कविताभन्दा कत्ति कम छैनन् ।

असारै मासको दब्दबे हिलो छि मलाई घिन लायो,
पातली नानीलाई फरिया किन्दा छबिस रिन लायो ।

छुपुमा छुपु धानै र रोपेँ हातमा बीउ छइन्जेल,
जे खानु खाइयो, जे लाउनु लाइयो आमाको जीउ छइन्जेल ।

असार कृषिको महिना हुनाका साथै लोकसंस्कृतिको पनि महिना हो । मनका पीडा, विरह पोख्ने माध्यम पनि असार हो । यही महिनामा उनीहरु शारीरिक परिश्रम गर्छन् र सँगसँगै आफ्ना मनका विरह, हाँसो, खुसी पनि गीतका माध्यमबाट अभिव्यक्त गर्दछन् । असार पन्ध्रलाई त नेपालीहरुले दहीचिउरा खाएर विशेष उत्सवका रुपमा मनाउने चलन छँदैछ । यस दिनमा एकपटक भए पनि हिलो कुच्नैपर्छ भन्ने लोकमान्यता पनि जीवितै छ । कसैले सेखु, कसैले छत्री, कसैले पानीकागज ओढेर त कोही रुझ्दै र भिज्दै रमाउँदै काम गर्दाको आनन्द शब्दमा बयान गर्नै नसकिने हुन्छ ।

अन्त्यमा, असार हाम्रो जीवनको सार हो । संस्कृति हो । जीवनपद्धति हो । रोपाईँ हाम्रो पर्व हो । यस पर्वमा गाइने गीत, यतिबेलाको खानपान, पूजाआजा सबै हाम्रा संस्कृतिका आयामहरु हुन् । यसैमा हाम्रो आत्मीयता, प्रेम र सहृदयता गाँसिएका छन् । यही संस्कृति हाम्रो सबैभन्दा गौरव गर्न लायक सम्पत्ति हो । यो देशको मौलिकता हो । तर विडम्बना, यस्तो गौरवपूर्ण जीवनशैलीबाट हामी बिमुख भैरहेका छौँ । त्यसैले त दुःखी छौँ ।

pokhara internet
Comments
Loading...