आफैलाई पढ्दै प्रदिप

सन्तोष बस्याल
पोखरा /

अभिनेता प्रदिप खड्का यतिबेला पोखरामा छन् । अक्सर फिल्म सुटिङ र घुमघामका लागि पोखरा आउने गर्थे प्रदिप । तर यो समय घुमघाम भन्दा पनि आफैलाई निखार्नका लागि प्रदिप पोखरा आएका हुन् । कोरोना महामारी र बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै छन् प्रदिप । अहिलेको समयले उनलाई पाठ सिकायो भन्दा फरक नपर्ला ।

ट्यालेन्टका भरमा अभिनयमा आफूलाई अब्बल ठहराईसकेका प्रदिप यतिबेला पोखरामा रंगकर्मी तथा निर्देशक अनुप बरालसँग अभिनय कला लिइरहेका छन् । भन्छन्,‘ सिक्ने कुरा कहिल्यै सकिदैन । जीवनको अन्नतसम्म सिकाईक्रम जारी रहन्छ । बुढेसकालमा पनि स्कुलमा पढ्न गएको कति उदाहरण हाम्रै समाजमा छन् । हो, त्यस्ता उदाहरणले मलाई प्रेरित गर्छ ।’

ICAS

उसो त प्रदिपको मनमा पहिलेदेखि एउटा खुलदुली थियो । आफू हिँडेको बाटो सही छ वा छैन भन्ने प्रशनको उत्तर उनी सँधै खोजिरहन्थे । अहिले आएर त्यो समय जुरेको उनी बताउँछन् । भन्छन्,‘म अभिनय कला पढेर वा सिकेर आएको व्यक्ति होइन । तर यससम्बन्धमा जान्ने इच्छा पहिलेदेखिको थियो । अहिले समयको सदुपयोग गर्दै अभिनय कला लिइरहेको छु । आफैलाई पढ्ने मौका मिलिरहेको छ । मनमा गुम्सिएका धेरै प्रशनको उत्तर पाएको छु ।’

प्रदिप हाल अनुपसँग थिएटर र फिल्म एक्टिङका विषयमा क्लास लिइरहेका छन् । दुवै ठाउँमा क्यारेक्टरको प्रस्तुती कस्तो हुनुपर्छ सो सम्बन्धि सिक्ने अवसर मिलेको छ । बडी ल्याङवेज, आवाजका विषयमा अनुपले प्रदीपलाई सिकाईरहेका छन् । तीन महिनाको कोर्स समय बढाएर पढीरहेका छन् प्रदिप ।

अभिनय कला पढ्दा आफूमा थप निर्खारता आएको प्रदिपको अनुभव छ । ‘तीन महिनाको कोर्समै आफूभित्र भएका प्रशनको उत्तर खोज्ने अवसर मिल्छ भने वर्षौ पढ्दा के हुन्छ होला ?’, उनी प्रशन गर्छन् ।

प्रदिप अन्यौलतालाई चिर्ने प्रयास गरिरहेका छन् । फिल्म अभिनयमा के गर्दा ठीक हुन्छ र के गर्दा बेठिक हुन्छ भन्ने प्रशनको उत्तर अनुपको प्रशिक्षणसँगै उनलाई मिल्न थालेको छ । जुन अनुभुती प्रदिप स्वयमले गरिरहेका छन् । भन्छन्,‘मैले त नाम मात्रको अभिनय गरेको रहेछु । ट्यालेन्टले मात्र यहाँसम्म आएको रहेछु । अभिनय कला त म भित्र लुकेर बसेको रहेछ । पढेपछि मात्र थाहा भयो ।’

अभिनय कला पढेपछि आफूभित्र आएको परिवर्तन आगामी फिल्म वा नाटकबाट मात्र प्रस्तुत गर्न सकिने उनी बताउँछन् । उनले भने, ‘म भित्र आएको परिवर्तनलाई दर्शकले हेरिसकेपछि प्रतिक्रियाका आधारमा थाहा हुन्छ मेरो अभिनय कलाको विषयमा । जुन अहिले नै भन्न सकिदैन ।’

नेपालमा अभिनय कलाको प्रशिक्षणमा अग्रपंत्तीमा आउने नाम अनुप बराल भएकाले पनि सिकाईका लागि अनुपनै आफ्नो रोजाईमा परेको प्रदिपले बताए । अनुपको प्रशिक्षण गराउने कलाको प्रदिप प्रशंसक हुन् । अनुप दिनेश राउतसँग नजिक भएकाले पनि प्रदिपलाई राउतले नै अनुपसँग प्रशिक्षण लिन सल्लाह दिएका थिए ।

उसो त प्रदिप आगामी चलचित्र राउतकै निर्देशनमा गर्दैछन् । प्रदिपको ‘प्रेम गीत ३’ कोरोना महामारीका कारण रिलिज हुन पाएको छैन । उनी ‘शुभ विवाह’ र ‘हुतुतु’ का लागि समेत अनुबन्धित भइसकेका छन् । प्रदिपका अनुसार आगामी ६ महिना फिल्मकै छायाँकनमा व्यस्त हुनेछन् । महामारीमा पनि चलचित्रका अफर उनलाई आइरहेको छ ।

pokhara internet
Comments
Loading...