महिनावारी, अन्तरजातीय विवाह र सँस्कार

अकृजा पोखरेल l 

सँस्कार के हो ? कहिलकाहीँ मलाई लाग्छ, सँस्कार एउटा यस्तो कानुन हो जलाई विभिन्न मानिसहरुले फरक फरक तरिकाले अनुशरण गरिरहेका छन् । सँस्कारलाई कसले कसरी लिन्छ ? भन्ने कुरा वैयक्तिक कुरा हो । तर मेरो हकमा सँस्कारले अलिक फरक अर्थ राख्छ । यसको कारण छ ।

मेरो कथा : 
म जब १३ वर्षकी थिएँ, पहिलोचोटी महिनावारी भएकी थिएँ । म महिनावारी हुँदाको पल एकदमै दर्दनाक अनि भयानक थियो । पहिलोपटक महिनावारी भएको दिन म गाडीमा यात्रा गर्दै थिएँ, त्यो पनि पहिलोचोटी एक्लै । कक्षा ९ को वार्षिक परिक्षा सकिएपछि म छुट्टी मनाउनका लागि बुटवलदेखि पाल्पातर्फ मेरो ठुली दिदीको घर जाँदै थिएँ । एक्लै गाडीमा यात्रा गर्नुको अनुभव पनि मेरो लागि पहिलो नै थियो ।

ICAS

बाँसटारी भन्ने स्थानमा गाडीबाट झरिसकेपछि दिदीको घर पुग्न करिब २ घण्टा पैदल हिँड्नु पथ्र्यो । त्यतिबेला मलाई एकदमै पेट दुखेको महशुस भयो । र, रक्तस्राव भएको महशुस पनि गरेँ । म डराएँ । म एक्लै रोएँ । मलाई के भैराखेको छ भन्ने नै मलाई थाहा थिएन । म सँग मोबाइल पनि थिएन । बिरानो ठाऊँमा कसलाई भनौँ, के गरौँ ? म अत्तालिएको थिएँ । त्यो अट्टाहस साँच्चै कहालिलाग्दो थियो । एउटी कलिलि बालिका, जसलाई उसको शरिरमाथि भैरहेको अचम्मको घटनाको विषयमा त्यो भन्दा पहिला केहि थाहा थिएन । शायद मेरो अन्तिम दिन यही हो भन्ने मेरो बाल मष्तिस्कमा पर्यो । म त्यो २ घण्टाको बाटो रुँदै, पेट समात्दै र डराउँदै दिदीकोमा पुगेँ ।

जब दिदीकोमा पुगेँ, अनि दिदीलाई देखेँ, म चिच्याएर रुन थालेँ । दिदी पनि डराउनुभयो । ‘के भयो ? किन रोएको ? कसले के गर्यो ? मैले एक्लै नआईज त भनेकै थिएँ नि ?’ दिदीले प्रश्नमाथि प्रश्न तेर्साउनुभयो । म रोईरहेँ ।

मैले भने–‘दिदी हेर्नुन मलाई के भयो ? मेरो त पुरै रगत बगेको छ । मलाई एकदम पेट पनि दुखेको छ । मलाई डर लागिराखेको छ ।’ यति भनिसकेपछि दिदी हाँस्नुभयो । र, भन्नुभयो,–‘तँ त ठुली भैछस् । नछुनी भईस् । अब केटाको नजिक पर्न हुँदैन ।’

दिदीले भनेको यो बोली मैले कहिल्यै बिर्सन सक्दिन । र, हाम्रो सँस्कार अनुसार पहिलोचोटी बाहिर सरेकी बालिका सूर्यबाट र केटा मान्छेबाट लुक्नुपर्छ भन्ने मलाई त्यतिबेला थाहा भयो । जुन हाम्रो सँस्कारमा रहेछ । दिदीले मलाई अँध्यारो अनि डरलाग्दो बन्द कोठामा राखिदिनुभयो । जहाँ परालको गुन्द्री, एउटा बिच्छाउने तन्नामा मैले रात गुजार्नुपर्ने थियो । त्यतिबेला मलाई दिदीले कपडाको घरेलु प्याड कसरी बनाउने भनेर पनि सिकाउनुभयो । त्यो लगाईसकेपछि जब मलाई झन् एलर्जी भयो, मलाई खुब रुन मन लाग्यो । पहिलोचोटी मलाई धिक्कार लाग्यो, कस्तो दिनमा घरबाट निस्केछु । आमालाई सम्झिएँ । र, खुब रोएँ ।

