पोखरा गिज्याउने बसपार्क (फोटो फिचर)

सन्तोष बस्याल
पोखरा / 

करिब ४५ वर्ष बित्यो, सरकार धेरै फेरिए तर अझै पोखरा बसपार्कको मुहार फेरिएन । पर्यटकीय शहरको बसपार्क साढे चार दशकदेखि चुनावी नारामा मात्र सिमित रहयो । प्रदेशदेखि संघीय सांसदका सबै उम्मेदवारले बसपार्कलाई चुनावी नारा बनाएको आज होइन वर्षौ बित्यो ।

कास्कीको क्षेत्र नं २ मा पर्ने बसपार्क कांग्रेस नेता महादेव गुरुङ, तत्कालिन एमाले नेता तुलबहादुर गुरुङ, स्वर्गीय रवीन्द्र अधिकारीदेखि हाल संघीय सांसद विद्या भट्टराईको निर्वाचन क्षेत्र हो । अहिले गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा समेत यही क्षेत्रबाट निर्वाचित भएका हुन् । उनीहरु मध्ये कतिपय मन्त्री र राज्यमन्त्री बने तर पृथ्वीचोकको बसपार्कमा कसैको नजर पुगेको छैन ।

ICAS

पोखरा बसपार्क निर्माणलाई मुख्य प्राथमिकतामा राखेर चुनावी एजेन्डा बनाउनेमा अहिलेको दुई तिहाईको सरकार समेत अग्रपंक्तीमै छ । राजनीतिक आश्वासन दिएर जनता ढाट्ने प्रवृतिले बसपार्कको अवस्था अझै फेर्न सकिरहेको छैन । दलहरु भोट बैंकको रुपमा बसपार्कलाई प्रयोग गरिरहेका छन् । जनताले भने सास्ती खेप्नुपरेको छ ।

पोखराको पृथ्वीचोकमा रहेको बसपार्कले पोखरा गिज्याइरहेको आभाष हुन्छ । सुन्दर नगरी पोखराको परिचय दिइरहँदा नाकमुख छोप्नुपर्ने स्थिति छ । मन्त्री, सांसद लगायतका जनप्रतिनिधिहरु कोही कुर्सीको पछाडी दौडिरहेका छन् त कोही भत्तामै रमाइरहेका छन् । तर बसपार्क खुम्चिरहेको कसैलाई चिन्ता छैन ।

बसपार्कको लागि ०३२ सालमा दुईसय पाँच रोपनी जग्गा अधिग्रहण भएको थियो । अहिले खुम्चेर ८१ रोपनीमा सिमित छ । सुकुम्बासी र व्यवसायी समेत गरी करिब ५ सय भन्दा बढीले ओगटेर घरटहरा बनाएका छन् । अवस्थित टहरालाई यसै छाड्दा मुस्किलले ४० रोपनी मात्र जग्गा रहेको पोखरा महानगरपालिका वडा न. ९ का वडाध्यक्ष रामराज लामिछाने बताउँछन् ।

पृथ्वीचोकको बसपार्क महानगरपालिका र प्रदेशले बनाउन नचाहेको आरोप वडाध्यक्ष लामिछानेको छ । कुरा भए पनि कार्यान्वयन हुन नसक्दा समस्या आएको उनी बताउँछन् । भन्छन्, ‘चुनावमा भोट बैंकको रुपमा बसपार्कलाई लिँदा यस्तो समस्या आएको हो । बसपार्क वडाले बनाउन सक्दैन । यो जिम्मेबारी महानगरपालिका र प्रदेश सरकारको हो । तर उहाँहरु कुरा मात्र गर्नुहुन्छ । काम केही गर्नुहुन्न् ।’

महानगरपालिका र प्रदेश सरकारको हरेक वर्षको नीति तथा कार्यक्रममा पृथ्वीचोक बसपार्क निर्माणको कुराले मूख्य प्राथामिकता पाउँछ । तर हालसम्म सबै कागजमा मात्र सिमित रहेको वडाध्यक्ष लामिछाने बताउँछन् । उनी भन्छन्,‘बसपार्क अब बन्दैन । पोखरा महानगरपालिकाले केही समय अघिको बैठकबाट अव्यवस्थित बस्ती जग्गा प्राप्ति समिति भनेर पोखरा १६ का वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ । जुन देखाउने दाँत मात्र भएको छ । हालसम्म प्रगति केही हुन सकिरहेको छैन ।’

लामिछानेका अनुसार गएको फागुन १० गतेको महानगरको कार्यपालिका बैठकले आफ्नो संयोजकत्वमा छानविन समिति बनाएको थियो । जसमा वडा ७ र ८ का वडाध्यक्षहरु सदस्यमा रहेका थिए । महानगरले चैतको मसान्त सम्म प्रतिवेदन पेस गर्न भनेको थियो । चैत २९ गते नै आफूहरुले बसपार्क निर्माणको विषयमा १ सय ८१ पेजको प्रतिवेदन पेस गर्दा सम्म कामले गति नपाएको गुनासो वडाध्यक्ष लामिछानेको छ । उनी भन्छन्,‘हामीले आफुले पाएको जिम्मेबारी पूरा गर्यौ तर महानगरले सुनेन ।’

तस्बिर : प्रेम थापा, परिचय नेटवर्क

pokhara internet
Comments
Loading...