ICAS

न लकडाउनको कष्ट, न कोरोनाको त्रास

राजु गिरी, पोखरा । 

यतिबेला राज्य लकडाउको स्थितिमा छ । विश्वभर महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरसको संक्रमण रोकथामका लागि चैत ११ गतेदेखि नेपाल लकडाउन गरिएको छ । चैत १८ गतेसम्म भनिएको लकडाउनलाई बढाएर चैत २५ गतेसम्म लम्बाइएको छ ।

Parichay
Infomatics

लकडाउनको अवस्थामा घरमै बसी सुरक्षित हुन सरकारले आग्रह गरिरहेको छ । तर लकडाउनै अवधिमा पोखराका केही किसानले लकडाउन अवज्ञा गर्दै खेती किसानी गरिरहेका छन् । पोखरा महानगरपालिकाले घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको अवस्थामा यसरी बाहिर निस्किएर त्यो पनि समूहमा खेती गर्नु कत्तिको जायज हो ?

पोखरा २९ का केही किसानहरु लकडाउनले उब्जनीलाई असर पारेको भन्दै चैते धानको विउ रोप्न व्यस्त देखिन्थे । लगाउनु पर्ने समयमा लगाईएन भने कसरी उब्जनी हुन्छ ? उनीहरुको प्रश्न थियो । ‘हामीले खानु परेन, अहिले धान लगाउन सकिएन भने पछि के खाने ?’ – छेउमा धानको विउ रोप्दै गरेकी एक महिलाबाट आवाज आयो ।

‘बन्द होस् वा लकडाउन होस् काम त गर्न पर्‍यो नि ।’ –एक महिलाले भनिन् । राज्यले गरेको लकडाउन आफ्नै सुरक्षाको लागि भएको उनीहरु स्वीकार्छन् । घरमै बसेर खान पुग्ने भए यसरी काम कस्ले गथ्र्यो र ? उनीहरुको भनाई थियो ।
उनीहरुलाई देख्दा लाग्थ्यो कि राज्यमा लकडाउन नै भएको छैन । उनीहरुलाई न लकडाउनको चिन्ता थियो न कोरोनाको त्रास नै । चिन्ता थियो त कामको ।

यस विषयमा पोखरा २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ अहिले खेतीपातीको समय भएकाले यस्तो देखिएको बताउँछन् । उनी भन्छन्– ‘यो समयमा खेतबारीमा मात्र नभई खोलाहरुमा माछा मार्न मानिसहरु गइरहेका छन् । कडाइ गरेकै छौं तरपनि बाहिर निस्किएर काम गर्न छोड्नुभएको छैन । सबै ठाउँमा त्यस्तो छैन, वडाका केही ठाउँमा मात्र हो ।’ घरमै सुरक्षित रहन सचेतना गराउँदै अनुरोध गरिरहेको उनी बताउँछन् ।

यस वडामा विदेशबाट आएका १३ जना नेपालीलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको वडाध्यक्ष गुरुङ बताउँछन् । भाइरसको रोकथामका लागि केही ठाउँमा डिसइन्फेक्सन स्प्रे छरिएको र अरु ठाउँमा पनि छिट्टै छरिने उनले बताए । अहिले गरिब, विपन्न तथा दैनिक ज्यालादारी गर्नेहरुको परिवारलाई राहत वितरणको लागि नामावाली संकलन गरि वितरणको अन्तिम तयारीमा वडा जुटिरहेको वडाध्यक्ष गुरुङ बताउँछन् । राज्यको यस विषम परिस्थितिमा अहिले सबैकामलाई छाडेर कोरोना संक्रमण रोकथामका लागि वडा सक्रियरुपमा लागेको उनले बताए ।

pokhara internet
Comments
Loading...