NTHMC
aama movie

पोखरा म्याराथन : प्रतिष्पर्धासँगै ‘उत्सव’

राजु गिरी, पोखरा । 
पोखराको खेलकुदको क्षेत्रमा, खेलकुदसँग चासो राख्ने जो कोहीलाई पनि भुतपूर्व खेलाडी मञ्च नौलो होईन । अझै पोखरा म्याराथनप्रति चासो राख्ने देश विदेशमा भएका जो कोहीले पनि सुन्दै आएको नाम हो भुतपूर्व खेलाडी मञ्च । २०५८ साल बैशाख ८ गते गठन भएको यो सँस्थाले विषेश गरी पोखरा म्याराथनलाई स्थापित गरेको छ ।

हालसम्म पोखरा म्याराथनका १३ वटा सँस्करण भईसकेका छन् । विभिन्न कारणले केही समय यो हुन सकेन । अहिले पुरस्कार राशीमा बृद्धि गरी पोखरा म्याराथन आयोजना हुन लागेको हो ।

भुतपूर्व खेलाडी मञ्च भन्ने वित्तिकै अर्को एउटा परियोजना पनि सम्झनामा आउँछ । त्यो हो,  पोखरा रंगशाला । पोखरा रंगशाला कुनै बेला अस्तव्यस्त थियो । असुरक्षित थियो । रंगशालामा खेलकुदका भन्दा पनि अरु गतिबिधि हुन्थे । लाहुरे तालिम देखि लिएर सवारी चालक तालिम दिने संस्थाको अनि लागू पदार्थ सेवनकर्ताहरुको कब्जामा थियो पोखरा रंगशाला ।

यस्तो अवस्थाको रंगशालालाई स्थानीय स्तरमा र पोखरालाई माया गर्ने विदेशमा बस्दै आएकाहरुसँग सहयोग उठाएर पर्खाल र गेट निर्माण गर्न यसले नेतृत्वदायी भुमिका खेलेको पनि बिर्सिन सकिन्न । पोखरा रंगशाला संरक्षणका लागि मञ्चले खेलेको भुमिका प्रशंसनीय छ ।

मञ्चले भुतपूर्व खेलाडीहरुलाई एकीकृत गर्ने कार्य पनि गर्दै आएको छ । यसले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई शुरुवात गरि निरन्तरता दिंदै आएको छ । म्याराथनलाई प्रतिस्पर्धासँगै रन फर फन (मनोरञ्जनका लागि दौड), रन फर पिस (शान्तिका लागि दौड) को अवधारणाका साथ आयोजना हुँदै आएको छ ।

सम्वृद्धि र शान्तिका लागि खेलकुदको अवधारणालाई अंगाल्दै पोखरा म्याराथनलाई निरन्तरता दिईएको भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङ बताउँछन् । उनी भन्छन्– ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अवधारणा अत्यन्त लोकप्रिय हुँदै गएको छ । त्यसमाथि मुख्य शहरमा हुने म्याराथनले विश्वमै स्थान लिँदै छ । अहिले सिटी म्याराथनलाई महोत्सवको रुपमा मनाउन समेत थालिएको छ ।’ पोखरामा आयोजना हुने म्याराथन प्रतिस्पर्धाका लागि भन्दा पनि उत्सवको रुपमा लिँदै शरिरलाई स्वास्थ्य राख्नका लागि आयोजना गरिएको गुरुङको भनाई छ ।

पोखरा म्याराथन खेलाडीको लागि मात्र नभई सबै क्षेत्रको लागि हो भन्ने म्यासेज दिन खोजिरहेको गुरुङ बताउँछन् । पर्यटन प्रवर्धनमा समेत म्याराथनले भुमिका खेलिरहेको बताउँदै यसले आपसी भाईचाराको सम्वन्धलाई पनि प्रगाढ बनाउनेमा गुरुङ विश्वस्त छन् ।

स्थानीय गतिविधि भएपनि संयुक्त राष्ट्रसंघले लिएको ‘विश्व सद्भाव शान्ति दौड’को संकल्पलाई पुरा गर्न यस म्याराथनले केही भुमिका खेल्ने उनको भनाई छ । उनी भन्छन्– ‘खेलकुदमार्फत ‘विश्व सद्भाव शान्ति दौड’ यसपटकको पोखरा म्याराथनमा झल्कनेछ । प्रतिस्पर्धासँगै शान्तिको संदेश फैलाउन १२ देशबाट सहभागिता हुदैछन् ।’ समाज सेवाका लागि समर्पित रहने च्यारिटी रनको अवधारणा पोखरा म्याराथनमा विस्तारै विकसित हुँदै गएको गुरुङको भनाई छ ।

आउँदो फागुन ३ गते हुने १४ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ७ हजार खेलप्रेमीले सहभागिता जनाउने मञ्चले विश्वास लिएको छ । यस संस्करणमा ४२.१९५ किलोमिटरको फुल म्याराथन, १० किमीको महिला र पुरुष दौड, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौड समावेश गरिएको छ । पुरस्कार राशिमा वृद्धि गरि यो पटक फुल म्याराथनको विजेताले नगद २ लाख प्राप्त गर्नेछन् । त्यसैगरि दोस्रोलाई १ लाख र तेस्रोले ७५ हजार पाउने र चौथो हुनेले १५ हजारका साथै अन्य विधामा पनि नगद पुरस्कार राखिएको छ ।

महानगर र प्रदेश सरकारसँग मञ्चको समन्वय राम्रो छैन भनिन्छ नि ? भन्ने प्रश्नमा उनी भन्छन्– ‘समन्वय राम्रै छ । साथ र सहयोगका लागि प्रतिवद्धता आएको छ । महानगर र प्रदेशको अन्तर्राष्ट्रिय भगिनी सम्वन्धले गर्दा म्याराथनलाई अझ राम्रो बनाउनेमा हामी ढुक्क छौं ।’ साथै बेलायतमा रहने खेलप्रेमीहरुको साथ र सहयोग धेरै रहेको उनी बताउँछन् ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल ह्याण्डबल संघका अध्यक्षसमेत रहेका गुरुङको यस म्याराथनमा अन्तर्राष्ट्रिय स्तरबाट आउने बौद्धिक वर्गसँग अन्तरक्रिया गराउने सोँच छ । साथै राज्यलाई योगदान दिने केही व्यक्तिलाई सम्मान गर्ने गुरुङ बताउँछन् ।

मञ्चले पूर्वखेलाडीलाई सँगै लिएर हिडेको छैन नी ? भन्ने प्रश्नमा भुतपूर्व खेलाडीलाई वास्ता नगरेको र पक्षपात गरेको भन्ने कुरा एकदमै गलत रहेको गुरुङ बताउँछन् । उनी भन्छन्– ‘सबैलाई समेट्न नसकेको अवस्था होला । किनकी सम्पर्कमा नआउने खेलाडीहरुलाई समेट्न सकेका छैनौं तर सबैलाई समेट्ने प्रयास सधै गरिरहेका छौं । खेलाडी मात्र नभई खेलप्रेमीलाई पनि हामीले समेटेर सँगसँगै अगाडी बढिरहेका छौं । नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने कार्य पनि हामीले गरेका छौं ।’ साथै खेलकुदको महत्वलाई उजागर गर्ने कार्य मञ्चले गरिरहेको अध्यक्ष गुरुङ दावी गर्छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?