ICAS
Rara

‘पहिले कला भएका अगाडी आउँथे अहिले पैसा भएका अगाडी आउँछन्’

सन्तोष बस्याल 

पोखरा/

‘उडेर जुन छुन्छु भन्थें तर आज पिंजडाको चरी भाछ जीवन

जुगौं जुग जिउँछु भन्थें तर आज आफ्नै काखमा मरिराछ जीवन…’

गीतकार राजकुमार बगरको शब्द, संगीतकार बिबि अनुरागीको संगीतमा रहेको गीतले गायक रामभक्त जोजिजूलाई माथि उठायो । वि.सं २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा जोजिजू प्रथम भए । शब्दले समेत उपाधी पायो । जोजिजूको सांगीतिक क्षेत्रको टर्निङ पोइन्ट बन्यो उक्त गीत । रेडियो नेपालको आधुनिक गीत प्रतियोगिताको इतिहासमा सायद नै कम होला प्रतियोगी गीतले चर्चा पाएको ।

वि.सं २०२७ साल पौष २२ गते पोखरा महानगरपालिका रानीपौवा ११ मा जन्मेका जोजिजू सानैदेखि गीतसंगीत मन पराउँथे । बुबा सन्तकुमार जोजिजूका दुई श्रीमती मध्ये कान्छी योगमाया जोजिजूको साइला सुपुत्र रामभक्त जोजिजूको सानैदेखि गीतसंगीतमा लगाव थियो । उनी बुझ्ने उमेरदेखि संगीतमा लागे । १३ वर्षको उमेरबाट उनले बाँसुरी बजाए । उनको संगीतको सुरुवातनै बाँसुरी बजाएर भयो । गायक पछि मात्रै भएका हुन् ।

बाल्यकालमा श्याम हल्दारको पछि लागेर भजन कार्यक्रममा बाँसुरी बजाउन पुग्थे उनी । बाद्यबादन बजाउन भनेपछि रामभक्त हुरुक्कै । संगीत सिक्न उनले कुनै कसर बाँकी राखेनन् । त्यतिबेला ठूलीआमाको एउटा हार्मोनियम थियो । जोजिजूकी ठूलीआमाले हार्मोनियम बजाउँथिइन् । उनी हरेक दिन १ घण्टा सिक्न पुग्थे । रानीपौवामा पसल थियो । पसलमा बस्दै रेडियो सुन्थे । दिउँसो रेडियोमा गीत सुन्ने बेलुकी हार्मोनियममा ‘प्राक्टिस’ गर्ने उनको दैनिकी थियो ।

चन्चले स्वभावका जोजिजूसँग त्यतिबेला पैसाको अभाव थियो । अभावमा उनले संगीत शिक्षा लिए । संगीत सिक्न घरबाट १ सय ७५ रुपैयाँ चोरेर गुरुलाई बुझाएको उनी सम्झन्छन् । फुटेको बाँसुरीलाई रबरले बेरेर बजाएका छन् जोजिजूले । गायक बन्छु भनेर उनले कहिल्यै सोचेनन् । समय परिस्थितिले उनलाइ गायक बनायो । शिव शक्ति माविबाट एसएलसी पास गरेपश्चात उनी उच्च शिक्षाका लागि पृथ्वीनारायण क्याम्पस भर्ना भए । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको थुप्रै कार्यक्रममा बाँसुरी बजाएका छन् जोजिजूले । गाउन बजाउन पाएपछि हाम फालेर सहभागी हुन पुग्थे ।

२०४३ सालको कुरा हो । लाक्पा लामाले पोखरामा संगीत प्रशिक्षण दिन्थे । लामो समयसम्म रामभक्त जोजिजूले लामासँग सँगीत सिके । क्याम्पसबाटै रामभक्त कार्यक्रमका लागि पहिलो पटक जोमसोम पुगे । त्यतिबेला उनीसँगै पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, हर्क गायक, रमेश श्रेष्ठ लगायतका १९ जना कलाकारको टिम जोमसोम पुगेको थियो ।

सँगीतसँगै खेलकुद र चित्रकलामा समेत उनको रुची थियो । जोजिजू राम्रा चित्रकार समेत हुन् । विस्तारै उनको गजल यात्राले गति लिन थाल्यो । पोखरामा ओपन हाउस गजल रेष्टुरेन्टको स्थापना भयो । रामभक्त जोजिजू, श्यामलाल श्रेष्ठ, मोहन गुरुङ, डिबी चक्रधर, मनोज घले लगायतले गजल गायनको रुपमा सुरुवात गरे । २०४६ सालको कुरा हो यो । जतिबेला उनीहरुको टोलीले पोखरामै पहिलोपटक गजल गायनको थालनी गरेको थियो । जोजिजू बाँसुरी, हार्मोनिय बजाउँदै गाउने गर्थे भने उनलाई श्यामलाल श्रेष्ठले तबला, मोहन गुरुङले गितार, डिबी चक्रधर तबला सँगै गायनमा र मनोज घले किबोर्डमा साथ दिन्थे ।

एकपटक गायिका लोचन भट्टराई (टाढा टाढा नभैजाउ तिमी…) पोखरा आइन् । ओपन हाउसमा रामभक्त जोजिजूको गीत सुनेपछि लोचनले जोजिजूलाई बाद्यबाधन र गायनमा एउटा रोज्न सल्लाह दिइन् । रामभक्तले गायन रोजे । त्यसपछि उनले बाँसुरी औपचारिक रुपमा बजाउन छाडे । उनको गायन कलाले विस्तारै निरन्तरता पाउन थाल्यो ।

