तितो कफीको गुलियो अनुभव

सोभित ठकुरी
पोखरा / 

कफी एक पिय पदार्थ । प्राय जाडोमा पिउने कफी महंगो हुन्छ रे । कफीको विषयमा यति मात्र थाहा थियो । खासै कफीको विषयमा त्यति जानकारी थिएन । म एक गाउँको केटो । जानकारी होस् पनि कसरी ? उच्च शिक्षा हासिल गर्न गाउँ देखि पोखरा झरे । परिवारको आयस्थर कमजोर थियो । पढाई खर्च आफैले जुटाउनुपर्यो । हुन त मेरी आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । मेरा लागि दुख समेत झेल्नुपर्यो उहाँले । आमाको दुख देख्दा मन कुडिन्थ्यो । मैले मेरो आफ्नो पढाई खर्च जुटाउन सके भने मात्र पनि आमालाई केही राहत मिल्छ भन्ने मनमा कुरा खेलिरहन्थ्यो ।

आमाले धेरै दुख गरेर हुर्काउनु भयो, पढाउनुभयो । आमाको दुख देख्दा मनमा केही गर्ने हुटहुटी जाग्यो । कारण परिवारको आयस्तर निम्न थियो । मध्यमवर्गीय हाम्रो परिवार । आयस्रोत कमजोर भएकाले मेरो पढाई, कोठा भाडा र खानपिन लगायतका सबै खर्च आफै जुटाउनुपथ्र्यो । त्यसपछि पोखराकै एक होटलमा आबद्ध भए । जागिरे जीवन शुरु भयो ।

ICAS

होटलमा विदेशी पाहुना बढी आउने । उनीहरु ‘नेस्क्याफे’ कफी भनेर अर्डर गर्दा म अल्मल्ल हुन्थे । कारण कफीको विषयमा त्यति जानकारी थिएन । पछि थाहा भयो यो त पाउडर दुधको जस्तो धुलो हुनेरहेछ । एक कप तातोपानीमा चिनी राखेर उक्त धुलो राखेपछि कफी बन्यो ।

गाउँबाट आशा अपेक्षा लिएर शहर पसेको केटोको मनमा थुप्रै थरिका डर थिए । संघर्ष गर्दै विस्तारै जीवन चलिरहेको थियो । जे चिजको बारेमा थाहा हुदैन त्यो चिजको विषयमा जानकारी लिने मेरो सानैदेखिको बानी । कफीको बारेमा थप जानकारी लिने जिज्ञासा मनमा खेलिरहन्थ्यो । यतिबेलासम्म मैले कफीको स्वाद लिएको थिइन । बाहिर कफी खाने पैसा हुदैन्थ्यो । होटलमा कफी खाइयो भने आफु भन्दा माथिल्लो तहका कर्मचारीको डर लाग्थ्यो । कफी खाने मेरो इच्छा इच्छामै सिमित हुन्थ्यो ।

तर कफीप्रतिको मेरो मोह टुटेको थिएन । स्वादसँगै रमाउने समयको पर्खाइमा थिए म । फेरि काम पनि होटल लाइनमा थियो नि । भर्खरै १५ वर्षको पुगेको थिए । होटलले दिएको सेतो सर्ट र कालो पाईन्टमा दिनभर खटिँदा सर्टको कलर कालै हुन्थ्यो । जागिर जति गरे इमानदारी तरिकाले गरें ।

                                                                                                                       कफी घर सञ्चालक : सोभित ठकुरी

आफु भन्दा माथिल्लो तहका कर्मचारीले समेत मेरो कामको प्रशंसा गर्दा खुट्टा भुईंमा हुन्थेन । विस्तारै जीन्दगी लयमा चल्दै थियो । काम गर्दै जाँदा तलब समेत बढ्यो । होटलमा काम गर्दा आम्दानीका लागि बियरको बिर्को संकलन गर्ने समेत बानी परेको थियो । तलबमा बिर्को बेचेर आएको पैसा थप्दा केही आश जाग्यो । बल्ल कफी खाने आँट गरे । जुन मेरो महिनौ देखिको सपना थियो । कफीमा एक प्रकारको लत बसेको जस्तो अनुभुति हुन थालेको आभाष हुन्थ्यो । तर मैले कफी भने चाखेको समेत थिइन् ।

