ICAS

भोटको कथा (निबन्ध)

  • सञ्जीव पौडेल 

मेरो मालिक ! मेरो मार्गदर्शक, मेरो हर्ताकर्ता, मेरो आत्मा, मेरो अस्तित्व, मेरो सर्वस्व ! मलाई आज कुन परचक्रीको भरौटेको हातमा सुम्पिदियौ ? मलाई आज यसरी निरन्तर बलात्कार गरिरहेको छ, तिमीले जिम्मा लगाएको मान्छेले कि म यसलाई मान्छे हो भन्न मात्र पनि सक्दिनँ । यसो हेर्छु, मानव आकृतिमा उभिन्छ र ठडिन्छ ऊ । अनि मलाई कर लाग्छ ऊ मान्छे नै हो भन्न । अनायाश त्यो भ्रमात्मक उभ्याइ, त्यो बनावटी ठड्याइ खोइलाको घरझैँ गल्र्यामगुर्लुम ढलिहाल्छ ।

Parichay
Infomatics

कसरी ? मस्तिष्कको कुन कुनाबाट विवेकको तराजु निकालेर कुन तुलो, ढक र सिक्का प्रयोग गर्यौ कि हजारमा हजार अवगुण रहेको यस मानवाकृतिभित्र लुकेको पशु (पशु भन्नु मात्र पनि यसलाई उच्च सम्मानसहितको सिंहासनमा बसाउनु हो ) लाई सर्वगुणवान् देख्यो तिम्रो नजरले ?खै, पत्याउनै सकिरहेको छैन कि मान्छेको सचेत मस्तिष्कबाट पनि यति सारो नीच ढङ्गले विवेकले दलदलको यात्रा गर्दोरहेछ । आफ्नो विवेकलाई भासमा जाकेर मेरो स्वतन्त्र अस्तित्व नामेट पारिदियौ मेरो मालिक । सर्वमान्य स्थानमा सर्वग्राह्य कानुनका ठेली तयार गर्नसक्ने सर्वस्वीकृत मनुष्य चयन गर्नसक्ने मेरो सार्वभौमिक क्षमतामा तालाचाबी यसरी ठोकिदियौ कि म साँच्चै अन्धो बनेँ । यसरी ऐँठनमा पा¥यौ मलाई कि मेरो सारा प्रजननशक्ति क्षीण बनेर गइसक्यो । म एक निमेषमै धानको ब्याडबाट जर्जर सिरुबारीको रुखो माटोमा परिणत भएँ । पलभरमै मलाई प्रजननशक्ति प्रचुर रहेको बहरबाट सुमरिसकेको साँढेजस्तै गोरुझ्याउरे बनाइहाल्यौ ।

तिमीले जसको साथ लाएर मलाई पठायौ, त्यसलाई तिमीले नै छानेर पठाएका हौ भन्नेमा शङ्का मात्रै लागिरहन्छ । तिमीले जसको जिम्मा लगाएर मलाई पठायौ, ऊ कहाँकहाँ जान्छ भनेर तिमीलाई मैले भनिदिएँ भने तिमी सायद ठाडै उभिन पनि सक्दैनौ मेरो प्रिय मालिक । सुरुकै हप्ता हुनुपर्छ सायद, पहिलो पटक नै ऊ लैनचौरको दरबारमा पुगेर ढोगभेट चढायो । ढोगभेटको बदला उसले एउटा ठुलै सुटकेस साथमा लिएर फक्र्यो । अर्को हप्ता त्योभन्दा पनि भव्य तामझामका साथ होटल अन्नपूर्णको अति विशिष्ट कक्षमा उसले आफ्नो जनै उता¥यो । जनै उतार्नासाथ उज्यालो देखिएको उसको हातमा सानो ब्रिफकेस थियो । जहाँ डलरै डलरका बिटा थिए । उसले निवासमा फर्केपछि बिस्तारै एउटा बिटो हातमा लिएर हल्का चुम्बन ग¥यो र सन्तोषको सास फे¥यो ।

