NTHMC
aama movie

शैक्षिक भ्रमण – आफ्नो परिवेश, देश अनि बल्ल विदेश

  • सञ्जीव पौडेल

यो भ्रमणको मौसम पनि हो । केही विद्यालयले विदाकै समय पारेर शैक्षिक भ्रमण सम्पन्न गरे त केहीले अबका दिनमा भ्रमण गराउने तयारीमा छन् । दार्जिलिङ–सिक्किम अधिकांश विद्यालयका घुमघामका गन्तव्य छानिँदै आएका ठाउँ हुन् । भारतका अन्य क्षेत्रमा पनि भ्रमण जाने गरेको पाइन्छ । काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनी, जनकपुर आदि नेपालका बढी प्रचलनमा आएका भ्रमणस्थलहरू हुन् । यी भ्रमणका सकारात्मक पक्ष निकै छन् तर हामीले विद्यार्थीलाई नयाँ ठाउँ घुमाउन लगिरहँदा ध्यान दिनुपर्ने कुराहरू धेरै छन् ।
लामो यात्राका बीचमा आउने एकादुई ठाउँमा झार्ने, त्यहाँ लगेर केही थान फोटा खिच्ने समय उपलब्ध गराउने अनि फेरि हतारहतार गाडीमा हुल्ने र अर्को गन्तव्यका लागि कुदिहाल्ने । अधिकांश भ्रमणमा दिनभर गाडीको लामो यात्राका क्रममा लागेको थकाइ, गाडीमा लागेको निद्रा, खानामा अरुचि र आलस्यका कारणबाट विद्यार्थी स्फुर्तिविहीन देखिन्छन् । यात्रा गर्ने तर निकै हतारमा । हतारमा यात्रा गर्दा त्यसको मजा लिन पनि सकिँदैन भने उक्त भ्रमणबाट प्राप्त गर्नुपर्ने अनुभव शून्यप्रायः हुन्छ । शैक्षिक भ्रमण त अझ विद्यार्थीलाई प्राकृतिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवम् अन्य महŒवका स्थलहरूका बारेमा यथेष्ट जानकारी र ज्ञान प्राप्त होओस् भनेर गरिन्छन् र गरिनुपर्छ । तर यसरी हतारमा दौडाएर विद्यार्थीले केही पनि अनुभूत गर्न पाएकै हुँदैनन् । अनुभव र अनुभूतिविनाको ज्ञान सर्वथा अस्थायी प्रकृतिको हुन्छ । यस्तो अवस्थामा विद्यार्थीले केही सिकेका भए तापनि छिट्टै भुलिहाल्छन् । सुनेको, पढेको भन्दा प्रत्यक्ष देखेर प्राप्त गरेको ज्ञान दीर्घकालीन हुन्छ भनेर हामी भन्छौँ तर विद्यार्थीलाई शैक्षिक भ्रमणका क्रममा नै यथेष्ट अनुभूत गर्ने समय प्रदान गर्न सक्तैनौँ । समय, अर्थ र अन्य विविध कुराका सीमितता अवश्य भ्रमणका क्रममा वाधा बनेर आउँछन् । स्रोत र साधनले भ्याएसम्म नवीन कुरा गहिरो ढङ्गले अनुभूत गर्ने गरी विद्यार्थीलाई शैक्षिक भ्रमण गराइनु अनिवार्य रहन्छ न कि भ्याएसम्म टाढा प¥याएर ‘यति जिल्ला पार गरेँ’ भन्ने खोक्रो उपलब्धिमा सीमित गराइयोस् । कति दूरी पार गरियो भन्नुभन्दा पनि कति नयाँ कुरा देखियो र सिकियो भन्ने कुरामा विद्यार्थीलाई सोचमग्न हुने गरी भ्रमण गराउन सकेमा मात्र शैक्षिक भ्रमणको उद्देश्य प्राप्त गर्न विद्यार्थीहरू सफल रहन्छन् । घुमाइ सँगसँगै सिकाइ मुख्य कुरा हो है भन्ने मानसिकता तयार गरी भ्रमणमा