NTHMC

सडकमा उत्रिए पोखरेली युवा, सरकारविरुद्ध नाराबाजी, प्रहरीसँग धरपकड (फोटो सहित)

सन्तोष बस्याल
पोखरा / 

कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै पोखराका युवा सडकमा उत्रिएका छन् ।

roma

पोखराका युवाहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन् । प्रदर्शनकारीले १० अर्ब खोई, जनताको सरकार खोई, आरडीटी होइन पीसीआर परीक्षण, सरकार कि जाग कि छाड आदि लेखिएको प्लेकार्ड बोकेर शान्तिपूर्ण मौन प्रदर्शन गरेका थिए । प्रदर्शनमा पोखराका ३ सय स्वतन्त्र युवाहरुको सहभागिता थियो ।

ICAS

बिहीबार ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय कास्की शहिदचोक पुगेका युवाहरुले कोरोना भाइरस संक्रमण परीक्षणका आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर विधिबाट गर्न माग गरेका छन् ।

बिहीबार स्वतस्फूर्त रुपमा सडकमा निस्किएका युवाहरुले करिब १ घण्टा प्रदर्शन गरे ।

प्रहरीसँग धरपकड

प्रदर्शनकारी र प्रहरीबिच धरपकड भयो । केहीसमयको मौन प्रदर्शनपछि स्थिति एकाएक चर्कियो अनि झडपको स्थिति सिर्जना भयो । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध युवाहरुले नारा लगाए । प्रहरीले भिड नियन्त्रण गर्न खोज्दा प्रदर्शनकारी युवाहरुले ढुङ्गा, पानीको बोत्तल प्रहार गरे । ढुङ्गा प्रहारपछि प्रहरीद्वारा लाठी चार्ज गरियो । र प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजनालाई नियन्त्रणमा लिइयो ।

सरकारले आम नागरिकको आवाज सुनेन : स्मृति बराल

parichay

स्वतन्त्र युवाहरुको प्रदर्शन आम नागरिकको लागि भएको स्मृति बरालले बताइन् । उनले भनिन्, ‘कोरोना भाइरस रोकथाममा सरकारको गतिविधि फितलो भयो । सरकारले क्वारेन्टाइनको राम्रो व्यवस्थापन गर्न सकेन । परीक्षणको दायरा बढ्न सकेको छैन । बोर्डरमा भएका नागरिको व्यवस्थापन हुन सकेको छैन । १० अर्ब खर्च भयो भनिएको छ तर केके मा भयो प्रष्टाइएको छैन । भ्रष्टाचारमा लिप्त छ सरकार । त्यसैले हामीले प्रदर्शन गरेका हौ । सरकारले आम नागरिकको आवाज सुन्न सकेन । ’

सरकारको तर्फबाट केही काम नभएको उनले उल्लेख गरिन् । ‘सामाजिक सञ्जाल मार्फत हामीले विरोध नगरेको होइन गरेका छौ । तर यो सरकारले युवाको आवाज सुन्न चाहँदैन । अब आन्दोलनको नयाँ बाटो अप्नाउनुपर्छ भन्ने लाग्यो । सडकमा सामाजिक दुरी कायम राख्ने गरी विभिन्न नारासहितको प्लेकार्ड लिएर प्रदर्शनका लागि तयार भयौ ।’, बरालले प्रष्ट पारिन् ।

आफुले २० देखि ३० जनाको युवाहरुको आशा गरेपनि सामाजिक सञ्जालमा भएको प्रचारप्रसारका कारण करिब ३ सयको हाराहारीमा युवाहरुको उपस्थिति रहेको उनले बताइन् । ‘राजनीतिक दलका कार्यकर्तालाई हामीले बोलाएका थिएनौ । दलभन्दा माथि उठेर स्वतन्त्र रुपमा लागेका युवाहरुको मात्र शान्तिपूर्ण प्रदर्शन गर्ने हाम्रो लक्ष्य थियो । तोकेको समयमा प्रदर्शन राम्रै भयो । प्रदर्शन सकिएपछि अचानक सरकारको विरोधमा नाराबाजी लगाउन थालियो । जुन हाम्रो नियमविपरित थियो । केही राजनीतिक दलका कार्यकर्ता युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सहित सरकारकोविरुद्धमा नाराबाजी लगाएको हामीले सुन्यौ । नारा समेत हाम्रो मापदण्ड विपरित थियो । रोक्न खोज्दा उल्टै हामीलाईनै दमन गर्ने प्रयास गरियो ।’, स्मृतिले भनिन् ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले शान्तिपूर्ण तरिकाले भईरहेको आन्दोलन बिथोल्न खोजेको उनको आरोप छ । शान्तिपूर्ण आन्दोलनमा युवाहरुको राम्रो साथ मिले पनि केही राजनीतिक दलका कार्यकर्ताका कारण समस्या आएको उनले सुनाइन् ।

मौन तथा शान्तिपूर्ण प्रदर्शनका आयोजक समितिले प्रेस विज्ञप्ति समेत निकालेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड—१९ को व्यवस्थापन संबेदनशिल र जवाफदेहि बनाउने उदेश्यका साथ पोखराका स्वतन्त्र युवाहरु मिलेर सहिद चोक स्थित जिल्ला प्रशासन कार्यालय कास्की अगाडि गरेको मौन र शान्तिपुर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दलसँग आवद्ध केही युवाहरुले गरेको अभद्र व्यबहारको हामी घोर निन्दा गर्दछौं । साथै कार्यक्रमको मापदण्ड विपरित कार्य गर्ने उक्त युवाहरुको हामी आयोजकसँग कुनै सम्बन्ध नरहेको सम्पुर्णमा जानकारी गराउँछौं । र यस बाट आम सहभागीमा पर्न गएको असुविधा प्रति क्षमा प्राथी छौ ।’

तस्बिर : सुमन ढुङ्गाना

pokhara internet
Comments
Loading...