ICAS
Rara

रातो केवल प्रेमको मात्रै रङ्ग होइन

  • शर्मिला रोकामगर

रोल्पा/प्रेमको मौसम छ । प्रेमील मनहरुको यो अन्तर्मिलनको समयमा म भने उही युद्ध सम्झिरहेछु । उही दशवर्षे जनयुद्ध सम्झिरहेछु । मान्छेहरु सोच्लान्, ‘रातो गुलाफको फूलको कथा सम्झन छोडेर यो केटी किन एकतमास रातो आगोको कथा सुनाइरहन्छे ?’
मान्छे आफ्नै सपनाको कुरा गर्ने न हो । हामी त झन् लेकका केटाकेटी । सपनाजस्तो विपनालाई अंगालो हालेर बाँचेको मान्छे । युद्ध त बाँच्यौं, अब प्रेमको कथा हामीसँग कहाँ हुनु ? बन्दुकको नालमा गर्धन राखेर आएको मान्छे प्रेमको रातो गुलाफमा पनि ‘करान्ति’कै रातो रङ देख्दो रहेछ ।
म सोचिरहेछु, ‘यो प्रेम दिवसकै समयमा कसरी जनयुद्ध दिवस परेको ? के यो फगत एउटा संयोगमात्रै हो त ?’
रातो रङमात्रै होइन, यो सोचेजस्तो साधारण पनि छैन । यसले सोचभन्दा बढी विम्ब काँधमा बोकेर हिँडेको छ । यो केवल एउटामात्रै विम्वमा उभिन पनि सक्दैन । रातो रङका अनेकन अनुहार छन्, जो हाम्रै वरिपरि रुमिलिरहेका छन् ।
रातो अर्थात् रगत, जीवनको प्रतीक । रातो अर्थात् गुलाफको रङ, प्रेमको प्रतीक । रातो अर्थात् विद्रोहको रङ, क्रान्तिको प्रतीक । रातो अर्थात खतराको प्रतीक……रातो……रातो…. ।
तर, रातो मेरालागि डरको रङ हो । त्रासको प्रतीक हो । त्यही रातो रङ वरिपरि त घुमेको छ मेरो बालापनको डरलाग्दो क्षण । प्रत्येक दिन डरलाई त काखमा च्यापेर बाँचिआएको हुँ आफ्नो बालापन । अहिले सम्झना सपनाजस्तो लाग्छ । तर, त्यो त थियो एउटा सपाट सत्य ।
०००
तत्कालीन समयमा विद्रोही माओवादी र सरकार पक्षबीच जनयुद्ध चलिरहँदा त्यस रणमैदानमा सिर्फ २ पक्षमात्रै प्रभावित भइरहेको थिएन । कुनै एउटा समाजमात्रै प्रभावित भएन । कुनै एउटा अमुक व्यक्तिमात्रै प्रभावित भएन । समयको एउटा कालखण्डमात्रै प्रभावित भएन । त्यसको प्रभाव त ऐतिहासिक छ । जनयुद्धमा सामेल भएकाबाहेकका तेस्रो पक्षको घाउ अझै ठूलो छ, जो अझै निको भएको छैन । अझै मल्हमको प्रतीक्षामा छ ।
बाटोको कुनै २ जना व्यक्तिबीच झगडा पर्दा त वरिपरि मान्छेको मेला लाग्छ, र त्यो त थियो अझ जनयुद्ध १० वर्ष चलेको ।
तत्कालीन १० वर्षे जनयुद्धपछि रातो रङको डर यसरी मनमा बस्यो कि त्यसको डर अझै मनमा ज्युँदो छ । अहिले पनि कहीं कतै रातो रङ देख्यो कि डर लाग्छ । मन सशंकित हुन्छ । र एकतमासको पुरानो दिनको याद आउँछ, जतिबेला तत्कालीन माओवादी लालसेना तारा अंकित रातो रुमाल बाँधेर गाउँ पस्थे ।
