ICAS
Rara

‘पोखराको रंगमञ्च अहिले लयमा छ’

सन्तोष बस्याल

पोखरा /

govnotice

मोतीबहादुर कार्की उर्फ ‘परिवर्तन’ सानैदेखि कला क्षेत्रमा लागेका होइनन् । पछि मात्रै उनलाई कलाले तानेको । मुक्तक, गजल, रेडियो नाटक हुँदै उनी रंगमञ्चमा प्रवेश गरे । निदाएको पोखरेली रंगमञ्चलाई ब्युँताउन उनको पहल रह्यो । दुई वर्षअघि स्थापना भयो पोखरा थिएटर ।

पोखरेलीको नाटक हेर्ने चाहना थिएटरले पूरा गरेको छ । भर्खरै मात्र स्थापनाको दोस्रो वर्ष पार गरेर तेस्रो वर्षमा प्रवेश गरेको पोखरा थिएटरमा ४७ नाटक मञ्चन भएका छन् । सरुभक्त श्रेष्ठको ‘सिरुमारानी’बाट सुरु भएको पोखरा थिएटरले विस्तारै गति लिइरहेको छ ।

थिएटरका परिकल्पनाकार हुन् परिवर्तन । स्याङजा जिल्लाको पौवेगौंडेमा मध्यम वर्गाीय परिवारमा जन्मिएका परिवर्तन जेठा सन्तान हुन् । दुई आमामध्ये कान्छीआमा तर्फका सन्तान परिवर्तनका बुवा इण्डियन आर्मी थिए । परिवार संख्या ठूलो । ठुलो परिवारमा आईपर्ने समस्या र शिक्षादीक्षामा हुने अभाव परिवर्तनले पनि खेप्नुपर्यो ।

पढाइतर्फ झुकाव राख्ने मध्ये पर्छन् परिवर्तन । उनका दाई दिदीले त्यति धेरै पढेनन् । कारण थियो आर्थिक समस्या । तर परिवर्तनले भने दुखसुख गरेर पढाईलाई अघि बढाए । बुवाको चाहना छोरो आफुजस्तै इण्डियन आर्मी भैदिए हुन्थ्यो भन्ने थियो । तर परिवर्तनलाई भने त्यतातिर रुची थिएन । बुवाको लागि भने नगएका पनि होइनन् । तर रुची नभएको विषय भएपछि कस्को के लाग्थ्यो र ?

एसएलसी सम्मको अध्ययन उनले स्याङजामै गरे । एसएलसी पश्चात २०६१ सालमा उच्च शिक्षाका लागि उनी पोखरा झरे । त्यसपछि आजसम्म पनि पोखरामा नै छन् ।

इण्डियन आर्मीमा नाम नआएपछि उनको बुवाको इच्छा छोरो विदेश अथवा सरकारी जागिर खाए हुन्थ्यो भन्ने थियो । तर परिवर्तनको भने पढ्ने इच्छा थियो । पृथ्वीनारायण क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह पास गरेपश्चात उनी काठमाडौं हाँक्किए । उनको स्नातकसम्मको शिक्षा काठमाडौंमै भयो ।

स्नातकको तेस्रो वर्ष अध्ययन गर्दासम्म उनको अवस्था सामान्य नै थियो । आफ्नै लयमा बगिरहेको थियो जीवन । स्नातकको तेस्रो वर्ष पढ्दापढ्दै उनी बिरामी भए । त्यसपछि उनको जीवन अर्को बाटोतर्फ मोडियो । जण्डिस, टाइफाइड हुँदै एन्जाइटी रोगसँग सामना गर्नुपर्यो । ५ वर्षसम्म उनले एन्जाइटीसँग संघर्ष गरे ।

सो समय अघि उनलाइ कला/ साहित्यतर्फ त्यति धेरै रुची थिएन । चलचित्रको पारखी भएकाले फिल्म धेरै हेर्थे ।

गाउँमा छँदा छिमेकीको घाँस काटिदिने दररेट बनाएका थिए उनले । डालेघाँस १० रुपैयाँ र भुईंघाँस ५ रुपैयाँमा काटिदिन्थे ।

त्यतिबेला स्याङजा प्रगतिनगरमा फिल्म हल थियो । टिकटदर १३ र १७ रुपैयाँ थियो । फिल्म हेर्ने पैसाको जोहो गर्नपनि उनले गाउँलेका घाँस काट्दिने गर्थे । हप्तामा ३० रुपैयाँ जति बनाएर हरेक शनिबार हल पुग्थे । ०५३ देखि ०६० सम्म आफुले अत्याधिक फिल्म हेरेको परिवर्तन सम्झन्छन् ।

