NTHMC

३१ जेठ अर्थात् ढकलबारी रोएको रात

सन्तोष बस्याल
पोखरा / 

जेठ ३१ गते शनिबार । भर्खर रात पर्दै थियो । पर्वत कुश्मा नगरपालिका– ३ दुर्लुङ ढकलबारीको दैनिकीपनि सँधाजस्तै चल्दै थियो । तर, एक्कासी ठूलो हुरी चल्यो । भीषण वर्षा भयो । ढकलबारीका सबै आत्तिए । वर्षासँगै आएको बाढीले दुई घरको १० जनालाई कति वेला उठाएर लग्यो पत्तै भएन । भोलि पल्ट बिहान मात्रै उनीहरूको शव फेला प¥यो । ढकलबारीले ३१ जेठ कहिल्यै बिर्सन नसक्ने घाउँ बन्यो ।

roma

ओमबहादुर थापाको गाउँमै सानो किरानापसल छ । सँधाझै शनिबार पनि उनी श्रीमती सँगै पसलमा व्यस्त थिए । लकडाउनमा उनको पसल चलेकै थियो । बिहान आमाबुबा,छोरोछोरी सँगै खाना खाएका थापाले राति अनुहार समेत देख्न पाएनन् । एक्कासी मन भत्कियो । रात भर आकाश रोएझैँ थापाको मन पनि रोइरह्यो । पहिरोमा पुरिएका बुबाआमाको जीवितै उद्दार होला भन्ने आश एका तर्फ थियो भने सन्तान गुमाउने पीडा अर्कोतर्फ ।

ICAS

नभन्दै उनले आमा बुबा सँगै छोराछोरी, बहिनी र भान्जा गुमाउनु पर्यो ।ओमबहादुरका बुबा तुलबहादुर थापा भारतीय सेनामा आबद्ध थिए । भारतीय सेनाबाट अवकाश तुलबहादुर पछिल्लो समय गाउँमै खेती किसानी गर्थे । काम गरे मात्र माम पाइन्छ भन्ने स्वभावका थिए, तुलबहादुर ।

‘कर्म प्रति लगनशील भए मिहिनतको प्रतिफल राम्र्रै हुन्छ भनेर सधैँ बाबाले सिकाएको सम्झन्छु’, ओमबहादुरले भने, ‘दुःखदेखि कहिल्यै पछि नहटने डटेर सामाना गर्ने हिम्मत बुबामा थियो ।’

आमा मीनकुमारी थापा पनि गाउँकै खेतबारीमा व्यस्त हुन्थिन् । ओमबहादुरले सम्झिँदै भने, ‘आमाले पकाएको खाना असाध्यै मिठो लाग्थ्यो मलाई । मेरा छोरा छोरीलाई एकदमै माया गर्नुहुन्थ्यो । छोराछोरी पनि हजुरआमा भनेपछि भुतुक्कै हुन्थे । जसोतसो परिवारमा दिनचर्या राम्रै चल्दै थियो । एक्कासी कहाँबाट दैव लाग्यो । थाहा भएन ।’

ओमबहादुर थापा क्रिया बस्दै

ओमबहादुरका १३ वर्षीय छोरा सुनील थापा र ८ वर्षीय छोरी सिम्रन थापाको स्वभाव असल थियो । ‘छोराछोरीले हामीलाई दुःख त्यति धेरै दिएनन् । उनीहरूलाई हजुरआमा भएपछि पुग्थ्यो । पढाइ समेत राम्रै थियो । छोरा सुनील हजुरबुबा जस्तै आर्मी बन्न चाहन्थ्यो । बहिनीलाई असाध्यै माया गथ्र्यो । दुई दाजु बहिनी एकअर्काको साथी जस्तै थिए । दुई सन्तानको विषयमा मेरो र श्रीमतीको सपना ठूलै थियो । तर सबै सपना टुटेर गए’, ओमबहादुर एकैछिन भक्कानिए ।उनका गला अवरुद्ध भए । फेरि सम्हालिँदै उनी हामीसँग कुरा गर्न थाले ।

छोरा हुर्किएपछि सुख सँग पाल्छ भन्ने आश रहेछ उनमा । तर , उनको आशा निराशामा बद्लियो । उनलाई अझै सपना जस्तै लाग्छ रे ! हुन त बेलाबेला सपनामा पनि छोराछोरी देखि रहन्छन् रे उनी ।

‘राति कहिले काहीँ बाबा भनेर छोराछोरीले पुकारेको आवाजकानमा परेजस्तो हुन्छ । तर विडम्बना आँखा अगाडि उनीहरूलाई देख्न पाउँदिनँ’, ओमबहादुर फेरि भक्कानिन्छन् ।

कलिला छोराछोरीको शवदाह गर्दा ओमबहादुरको मन नरोएको पनि होइन । तर प्राकृतिक विपत्तिको अघि कस्को के लाग्छ र ! सबै देखेर पनि नदेखे जस्तो गर्नुपर्यो । आखिर जीवन अगाडि बढाउनु छ । श्रीमतीलाई सम्हाल्न गाह्रो परिरहेको ओमबहादुर बताउँछन् । भन्छन्, ‘श्रीमतीलाई कसरी सम्हालूँ । उनी रुँदा रुन मन लाग्छ । हाँस पनि कसरी भन्नू ?आमाको पीडालाई बुझ्छु । त्यस पछि दुःखलाई आँशुले पखाल्न दिन्छु । पत्यारनै लागेको छैन छोराछोरी गुमायौँ भन्दा ।’