एउटी सानी १३ वर्षे बालिकाले समाजको डरलाग्दो रितिरिवाजसँग गरेको पहिलो साक्षात्कार थियो । र, त्यो दिनदेखि मलाई फेरि रक्तस्राव हुन देखि डर लाग्थ्यो । कारण थियो, सँस्कार अनि रितिरिवाज ।

समाजको त्यस्तै डरलाग्दो सँस्कारसँग धेरैपछि अर्को हिसाबले मैले साक्षात्कार गरेँ । जब मैले बिहे गरेँ नि, एउटा क्रिश्चियन धर्म अंगालिराखेको केटासँग गरेँ । म हिन्दु परिवारमा जम्मिएर हुर्केकी थिएँ । फेरि अर्को एउटा डरलाग्दो चुनौती । मैले सिकेको सँस्कार र म हुर्केको परिवेश, पुरै फरक । मैले त्यो परिवारको रितिरिवाजसँग बिल्कुलै तादाम्यता राख्दिन थिएँ । मैले त्यहि परिवारलाई चुनौती दिएकी थिएँ, जसले मलाई १३ वर्षको उमेरमा महिनावारी हुँदा हाम्रो सँस्कार अनुसार बन्द कोठामा राखेको थियो ।

बिहेपछि समाजसँगको अर्को डरलाग्दो साक्षात्कार धर्मको कारणले मात्रै भएन । जातीय कारणले अझ बढि भयो । म कठित उच्च जातीय परिवारकी छोरी हुँ भने मेरा श्रीमान कठित तल्लो जातको समुदायका युवा हुन् । हामीले समाजलाई ठाडो चुनौती दिएका थियौँ । समाज भनेको मेरो परिवार, इष्टमित्र अनि नातेदार । मेरो श्रीमानको पनि अवस्था उस्तै थियो । समाजको नजरमा हामीले हाम्रो सँस्कार, रितिरिवाज, धर्म, मूल्यमान्यता सबै भत्काएका थियौँ ।

मेरो बुझाई :
मेरो बुझाई अनुसार सँस्कार भनेको सहि कुराको अनुशरण गर्ने खालको हुनुपर्छ, न कि खराब कुरालाई लाद्ने ।

सँस्कारले मानिसलाई अनुशासित बनाउने काम गर्छ । अनुशासनमा बाँध्ने भन्दैमा कुनै व्यक्तिको वैयक्तिक अधिकारमाथि सँस्कार हाबी हुनुहुँदैन । तर नेपालको हकमा यस्तो भैरहेको छ । एक अर्काको अस्तित्व स्विकार्न नसक्ने हो भने त्यहाँ सँस्कार रहँदैन । एक अर्कालाई विभिन्न वहानामा विभेद गर्ने हो भने त्यो कुसँस्कार बन्छ ।

मैले समाजका सबै सँस्कार खराब छन् भन्न खोजेकी पक्कै होईन । नेपाली समाजमा चल्दै आएको सँस्कार निकै राम्रा र गज्जबका छन् । यीनै सँस्कारहरुले हामीलाई अझै बढि सुसज्जित गराएका हुन् । तर खराब सँस्कार हामीले छाड्नुपर्छ ।

मलाई के लाग्छ भने म जुन धार्मिक अनि साँस्कृतिक पृष्ठभुमीबाट आएँ र जुन धार्मिक पृष्ठभुमी भएको युवकसँग विवाह गरेँ, यहि कारणले मेरा सँस्कारहरु परिवर्तन हुनुपर्छ भन्ने लाग्दैन । त्यसैले मेरो हकमा कुरा गर्ने हो भने म अहिलेसम्म हिन्दु धर्मसँस्कारमै रमाईराखेकी छु भने मेरा श्रीमान क्रिश्चियन सँस्कारअनुसार नै । र, मेरो श्रीमानको परिवारलाई पनि यो चिजले खास समस्यामा पारेको छैन । त्यस्तै मेरो माईतीलाई पनि ।

समाजमा चल्दै आएको कस्तो सँस्कारलाई अनुशरण गर्ने र कस्तो सँस्कारलाई बहिष्कार गर्ने ? भन्ने कुरामा वहश गर्नुपर्ने बेला आएको छ । खराब सँस्कृतिले समाजलाई सहि बाटोमा डोर्याउँदैन ।

(अकृजा पोखरेल ज्ञान करिअर इन्स्टिच्यूटकी संचालक हुन् । उनले करिअरसम्बन्धि काउन्सिलिङ गर्दै आएकी छन् ।)

pokhara internet
Comments
Loading...