फिल्म हेर्दा आफु हिरो भएको प्रभाव उनमा समेत थियो ।

एन्जाइटीको सफरले उनको सपनामा ब्रेक लायो । उनमा कुण्ठाको विकास भयो । त्यसलाई अभिव्यक्त गर्ने माध्यमको खोजीमा उनी लागे । उनका लागि अभिव्यक्तिको माध्यम बन्यो रेडियो । रेडियोमा आउने साहित्यक कार्यक्रमलाई उनले नछुटाइ सुन्न थाले ।

सुन्दै जाँदा विस्तारै परिवर्तनमा लेख्ने कलाको विकास हुँदै गयो । रेडियो सुन्ने परिवर्तनका गजल, मुक्तकहरुले रेडियोमै स्थान पाउन थाले । अरुका गजल मुक्तक सुन्ने परिवर्तन विस्तारै रेडियोमार्फत आफ्ना गजल मुक्तक सुनाउन थाले ।

एन्जाइटीको समस्याले ग्रसित परिवर्तन काठमाडौं छोडेर पोखरा फर्किए । पोखरामा उनको साहित्य संघ संस्थादेखि साहित्यक मान्छेहरुसँग भेटघाट बाक्लो हुन थाल्यो । बिरामी परिवर्तनको साहित्यक कार्यक्रममा उपस्थिति कम हुनु स्वाभाविक थियो । तर ०६६ सालदेखि उनको साहित्य यात्राले निरन्तरता पाउन थाल्यो ।

मुक्तक मञ्च, गजल सन्ध्याका धेरै कार्यक्रममा उनको सहभागिता हुन थालेपछि परिवर्तनलाई आत्मबल बढ्न थाल्यो । उनलाई विस्तारै एन्जाइटीको समस्याले छोड्दै गयो । डर लागेजस्तो हुने समस्याबाट उनले उन्मुक्ति पाए ।

parichay

पछि उनले धेरै समय किताबलाई दिन थाले । आख्यान लगायत ओसोका किताबमा उनको ध्यान गयो । ओसोको किताब पढ्दा परिवर्तनलाई आफुलाई पढेजस्तो अनुभुति हुन्थ्यो । विस्तारै आध्यात्मिक बाटोमा समेत लागे ।

साहित्य कार्यक्रममा सहभागी भईरहँदा आख्यान लगायत पोखराको रंगमञ्चको विषयमा कुराकानी हुन्थ्यो । पहिले भइरहेको पोखराको रंगमञ्च अचानक कसरी सुस्तायो ? के अब पोखरेलीले नाटक हेर्न नपाउने ? यस्तै प्रश्न उनको मनमा खेल्न थाल्यो । त्यसपछि नाटकमा लागे ।

परिवर्तनलाई नाटकको बारेमा केही थाहा थिएन । २०६४ सालमा काठमाडौंको गुरुकुलमा मास्टर डिग्रीको मेजर अङगे्रजी विषयमा समावेश गरिएको पाठ्य सामग्रीलाई लिएर नाटक देखाइएको थियो । त्यतिबेला परिवर्तन नाटक हेर्न पुगेका थिए । नाटकको नाम उनले बिर्सिए । त्यसपछि प्रणयमा प्रकट पंगेनी नामक कार्यक्रममा समेत उनको सहभागिता रहयो । त्यतिबेलासम्म उनलाई नाटकको भूतले छोइसकेको थिएन । दर्शक बनेर हेर्थे, सकिन्थ्यो ।

विन्दवासिनीमा परिवर्तनको मिठाइपसल थियो । उनले आफुलाई व्यस्त राख्न उक्त पसल खोलेका थिए । यो ०६६ सालको कुरा हो । दिनभरी काउन्टरमा बस्ने उनको दैनिकी थियो । उनको मिठाई पसलमा प्राञ्जल, शिव पलाँस, फडिन्द्र अकिञ्चन, हेम सुवेदी लगायतको दैनिकजसो भेट हुने गथ्र्यो ।

एकदिन एकाबिहानै परिवर्तनका साथी प्राञ्जलले नाटक गर्ने हो भनेर प्रस्ताव राखे । २०७० सालको कुरा हो यो । नाटक खेल्ने उनको रहर ठूलो । प्रस्तावलाई अस्विकार गर्ने कुरै भएन । परिवर्तनले हुन्छ भने । त्यसपछि कृष्ण उदासीसँग उनको भेट भयो । नाटक सम्बन्धि नै एउटा संस्था बनाउने निष्कर्षमा उनीहरु पुगे । त्यतिखेर परिवर्तन मुक्तक मञ्च पोखराको अध्यक्ष थिए ।

प्राञ्जललाई नै संयोजक बनाएर पञ्चामृत नाट्य समुहको स्थापना भयो । स्थापना पश्चात पञ्चामृत नाट्य समुहले रेडियो अन्नपूर्णमा नाटक गर्न थाल्यो । २०७१ सालमा यो समुहले रेडियो नाटकको सुरु गर्यो ।

