ICAS

माटोसँग मुटु जोड्ने अवसर

सञ्जीव पौडेल

पोखरा / 

Parichay
Infomatics

नेपालको मन्त्रीपरिषद्ले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेसँगै फेरि एकपटक गर्मागर्मी बहस सुरु भएको छ । संसदमा प्रधानमन्त्रीले स्पष्ट शब्दमा नेपालको सम्प्रभुताका बारेमा बोलेका छन् । भारतीय मिडियाले यस विषयलाई निकै आक्रामक ढङ्गले उठाएका छन् । नेपालभित्र पनि यसबारेमा ताता बहसहरू भइरहेका छन् ।

भारतले नेपाललाई सधैँ ‘छोटे भाइ’ र ‘असल मित्र’ भन्दै आएको छ । आर्थिक र सांस्कृतिक नाताबारे बोल्दै ‘रोटीबेटीको सम्बन्ध’ भन्दै आएको छ । वास्तविकता यो हो पनि कि हाम्रो आर्थिक र सांस्कृतिक प्रवृत्ति अन्य देशसँग भन्दा भारतसँग बढी नै मेल खान्छ । आवरणमा यति मीठो सम्बन्धका आयामबारे अभिव्यक्ति दिने भारत आन्तरिक रूपमा भने नेपाललाई ‘मत्स्य न्याय’ कै नीतिले हेर्दै आएको छ । यस यथार्थलाई बुझ्दाबुझ्दै पनि नेपाली नेतृत्वले भारतसँग राष्ट्रियता र सीमा सुरक्षाका सवालमा स्पष्ट अडान राख्न सकेको देखिँदैन । इतिहासदेखि नै यो क्रम निरन्तर चलिरहेको छ । यसपटक त्यो निरन्तरताको क्रमभङ्ग हुने सङ्केत देखिएको छ । यो आशाको दियोमा नेपालको शीर्ष नेतृत्वले तेल थपिरहन सक्छ कि सक्तैन, हेर्न बाँकी छ ।

मन्त्रीपरिषद्ले नक्सा परिमार्जनबारे गरेको निर्णय राष्ट्रियताका सबालमा निकै संवेदनशील विषय हो । नेपालले भारतलाई ज्यू हजुर ! गरिरहोस् भन्ने चाहन्छ । प्रजातन्त्र पुनस्र्थापनापछि त यो चाहना थप हस्तक्षेपकारी बन्दै आएको पाउँछौँ हामी । यसमा हाम्रो नेतृत्वको अदूरदर्शिता प्रमुख कारण हो । त्यो अदूरदर्शिततामा नेपाली काँग्रेस र तत्कालीन नेकपा माओवादी बढी नै जिम्मेवार देखिन्छन् ।

राणालाई फाल्नेदेखि राजतन्त्र ढाल्नेसम्मका नेपाली राजनीतिका मुख्य घटनाक्रममा भारतको सक्रियता निकै कामयावी रह्यो । भारतमै जन्मिएको काँग्रेस र भारतमै हुर्किएको तत्कालीन माओवादीका नेताहरूको पुस्ता नेपाली राजनीतिको मियोका रूपमा रहेसम्म भारतले नेपालको अस्तित्वमाथि सधैँ कुल्चिरहन्छ । हुँदै आएको पनि त्यही छ । हिजोको राजनीतिक सहयोगको सम्झाउँदै असमान सम्झौतामा नेपाली नेतृत्वलाई घुँडा टेकाउँदै आएको छ भारतले । कोशी, गण्डक, टनकपुरदेखि लिएर थुप्रै सम्झौतामा भारतले नेपाललाई ठाडै अन्याय गर्दै आएको छ । नेपाली शीर्ष नेतृत्वको भारतीय धरातलबाट उठेको राजनीति नै यसको एक मात्र प्रमुख कारण हो । यिनै घुमाईफिराई सत्तारोहण गराई आफ्नो स्वार्थ पूरा गर्ने गरी लेनदेनमा निमग्न हुँदै आएको छ भारत । नेपाली नेता प्रलोभनमा फस्ने र धम्कीमा लोत्रिने भएकाले उनीहरूलाई भारत निरन्तर अपमान गरिरहन्छ । यस क्रममा नेपाल एक सार्वभौम देश हो भन्ने कुरा भारतले भुल्दै आएको छ । यस्तै अपमानका कारण २०३३ सालमा विपी कोइराला नेपाल फर्केको घटना हामीले कदापि भुल्नुहुन्न ।

