पोखरा १४ विवाद : स्थानीय भन्छन् ‘सडक निर्माणमा अनियमितता भयो’, इन्जिनियर भन्छन् ‘काम हुँदैछ’

निर्माण कार्यमा कुनै किसिमको अनियमितता भएको छैन : विनेश मुनाकर्मी

सन्तोष बस्याल

पोखरा / 

roma

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पेरिफेरिमा रहेको सडकखण्डमा बाटो, नालालगायतको निर्माणमा निर्माण कम्पनीले गुणस्तरहीन सामान प्रयोग गरेको आरोप लगाएका छन् । समयमा काम सम्पन्न गर्नु त कता कता गुण्स्तरहीन सामानको प्रयोग गरेर समस्या निम्त्याएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । पोखरा १४ स्थित काजीपोखरीमा बन्दै गरेको बाटोको जिम्मा दाङको पिके कन्स्ट्रक्सन कम्पनीले लिएको छ । विगत डेढ वर्ष अघि काम सम्पन्न गर्ने गरी उसले जिम्मा लिएको हो ।

ICAS

उनीहरूले बन्दै गरेको नालामा अनियमितता भएको आरोप लगाएका छन् । पोखरा १४ का नेपाली कांग्रेसका सभापति बोधराज कार्कीले निर्माणाधीन अवस्थामा रहेको काजीपोखरी सडकखण्ड समयमै नसक्दा वडाबासीले समस्या भोग्नुपरेको बताए । उनका अनुसार पिके कन्स्ट्रक्सनले डेढ वर्ष अगाडिबाट काम गरिरहेको छ ।

‘काजीपोखरी सडकखण्डमा अनियमित किसिमबाट काम भइरहेको छ । नाला निर्माण समेत कच्चा गरिएको छ । अझ अहिले त बन्दाबन्दै नाला समेत ढल्किएको अवस्था छ’, उनले भने, ‘भविष्यमा यसले थप समस्या निम्त्याउने हुँदा बन्दै गरेको नाला पुनः भत्काई निर्माण गरिनुपर्ने हाम्रो माग हो ।’

राष्ट्रिय गौरवको योजना भनेर विकास निर्माणको नाममा ठेकदार कम्पनीमार्फत घोटाला भएको कार्कीले आरोप लगाएका छन् । सम्बन्धित निकाय नै गैरजिम्मेवार हुँदा समस्या झन् जटिल बन्दै गएको उनले बताए । पिके कन्स्ट्रक्सन कम्पनीबाट राम्रो काम नभएको उल्लेख गरे । ‘सडक खाल्डो हुँदा र पानी जम्दा यात्रामा कठिनाई भइरहेको छ । जनप्रतिनिधिको ध्यान पुग्नुपर्ने हो । खै किन हाम्रा जनप्रतिनिधिले वास्तै नगरेको पत्तो पाउन सक्या छैन’, उनले भने ।

स्थानीय टेकबहादुर कार्कीले काजीपोखरी सडकखण्ड निर्माणमा काम गर्ने शैलीमाथि प्रश्न उठाएका छन् । डेढ वर्षको सडकखण्डको योजना पूरा हुन नसक्दा सास्ती भोग्नुपरेको उनले बताए । पिके कन्स्ट्रक्सन कम्पनीले अवैध रूपमा काम गरिरहेको आरोप उनको थियो । प्राविधिक तरिकाले काम हुनुपर्नेमा हचुवाको तालमा काम हुँदा समस्या आएको उनले बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा पोखरा १४ का स्थानीय नागरिक सबैभन्दा पीडित रहेको स्थानीय दिवश कुँवरले बताएका छन् । उनले विकासका लागि सस्तो मूल्यमा विमानस्थललाई जग्गा उपलब्ध गराउँदा पनि सडक निर्माणमा देखिएको अनियमितताले पोखरा १४ स्थानीयबासी दुखित रहेको जानकारी गराए । नागरिकका समस्या लिएर स्थानीय तहदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख समेतलाई राख्दा सुनवाई नभएको उनले गुनासो गरे ।

पोखरा १४ मा बन्दै गरेको सडकखण्ड

नेतृत्व नै सजक नहुँदा अप्ठेरो स्थिति आएको उनले बताए । ‘पोखरा १४ को काजीपोखरी र विजयपुर साइडको बाटो पूर्ण रुपमा बिग्रेको छ । सहज यात्रा गर्न यहाँका नागरिकलाई कठिन छ’, उनले भने, ‘कतिबेला दुर्घटना हुने र यसले थप समस्या थप्ने हो यसको कुनै हेक्का छैन ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका क्रममा भत्किएका सिँचाइका नालीलाई समेत वास्ता नगरिएको उनले बताए । खेती योग्य जमिन समेत सिँचाइ नहुँदा बाँझो राख्नुपर्ने अवस्था भएको उनले उल्लेख गरे । समयमै सम्बन्धित निकायले ध्यानार्कषण गरी समस्याको समाधान गर्नुपर्ने उनको माग छ ।

parichay

पोखरा १४ कै स्थायी बासिन्दा तथा नेपाली कांग्रेस नेतृ सरस्वती गुरुङले पोखरा महानगरपालिकाको ३३ वटा वडामध्ये राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पोखरा १४ ले धेरै योगदान दिएको बताइन् । ‘यहाँका नागरिकले विमानस्थल निर्माणका लागि करोडौं पर्ने जग्गा लाखौंंमा दिनुभएको छ । लाखौं पर्ने जग्गा हजारमा दिनुभएको छ’, उनले भनिन्, ‘कतिले मुआब्जा नपाएर पनि सहयोग गर्नुभएको छ । तर आज पोखरा १४ कै वडाबासीको विश्वासमाथि खेलवाड गरिएको छ । खानेपानी, सिँचाइ र बाटोघाटोको समस्याबाट पोखरा १४ का जनता पीडित छन् ।’