साँच्चै भेटघाट मात्र बाक्लो बनाएन उसको उचाइको कद पनि ह्वात्तै मङ्सिरे पूर्णिमामा ठड्याएको बाँसको लिङ्गोजस्तै अग्लिएको छ । त्यही भेटघाटले उसलाई मन्त्रीमण्डलको पहिलो गठनमै मुख्य मन्त्रालयको जिम्मेवारीमा पु¥यायो । मन्त्रालयको कार्यकक्षमा दिनहुँ अनेक फाइल पास गर्नमा उसलाई भ्याइनभ्याई छ । कर्मचारी सरुवा, बढुवाका फाइल उसको टेबलमा हप्तौँ अल्झिन्छन् । कहिले को कहिले को भेट्न आइरहन्छन् । हत्तपत्त भेट दिइहाल्दैन । बडो चतुर छ । निजी सचिवलाई कार्यालय बाहिर पठाएरै घन्टौँ गफ गराउँछ । कुनै कुनै फाइल त यति छिटो काम सक्छ कि मानौँ उक्त फाइलमा भएको काममा उसको दशकौँ लामो अनुभव छ । कुनै फाइल यसरी रोकिन्छन् कि मानौँ तिनीहरु थानकोट–कलङ्कीको सवारी जाममा छन् । पीएले नै फाइल तलमाथि गरिरहन्छ । ठूलो आर्र्थिक आम्दानी गरेपछि मात्र फाइल टेबलबाट अन्यत्र बसाइँ सर्दछन् । अचम्मको पद्धति बसाएको छ उसले । कसैले चाहेर केही हुँदैन उसले चाह्यो भने नहुने केही छैन भन्ने प्रमाणित भइरहेछ। जनसरोकारको विषयमा कहिल्यै वकालत गर्दैन । आफ्नो स्वार्थका परिपूर्तिका लागि उसको बोली नै कानुन बनिहाल्छ । ऊ यसरी स्वेच्छाचारी बनिरहेछ । के तिमीले यसै गरोस् भनेर मलाई यसको साथ लाएर पठाएकै हौ त ?

सटासट ऊ यसरी रात्रिकालीन भोजहरुमा सक्रिय हुन थाल्यो नि मेरो समेत निद्रा हराम भइसक्यो मालिक । मुस्किलले एकोहोरो दाल, भात र तरकारीको जोहो गर्नसक्ने ऊ आज ज्युनार ग्रहण गर्ने बनिसकेको छ मालिक । उसको जिब्रोले सामान्य दालभातमा स्वाद भेट्न छोडिसक्यो । मही र मकैको उसको खाजा मदिरा र मस्तीमा बदलिइसकेको छ ।

उसको सक्रीयता ह्वात्तै चुलिएर ऊ बेफुर्सदी बन्यो । छोटो समयमै उसको लवाइखवाइ फेरियो । बोलीमा निकै उँचो गाम्भीर्य चढेर आयो । हिँडाइको ढलक फेरियो । कति छिट्टै ऊ सामान्य मान्छेको उचाइभन्दा अग्लो भइसक्यो । उसले सामान्य मानिसलाई अलि तल घोरिएर हेर्नुपर्ने भइसक्यो । मलाई त अब उसले मेरो मालिकलाई समेत चिन्छ भन्नेमा नै शङ्का लाग्छ ।

वर्षौँको करिब करिब शतकको सङघर्षपछि हामीहरु मिलेर लेखेको संविधानले सुनिश्चित गरेको तिम्रो सार्वभौमसत्तालाई तिमी आफैँले नचिनेको त पक्कै होइनौ होला मेरो मालिक । आफ्नो सार्वभौमसत्तालाई यसरी भासमा जाकिने गरेर पाखण्डीका जिम्मामा तिमी आफैँले त नसुम्पिनु पर्ने ! तिमी त शिक्षित, सचेत र समसामयिक परिस्थितिको राम्रै जानकार थियौ । अझ अरुलाई समेत तिमी सचेत तुल्याउँदै हिँड्थ्यौ । अरूलाई दगुर्न सिकाउने व्यक्ति आफू हिँड्न नजानेरै लड्छ भन्नेमा म विश्वास गरिहाल्न सक्तिनँ । अधिकार प्राप्त गर्नै हो गाह्रो, प्रयोग गर्न त हरेकले जानिहाल्छ भन्ठान्थेँ म । तर अधिकार हातमा आइसकेपछि पनि प्रयोग गर्न नजानेर चिप्लिँदो रहेछ मान्छे र दुर्घटित बन्न पुग्दो रहेछ । यो चरम दुर्घटना जसले मलाई निकम्मा बनायो, म कसरी सहन गर्न सक्नू ?