तत्कालीन माले(एमाले)का नेताहरूले नेपाली माटोकै राजनीति गरेर उठेको तर उठिसकेपछि त्यो जग भुल्दै गएको देखिन्छ । विभिन्न सन्धि सम्झौतामा उसको कतै मौन समर्थन त कतै अग्रसरताले यो प्रष्ट हुन्छ । केही नेताको समूहले एकादुई प्रयास गरे तापनि सिङ्गो नेपालको सार्वभौमिकता जोगाउने गरी परराष्ट्र नीति निर्माणमा ती पर्याप्त थिएनन् । यसको परिणाम विश्वलाई नेपालले सधैँ भारतीय आँखाले हेर्नुपर्ने अवस्था सिर्जना भयो । आज यो संस्कार जस्तै बनिसकेको अवस्था छ । माले एमाले हुँदै अहिले नेकपामा रूपान्तरित भइसकेको अवस्था छ । यस क्रममा यो दलले पनि काँग्रेसकै पदचाप पछ्यायो । नेपालमाथिको हस्तक्षेपका लागि भारतलाई लुक्नै परेन । नेपालका कम्युनिष्टहरू आन्दोलनमा भारतविरुद्ध नारा फलाक्ने तर वैयक्तिक फाइदाका लागि लम्पसार पर्ने द्वैध चरित्रबाट ग्रसित बने । नेपालको सम्प्रभु माटोले यसको चर्को मूल्य चुकाउनुप¥यो ।

सिङ्गो देशका लागि खुसीको कुरा के हो भने नेपाल सरकारले निकै ढिला भए पनि देशको सीमानाका बारेमा अडान लिएको छ । अब यसलाई संसदबाट अनुमोदन गर्न ढिलाइ गर्नुहुन्न । संविधान संशोधन गरी नेपालको यो नक्सा संविधानमा समावेश गरिहाल्नुपर्छ । नेपालमा संविधान जारी गर्ने क्रममा २०७२ मा भारतीय रवैया हामीसँग ताजै छ । संविधान र सीमानाबारे नेपालका सम्पूर्ण राजनीतिक दलहरू एकफेट हुनु सार्वभौम नेपालका लागि निकै सुखद् पक्ष हो । शासनव्यवस्था सञ्चालनका क्रममा अनेक अदूरदर्शिता प्रस्तुत गरे पनि सार्वभौमिकताका सबालमा सरकारलाई धन्यवाद दिनैपर्छ । सरकारलाई साथ दिएकामा अन्य दललाई पनि आभार प्रकट गर्नैपर्छ । यसर्थ कि कमसेकम देश दुख्दा सबैलाई एकैपटक दुख्यो र माटोको सुगन्ध सबै नेताको नाकले उत्तिकै मन परायो । यही हो देशको समृद्धिको यात्रामा नयाँ खुट्किलो ।

यस विषयलाई निहुँ बनाएर फेरि पनि भारतले हामीलाई दुःख दिन सक्छ । नाकाबन्दी ताजै छ । सीमाविवाद भारतको अर्को ‘बार्गेनिङ पोइन्ट’ बन्ने निश्चित छ । माटोलाई सत्ता र शक्तिसँग नेतृत्वले सौदाबाजी नगरोस् । भारतले कुनै कठोर कदम चाल्नेमा कुनै शङ्का छैन । सके थर्काउने नत्र मर्काउने उसको रणनीति हुने देखिन्छ । भारतीय मिडियामा नेपालको यस कदमबारे जुन हङ्गामा भएको छ, यसले भारत सरकारलाई नेपालप्रति आक्रामक बन्न उक्साइरहेको छ । भरतले कालापानी समेटेर आफ्नो नक्सा तयार पारेपछि नेपालले छलफलका लागि आग्रह ग¥यो तर भारत तयार भएन । नेपालले त्यसको जवाफ नक्सा जारी गरेर दियो । सधैँ सहेरै बस्ने काम नेपालले गर्नुहुन्न किनकि नेपाल सार्वभौम मुलुक हो । नेपाली जनताकाप्रतिनिधिको सार्वभौम संविधानसभाले जारी गरेको संविधान र सार्वभौम संसदले सर्वसम्मतले गरेको संशोधनप्रति भारतले मुख खोलिरहे सिङ्गो देश एकढिक्का भएर दह्रो जवाफ दिनुको विकल्प अब छैन ।

नेपालका दलहरूमा निरन्तर आन्तरिक कटुता रहँदै आयो । भारतले हस्तक्षेप बढाएर यसको गलत फाइदा उठायो । यसले नेपालको राजनीतिलाई अस्थिर तुल्याइरह्यो । संसद खरिद बिक्रीजस्ता घृणित खेल खेलिए । संसददेखि सिंहदरबार फोहोरी राजनीतिको खेलमैदान बन्यो । भारतले कसै न कसैलाई बोकिरह्यो र औँला हालिरह्यो । हाम्रो नेतृत्वले सपेराको सर्प बनेर नाङ्गो नाच प्रस्तुत गरिरह्यो । नेपालको सत्ता बनाउनेदेखि ढाल्नेसम्मका हर्कतमा भारतको प्रत्यक्ष संलग्नता हुने गरेको कुरा राजनीतिक दलकै नेताले बेलाबेला स्विकारेका छन् ।