बन्दै गरेको नाला लच्किएपछि

कोरोना महामारीको मौका छोपेर विमानस्थलमा पेरिफेरिको सडकनिर्माण कार्यमा चरम लापरबाही भएको उनले उल्लेख गरिन् । सडक निर्माण कार्य नियमअनुसार भएको छ वा छैन यसको निरीक्षण सम्बन्धित निकायले चाँडो भन्दा चाँडो गर्न उनको आग्रह छ । पोखरा १४ बासीले भोग्नुपरेको पीडा सैय नभएको उनले बताइन् । ‘सहनुको पनि सीमा हुन्छ । लाचार हुनुको पनि हद हुन्छ । नागरिकको सहने शक्तिको बाँध फुट्यो भने सरकार नै अप्ठेरोमा पर्न सक्छ’,उनले भने, ‘त्यसैले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई काजीपोखरी सडक खण्डको अवलोकन गरी स्थानीयले भोगेका समस्याको समाधान गर्नुहुन मेरो आग्रह छ ।’

इन्जिनियर भन्छन्, ‘काम भइरहेको छ, स्थानियलाई मर्का नपर्ने गरी काम गर्छौ’

पोखरा १४ काजीपोखरी सडक निर्माणमा खटिएका इन्जिनियर सन्जिव खडकाले काम भइरहेको बताएका छन् । ‘काम भइरहेको छ । स्थानीयलाई मर्का नपर्ने गरी काम गर्छौँ । पानीको निकासमा समस्या हुँदा नालाको भाग ढल्केको हो’, उनले भने, ‘ढल्किएको भागलाई हटाई फेरि निर्माण गर्ने तयारीमा छौं ।’

स्थानीयलाई समस्या भइरहेको विषयमा नजरअन्दाज गर्न नमिल्ने पक्षमा आफुहरू पनि रहेको उनले बताए । नालाको काम समयमै सक्ने योजना भए पनि लकडाउनका कारण समस्या आएको उनले जानकारी गराए । सडकमा पानी जमेकाले माटोले सोसेको र नालाको भाग लच्किन पुगेको उनले बताए । ‘लकडाउनका समयमा कर्मचारीको अभाव भएकाले पनि सोचेजस्तो काम भइरहेको छैन’, उनले भने, ‘भविष्यमा असर नपुग्ने किसिमबाट काम हुनेमा ढुक्क हुन आग्रह गर्दछु ।’

निर्माण कार्यमा कुनै किसिमको अनियमितता भएको छैन : विनेश मुनाकर्मी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले स्थानीयको समस्याको विषयमा जानकारी नै नभएको बताएका छन् । स्थानीयले आयोजना प्रमुखलाई सडक निर्माणको विषयलाई लिएर पटकपटक ताकेता गरे पनि सुनवाई नभएको गुनासो निराधार भएको उनले उल्लेख गरेका छन् । स्थानीयसँगै मिलेर काम गर्ने पक्षमा रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी स्थानीय सँगै मिलेर काम गर्छौँ । वडाका जनप्रतिनिधि, स्थानीयबासी, सामाजिक संघसंस्थाका व्यक्तिहरूलाई राखेर उक्त आयोजना सम्पन्न हुन्छ । बन्दै गर्दा केही कमीकमजोरी भएको खण्डमा त्यसको सम्पूर्ण जिम्मा ठेकदार कम्पनीले लिने गरी सम्झौता समेत गरिएको छ ।’

आयोजना निर्माण भएको एक वर्षसम्म पनि ठेकदार कम्पनीकै जिम्मेवारी रहने नियम रहेको उनले जानकारी गराएका छन् । हाल पोखरा १४ मा देखिएको समस्या लकडाउनले निम्ताएको समस्या भएको उनले उल्लेख गरे । ‘पोखरा १४ मा हाल देखिएको समस्या लकडाउनका कारण भएको समस्या हो । यो समस्याको समाधान ठेकदार कम्पनी आफैँले गर्छ । यसमा सरकारको थप रकम खर्च हुँदैन । निर्माण कार्यमा कुनै किसिमको अनियमितता भएको छैन । काम गर्दै गर्दा लकडाउन भयो । आधा काम मात्र सकियो । पूरा काम भएको भए यस्तो समस्या हुन्थेन’, उनले भने, ‘समस्या समाधानका लागि हामीले पहलकदमी चालिसकेका छौँ । स्थानीयबासी आत्तिनुपर्ने आवश्यकता छैन । उहाँहरूले भोग्नुपरेको समस्यालाई बुझेका छौं र त्यो समाधानको समस्या पनि हुने गरी काम थालिएको छ । विनासित्तै अफवाह नफैलाउनु हुन मेरो आग्रह छ ।’

तस्बिर : प्रेम थापा, परिचय नेटवर्क

pokhara internet
Comments
Loading...