सायद तिमीले पहिले नै मलाई ‘तँलाई खराब मानिसको जिम्मामा छोड्दै छु’ भनेर थाहा मात्र दिएको भए तापनि म या त विद्रोह गर्ने थिएँ या त चित्त बुझाएर बस्ने थिएँ । दण्डहीनता, अकर्मण्यता, कानुनको दुहाइ, मर्यादाको मानमर्दन आदि सबै गर्दै हिँडेको म टुलुटुलु हेरिरहन विवश छु आज । गर्न पनि के नै सक्छु र ? कम्तीमा अबको चार वर्षसम्म म यसको पञ्जाबाट फुत्किन नै सक्ने छैन । जताजता जान्छ, त्यतै जान्छु । जेजे गर्छ, एकोहोरो हेर्छु मात्र । अँठ्याउँछ कमजोरहरूलाई, व्रन्दन सुन्छु । राक्षसी पाउहरूमा शिर ओछ्याउँछ, आश्चर्यचकित हुन्छु । आफ्नाहरूमाथि निरन्तर कोर्रा बर्साउँछ, दुख्छु भित्रैदेखि । एक वर्ष बितिसक्दा पनि एउटा त्यस्तो दिन मैले व्यहोर्न पाइनँ, जहाँ मेरो आकाङ्क्षा पूरा हुने गरी उसले काम गरेको होओस् । सामान्य मान्छेका चाहनाहरूमा संवेदनशील भएर एक क्षण पनि उसले सोचेको देखेको छैन मैले उसलाई । एक दिन त ऊ सपनामा पनि माटोविरोधी षड्यन्त्र बुनिरहेको थियो । ऊ बर्बराइरहेको थियो र भनिरहेको थियो –“मलाई यही पाँच वर्षे कार्यकाल त हो जनताले पत्याउने, त्यसपछि म चाहेर पनि यस पदमा आरुढ हुन पाउँदिनँ । जसरी सकिन्छ आफ्नै भकारी भर्ने हो । हजुरले चिन्ता नलिनुस्, म मिलाउँछु ।”यो सुनेपछि मेरा दाह्रा कट्कटाएका थिए । तरबार उचाल्न आँट भरिएर आएको थियो । तर मेरा हात बाँधेर उसको आदेश मान्ने गरी तिमीले नै मलाई कुँजो बनाई पठाएका थियौ । मेरा मुखमा पट्टी लगाइदिएका थियौ । मेरा गोडामा नेल ठोकिदिएका थियौ । म कानले सत्य सुन्न र आँखाले यथार्थ दृष्टिगोचर गर्नसिवाय केही सक्दिनथेँ ।

अरू त सबै उस्तो अनौठो लागेको होइन, सबैलाई अधिकारका पाठको प्रवचन दिएर नथाक्ने मेरो मालिक तिमी आफैँ राज्यले दिएको मतदानको अधिकारलाई चरम दुरुपयोग गर्ने यस तहसम्म कसरी पुग्यौ ? विवेकको खुला आकाशजस्तै विशाल ढोकामा कसरी कालो पलेँटो बन्द हुने गरी लगाइयो ? कसरी ठोकियो भोटेताल्चा ? म आश्चर्यचकित भएको छु मेरो मालिक । म गम खान्छु । पैसाकै लोभमा परेर आफ्नो अमूल्य मत यति अक्षमका पक्षमा दान त पक्कै दिएनौ भन्ने ठान्छु । यसकारण कि विगतमा पनि तिमीलाई यस प्रकृतिका प्रलोभन नआएका होइनन् । तिमीले खप्की खाएर पठाउँथ्यौ त्यस्ता प्रस्तावमा तिमीलाई झुलाउन खोज्नेहरूलाई । न यो माइकालाल तिम्रा बाबुतिरको न त तिम्री आमातिरको ! न ससुरालीपट्टिको न त सम्धीतर्फको । कहीँ कतै गोरु बेचेको साइनोसम्म नलाग्ने यस डाम्नाका पक्षमा तिम्रो विवेकी आत्माले कसरी चुनावी तालमेल गरेर सहीछाप ठोक्यो ? मलाई यही प्रश्नले निरन्तर अन्यमनश्क बनाइरहेको छ । म किंकर्तव्यविमूढ बनेर मुक बसिरहेको छु । तिमी कुन अमुक शक्तिले अचानक यस षड्यन्त्रकारीका कित्तामा मतदान गर्नेमा पुग्यौ र तिम्रो अमूल्य सम्पत्तिका रूपमा रहेको म (मत) लाई यसका पोल्टामा थमाइदियौ ?