रातो बाँधेर गाउँ छिरेको माओवादीको एउटै कुरा हुन्थ्यो – परिवर्तन, क्रान्ति, जनसत्ता । र उसको दुश्मन हुन्थ्यो राज्य पक्ष । माओवादी र राज्य पक्षको दुश्मनी यति नजिकको थियो कि उनीहरु आफ्नो दुश्मनीको धर्म निभाउँदा रातै रगतको खोला बगिरहेको थियो ।
र त्यो रगतमा भिजिरहेका हुन्थ्यौ हामी जनता । बीचमा हामी थियौं, र हाम्रै गर्धन र काँधमा उनीहरु हतियार राखेर जनयुद्ध सफल÷असफल बनाउने महान बाटोमा थिए । बीचका हामी भूइँमान्छे राज्यसत्तासँग पनि डराउनुपथ्र्यो र हाम्रै लागि भनेर लडेको विद्रोही पक्षसँग पनि ।
स्वतन्त्रता भन्नु खै कुन चराको नाम थियो ? शान्ति भन्नु खै कुन बादलको नाम थियो ? जुन कुनै हावा बेगले पनि हाम्रो गाउँमाथिको आकाससम्म ल्याइपु¥याएन । सुखचैन भन्नु त उहिल्यै भूमिगत भइसकेको थियो । हामी पूरा जीवनको होइन, भोलि बिहानको सूर्योदयको प्रतीक्षामा हुन्थ्यौं ।
त्यो समय नै थियो । ‘बन्दुकको नाल’बाट सुरु हुने क्रान्तिबाट अर्थोक पनि के नै पो अपेक्षा गर्न सकिन्थ्यो र ?
तत्कालीन समयमा रातो अर्थात माओवादी पक्षसँग डराइएन भने उनीहरु सोच्थे, यो राज्य सत्ताको मान्छे हो । र, उपहारमा पाइन्थ्यो – कालो मोसो र जुत्ताको माला । र राज्य सत्तासँग डराइएन भने छात्तीमा गोली । आखिर दुवैतिरबाट डर थियो हामीलाई ।
गाउँका हामीलाई हेलिकप्टरको आवाजसँग डर थियो । टाढा कतै आकासमा नेपथ्यमा आवाज सुने पनि सबथोक त्यागेर जंगल लुक्न जान्थ्यौं । आफूले ‘भुलवश’ रातो पहिरन लगाइएको रहेछ भने सबै फुकालेर लुक्नु पथ्र्यो । राज्यसत्ता रातो रङ देख्यो कि क्रान्तिकारी देख्थ्यो र गोली बर्साउँथ्यो ।
रातो रङ आफूसँग राख्नु भनेको जीवनको खतरा थियो । कामकाज गर्दै गर्दा पनि छेउछाउमा कुनै रातो रङका वस्तुमात्रै देखे पनि कुनै रुख या ठूलो ढुंगामुनी लुकाइदिन्थ्यौं । डरले मनमा यसरी डेर जमायो हामीलाई गुराँस फुल्दा पनि डर भो, लालुपाते फुल्दा पनि डर भो ।
समूहमा गाउँमा बस्नै हुन्थेन । परिवारकै सदस्य भएपनि धेरै एकै ठाउँमा बसियो भने त्यो राज्यसत्ताके नजरमा त्रान्तिकारीको झन्ड हुन्थ्यो – तत्काल मारिइने सम्भावना हुन्थ्यो । त्यही दशवर्षे जनयुद्धमा कुनै पनि समय एकै समाजका नागरिक एकै ठाउँमा भेला भएर परम्परा र संस्कार अघि बढाउने सोचै आएन ।
मान्छेलाई सबैभन्दा प्यारो जिनिस आफ्नै जीवन त रहेछ ।
रातो र राज्यको दुश्मनीले कयौं निर्दोष नागरिक रातो रगतको आहालमा छट्पटाउँदै छट्पटाउँदै अन्तिम सास फेरे । तर, मानवीयता कतै गायब थियो त्यो समय ।
