NTHMC
aama movie

चिया डढाउँदा करोडपती

भुतुक्कै पार्ने डढेको चिया

पोखरा । ग्यास चुल्होमा भक–भक उम्लिएको चियालाई सानो डाडुको सहायताले गिलासमा हाल्दै प्रतिप्रश्न गर्छन् – “पानी डढ्यो भने के बन्छ ?” न यो प्रश्नको तुक छ, न त यसको कुनै सहज उत्तर नै । तर उनले यसको उत्तर दिए – “सबैले भन्ने बनिबनाउ उत्तर हो – खै ?”

तर त्यही पानीलाई चियाको रुप दियो र त्यसलाई डढायो भने के बन्छ ? फेरी प्रश्न र गिलास भरीको चिया दिँदै भने – ‘‘ल यो चिया खानुस्, अनि कुरा गर्नुस् । हो, अहिले पोखरामा यही चियाको चर्चा छ, चिया पारखीहरुको लागि । सबैले जनबोलीको भाषामा भन्ने गर्छन् “डढेको चिया ।”

तुलसीराम शर्मा त्यही डढेको चिया पसलका सञ्चालक हुन् । वास्तवमा उनको चिया पसलको नाम हो फ्रेण्डसीप खाजा घर । तर उनको पसललाई कसैले पनि वास्तविक नाम भनेर चिन्दैनन् । या त “डढेको चिया” या त “मिठो चिया” यो नै हो उनको चियाको परिचय बनेको छ अहिले । उनलाई कसैले चिन्दैन् तर उनको चियालाई सबैले सधैँ सम्झन्छन् ।

उनले चिया बनाउने कुनै तालिम लिएका होइनन्, तर पनि आवश्यकताले उनलाई अहिले पोखरा कै चिया पारखीका लागि एक मात्रै विकल्पको रुपमा स्थापित गरिदिएको छ । उनी भन्छन् – ‘‘चिया भनेको मगमग बसाउनुपर्छ, गनाउनु हुँदैन ।’’

उनको भाषामा गनाउने भनेको चियामा दुधको गन्ध आउने हो । उनले भने – “चियामा त चिया कै गन्ध आउनुपर्छ नत्र त्यो कसरी चिया हुन्छ ? चियामा दुधको गन्ध आउनु भनेको त चिया बिग्रनु हो ।”

कसरी बन्छ त यस्तो चिया ? उनले मुस्काउँदै भने – ‘‘हुन त यो भन्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो, तै पनि म अब यो काम केही वर्षपछि छोड्दै छु, त्यसैले अरुलाई पनि सिकाउँदा राम्रै होला ।’’ उनले भन्न थाले – “म बिहान ४ बजेबाट कुँडेमा दुध राखेर ग्याँस बाल्छु र दुध नसकिएसम्म त्यो ग्याँस निभाउँदिन अनि मिठो हुदैन त ?” उनले दुध तताउने कुँडे (भाँडो) मा कुराउनी लाग्ने गरी दुधलाई उमाल्छन् र त्यही खाटी दुधमा चिया बनाउँछन् । उनले भने – “मान्छेहरु पानीमा दुध हालेर पनि दुध हो भन्दै बेच्छन्, तर मैले चियाको दुधमा पनि एक थोपा पानी हाल्दिन ।” उनले अगाडी थपे – ‘‘घरमा यस्तो स्वादको चिया बनाएर खान भने सकिदैन है, किन भने घरमा कुँडे डढाउन अलि गाह्रो हुन्छ ।”

त्यसैले त उनको पसलमा चिया खानकै लागि मात्रै पनि ३० किलो मिटरसम्मको दुरीबाट पनि आउने गर्छन्, दिनहुँ । लामाचौर, छोरेपाटन, हेम्जा, लेकसाईड र लेखनाथबाट समेत उनको पसलमा चिया खान आउने गर्छन् । पेशाका हिसाबले भन्ने हो भने डाक्टरदेखि मकै पोल्नेसम्मका सबै उनकै चियाका पारखीहरु हुन् । उनले दैनिक ४० लिटर दुधको चिया बेच्ने गरेका छन् ।

बिहान ४ बजेदेखि उनको चिया बनाउने काम सुरु हुन्छ र ४० लिटर दुध नसकिएसम्म बेचिरहन्छन् । उनी भन्छन् – “हरेक बिहानदेखि बेलुका ५÷६ बजेसम्म चिया हुन्छ, त्यसपछि त दुध सकिन्छ, अनि चिया पनि सकिन्छ ।”

उनको पसलमा चिया खाएपछि अन्यत्र चिया खान मन नपर्नेहरु धेरै छन् । ‘‘पहिलो पटक आउँदा त २ कप चिया नखाई कोही ग्राहक पनि गएका छैनन् ।’’ उनले थपे – “लगातार एउटै कुर्चीमा बसेर सात कप चिया खाने ग्राहक पनि आएका छन् यहाँ ।” उनलाई चिया बनाएर बेच्न उनकी श्रीमती सुमित्रा शर्माले २४ सै घण्टा सहयोग गर्छिन् । “पेट पाल्न अरुको काम भएपनि गर्नुपथ्र्यो, तर आफ्नै काम गरिएको छ, सबैलाई खुसी हुने गरी चिया खुवाइएको छ, हामीले गर्ने धर्म यही हो ।” उनी खुसी हुँदै भन्छिन् ।

पैसा कमाउने मान्छे अनुसारका तरिका होलान्, क्षमता अनुसारका लगानी पनि होलान्, तर विगत २० वर्षदेखि पसल सञ्चालन गरेका शर्माले सुरुमा बिहान बेलुकी खाना बेच्थे, तर चिया निकै कम मात्रै बेच्थे । अहिले भने चिया मात्रै बेचेर पनि राम्रो कमाई गरिरहेका छन् ।

कमाई कति हुन्छ त ? भन्ने प्रश्नको उत्तर दिँदै उनी भन्छन् – “मैले चिया मात्रै बेच्न थालेको ८ वर्ष भयो, यो बीचमा पोखरा मै घडेरी किनेर साढे दुई तले घर बनाए ।” यसलाई अहिले बेच्दा पनि तीन करोड जती पर्ला ।’’ उनले अगाडी थपे ।

उनले अबको पाँच वर्षभन्दा बढी समय चिया नबेच्ने घोषणा पनि गरे । किन त ? उनको उत्तर थियो – “यत्रो दुख गरेर चिया बेचेर बनाएको घरमा बस्नु पनि त प¥यो नि । अब पाँच वर्षपछि यो पसल अरु कोही काम गर्छु भन्नेलाई हस्तान्तरण गर्ने सोँचमा छु ।”

उनले छोडेपछि पनि उनको चियाका पारखीहरु बितारा नपरुन् भन्ने मनसाय पनि उनको रहेको छ । यो पेशामा लगानी नै लाग्दैन उनले भने तर आँट निरन्तरता र मेहनत भने अरु पेशामा भन्दा बढी चाहिन्छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?