आज यो भिजिलान्तेको चुरीफुरी जतिजति बढ्दै जान्छ नि उतिउति तिम्रो निष्कृयता देखेर मेरा कन्सिरीका रौँ तात्न पो थालेका छन् त । अबको करिब चार वर्षपछि फेरि जब म तिमीमा सवार हुनेछु, त्यतिबेला तिम्रा कानका जरा उखेलिने गरी कान कि मान गराउनेछु । माफी माग्न लगाउनेछु । मलाई यति निरीह बनेर मेरा खोला बेचिएको, सीमा अतिक्रमणका प्रपञ्च बुनिएको, संस्कृतिमाथि एकोहोरो मृत्युधून फुक्ने शङ्ख बजाइएको, गरिबीको मलजल गरिएको, राज्यका स्रोत कमिसनका आधारमा ठेक्कामा चलाइएको चुपचाप हेर्न बाध्य बनाउने तिमी कुनै बाहनामा पनि उम्कन पाउने छैनौ । सिरुपाते खुकुरी हातमा लिएर चमचम पार्दै तिम्रा घाँटीमा बजार्नेछु । माटोले पसिना, जलप्रवाहले टर्बाइन, वनजङ्गलले औषधालय, काष्ठउद्योग, झरना, पर्वत, हिमालय सबका सबले पर्यटकहरूको आग्रह गरिरहेका बेला तिमीले मलाई सिर्जनाको साटो ध्वंशको साक्षी बन्ने गरी किन कुलाङ्गारका साथ लाएर पठायौ ? मलाई यसको चित्तबुझ्दो जवाफ चाहियो मालिक । मालिक भएँ भन्दैमा म दास बनिरहन्छु नभन्ठान । यो सहअस्तित्वको समय हो । सहकार्य र सद्भावको मौसम हो । यस्तो मौसममा एकोहोरो तानासाह बनेर तिमी ममाथि यति निर्लज्ज ताण्डव नाच्छौ भन्ने सोचेका मात्र भए पनि मैले तिम्रा हात मतदानका बेलैमा भाँचिदिने थिएँ । आजसम्म निरन्तर परिवर्तनका पक्षमा मलाई परिवर्तनका संवाहकको साथ लगाएर पठाएका तिमी यसपटक आफ्नो कर्तव्यमा कसरी, किन र कुन उद्धेश्यले चुक्यौ ? मलाई यसको कारण जान्नु छ ।

मालिक हुँदैमा मालिकका कर्तव्य हुँदैनन् र ? आफ्ना कामदारलाई जो सुकैकहाँ जस्तोसुकै काम गर्ने गरी पठाउन त कहाँ पाइन्छ र ? मालिकका मर्यादा हुँदैनन् ? मालिकका अधिकार मात्रै हुन्छन् ? हाम्रा अधिकारका धारा उपधारा हुँदैनन् ? संविधानको मर्मविपरीत कुपात्रहरूलाई आफ्नो अमूल्य मत सुम्पनु अवश्य पनि तिम्रो स्तर सुहाउँदो कार्य होइन भन्नेमा म विश्वस्त छु । होइन, साँच्चै तिमीमाथि षड्यन्त्रका महचाकाहरू तेस्र्याइएको हो भने र तिमी त्यसैमा फँसेर यति गम्भीर गल्ती गरेका हौ भने तिमीलाई म क्षमा दिन सक्दिनँ । अब म तिमीकहाँ पुनः तिमीलाई नै मालिक मानेर पटक पटक बलिको बोको बनेर अकर्मण्यता र स्वयं माटोमाथि हुने षड्यन्त्रको साक्षी बनेर बस्न सक्दिनँ ।