सहभागी गराउन सकियो भने मात्र शैक्षिक भ्रमणहरू सार्थक हुनेछन् । अन्यथा श्रद्धाविहीन श्राद्ध गरेझैँ शैक्षिक भ्रमण कर्मकाण्डी पारामा सीमित हुनेछन् । शैक्षिक भ्रमणजस्ता सह–शैक्षिक गतिविधि वर्षमा एकपटक मात्रै टाढा टाढा लगेर गराउनुभन्दा नजिकैका विशेष महत्ता बोकेका स्थलहरूमा पटकपटक छोटाछोटा भ्रमण गराउन सकियो भने बल्ल विद्यार्थीको ज्ञानको दायरा फराकिलो हुँदै जान्छ ।
महेन्द्र गुफा गएको छैन, महेन्द्र राजमार्गमा १०० किमि÷घन्टाको गतिमा हुइँकिइसक्यो । सिक्लेस नउक्लीकन सिक्किम पुगिसक्यो । ‘सात तालको वाटिका सहर’ का नामले चर्चित लेखनाथ नगरक्षेत्रमा जन्मेको बालक यहाँका सातओटा ताल देख्नै नपाई कैलालीको घोडाघोडी ताल देखिसक्यो । कास्कीको ल्वााङ गाउँ तथा लमजुङको घलेगाउँ–भुजुङ क्षेत्रको चिया वगान देख्न पाएको छैन इलाम हुँदै दार्जिलिङका चिया वगान घुमिसक्यो । हर्पन खोलाको मुहानको क्षेत्र जान भ्याएको छैन पूर्वी नेपालको हिले गइसक्यो । मट्टीखान पुगेर पर्यावरणीय सुरम्यताको आनन्द नलिईकन मुक्तिनाथको चिसो खाइसक्यो । भद्रकाली नपुगी पशुपति घुम्न भ्यायो । शान्ति स्तुपा नचढी बौद्ध पुगेर आयो । कास्कीकोटको ऐतिहासिक दरबारमा नहेरीकन गोर्खा दरबार घुमिसक्यो । आजकलका भ्रमण यस्तै भइरहेका छन् ।
आफ्नो परिवेश, इतिहास, धर्म, संस्कृति पर्यावरण र यसको अवस्थितिको गहन जानकारी प्राप्त नगरी हुर्केका बालबालिकामा माटोप्रेम जुन रूपमा झाङ्गिनु पर्ने हो त्यस रूपमा झाङ्गिन पाउँदैन । आफ्नै परिवेशका महŒवका स्थानसँग निरन्तर सान्निध्यमा रहन र एक्लै तथा समूहमा साक्षात्कार गर्ने अवसर प्रदान गर्ने हो भने मात्रै बालबालिकाले ज्ञानको मौलिक स्वाद अनुभव गर्न पाउँछन् र त्यसको अनुभूति हृदयको गहिराइसम्म सञ्चरण गर्न सक्तछन् । त्यसैले बालबालिकालाई पहिले आफ्नो परिवेश एक्लै, साथीसँग, परिवारसँग आदि विभिन्न तरिकाबाट पेटभरि घुम्न दिनुपर्छ । विभिन्न सांस्कृतिक गतिविधिमा सहभागी हुन लगाउनुपर्छ । बाल क्लब लगायतका समूह स्थापना गरी तिनमा संलग्न र सक्रिय गराउनुपर्छ । बालबालिकालाई सिर्जनामा भुल्न र सिर्जना गर्नतिर प्रेरित गर्नुपर्दछ । अनि मात्र हामीले बालबालिकाको बुझाइ र धारणाको उमेरसापेक्ष विकास गर्न सक्तछौँ ।