रामभक्तले रेडियो नेपालको स्वर परिक्षा २०५१ सालमा पास गरे । त्यतिबेला उनले पोखरामा स्कुल पढाउँथे । स्वर परिक्षा पास गरेको गीत ‘उडेर जुन छुन्छु…’ भन्ने थिएन । जतिबेला उनको उडेर जुन छुन्छु गीत आयो अडियोलाई सबैले मन पराए । हिट हुँदै गयो । अक्सर अवसरको खोजीमा धेरै कलाकार काठमाडौं पुग्थे तर रामभक्त गीत हिट भएपछि पनि पोखरा फर्किए । पोखरा फर्किनुपर्ने उनमा बाध्यता थियो । फुलबारी रिसोर्टमा गजलको लागि अफर आयो । त्यसपछि उनी रिसोर्टमा गजल गाउन थाले । बिहे भइसकेको थियो । संगीतलेनै उनको जोडी जुरायो । गायिका इतु जोजिजु त्यतिबेला संगीत प्रशिक्षण केन्द्रमा संगीत सिक्थिन् । रामभक्त जोजिजूको भेट त्यही हुने गथ्र्यो ।

aama movie

त्यतिबेला उनले एउटा चलचित्रका लागि संगीतको काम पाएका थिए । गीतमा महिला आवाजको आवश्यकता पर्यो । उनले इतुलाई डाके । त्यसपछि उनीहरुको काम संँगै सम्बन्ध समेत दरिलो बन्दै गयो । विवाह गरे ।

रामझक्त जोजिजू र इतु जोजिजू १० वर्ष काठमाडौं बसेका छन् । काठमाडौंको अन्नपूर्ण होटलमा गजल गायनको रुपमा उनीहरुले काम गरे । गजल गायनमै उनीहरुको जोडी एक वर्ष सिंगापुर बस्यो । नेपाल फर्किएपछि रामभक्त बिरामी हुँदै गए । त्यसपछि पोखरा फर्किए ।

रामभक्त भन्छन्,‘ पोखरा फर्किएपनि म व्यस्तनै छु । गलत गरेको छैन । आफ्नै ठाउँमा संगीत सिकाउने अवसर मिलिरहेको छ । विद्यार्थीहरुलाई सुरतालको विषयमा बुझाउने अवसर पाएको छु । केहीले मलाई काठमाडौंमा धानिन सकेन भन्ने आरोप लगाए । तर म धानिन नसकेर पोखरा फर्किएको होइन । पोखरामै बसेर संगीत क्षेत्रमा धेरै काम गर्ने मन छ ।’

वास्तवमा अहिले उनी व्यस्तनै छन् । दिउँसो विद्यालयमा संगीत पढाउँछन् । घरमै स्टुडियो सँगै म्युजिक हाउस खोलेका छन् । व्यवसायिक रुपमा संगीतलाई अगाडी बढाउने प्रयास उनको छ । जोजिजूका अन्दाजी २५० जति गीत रेकर्ड भएका छन् । जसमा ‘उडेर जुन छुन्छु भन्थे….’, ‘के बर मागी फर्कियौ भन…(२०६०),‘ मेरा आँशुहरुले तिम्रो बाटो रोके…’, ‘जहाँ घाम छ…’ युगल गीत, ‘कुनै बाटोमा तिमी एक्लै…’ लगायतका गीत चर्चामा आए ।

अहिले पनि उनी गीत रेकर्ड गराउँछन् । वर्षमा केही न केही कोसेली उनको आएकै हुन्छ । ‘मनको ढोका खोलीदेउन…’ गीतमा वर्षा राउतसँगै उनको अभिनय पनि छ । पोखरामा विस्तारै संगीतको विकास हुँदै गएको रामभक्त पाउँछन् । भन्छन्,‘संगीत पेशामै लागेर कलाकार बाच्न सक्ने भएका छन् । कार्यक्रममा सहभागी भएपछि धेरथोर कलाकारलाई पारिश्रमिक दिन थालिएको छ ।’

रामभक्तले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट राष्ट्रिय प्रतिभा पुरस्कार पाएका छन् । नारायण गोपाल संगीत पुरस्कार, लालबहादुर ढेवाजु पुरस्कारलाई उनी ठूलो पुरस्कारको रुपमा लिइन्छन । स्कुलहरुले समेत उनलाई सम्मान गरेका छन् ।

पहिले भन्दा अहिलेको संगीत क्षेत्रमा टेक्नोलोजी विस्तार भएपनि गुणस्तरीय गीतको अभाव रहेको रामभक्त बताउँछन् ।

उनी भन्छन्, ‘पहिला कलाकार कम थिए । अहिले कलाकार को आए को गए ? पत्तै हुदैन । सिर्जना समेत एकै प्रकारको आइरहेको छ । टेक्नोलोजीमा विकास भएपनि सिकाईमा कमी छ । अहिलेका कलाकारलाइ आजको भोलीनै हिट हुने गीत चाहिन्छ ।’

रियालिटी शोहरुमा हुने भोटिङ सिस्टमले कलाकार मारमा परेको उनी बताउँछन् ।

‘पैसाको अभावमा कला भएपनि रियालिटी शोमा हार्नुपर्ने बाध्यता छ, पहिले कला भएका अगाडी आउने गर्थे अहिले पैसा भएका अगाडी आउँछन्’, उनले भने,‘यसको मतलव नेपाली संगीत क्षेत्रमा राम्रा कलाकार छदैछैनन् भन्ने होइन, पछिल्लो समय केही राम्रा कलाकारलाई समेत संगीत क्षेत्रले पाएको छ ।’

फोटो : रामभक्त जोजिजूको फेसबुकबाट

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?