ICAS

‘रेडक्रस र मानवीय सेवा सँगसँगै हिंड्छन्’ (भिडियो अन्तरवार्ता सहित)

पोखरा / 

विश्वमा रेडक्रसको इतिहास

Parichay
Infomatics

विश्व रेडक्रसको कुराकानी गर्दा हामीले जाँ हेनरी ड्युनाको नामलाई सम्झिने गर्छौं । रेडक्रसको संस्थापक र हामी सबैको प्रेरणाको स्रोत उहाँ हुनुहुन्छ । सन् १८५९ मा उहाँ आफ्नो व्यापारिक कामको शिलशिलामा फ्रान्सका सम्राट नेपोलियनलाई भेट्न गएको बेला अत्यन्तै ठूलो युद्धको सामना गर्नुपर्यो । त्यतिबेला एकातिर अष्ट्रिया र अर्कोतिर इटली र फ्रान्सबिचको इटलीको सल्फेरिनो भन्ने स्थानमा युद्ध भइरहेको थियो । युद्धको भयानक स्थिति ड्युनाको आँखामा पर्यो । मान्छेहरु रगतैरगत भएको, पानी पिउन नपाएको, पीडा खेपीरहेको दृश्यले ड्युनाको मन थाम्न सकेन । विभत्स घटना देखिसकेपछि ड्युनाले वरिपरिका सबै गाउँलेहरु बोलाएर कुनै पनि पक्षमा नलागी युद्धका दुवै पक्षका सैनिकहरुलाई उपचार गर्ने काममा लाग्नुभयो । त्यसपछि ड्युनाको मनमा संसारमा कसैको पक्षमा नभएर निश्पक्ष मानवीय सेवामा लाग्ने गरी एउटा संस्थाको उदय हुनुपर्छ भन्ने लाग्यो । जसले अप्ठेरो, गाह्रो साह्रोमा परेका मान्छेहरुलाई उद्धार गर्ने काम गरोस् । उक्त कल्पना अनुसार ड्युनाले सन् १८६३ मा रेडक्रसको स्थापना गर्नुभयो । तर विश्व रेडक्रस दिवस भने हेनरी ड्युनाको जन्मदिन मे ८ का दिन मनाइन्छ । उहाँको जन्म सन् १८२८ को मे ८ मा भएको थियो ।

नेपालमा रेडक्रसको इतिहास

विश्वमा रेडक्रस स्थापना भएको एक सय वर्षपछि सन् १९६३ मा नेपालमा रेडक्रसको स्थापना भयो । त्यतिबेला नेपालमा पञ्चायती शासन व्यवस्था थियो । राजतन्त्रको सक्रियता देखिन्थ्यो । दरबारकै नेतृत्वमा रेडक्रस चल्थ्यो । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य र बहदुलको स्थापना भएपछि राजदरबारले रेडक्रस सञ्चालन गर्न पाएन । सार्वजनिक नागरिकले नै रेडक्रसको नेतृत्व गर्ने अवसर पाए । हाल नेपालका सम्पूर्ण जिल्लाहरुमा रेडक्रस शाखा उपशाखाहरु छन् । जून केन्द्रीय विधान अनुसारनै चलेका छन् । हरेक चार वर्षमा अधिवशेन भएर नयाँ नेतृत्व आउँछ । यसरी नेपालमा रेडक्रसको सञ्चालन भइरहेको छ ।

रेडक्रस गर्ने सेवाहरु

रेडक्रसले गर्ने सेवाहरु धेरै छन् । युद्धको मैदानबाट जन्मेको रेडक्रस पहिलो काम भनेको पिडितहरुको जीवन बचाउने काम थियो । तर अहिले रेडक्रसको कार्यक्षेत्र फराकिलो हुँदै आएको छ । स्थापनाको लामो समयको अन्तरालमा रेडक्रसले गर्ने कामका दायराहरु फराकिला भएका छन् । प्रमूख रुपमा मानवीय विपत्तिमा रेडक्रसले काम गर्छ । २०७२ सालको भूकम्पमा रेडक्रसले सबैभन्दा अगाडी रहेर मानवीय सेवा प्रवाह गर्यो । हाल कोरोना रोकथामका लागि समेत स्थानिय तहसँग समन्वय गरेर हामी अगाडी बढेका छौं ।

आर्थिक व्यवस्थापन

रेडक्रसले जनताबाटै पैसा उठाएर जनताकै लागि सेवा गरिरहेको छ । विश्वभर रहेका रेडक्रसले चन्दा उठाएर नै आफ्ना कार्यक्रमहरु गरिरहेको हुन्छ । अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरेर नितान्त मानवीय सेवामा समर्पित भई रेडक्रसले सेवा प्रदान गरिरहेको छ । एक देशमा परेको विपतमा अर्को देशको रेडक्रसले सहयोग गर्ने प्रवृत्तिले भ्रातृत्वको विकास गरेको छ । सरकारी पैसामा रेडक्रस चलेको छैन । अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा रेडक्रसको आर्थिक व्यवस्थापन सुचारु छ । कास्कीको हकमा सिर्जनाचोकमा रहेको रेडक्रसको भवनमा केही सटरहरु भाडामा दिएको छ । त्यस्तै रेडक्रसकै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रको भवनमा भएका सटरहरु भाडामा छन् । भाडाबाट उठेको रकमबाट रेडक्रसको सम्पूर्ण आर्थिक व्यवस्थापन गर्न सहज भएको छ ।

रेडक्रसमा भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ

रेडक्रस सामाजिक संस्था हो । भ्रष्टचारका विषयमा केही समाचारहरु सम्पे्रषण नभएका होइनन् । रेडक्रसमा रहेर जो कोही भ्रष्टचारमा संलग्न छ, त्यस्तालाई हदैसम्मको कारबाहीको माग हामी गर्छौ । एक जनाले गर्दा सम्पूर्ण रेडक्रस कर्मीलाई बदनाम गर्नहुदैन । भ्रष्टचार गर्नु गलत हो । कास्की रेडक्रस स्वाभीमानपूर्वक चलिरहेको छ । आर्थिक पारदर्शिताको साथ हामीले काम गरिरहेका छांै । रेडक्रस केन्द्रीय कार्यालयका सन्दर्भमा बेलाबेलामा भ्रष्टचारका भएको थाहा हामीले पनि पाएका छौ । त्यस्तालाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

pokhara internet
Comments
Loading...