कतिपय विद्यालयका शैक्षिक भ्रमणमा सामाजिक विषयका विषयशिक्षक नै सहभागी भएको पाइँदैन । वास्तवमा सामाजिक विषय समाज, संस्कृति, इतिहास, भूगोल, आर्थिक उत्पादनलगायत विविध विषयसँग सम्बन्धित छ । शैक्षिक भ्रमण यिनै विषयको ज्ञानप्राप्तिमा आधारित र केन्द्रित हुन्छ । यति अन्तर्सम्बन्धित रहेको सामाजिक विषयको शिक्षक नै सहभागी नभएको भ्रमण कसरी सार्थक बन्न र उद्देश्यप्राप्तितर्फ उन्मुख हुन सक्छ ? (अन्य विषय अध्यापन गर्ने शिक्षकमा सम्बन्धित ज्ञानको कमी हुन्छ भन्न खोजिएको भने होइन) भ्रमणको गन्तव्य पनि पर्याप्त छलफलपश्चात् तय गरियोस् । गन्तव्य निश्चित भइसकेपछि त्यसका बारेमा विद्यार्थीलाई जानकारी गराइयोस् र इन्टरनेट, पुस्तक एवम् पत्रपत्रिकामार्फत थप जानकारी खोज्न लगाइयोस् । भ्रमणका क्रममा देखेजानेका कुराहरूका बारेमा केही टिपोटहरू गरून्, शिक्षकले जानकारी गराऊन्, त्यहीँका स्थानीय र सरोकारवालासँग एकछिन भलाकुसारी गरेर अन्य विविध जानकारी बटुलून् । भ्रमण सकिएपछि बालबालिकाले आफूले सिकेका नवीन ज्ञानका बारेमा केही लेखून् र कक्षामा प्रस्तुत गरून् । अनि पो शैक्षिक भ्रमण सार्थक हुन्छन् त । अधिकांश शैक्षिक भ्रमणका क्रममा विद्यार्थीसँग कलम र सानो कापी÷नोटबुक केही देखिँदैन । उनीहरू घुम्छन्, फोटो खिच्छन् र सामाजिक सञ्जालका भित्ता भर्छन्, बस् ! यत्ति हो आजकलका अधिकांश विद्यालयका शैक्षिक भ्रमणका क्रममा देखिने दृश्य र हुने असलीयत । यसबाट बालबालिकाले के चाहिँ नयाँ कुरा सिके त ? मनोरञ्जन मात्रै हो शैक्षिक भ्रमणजस्ता बढी नै खर्चालु कार्यक्रमको उपादेयता ?विद्यालयले हरेक वर्ष एउटै गन्तव्य तय गर्नु पनि भ्रमणका लागि त्यति उपयुक्त हुँदैन । एउटै घर वा छिमेकका बालबालिकाले प्रत्येक वर्ष एउटै गन्तव्य भ्रमण गरेर आउँदा परिवारका अन्य सदस्य र छिमेकले केही नयाँ कुरा पाउँदैनन् । तर जब वर्षैपिच्छे गन्तव्य फरक गरिन्छ एउटै घरमा पनि दाजुभाइ वा दिदीबहिनी फरक फरक वर्षमा फरक ठाउँमा घुमेर आएका हुन्छन् र त्यहाँका बारेमा घरमा र छिमेकमा समेत अनुभव बाँड्दछन् । यसले उक्त ठाउँमा नगएका अभिभावक तथा छिमेकीसमेत थारबहुत जानकार रहने अवसर प्राप्त गर्दछन् ।
शैक्षिक भ्रमण त यस्तो होओस्, तराईका बालबालिकाले थोरै भए पनि पहाड हिँडून्÷चढून् र पहाडी जीवन तथा परिकारको स्वाद लिऊन् । पहाडका बालबालिका हिमालका लेक र तराईका बस्तीमा पुगेर त्यहाँका उत्पादन तथा जीवनशैली बुझून् । हिमाली परिवेशका बालबालिका पहाड हुँदै तराई झरेर धेरै कुरा अनुभूत गर्न सकून् । त्यसरी भ्रमण गरिरहँदा आफ्ना परिवेशलाई नयाँ परिवेशसँग तुलना गर्दै गुण÷दोषको हिसाब गर्दै आफ्नो अन्तस्करणमा नवीन चेतनाको विकास गर्न सक्षम बनून् । तब न शैक्षिक भ्रमण शैक्षिक उद्देश्य प्राप्त्योन्मुख उन्छन् र पाठ्यक्रमले आफ्नो उद्देश्य प्राप्त गर्न सक्षम हुन्छ । उद्देश्यइतरका गतिविधिमा बालबालिकाको समय, स्वास्थ्य र सम्पत्ति खर्च गराउनुभन्दा अर्थहीन घुमफिरलाई शैक्षिक भ्रमणका नाममा सञ्चालन नगरेकै बेस ।