अन्यथा तिमीमा पनि पश्चातापको अग्नि दन्किरहेको छ भने, तिमीलाई पनि परिवन्धमा पारिएको हो भने म तिम्रो साथमा सदासर्वदा रहने छु । आऊ अब एकसाथ जुटौँ । लडौँ मतको दुरुपयोग गरेर शृङ्खलाबद्ध रूपमा भएका षड्यन्त्रका विरुद्ध । आगामी चार वर्षपछि तिमी यस्ता मान्छेका साथमा मलाई सुम्पेर पठाऊ कि म आजका मितिसम्म यो माटोविरुद्ध भएका एक एक षड्यन्त्रका फाइल उल्ट्याउन सकूँ । षड्यन्त्रकारीलाई विश्वका जुनसुकै कुनाबाट पनि कब्जामा लिन सकूँ । भराउन सकूँ क्षतिपूर्ति, चलाउन सकूँ मुद्दा देशद्रोहको । पाइ पाइ हिसाब लिन सकूँ षड्यन्त्रका तानाबानाको । ठिँड्कामा जाक्न सकूँ र सेखी झार्न सकूँ । बेइमानीको मूल्य असुलउपर गर्नसकूँ । जनमतको अपमानको दुष्परिणाम कतिसम्म प्रत्युत्पादक हुन सक्छ भन्ने देखाइदिन सकूँ । तिम्रो विवेकको उच्च सम्मान गर्दै रोकिएका विकास, सिर्जना, आविष्कार, परिवर्तन र सम्भावनालाई बेजोड गति प्रदान गर्ने रहर छ ।

अबको चार वर्ष त म कुँजिएरै रहने निश्चित छ । तबसम्म तिमी बाहिर बसेर षड्यन्त्रका पर्दा च्यातिने गरी आवाज उठाइरहनू मेरो मालिक । तिमी चुपचाप अन्यायको साक्षी बनेर बसेको मलाई चित्त बुझेको छैन । सचेत मस्तिष्क चुप लाग्नु भनेको अन्यायको राँको फैलँदै जानु हो र सिर्जना र सम्भावनालाई भष्म खरानी बनाउनु हो । मलाई मेरो मालिकको ज्ञान ओइलाएको पटक्कै सह्य छैन । मलाई मेरो मालिकले मुखमा बुजो कोचेर आवाजविहीन बनेको दृश्यले निरन्तर पोलिरहेको छ । आफ्नो सम्पत्ति अरूको जिम्मामा लगाएर बेखबर बनेर बस्दा मलाई छाती फुट्ला जस्तै भएको छ । पैसा बैङ्कको जिम्मामा खातामा जम्मा गरेर मात्र हुँदैन बेलाबेला खाता रुजु गरिरहनुपर्छ मालिक । मेरो मालिक कम्तीमा पनि सचेत नागरिक समाजको जिम्मेवार व्यक्ति बनेको हेर्ने रहर हो । ता कि आगामी दिनमा यस प्रकारले लाखौँ करोडौँ मालिकहरूका मजस्ता भोटहरू केबल भोटहरू मात्र नबनून् । ती एक एक मत परिवर्तनका संवाहक बनून् । सिर्जनाका प्रतिमूर्तिका रूपमा ठडिइरहून् । स्रोत र साधनको समुचित प्रयोगका माध्यम बनून् । साँच्चै आमूल परिवर्तनका क्रान्तीकारी प्रतिनिधि बनेर संसदका बैठक, मन्त्रालयका योजना तर्जुमा हरूमा, न्यायालयका पारदर्शी कार्यान्वयनका एक एक तहमा नायक बनेर प्रस्तुत होऊन् । अनि पो म सधैँ मेरा मालिककै भलाइका निम्ति हर क्षण हर पल दत्तचित्त बनेर बस्न सक्ने थिएँ । म यही चाहन्छु कि मेरो मालिक साँच्चिकै नेताको मालिक बनिरहन सकोस्, सरकारको मालिक बनिरहन सकोस् र सदासदा आफ्नै मालिक बनिरहन सकोस् । म मेरो मालिकलाई देशको मालिक बनाउन जिम्मेवार ढङ्गले लागिरहन सकूँ । म एक भोट मेरा एक एक मतदातालाई साँच्चै मालिक बनाउन चाहन्छु किनकि म संविधान संविधानजस्तो, सरकार सरकारजस्तो र देश देशजस्तो बनाउन चाहन्छु । म साँच्चै नागरिक नागरिकजस्तो र मत मतजस्तै शक्तिशाली बनेको देख्न चाहन्छु ।

pokhara internet
Comments
Loading...