परिवारको माया के हुन्छ कोही आफूभन्दा धेरै टाढा भएपछि मात्रै थाहा हुँदो रहेछ, यो अनुभव ओमबहादुर गर्दै छन् परिवार सम्झेर एकछिन मै रुन्छन्, एकछिनमा भविष्य सम्झन्छन्, छोरा–छोरी बा—आमा विनाको जिन्दगी कसरी चलाउने ? फेरि मन अमिलो बन्छ रुन खोज्दै सम्हालिन्छन् । कति रुनू ? रुँदा–रुँदा आँशु सकिए होलान् सायद रोएर पनि के गर्नू ?आखिर बाँचेकाले त जीवन चलाउनुछ ।

parichay

ओमबहादुरकी बहिनी दुर्गा थापा लकडाउनका समयमा माइती घरमा थिइन् । छोरा विवेक थापाको पढाइ चलेको थिएन । विस्तारै लकडाउन खुकुलो होला र घरमा फर्कौँला भन्ने थियो । तर अहिले उनीहरू समेत कहिल्यै नफर्किने गरी धेरै टाढा पुगिसकेका छन् ।

०००
पहिरोमा पुरिएर परिवार गुमाउनेमा सावित्रा विक पनि पर्छिन् । उनले बुहारी कमला,नाति जेनिस र नातिनी प्रमिला विकलाई गुमाउनुपर्यो । कमला सावित्राकी कान्छी बुहारी हुन् । उनीहरू छुट्टाछुट्टै बस्ने गर्थे । छोरा विकास रोजगारीको शिलशीलामा साउदीमै थिए । घरमाश्रीमती, छोरा–छोरी पहिरोसँगै बगेको खबरले उनी पराई देश बस्न सकेनन् । घटनापछि आफ्नै देश फर्किए । तर, घर जान पाएनन् । कोरोनाको त्रासका कारण गाउँकै क्वारेन्टिनमा राखिएको छ, उनलाई ।

सावित्रा पुरानो घरमा बस्छिन् । छोरा विकासले गाउँकै ढकलबारीमा नयाँ घर बनाएका थिए । दुःखसुखको कमाईले श्रीमती र छोराछोरीलाई विकासले खुसी नै राखेका थिए । तर शनिबार रातिको पहिरोले उनको खुशी भत्कायो । बालबच्चा र प्राणप्यारी श्रीमतीलाई सँधाका लागि गुमाउनुपर्यो । दुःखले आर्जेको घर समेत रहेन ।

साबित्रा विकलाई पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङ सहयोग रकम हस्तान्तरण गर्दै

शनिबार दिनभरि सासुबुहारीले सँगै काम गरेका थिए । गाउँमा खेती किसानीको चटारो छ । कमलापनि मेलो लगाउन त्यो दिन रोपाइमा गएकी थिइन् । रोपाईको मेलो सकेर घर फर्किँदा साँझ परेको थियो । छोरा जेनिस र छोरी प्रमिला खेलिरहेका थिए । थकाईले लट परेकी कमलाले हातमुख धोएर कपडा के फेरेकी थिइन् । एक्कासी गड्याङगुडुङ गरेको आवाज सुनियो । घरबाहिर निस्कन नपाउँदै माथिबाट आएको पहिरोले सबै तहसनहस पार्र्योे ।

कलिलो उमेरमा पहिरोका कारण ज्यान गुमाएका जेनिस र प्रमिलाको स्वभाव राम्रै थियो । ‘अर्काको घरमा उनीहरू धेरै जाँदैनथे । अराएको कामहरू गर्थे । म सँग मिजासिला थिए । पहिरो जानेदिन बिहानमात्रै नाती मेरोमा आएको थियो । मलाई के थाहा भोलि बिहान उसलाई देख्न पाउँदिन भनेर । पहिरोले सबै सक्यो । खुसीलुट्यो’, सावित्राको गहभरि आँशु देखिए ।

मृतक कमला विकका श्रीमान विवेक विक (दाँया) क्वारेन्टिनमा

गाउँकै क्वारेन्टिनमा भएका विवेकको आँखामा आँशु सुकिसकेको थिएन । बालबच्चा र श्रीमतीको मायाले भित्रभित्र उनलाई सताइरहेको आभाष हुन्थ्यो । छोराछोरी अझै पनि आँखा अगाडि छन् कि भन्दै विवेक टोलाइरहेको दृष्य हामीले देख्यौँ । तर वास्तविकता अर्कै थियो । पहिरोले विवेकको छोराछोरी मात्र होइन सुख दुःखमा साथ दिने जीवनसाथी समेत चटकै चुँडेर लग्यो । परिवार गुमाउनुको पीडामा उनी न त हाँस्न सक्छन् न त रुन नै ।

पहिरो पीडित परिवारलाई राज्यबाट सहयोगको आश्वासन त मिलेको छ । तर उनीहरूको आहत मनलाई राहत कहिले पुग्ने हो यसको कुनै टुंगो छैन । केही मनकारी व्यक्तिहरूले रकम उठाएर आर्थिक सहयोग गरेका छन् । त्यसैका आधारमा क्रिया खर्च समेत टरेको छ ।

 

कुश्मा नगरपालिका ३ दुर्लुङ ढकलबारी पहिरो
ढकलबारीको उक्त घर समेत जोखिममा छ

तस्बिर : गीता राना मगर

pokhara internet
Comments
Loading...