कुवाको भ्यागुतो एकैचोटि विशाल चउरमा आयो भने अन्योलमा पर्दछ । अन्यौलताका बीचमा उसको जीवन रसिलो बन्न सक्तैन भलै चउरको परिवेश कुवाको भन्दा धेरै फराकिलो छ । कुवाबाट अलिकति अलिकति गरेर बाहिर निकाल्दै निकाल्दै चउरमा पु¥याउने हो भने बल्ल त्यतिबेला भ्यागुतो चउरमा पनि उन्मुक्त र स्व्तन्त्र अनुभूत गर्न सक्छ । बालबालिकालाई नयाँ ठाउँ भ्रमण गराउने कुरामा पनि यही भ्यागुते प्रक्रिया लागु हुन्छ । हामी बालबालिकालाई पहिले आफ्नो परिवेशको भ्रमण गराऊँ र राम्ररी अध्ययन गर्न सक्षम तुल्याऔँ । बिस्तारै जिल्लाका तहमा उनीहरूलाई घुम्ने वातावरण सिर्जना गरौँ । जिल्लापछि छिमेकी जिल्ला हुँदै प्रदेशको भ्रमण गराउँदै देश चिनाउन सक्यौँ भने बल्ल बालबालिकाले समुचित ज्ञान हासिल गर्न सक्तछन् । नयाँ ठाउँमा भ्रमण गरिरहँदा बालबालिकाले त्यस ठाउँलाई आफ्नो स्थानीय परिवेश, जिल्ला, क्षेत्र र प्रदेशका मिल्दाजुल्दा ठाउँ, वस्तु र विषयसँग तुलना गरे भने मात्रै ज्ञान प्रभावकारी, समयसापेक्ष र अमीट तरिकाले उनीहरूका मस्तिष्कमा प्रतिबिम्बित भएर बस्दछ । त्यसबाट उनीहरूले आफ्नो ठाउँको विकासमा रहेका सबलता र अपूर्णताको आन्तरिक मूल्याङ्कन सहजै गरिसक्छन् । यसकै जगमा बालबालिकाको सिर्जनशीलता प्रष्फुटित हुन पुग्छ र भविष्यमा आफ्नो समाज र क्षेत्रको विकासका अवधारणा उनीहरूको मस्तिष्कले जन्माउन सक्छ । यसरी एउटा शैक्षिक भ्रमण समाज परिवर्तनको बलियो आधार बन्न सक्तछ । यहीँनेर पुगेर शैक्षिक भ्रमणले सार्थकता प्राप्त गर्ने हुन् । यो तहसम्म सोचेर शिक्षकले विद्यार्थीलाई शैक्षिक भ्रमणमा संलग्न गराउनु पर्दछ ।
वास्तवमा बालबालिकाको शारीरिक सँगै मानसिक विकास पनि साथसाथै हुन्छ । शारीरिक र मानसिक विकाससँगै व्यक्तिका क्षमतामा पनि वृद्धि हुँदै आउँछ । घरबाटै हो बालबालिकाले संस्कार र आचरण सिक्ने न कि छिमेकमा गएर । पहिले घरबाटै बालबालिकालाई उनीहरूको स्तर सुहाउँदा साँस्कारिक र व्यावहारिक ज्ञान भरिदिँदै जाने हो । अनि विस्तारै छिमेकको टेको टेकेर समाज बुझ्न सक्षम हुन्छन् बालबालिकाहरू । समाजको भ¥याङ चढेर देश चिन्ने र देश चिनिसकेपछि बल्ल त्यही सापेक्षतामा विश्वलाई चियाउने हो । हामीले त हाम्रा बालबालिकालाई पहिले विश्वको आँखा दियौँ । त्यही धारणाबाट उनीहरू आफ्नो देशलाई हेर्न थाले र त्यसैका सापेक्षतामा समाज र घर परिवारलाई । यसो हुँदा बालबालिकाको स्वस्फूर्त चेतनाविकासमा धेरै द्विविधा र अस्पष्टता पैदा हुँदै जान्छन् । फलतः हरेक अभिभावकले बालबालिकाको चौतर्फी विकास र ज्ञान आर्जनमा जुन स्तरको लगानी गरेको छ, त्यो प्राप्त