एकदिन लेकसाईडकै एउटा रेष्टुरेन्टमा पसे । आफुलाई कफीको फेलेवर ब्ल्याक, मिल्क त्यो पनि नर्मल अनि कडा (स्ट्रोङ) को बारेमा अलिअलि थाहा थियो । अर्डर गरे ‘ब्ल्याक स्ट्रोङ’ कफी । पिएको त तितो अनुभुति भयो । सँधै गुलियो चिया खानेलाई एक्कासी कफी खाँदा तितो त हुनै थियो । लाग्यो यस्तो चिज पनि कसरी पिउँछन् मान्छे ।

कारण कफी खानेदिन रातभर निद्रा लागेन । हातखुट्टा सबै भतभत पोल्यो । मनमा एककिसिमको कुरा खेलिरहयो विदेशीहरु कसरी पिउँछन् यस्तो तितो कफी । अर्को दिन बिहान ड्युटी जानै पर्यो । सधैंजसो सेतो सर्ट र कालो पाइन्ट लगाएर पुगे । जर्मनीका केही विदेशी पाहुनामहानुभावहरु थिए । उनीहरुले कफी अर्डर गरे । मैले भन्दा कडा कफी पिएका थिए उनीहरुले । अचम्म लाग्यो । त्यसपछि आफुसँगै काम गर्ने एकजना दाईलाई सोंधे कफी किन खान्छन ? कफीले के हुन्छ ? यी यावत प्रशनमा दाईको उत्तर पाएपछि भने मनको जिज्ञासा मेटियो ।

काम गर्दै गयो भने सफल एकदिन भईदोरहेछ । यदि म लेकसाइडको होटलमा आबद्ध नभएको भए कफीको विषयमा म अन्यौल नै हुन्थे सायद । वेटरबाट काम थालनी गरेको म होटलको म्यानेजर समेत भए । यतिबेलासम्म कफीको विषयमा मैले धेरै बुझिसकेको थिए ।

म जागिरे जीवनमा रहँदा आर्थिक स्थर राम्रै भएका व्याक्तिले कफी पिउने गर्थे । मेरो पनि आम्दानीमा वृद्धि भएको थियो । कसैलाई भेट्न जाँदा चिया वा कफीमा कफी मेरो रोजाई बन्न थाल्यो ।

एकसमय यस्तो आयो कमाउन थालेसँगै उडाउन समेत पछाडी परिन । कफी छोडेर रक्सीको लत लाग्यो मलाई । कारण थियो साथीभाईको सँगत । वास्तवमा सँगत भन्ने चिज पनि अनौठो हुँदो रहेछ । कुनै सँगतले तपाईलाई बनाउँछ कुनैले बिगार्छ । रक्सी नखाएको दिन हुन्थेन । रक्सीको साहार बिना निदै्र नलाग्ने भए म । रमाइलोको लागि पिएको रक्सीले पछि आफैलाई खाएको आभाष भयो । पछि छोडे ।