परिवर्तन भन्छन्, ‘रेडियो नाटकले मलाई मेडिसिनको काम गर्यो । बिहान ५ बजे रेडियो पुगेर नाटक रेकर्ड गर्ने शिलशिला लामै चल्यो । प्राविधिक रविभूषण पराजुलीको साथ मैले पाएँ । पछि आँफै प्राविधिकको काम समेत गरें । समुहले उत्पादन गरेको रेडियो नाटकलाई विस्तारै सबैले रुचाउन थाले । पञ्चामृत नाट्य समुहको नाम बजारमा सुनिन थाल्यो ।’

बिचमा परिवर्तन रेगुलर चेकअपको लागि काठमाडौं गए । उनले आफ्नो समस्या निर्धक्क राखे । उनको समस्या थियो हिँड्न गाह्रो हुने । डाक्टरले परिवर्तनलाई हिँड्न सुझाए । परिवर्तनको दिमागमा डाक्टरको वाक्यले छाप बस्यो । परिवर्तनलाई पनि लाग्यो ‘म अब हिड्नुपर्छ । साहित्य कलाले मलाई हिडाइरहेको रहेछ ।’

पहिले साथी चाहिने । त्यसपछि साथीबिना नै हिँड्न थाले । उनको स्वास्थ्यमा विस्तारै सकारात्मक प्रभाव पर्दै गयो ।

परिवर्तनको जीवनको पहिलो स्टेज नाटक ‘पुलिस र प्यास’ हो । कृष्ण उदासीको निर्देशनमा पञ्चामृत नाट्य समुहको प्रस्तुति उक्त नाटकलाई पोखरा उद्योग बाणिज्य हलमा प्रदर्शन गरिएको थियो ।

पछि पञ्चामृत नाट्य समुह फुट्यो । परिवर्तन पञ्चामृत नाट्य समुह फुट्नुलाई सबैको सोच नमिलेको बताउँछन् ।

एकअर्थमा भन्दा परिवर्तनलाई नाटकले जीवन दियो । उनी निरन्तर नाटकमा लाग्न थाले । सुस्ताएको पोखरेली नाटकलाई उठाउनमा उनको पहल रह्यो । परिवर्तनका सारथी बने दिलबहादुर गुरुङ र शंकरनाथ कोइराला ।

कोइरालाले आफ्नै जग्गा १० वर्षका लागि भाडामा उपलब्ध गराए । पोखराको गैह्रापाटनमा पोखरा थिएटरको स्थापना भयो । परिवर्तन पोखरा थिएटरमा दुई वर्षमा भएको कामप्रति उत्साहित देखिन्छन् । भन्छन्, ‘दुई वर्षमा पोखरामा नाट्य संस्कृतिको विकास गर्न सफल भएका छौ । पोखरा थिएटर भत्कन सक्ला तर पोखराको रंगकर्म भत्किदैन ।’

पोखरा थिएटर स्थापना भएपछि मान्छेले यति राम्रो काम गरिस् भन्लान भनेर उनले सोचेका थिएनन् । सानो कामले ठूलो सम्मान मिलेको उनी अनुभुति गर्छन । परिवर्तन भन्छन्, ‘दुई वर्षमा पोखराका विद्यालयमा नाटकले प्रवेश पाएको छ । ५० हजार बढी दर्शकले नाटक हेरेका छन् । पोखराको रंगमञ्च एक किसिमले लयमा हिँडेको छ ।’

परिवर्तनका अनुसार कुनै पनि क्षेत्रले कसैलाई पाल्ने होइन । त्यो क्षेत्रमा आफ्नो उपस्थितिले पालिने हो । निरन्तर लागे नाटकबाट पनि बाच्न सक्ने आधार भएको उनी बताउँछन् । अहिले नाटकमा अभिनय गर्नेहरुको जमात बाक्लै भएको उनी पाउँछन् । भन्छन्, ‘हामीले रेडियो नाटक गर्दा कलाकार पाउनै गाह्रो थियो । अहिले हरेक विद्यालयमा कलाकार छन् ।’

पोखरा थिएटरको स्थापनाले पोखराबाट काठमाडौं हाँकिएका कलाकारलाई समेत फर्किन बाध्य बनाएको उनी बताउँछन् । अनुप बराल पोखरा फर्किनु उक्त उदाहरण भएको उनले उल्लेख गरे ।

पोखरामा विस्तारै लयमा दौडिएको रंगमञ्चलाई गण्डकी प्रदेशका हरेक जिल्लामा पुर्याउने लक्ष्य उनको छ ।

पोखरा थिएटरमा प्रदर्शन भएका नाटकका केही झलक :

pokhara internet
Comments
Loading...