एक भारतीय अधिकारीले नक्सा बनाउँदा नेपाललाई चीनले कतिमा किन्यो ? भन्दै मिडियामा प्रश्न गरे । यसको अन्तर्वस्तु निकै गहन छ । यसले भारतले विभिन्न निर्णय प्रक्र्रियामा नेपाली नेतालाई प्रलोभन देखाउँदै निर्णय गराउँदै प्रष्ट पार्छ । यो सत्य छिपाएर छिप्ने अवस्था अब रहेन । ससाना फाइदाका लागि ठूलाठूला मूल्य चुकाउँदै आएको नेतृत्व अब पनि राष्ट्रिय स्वार्थको अडानमा नरहने हो भने स्थिति निकै भयावह हुन सक्छ । भोलि राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ ।

सबै राजनीतिक दल मिलेर राजनीतिनिरपेक्ष विज्ञको टोली बनाई नेपालको स्पष्ट परराष्ट्र नीति निर्माण गर्ने जिम्मा दिनुपर्छ । देश कहिलेसम्म पार्टीगत र व्यक्तिगत परराष्ट्र नीति बनाएर चल्ने ? यही प्रवृत्तिले हाम्रो कूटनीतिक क्षेत्र शिथिल छ ।यसले हाम्रो स्वतन्त्र हैसियत विश्वमाझ गुम्दै जाँदो छ । यसको सिकार राजनीतिक नेता स्वयं पनि हुने गरेकाले अब आँखा खुल्नुपर्छ ।

देशको सार्वभौमिकतालाई बलियो बनाउने अवसर यही हो । माटोको माया थप गाढा बनाई मुटुमा टाँस्ने मौका यही हो । कोरोनाको सङ्क्रमणसँगै विश्वभर छरिएका नेपालीको मन नेपाल फर्किरहेको छ । उनीहरूलाई कसरी देशमा फर्काउने भन्ने कुरा नेपालको राजनीतिक नेतृत्वले अब सोच्नुपर्छ ।

देशको सार्वभौमिकता विदेशीले मिचिरहेको बेला सबै नेपाली नबोल्ने हो भने भोलि उसले देशै निल्न बेर लाग्दैन । अबका दिनमा भारतले चाल्ने कठोर कदमका परिणामहरू भोग्नका लागि हामी जनतालाई तयार गर्न सक्नुपर्छ नेतृत्वले । कूटनीतिक पहल भत्केको अवस्थामा नाकाबन्दी लगाउन सक्छ भारतले । त्यस्तो बेलामा जनजीवनलाई सहज बनाउन पेट्रोलियम पदार्थ (इन्धन), निर्माण सामग्री, नवीन प्रविधि र खाद्यसामग्री को विकल्प आजैदेखि खोज्दै जानुपर्दछ । त्यस अवस्थामा कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण गरिनुपर्छ । माटोेको रक्षाका लागि केही कष्ट सहनका लागि सबै नेपालीलाई सम्पूर्ण राजनीतिक नेतृत्वले साझा अपिल गर्नुपर्छ । भूपरिवेष्ठित देशका अधिकारका लागि संयुक्त राष्ट्रसंघ एवम् विश्व व्यापार संगठनमार्फत पहल गर्दै जानुपर्दछ ।

विभिन्न बहानामा भारतको दादागिरी कहिलेसम्म सहेर बस्ने ? देशलाई अघोषित उपनिवेशबाट उन्मुक्ति दिनका लागि यो उपयुक्त अवसर हो । यस्तो अवसर सधैँ सधैँ आउँदैन । गोपालप्रसाद रिमालले भनेझैँ ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ । त्यो दिन र अवसर चिनेर नेपाली राजनीतिक नेतृत्वले आफूलाई दह्रोसँग उभ्याओस् । साथमा तीनकरोड नेपालीका छ करोड गोडाहरू सँगसँगै उभिनेछन् । छ करोड मुठ्ठीहरू एकसाथ बटारिन तयार छन् । नेताले त्यो आँट गर्नुप¥यो । मुटु दह्रो पार्नुप¥यो । त्यसैले यो ऐतिहासिक निर्णय लिने घडी हो । यसका लागि सुझबुझपूर्ण तबरले यथासम्भव कूटनीतिक पहल गरिनुपर्छ । कूटनीतिक तबरबाट जाँदा पेलानमा मात्र परिने सम्भावना देखिएको बखत देशले माटोको रक्षाका लागि कष्ट उठाउनै पर्दछ । बुद्ध र जनकको पावन भूमिको रक्षाका लागि कठिनाइ भोग्न तयार हुनैपर्दछ । नेपाल आमाको छातीको सुरक्षाका लागि सन्तति ढाल बन्नुपर्दछ । सगरमाथाको उचाइ कायम राख्नका लागि एकजुट भएर उभिनैपर्दछ ।

