पोखरामा पर्यटनका लागि नयाँ गन्तव्य पुम्दीकोट : विशाल महादेवको मूर्ति जडान शुरू, स्थानीय हर्षित

'पोखराको पर्यटनलाई बन्दै गरेको महादेवको विशाल मूर्तिले थप बलियो बनाउने छ'

सन्तोष बस्याल

पोखरा /

पोखरा विभिन्न क्षेत्रले परिचित छ । पर्यटन गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यका रूपमा पोखरालाई लिइँदै आइएको छ । नेपाल आउने बाह्य पर्यटकलाई एक पटक पोखरा नआई सुखै छैन । यहाँको भौगोलिक वातावरण र मनोरम दृश्यले मन पगाल्छ । फेवातालको शहर, तालैतालको शहरको रूपमा परिचित गराइने पोखरालाई धार्मिक शहरका रूपमा समेत हेर्ने गरिएको छ ।

ICAS

विश्व प्रख्यात धार्मिकस्थलहरूमा विन्ध्यावासिनी मन्दिर, बाराही मन्दिर चर्चामा छन् । प्रकृतिले साथ दिएको पोखरामा अझ बढी सुन्दरता थप्न यहाँको स्थानीय निकायदेखि नागरिकसम्मको अग्रसरता प्रशंसा गर्न लायक छ । पोखरा भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन भएपनि बढी बसाल्न र पर्यटन क्षेत्रमार्फत पोखराको आयमा वृद्धि गर्न थालनी गरिएको पाइन्छ ।

नयाँ-नयाँ पर्यटकीय गन्तव्यको स्थापना गरी त्यसको प्रचारप्रसारमा प्रदेश सरकार र स्थानीय सरकार लागिपरेको छ । जसमा नागरिकको समेत साथ मिलेको आभाष हुन्छ । यस्तैमा पोखराको मुख्य चोकदेखि १० किलोमिटर पर पुम्दिभुम्दिको पुम्दिभुम्दि कोटमा विशाल महादेवको मूर्ति स्थापना हुँदै छ । जसको हालसम्म ४५ प्रतिशत काम सकिएको छ । २२ रोपनी क्षेत्रफलमा बन्दै गरेको विशाल महादेवको मूर्तिको जडान कार्य हाल भइरहेको छ । केही दिनअघि भारतबाट आएको मूर्तिको विभिन्न भागलाई लिफ्ट र क्रेनको सहायताले जडान गरिँदैछ ।

५१ फिट अग्लो उक्त मूर्ति जडान गर्न करीब एक महिना लाग्नेछ । ६ टन तौल बराबरको मूर्तिलाई जडान गर्न २० जना कामदार खटिएका छन् । पुम्दिभूम्दिकोटमा अहिले एउटा भवन निर्माण भइसकेको छ । जसको माथिल्लो भागमा शिव लिङ्ग आकारमा संरचना खडा गरिएको छ । जहाँ विशाल महादेवको मूर्तिको जडान हुँदैछ । वरिपरि १०८ शिवलिङ्ग राख्ने काम लगभग अन्तिम चरणमा छ । निर्माण भएको भवनमा सटरकल रहेका छन् ।

यससँगै १८ वटा एट्याच बाथरूमसहितको कोठाहरू समेत निर्माण भइसकेको पुम्दिकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल बताउँछन् । महादेव बस्ने फाउन्डेसनको कामसँगै हालसम्म करीब १४ करोडको काम सम्पन्न भइसकेको छ । मूर्ति जडान गर्न र वरिपरिको भागलाई फिनिसिङ गर्न दुई करोडको आवश्यकता पर्ने अध्यक्ष बराल बताउँछन् । मूर्ति जडान गरिसेकपश्चात ६० प्रतिशत काम सम्पन्न हुनेछ । विगत दुई वर्ष अगाडिबाट निर्माण हुँदै आएको महादेवको मूर्ति स्थापनाको सम्पूर्ण काम सक्न ४० करोडको अनुमानित लागत यसअघिनै सार्वजनिक गरिएको थियो ।

उक्त मूर्तिलाई भारतका मथुरा निवासी विपुल अग्रवालले बनाएका हुन् । अष्टधातु जडित फाइवर ग्लासको मूर्तिलाई हिलट्यांक प्रालिका प्रबन्ध सञ्चालक, उद्योगपति एवं समाजसेवी कमल जयनले प्रायोजन गरेका हुन् । मूर्तिलाई नेपाल भित्र्याउँदा मात्रै समितिले भन्सारमा १५ लाख शुल्क तिरेको छ । पुम्दिभूम्दिकोटबाट फेवाताल र समग्र पोखरा वरिपरिका भूभाग स्पष्ट देख्न सकिन्छ । एकै स्थान बसेर माछापुच्छ्रे, अन्नपूर्ण हिमालसँगै तालको मनोरम दृश्य अवलोकनका लागि उक्त क्षेत्र उत्कृष्ट गन्तव्य बन्नेमा बराल विश्वस्त देखिन्छन् ।

विश्वको १३ औं रमणीय स्थलमा पर्ने हाल मूर्ति स्थापना भइरहेको पुम्दिभुम्दिकोट पहिले पौराणिक भुमेदेवताको स्थान थियो । त्यहाँका बासिन्दाहरू भूमेदेवतालाई पुज्दै आइरहेका थिए । चाडबाड दशैं, तीजमा उक्त ठाउँमा मेला लाग्थ्यो । त्यसपछि सो ठाउँको विकासका लागि भुमेश्वर महादेवको मूर्ति स्थापना गर्ने योजना लाई स्थानीयले अगाडि बढाए । समिति गठन गरी उक्त मूर्ति स्थापनाका लागि महायज्ञको आयोजना समेत गरियो ।

अहिले सो क्षेत्रमा बस्ती बाक्लै बस्न थालेको छ । मूर्तिको स्थापनासँगै उक्त क्षेत्रको विकासले समेत गति पाएको देख्न सकिन्छ । सडक नपुगेको ठाउँमा सडक पुगेको छ । भइरहेको सडकलाई स्तरोन्नति गरिएको बरालले बताए । मूर्ति निर्माण पश्चात स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आउने बरालको बुझाई छ ।

तस्बिर : प्रेम थापा, परिचय नेटवर्क

pokhara internet
Comments
Loading...