राष्ट्रिय विज्ञान दिवसका अवसरमा महानगरले विभिन्न ४ समझदारी पत्रमा हस्ताक्षर गर्‍यो

पोखरा । राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न चार वटा समझदारी पत्रमा हस्ताक्षर गरेको छ । पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहरुसंग महानगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवस तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम’मा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मानबहादुर जिसीले समझदारी पत्रमा हस्ताक्षर गरे भने इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल, वन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लब पोखराका उपाध्यक्ष मोनिका थापाले महानगरसंग आफ्नो क्याम्पससंग सम्वन्धित प्राविधिक ज्ञान, सिप र जनशक्तीको सहकार्य गर्ने गरि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरस्थित प्राविधिक शिक्षालयहरुको सिप, ज्ञान र जनशक्तीलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका प्रमुख  जिसीले बताए ।

ICAS

महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससँग सम्वन्धित क्रियाकलापमा आफूलाई जोड्दै लैजानपर्ने धारणा व्यक्त गरे । हाललाई चारवटा शिक्षालयसँग सम्झौता भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरूसँग पनि सम्झौता गरेर अगाडि बढ्ने महानगरले लक्ष्य लिएको उनले बताए ।

कार्यक्रममा बोल्दै महानगरका उप–प्रमुख मञ्जुदेवी गुरुङले जुन लक्ष्य प्राप्तिका लागि महानगरले शिक्षालयहरुसँग समझदारी गरेको हो त्यो पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताइन् ।  पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक संस्था र राज्यका कार्यकारी निकायहरूबीच सहकार्य अनिवार्य रहेको र महानगरले सो को तदारुकता देखाएकोमा खुसी व्यक्त गरे ।  कार्यक्रममा वन क्याम्पसका प्रमुख विनोद हयेजु, मोनिका थापालगायतले बोलेका थिए ।

pokhara internet
Comments
Loading...