निर्दोष अनुहार रगतको आहालमा डुबेको देखेर के सोच्थे होलान्, ती राता कमरेड र राज्य दुवैले ? अहिले सोच्छु – जनयुद्धमा हामीले आफन्त गुमायौं, साथी गुमायौं, सहपाठी गुमायौं । यही गुमाउनु नै त होला सायद उनीहरुले देखेको क्रान्ति….. ।
तत्कालीन विद्रोही पक्षका लडाकु युद्ध मोहले अन्धो भइसकेको थियो । रातो रङको मोह उनीहरुलाई यति भइसकेको थियो कि उनीहरुलाई आफ्नै सहोदर दाइभाइलाई समेत चिनाइदिएन । रातो रङको अहम् उनीहरुलाई न घरपरिवार चिनाइदियो न आफन्त ।
सुरुमा उनीहरुको आँखामा बसेको रातो रङ निष्पक्ष क्रान्तिको थियो । त्यसले समाजमा परिवर्तनको माग गरेको थियो । पछिपछि अहमको रङ भयो र अन्त्यमा त्यही रातो रङले यसरी आँखा ढाकिदियो कि त्यो उनीहरुले कुनै रङ छुट्याउन सक्ने स्थिति रहेन ।
रातो रङले तर्साएका गाउँबस्ति, रातो रङले उक्साएका कलिलाकेटाकेटीका मस्तिष्क र रातो र रङले रंगिएका राता सपना अन्त्यमा सबैसबै रातो अर्थात खतराको डरलाग्दो भूमरीमा परे । साना केटाकेटीको लाल सपना रातो भविष्य अन्धकार भयो । रातो क्षितिजमा उभिएका वृद्ध बाआमाको टेक्ने लठ्ठी बाँच्चियो । र, दिदीबहिनीहरुको जीवनबाट युद्धले रङ खोसेर लगिदियो र उनीहरुलाई बेरङ उभ्याइदियो– श्यामश्वेत ।
रातो रङले तर्सिएका मनहरु अझै तर्सिरहेका छौं । अझै कति समय तर्सिनु पर्ने हो थाहा छैन । भित्ताबाट भित्तेपात्रो फेरिन सुरु भएको पनि आज २५ वर्ष भइसकेछ । तर, यस समयमा आएर पनि साच्दै छु कि अझै उस्तै छ हामी रोल्पालीको दैनिकी । उनी ढुंगा, माटो र खोलानालामा उस्तै छ दिनचर्या ।
अहिले त्यसरी क्रान्तिको सपना बोेकेर युद्धमोर्चामा उभिएको पार्टी यो देशमा छैन । तर, रोल्पालीको मनमा छ । सहिदहरुको मनमा छ । त्यसमाथि हाम्रो गाउँ देशमै सबैभन्दा बढी सहिद हुने गाउँ हो – ७३ जना ।
‘हाम्रै आफन्तका लाशमाथि टेकेर सत्तामा पुगेका ‘उनीहरु’लाई अहिले ती दिन याद आउँछ कि आउँदैन होला ?’ बेलाबेला खुब सोच्ने गर्छु । तर, कसैले जनयुद्ध ठिक थिएनभन्दा बेस्मारी मन दुख्छ । जनयुद्ध एक हिसाबले ठिक थियो, अर्को हिसाब बेठिक । तर, त्यसका हरेक उपलब्धीलाई हामी नजरअन्दाज गरेर पनि त हिँड्न सक्दैनौं ।
जनयुद्ध सम्हालेका ‘कामरेडहरु’ पतन भए भन्दैमा त्यसको दोष जनयुद्धलाई दिन चाहँदिन म । २५ औं जनयुद्ध दिवसको सबैलाई शुभकामना । सबै ज्ञातअज्ञात सहिदहरुको सपना पूरा होस् ।

aama movie

https://www.facebook.com/sharmila.rokamagar

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?