ICAS

लकडाउनको समयमा पोखरा रंगशालाको काम धमाधम (फोटो र भिडियो सहित)

सन्तोष बस्याल  

पोखरा /

Parichay
Infomatics

लकडाउनले पोखरा रंगशालाको निर्माण कार्यलाई प्रभाव पारेको छैन । बैशाख १३ गतेदेखि निरन्तर रुपमा निर्माण कार्य जारी रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य रोजेश कुमार गुरुङले जानकारी गराएका छन् । नेपालका विभिन्न जिल्लाका मजदुरलाई खटाई रंगशालाको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाइएको उनले बताए ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरामा हुने भएकाले युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा रंगशालाको निर्माण कार्यलाई लकडाउनका समयमा पनि अगाडी बढाइएको हो ।

नेपालमा खेलिने एकदुई खेलबाहेक सबै खेल पोखरा रंगशालामा खेलाइने छ । सोही अनुरुप काम भइरहेको गुरुङले बताए ।

हाल रंगशालामा उम्रेका झारहरु व्यवस्थापन देखि बास्केटबल कोर्ट, भलिबल कोर्ट, फुटबल अभ्यास मैदान, क्रिकेट मैदानको पार्किङस्थल बनिरहेको छ ।

३२ जना कामदारबाट सुरु भएको रंगशाला निर्माण कार्यमा कामदार संख्या थपिएर ७६ पुगेको गुरुङले बताए । उनका अनुसार १९ वर्षीय युवादेखि ६५ वर्षीय वृद्धसम्मले काम गरिरहेका छन् ।

कोरोना भाइरसका कारण विश्व आतंकित भएका बेला लकडाउनको पूर्ण पालनाअनुसार सामाजिक दुरी कायम गर्दै निर्माण कार्यलाइ जारी राखिएको गुरुङले जानकारी गराए । उनीहरुलाई मास्क, पञ्जा र सेनीटाइजरको समेत व्यवस्था गरिएको छ । खानाको समेत समस्या नरहेको गुरुङले बताए ।

लकडाउनको समयमा काम निरन्तर गर्ने अवसर पाएकाले मजदुर खुशी छन् । रंगशाला निर्माणमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको समेत सहयोग रहेको उनको भनाई थियो ।

‘पोखरा आफैमा रमाइलो छ । पर्यटकलाई आक्रषण गर्ने क्षमता पोखरामा भएकाले नेपालका अन्य रंगशाला र पोखरा रंगशालाको फरक भनेकै प्रकृति सँगको हो ।’, उनले भने ।

यहाँको प्रकृतिमै खेलाडी रमाउने भएकाले रंगशालाका कारण पोखरालाई  खेलकुद हबको रुपमा विकास गर्नुपर्ने उनको माग छ । राष्ट्रिय खेलकुद परिषदले विपन्न परिवारका खेलाडीलाई राहतको समेत व्यवस्था गरेको गुरुङले जानकारी गराए ।

 

तस्बिर/भिडियो : प्रेम थापा, परिचयनेटवर्क

pokhara internet
Comments
Loading...