ICAS
Rara

गोयवल्स गोकुल बाँस्कोटाको बहिर्गमन

सम्पादकीय /

मुलुकका सञ्चार तथा सूचनामन्त्री एवम् सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रक्रियाको कमिसन प्रकरणका कारण बहिर्गमन भए । बाँस्कोटाले वार्तालापको श्रव्य सामग्री सार्वजनिक भएपछि ‘नैतिकता’को आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । हिटलरका सञ्चारमन्त्री जोसेफ गोयवल्स जस्तै गोकुलको नाम यसघडी बदनाम भइसकेको छ । सुनपानी छर्केर उनी चोखिनेवाला छैनन् । राजीनामाले मात्रै प्रकरण टुङ्गोमा पुग्दैन अख्तियारले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । प्रधानमन्त्री ओलीका अत्यन्तै हित्तचित्त मिल्ने विश्वासपात्र, दाहिने हात, बालकोटको निजी निवासमा बस्ने पुत्र सरहका बाँस्कोटाको यो हर्कतले ओलीको ओझलाई तेजोबोध गरेको छ । भ्रष्टाचारविरुद्धको ‘शून्य सहनशीलता’को शंखघोष हास्यस्पद बनेको छ । कम्युनिस्ट रुझानले ओतप्रोत भएका नेतामा देखिने साँस्कृतिक विचलनको यो भन्दा भद्धा अर्को स्याम्पल सायद नहोला । सार्वजनिक खरिद नियमावलीका सामान्य कुरालाई पनि बर्खिलाप गर्दै जी टु जी मोडेलमा लान प्रधानमन्त्री ओलीको लचकता थियो । ओली भ्रमणले यसमा गहन चासो दिएको थियो । ११ अर्वको सेक्युरिटी प्रेस कमिसनको बार्गेनिङमा २३ अर्बमा खरिद गर्ने प्रक्रिया हुँदा लेखासमितिमा भ्रष्टाचार छानविन गरिपाउँ भनेर उजु्री परिसकेको थियो ।

parichay

समृद्धिका लागि तयार हुने मेघा परियोजना र सेवा प्राप्तिमा कस्ता र कुन खालका कमिसनका खेल हुँदारहेछन् यस प्रकरण प्रष्ट पारेको छ । राणाशासन र पञ्चायती व्यवस्थालाई समेत यी र यस्ता पात्रले उछिनेका छन् । स्वीस कम्पनीका नेपाली ऐजेन्ट विजयप्रकाश मिश्र शर्माले कसरत गर्दागर्दै पनि हार खाएपछि श्रव्य सामग्री वाध्य भएर सार्वजनिक गरेका पुष्टि भएको छ । गोकुल र मिश्रको डायलग सिधै कमिसनको रकमसँग जोडिएको छ । यस अघि यो सामग्री नेकपाका महासचिव विष्ण पौडेलले सुनेर प्रधानमन्त्री ओलीलाई पनि जानकारी गराएका थिए । गोकुलले आफ्नो वचावटका लागि निर्धक्क भने ‘खाएको विष लाग्छ नखाएको विष लाग्दैन’ यो उखान ओलीेले भन्नु पर्ने थियो तर भनेनन् र उनले राजीनामा दिए । ओलीले साङ्केतिक वचावटका लागि काभ्रेको मन्तव्यमा गोकुललाई उचाले पनि मृग मार्न सकेन् । स्वीससँग मनग्ने आम्दानी नहुने छाँटकाँट देखेपछि फ्रान्सेली कम्पनीलाई काम दिने प्रपञ्च पनि बुनिएको थियो । उनले स्वीसकै खर्चपानी र दानापानीमा भ्रमण गर्न समेत भ्याएका थिए । यो आफैमा मोलाहिजा हो । मोलाहिजा गर्नु स्वत् भ्रष्टाचार गर्नु वा सो सरह हो । सुशासनको वाधक अपारदर्शितालाई मलजल र गोडमेल गर्ने गोकुल फल नलाग्दै गो आउटमा परे ।

सरकारका प्रवक्ता समेत रहेका उनले मन्त्रिपरिषद्का निर्णय किस्ताबन्दीमा ढिलोगरी सार्वजनिक गर्नु अँध्यारोको सङ्केत थियो । मुलुकलाई ऋणमा डुबाउने र मन्त्री मोटाउने परिपाटीको अन्त्य नागरिक चाहिरहँदा खबरदारी गर्ने सञ्चार जगत्लाई उनले दाम्लो लगाए । सञ्चार अध्यादेश सदनबाट पारित गराए पनि प्रेसलाई अधिनायकवादी सिद्धान्तमा हिडाउन गोकुल असफल भए । अरुलाई सदाचारको संस्कार सिकाउनुपर्ने सञ्चारमन्त्रीले आफै भ्रष्टाचारको बाटोमा यात्रा गरे । आफ्नै कर्मचारीलाई पनि उनले अपमान र अमर्यादित शब्द खर्चे । ओलीको मायाले फुर्किएका गोकुल निमित्त पात्र मात्रै हुन् प्रवृत्ति कायम नै छ । उनी सरकारका प्रतिरक्षक र विपक्षी तथा प्रेसका कटु आलोचक आम नागरिकका लागि पनि प्रिय मानिस थिएनन् । ऐन बखतमा अख्तियारले आफ्नो ल्याकत र क्षमतालाई अनुसन्धानको कसीमा खरो उतार्नुपर्छ । लाइन मिलाएर गरिने भ्रष्टाचार र सेटिङमा हुने भ्रष्टाचारको छानविनमा नीतिगत निर्णय तगारो बन्नु हुँदैन् । सार्वजनिक खरिद पारदर्शी नहुँदा नागरिकका आँखामा पट्टी बाध्ने प्रयत्न सफल हुँदैन् । गोकुलको हकमा राजीनामा मात्रै पर्याप्त हुँदैन् उनलाई अविलम्ब गिरफ्तार गरी अनुसन्धानका लागि ठाउँमा पु¥याउन सरकार चुक्नु हुँदैन् । कानुनभन्दामाथि गोकुल किमार्थ छैनन् । सत्ता र शक्तिमा रहँदासम्म मात्र उनका लागि समय शक्तिशाली थियो । मरेको बाघको जुंगा उखेल्नु कठिन काम होइन । यो पुष्टि गर्नै पर्दैन संस्थागत र नीतिगत भ्रष्टाचार हो यसमा अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर निर्धक्क निर्भीक अनुसन्धान गरी मुलुकको हितमा काम गर्न अपरिहार्य छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?