यो बिचमा मेरो सपना सबै अधुरा रहेका थिए । त्यसपछि जागिर मात्रै गरेर हुँदैन भन्ने लाग्यो । लेकसाईडमै मण्डला लाउण्ज बार संचालनमा ल्याए । मेरो पहिलो व्यवसाय थियो त्यो । तर पार्टनरसीपमा । आफुसँग भएको पुँजीले नपुग्ने भएपछि पार्टनरसीप व्यवसायमा जोडिन पुगे । व्यवसायको पहिलो गासमै ढुङ्गा भेटियो । मनमा एक किसिमको तनाव थियो । पार्टनरसीप व्यवसाय असफल भएपछि व्यवहारले थिच्यो । पीडा भुलाउन फेरि रक्सीको साहारा लिए । चिन्तालाई दुर भगाउन मैले दैनिक जसो रक्सी पिएकै हुन्थे । जसले मेरो क्षमता घटाएको थियो । एकअर्थमा भन्दा चिन्ताले भित्रभित्रै खाएको थियो मलाई । केही सम्झिन नसक्ने, सोच्न नसक्ने अवस्थामा पुगे म एक समय । सानो भन्दा सानो समस्या आउँदा पनि समाधानको बाटो खोज्न नसक्ने भएको थिए । मेरो व्यवसायमा समेत थप असर पुग्यो ।

हैन, विस्तारै अब रक्सीको लत छोड्नुपर्छ भन्ने सोच आयो । तर सोचेर मात्र के गर्नु ? रक्सीसँग प्यार बसेको थियो । तर पनि प्रयास न हो । छोड्नुपर्यो भनेर आँटे । सुरुमा मलाई धेरै गाह्रो भयो । रक्सी नपिउँदा छटपटी हुन्थ्यो । रातभर निद्रा लाग्थेन । लेकसाइडका रेष्टुरेन्टमा छिर्दा पहिलो नजर रक्सीमै पुग्थ्यो । आफुलाई सम्हाल्दै गए । विस्तारै दिनहरु बित्दै गए । रक्सी छोडेर कफी पिउन थाले । कफीले मलाई केही हदसम्म सहज बनायो । पछि त रक्सी जस्तै लत बस्यो कफीमा पनि । रक्सी छोडेको पनि बर्सै भएछ ।

वास्तवमा मेरो जिन्दगीको ‘टर्न पोइन्ट’ नै कफी बन्यो । स्मरण शक्ति सँगै क्षमता बढ्दै गएको आभाष भयो । कफीका फाइदा बेफाइदाका विषयमा बुझ्दै गए । पछि कफीमै लगानी गर्ने सोच पलायो र सानो आउटलेटको रुपमा कफीघरको स्थापना गरे ।

कफीले मेरो जिन्दगी फर्काइदिएको छ । केही गर्ने आट दिलाइदिएको छ । मेरा लागि त कफी हिरा सरह हो । नेपालको कफीलाई विश्वमा नै उत्कृष्ट दर्जा दिइन्छ । कफीमा लगानी गर्न सके नेपालको आर्थिक स्थरमा समेत लाभ हुने देख्छु । कफी घरको स्थापना सँगै सबैको माया पाएको छु ।

सन् २०१९ देखि पञ्च वर्षीय योजना बनाएर कफीमै लगानी गर्दै व्यवसाय विस्तार गर्ने सोचमा छु । सन् २०२० मा कफी घर स्थापना भइसकेको छ । कफी एकेडेमी समेत सञ्चालनमा आएको छ । सन् २०२१ मा उत्पादनलाई अगाडि बढाउन ‘कफी घर द अर्गानिक कफी फार्म’ संचालन गर्ने, सन् २०२२ मा नेपालका विभिन्न शहरमा कफी घरको शाखा विस्तार गर्ने र सन् २०२३ देखि आफ्नै उत्पादन नेपाली बजारसँगै विदेशमा निर्यात गर्ने मेरा अबका योजना हुन् ।

यो सबै ग्राहकसँगै मन मिल्ने साथीभाईहरुको सहयोगमा भएको उपलब्धी हो । सबैको मायाले पोखरामा हाल ‘कफी घर द कफी सप न्युरोड’,‘कफी घर द बेकरी सिमलचौर’ र ‘कफी घर द कफी एकेडेमी न्युरोड’ संचालनमा छ । यसघडी मलाई साथ दिनुहुने मेरा सबै शुभचिन्तकहरु प्रति आभारी छु । धन्यवाद ।।।

pokhara internet
Comments
Loading...