ICAS
Rara

पिएनमा विद्यार्थीको झडप प्रकरण : नेविसंघका नेता राजेश हमाल पक्राउ

सांगठनिक झडपमा किटानी जाहेरी

पोखरा/ 

पृथ्वीनारायण क्याम्पसमा गत साता दुई संगठनबिच भएको झडपलाई व्यक्तिगत रिसइबीतर्फ मोडिएपछि प्रहरी प्रशासनले नेविसंघका नेता रेशम हमाल (राजेश) लाई पक्रेको छ । उनी गत स्ववियु निर्वाचनमा नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार समेत हुन् ।

govnotice

घटना गएको फागुन ८ गतेको हो । उक्त दिन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थी र अनेरास्ववियुमा आबद्ध विद्यार्थी समुहबिच झडप भएको थियो । उक्त झडपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घाइते भएका थिए । ती दुइ जनाल विद्यार्थीहरुलाई उपचारको लागि मनिपाल शिक्षण अस्पताल नै लग्नुपरेको थियो । अहिले उनीहरु डिस्चार्ज भइसकेका छन् । तर, अघिल्लो वर्ष यी दुई विद्यार्थीले नै नेविसंघको कार्यक्रममा गएर धावा बोलेपछि त्यहाँपनि झडप भएको थियो ।

यस्तै, फागुन ६ गते पनि दुई विद्यार्थी संगठनबिच झडप हुँदा नेविसंघमा आबद्ध विद्यार्थीहरु घाइते भएका थिए ।

पिएनमा दिन बिराएरै विद्यार्थी संगठनबिच झडप भई नै रहन्छन । यसअघि यी घटना राजनीतिक संठगनको लडाई भनेर क्याम्पस गेटभित्रै मिल्थ्यो । फेरि, लडाइ हुन्थ्यो । तर, अहिले भने कुटिएका दुई विद्यार्थीले नेविसंघका आठजनाविरुद्ध किटानी जाहेरी नै दिएका छन् ।

नेविसंघले यसलाई राजनीतिक प्रतिशोधका आधारमा क्याम्पस प्रशासनले फसाउन खोजेको आरोप लगाएको छ । पक्राउ परेपछि नेविसंघका नेता हमाल भन्छन्, “राजनीतिक मुद्धामा दुई संगठनबिचको लडाइलाई लिएर क्याम्पस प्रमुख, प्रशासन सबै राजनीतिक रुपमा पूर्वाग्रही भएर फसाउन खोजिएको हो ।”

उनले किटानी जाहेरी अरुको नाममा भएतापनि आफूलाई मात्र पक्राउ गरिएको बताए । “पहुँचको आधारमा जाहेरी चाहिँ फेरेको फे¥यै गरेका छन् । हिजो बेलुका छैन, अहिले आज फेरि छ । देखाउने एउटा, दर्ता गर्ने एउटा, छोप्ने जाहेरी चाहिँ अर्को । राजनीतिक प्रतिशोधका आधारमा क्याम्पस चिफले पूर्वाग्रही भएर …” उनले भने ।

parichay

सोमबार बिहानमात्रै क्याम्पस चिफलाई भेट्न गएको तर चिफले मोबाइल नै अफ गरेर सम्पर्कमा नै नआएको उनले बताए ।

यता क्याम्पस चिफ प्राडा चन्द्रबहादुर थापाले चाहिँ “कार्यक्रममा भएका कारण मोबाइल अफ भएको” प्रष्टोक्ति दिएका छन् ।

अनेरास्ववियुले गलत नियतले जाहेरी दिएको भन्दै नेविसंघ पृना क्याम्पसले विज्ञप्ती नै जारी समेत गरेको छ । इकाई सभापति दीपक शर्मा हस्ताक्षरित विज्ञप्तीमा नेपालका राजनीतिक क्रान्ति र उपलब्धिका नेतृत्व गरेको पाटी कांग्रेसको प्रभावशाली विद्यार्थी संगठन सामाजिक न्यायका पक्षमा लड्दै आएको उल्लेख गरिएको छ । यस्तै, सांगठनिक मतभेदका कारण असहज स्थिती सिर्जना हुँदै आएको पनि स्विकार छ । तर, अहिलेको घटनामा भने नियोजित तवरले फसाउन खोजिएकोमा नेविसंघले खेद प्रकट गरेको छ ।

विज्ञप्तीमा भनिएको छ । “सांगठनिक मतभेदका कारण विगतमा अनेरास्ववियु निकट विद्यार्थीहरुले पटकपटक नेविसंघका विद्यार्थी नेताहरुमाथि आक्रमण गरेको हुँदा क्याम्पस प्रमुखसँग नै समन्वय गरि ती घटनाहरुको समाधान भएको जानकारी गराउँदै ८ गते त्यही संगठित मतभेदका कारण अनेरास्ववियु निकट विद्यार्थी नेताहरुद्वारा नेविसंघ पृना क्याम्पसका स्ववियु सभापतिका उम्मेदवार रेशम हमाल, क्याम्पस फोर्सका अध्यक्ष सतिश बास्तोला, गौरव बराल, विपिन नेपाली, स्वरुप बन्जाडे, युवराज पौडेल, सौरभ चापागाई, विकास अधिकारी र अकल क्षेत्री माथि हतियार सहित आक्रमण गरेको र त्यही आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्ने क्रममा केही असहज परिस्थिती सिर्जना भएको र यसपटक क्याम्पस प्रशासनले समेत उक्त घटनालाई मिलाउन नखोजेको र नियोजित ढंगले प्रहरी र प्रशासनसँग मिलेर नेविसंघका नेताहरुलाई फसाउन खोजेको जस्तो गैह्रजिम्मेवारी र अनैतिक प्रयासप्रति नेविसंघ पृना क्याम्पस मूल इकाई समिति खेद प्रकट गर्दछ ।”

अनेरास्ववियुका विद्यार्थीहरुले झुटो जाहेरी दिएको र उक्त झुटो जाहेरीका आधारमा अनेरास्ववियुका मातृ पार्टी नेकपाको निर्देशनमा नेविसंघका नेताहरुलाई प्रहरी प्रशानले पक्राउ गर्न खोजेको र नियोजित ढंगले फसाउन खोजेको उल्लेख गर्दै उक्त घटनालाई समन्वय गरि मिलाउन क्याम्पस प्रशासनसँग माग समेत गरिएको छ ।

क्याम्पस प्रमुख थापाले चाहिँ घटना समाधानको पहल गर्दा अनेरास्ववियुका विद्यार्थी नै नआएको बताएका छन् । “हामीले मिलाउँछौँ, आउन छलफल गरौँ भनेको पटक्कै आएनन्, अहिले एकजना विद्यार्थी पक्राउ परेका छन् रे म त्यहाँ बुझ्न जाँदैछु ।”

यता, अनेरास्ववियुले भने क्याम्पस प्रशासनले आफूहरुलाई वार्तामा नबोलाएको जनाएको छ । अनेरास्ववियु क्याम्पस इकाई कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले “वार्तामा नबोलाइएको र उक्त घटना सांगठनिक नभई व्यक्तिगत भएको” बताएका छन् ।

क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले ताला समेत लगाएका छन् । बिएललबी पाँचौ समेस्टरमा अध्ययनरत विद्यार्थीहरुले आफूहरु क्याम्पसमा असुरक्षित भएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा सुरक्षाको माग गर्दै ताला लगाएको हुन् ।नेविसंघका नेता पक्राउको घटनापछि नेविसंघ केन्द्रिय समितिको बैठक पनि अहिले बसिरहेको छ ।

pokhara internet
Comments
Loading...