हुँदैन । यसले अभिभावकमा असन्तुष्टि त ल्याउने नै भयो सँगसँगै बालबालिकामा पनि अभिभावकको अपेक्षा पूरा गर्न नसकेको हीनताबोध सँगसँगै परिवारसँग मत बाझिएर अलग्ग रहन मन पराउने मनोविज्ञान तयार हुन जान्छ । सामाजिकताको मूल अनुभव र जिम्मेवारी बहनको प्रारम्भिक ज्ञान सिक्नुपर्ने १८÷१९ वर्षको उमेरका युवाजमातमा देशबाहिर जाने लहर बढ्दै जानुमा यही मनोविज्ञानले काम गरेको छ ।
आफ्नै देश र परिवेश जबुझीकन टाढाटाढाका गन्तव्यमा भ्रमण गराउनु खासमा ज्ञान, अनुभव र अनुभूति सबै दृष्टिले अर्थहीन खर्चबाहेक केही हुँदैन । आफ्नै देशमा यतिका पर्यटकीय स्थलहरू हुँदाहुँदै विदेश पु¥याउनु सर्वथा बालबालिकाको सहज ज्ञानप्राप्तिको मार्ग खल्बल्याउनु सिवाय केही होइन । तलाउको बीचमा फ्याँकिएको ढुङ्गाले पनि बीचबाट क्रमशः किनारतिर आफ्ना लहरहरू फिँजाउँदै किनारसम्म पुगेर आफ्नो फैलावट तय गर्दछ । बीचबाट एकैचोटि किनारमा पुग्दैन । ज्ञानप्राप्तिको तह पनि त्यसरी नै क्रमशः निर्माण हुँदै जाने प्रक्रिया हो । यस यथार्थलाई शिक्षाको बागडोर सम्हालेर बसेका शिक्षकवर्गले बुझेर मात्र यस प्रकारका गतिविधिमा बालबालिकालाई संलग्न र सहभागी गराउँदै लैजान सक्नुपर्छ । ससाना कक्षाबाटै वरिपरिका मुख्य स्थानहरूको भ्रमणमा संलग्न गराउँदै लैजाने गर्नुपर्दछ । अधिकांश विद्यालयले एकैचोटि कक्षा १० मा पुगेपछि मात्र भ्रमण कार्यक्रममा सरिक गराएको पाइन्छ, त्यसो गर्दा बालबालिकाले देखेर जान्ने कुरामा सीमितता आउँछ । तसर्थ वर्षमा २÷४ पटक हरेक कक्षालाई छोटाछोटा भ्रमण गराउँदै बालबालिकाले जिल्लाबाहिर जानुभन्दा अगाडि जिल्ला बुझ्ने तहसम्म पु¥याऔँ । यसो गर्न सकियो भने कलेज तहमा पुग्दा बालबालिका देश बुझिसकेर विदेशका विभिन्न स्थान बुझ्ने सामथ्र्य विकास गर्दै विदेश घुम्ने तहमा पुग्दछन् । यसले देश विकासमा र देशप्रतिको मायाको भावनामा एकसाथ बढोत्तरि ल्याउँछ र देशको समृद्धिको ढोका आगामी पुस्तामा जाँदासम्ममा पूर्णतः खुलेको देख्न पाइनेछ । त्यसैले बालबालिकालाई पहिले देश घुमाऔँ, देश चिनाऔँ र आत्मनिर्भर बन्दै विदेशबाट विकास र समृद्धिको पाठ सिक्न प्रेरित गरौँ । पहिले मौलिकता चिनाऔँ, त्यसको संरक्षण गर्न सक्षम बनाऔँ र अरूका सबल पक्षलाई आफ्नो देशको माटो सिँगार्न प्रयोग गर्न सक्ने सक्षम नागरिक बनाऔँ । यसको सुरुआत विद्यालय तहबाटै गरौँ, घुमफिरलाई मौलिकता जगेर्नाका पक्षमा केन्द्रित गर्दै बालबालिकालाई जिम्मेवार बनाउँदै लगौँ । अनि बल्ल सुनौलो भविष्यको अपेक्षा गरेर नेपाली मुहारमा मुस्कान भर्न सकिनेछ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?