सानो मिहिनेत र लरतरो बलिदानीले कुनै पनि राष्ट्रले स्वाधीनता र स्वतन्त्रता प्राप्त गरेका छैनन् । घरभित्रकै तानासाह (राणा, पञ्चायत, राजा) मिल्काएका हामी छिमेकीको तानासाही थप सहन सक्तैनौँ । ‘छोटे भाइ’ भन्दै कहिले कान निमोठ्ने, कहिले घाँटी अँठ्याउने, कहिले ढाडमा लात्ती बर्साउने गरिरहने ऊ, भ्रातृत्वको मन्त्र जप्दै सही मात्र रहने हामी ? कहिलेसम्म ? त्यसैले विवादको यही बिन्दुबाट कूटनीति बलियो बनाउँदै राष्ट्रिय स्वार्थमा सम्झौता नगर्ने परराष्ट्र नीति निर्माण गरिहाल्नुपर्छ ।

यस कार्यलाई सम्पन्न गर्न यतिबेला युवा नेतृत्वको भूमिका अहम रहन्छ । जसले ज्यादतीका विरुद्ध र जनाधिकारका पक्षमा देशभित्रै राजनीति गरे । यही राजनीतिक संस्कारमा आफूलाई हुर्काए । सबै राजनीतिक दलमा रहेको युवा नेतृत्वले आफ्नो शीर्ष नेतृत्व र सरकारलाई नैतिक तागत भर्नुपर्दछ । राजनीतिको नेपाली जगमा उभिएको नयाँ पुस्ताले माथिल्ला तहमा पुगेपछि हुने वैदेशिक हस्तक्षेपलाई चिर्ने गरी कार्य गर्न सक्नुपर्छ । विगतमा आफ्नो मुद्दा सफल बनाउन अवरोध गरी राष्ट्रियताको अडान लिएका नेताको मृत्यु शङ्कास्पद रहने गरेका समाचारहरूप्रति निकै संवेदनशील बन्दै नयाँ कदम चाल्नुपर्छ । दल छोडेर देशका लागि एकजुट हुने साहस देखाउन सक्नुपर्छ । विविध उपाय अपनाउँदै वैदेशिक हस्तक्षेपको सम्भावना भएका हर क्षेत्रका ढोका एक एक गरी बन्द गर्नेतिर लाग्नुपर्छ ।

युवा पुस्ताको यस प्रकारको कार्यलाई अघिल्लो पुस्ताको राजनीतिक नेतृत्वले साथ दिनुपर्दछ । आफू भोगेका वैदेशिक हस्तक्षेप, प्रलोभन, डर, धाक, धम्की आदिका घटनालाई खुलस्त पार्नुपर्छ । यो सत्य छोपिएको पर्दा च्यातेर जनतालाई छर्लङ्ग पार्नुपर्दछ । यस प्रकारका हस्तक्षेपसँग लड्नका लागि आवश्यक सुझाउ युवा नेतृत्वलाई दिनुपर्छ । यसो हुन सक्यो भने बल्ल आगामी दिनमा नेपाली राजनीतिले राष्ट्रियताजोगाउन सक्छ । यससँगै स्वाभिमान र स्वाधीनता हामीले गाउने स्वदेश गान जत्तिकै गाढा बन्नेछ । आत्मनिर्भरताको द्वार खुल्नेछ । परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्ने कार्यका लागि मार्ग प्रशस्त हुनेछ । नेपालीको सीप नेपालको विकासका लागि प्रयोग हुनेछ । हामी वास्तवमै एक÷दुई दशकमै समृद्ध राष्ट्र बनाउन सक्नेछौँ । पहिले जमिन जोगाऔँ, जनतालाई पनि सङ्क्रमणबाट जोगाऔँ । जमिन र जनतालाई एकसाथ समृद्ध तुल्याउने योजना निर्माण गरौँ र देशनिर्माणको नयाँ अध्यायको थालनी गरौँ । विकासको नेपाली मोडेल तयार गरौँ । माटोलाई मुटुसँग जोड्ने यो अवसर खेर नफालौँ । तीन करोड नेपाली मुटुलाई एउटै सूत्रमा बाँध्ने यो अवसरलाई सदुपयोग गरौँ ।

pokhara internet
Comments
Loading...