ICAS
Rara

‘मिस ह्वील चियर नेपाल’ शीर्षकमा सौन्दर्य प्रतियोगिता

शारीरिक अपाङ्गता भएकाहरुबीच पनि अब ‘मिस ह्वेलचियर नेपाल’ सौन्दर्य प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको लागि शारीरिक अपाङ्गता भएका युवतीहरुले आवेदन दिन सक्नेछन् । यसका लागि उमेर हद भने ३५ बर्षभन्दा बढी हुन नहुने आयोजक ‘वि नेपाल’ले जनाएको छ ।

२०७२ सालको विनासकारी भूकम्पपछि स्थापना भएको वि नेपालले पहिलो पटक यस किसिमको सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजक संस्थाकी अध्यक्ष साबु पौडेल केसी भन्छिन्, ‘यो सौन्दर्य भन्दा पनि प्रतिभा प्रतियोगिता हो । किनभने यसमा हामीले उनीहरुको रुपरंगलाई भन्दा बढी रचनात्मक क्षमतालाई महत्व दिनेछौं ।’

देशभरबाट युवतीहरुले प्रतियोगितामा सहभागी हुन सक्नेछन् । यसका लागि ह्वील चियर, बैशाखी, क्यालिपर, कृतिम खुट्टाको साहयतामा दैनिक जीवन यापन गरिरहेकाहरुले आवेदन दिनुपर्नेछ । छनौट भएका युवतीमध्ये १५ जनालाई व्यक्तित्व, नेतृत्व क्षमता विकासका लागि ग्रुमिङ सेसनमा राखिनेछ । यस अन्तर्गत विभिन्न तालिम, भाषण कला, आत्मविश्वास बढाउने विधी आदि सिकाइनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले चैत्रमा हुने आयोजकले बताएको छ ।

प्रतियोगिताका शीर्ष उपाधि विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी फस्र्ट रनरअप र सेकेन्ड रनरअपले क्रमस ५० हजार र २५ हजार रुपैयाँ नगत पाउनेछन् । ‘मिस ह्वीलचियर नेपाल’का विजेतालाई मिस नेपालकी विजेताले क्राउन पहिर्‍याइदिनेछिन् । ग्रान्ड फिनाले कमलादीस्थित प्रज्ञा भवनमा हुनेछन् ।

parichay

मिस ह्वीलचियर नेपालको लागि पूर्व मिस नेपाल सुगारिका केसीले कोरियोग्राफी गर्नेछिन् । यसैगरी राजभाई सुवाल फोटोग्राफर रहनेछन् ।

‘शारीरिक अपाङ्गता भएकाहरुमा उत्साह, उर्जा र आत्म मनोबल बढाउनका लागि यो प्रतियोगिताको अवधारणा ल्याइएको हो’ वि नेपालकी साबु पौडेल भन्छिन् । अन्तर्राष्ट्रिय स्तरमा यस किसिमको प्रतियोगिता हुने भएपनि नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको उनले बताइन् ।

गैर नाफामुलक संस्था वि नेपाललाई यस कामको लागि हातेमालो गर्नेछन् लायन्स क्लब अफ काठमाडौं, ककनीले । क्लबका अध्यक्ष इन्द्र रत्न बज्राचार्य भन्छन्, ‘शारीरिक अपाङ्गता भएकाहरुलाई कतिपय अवस्थामा विभेद गरिन्छ । यस्तो विभेद विरुद्ध आवाज उठाउन पनि यो कार्यक्रमले केही हदसम्म भूमिका खेल्नेछ ।’

विनासकारी भूकम्पपछि धेरैको अंगभंग भयो । यसरी शारीरिक अपाङ्गता भएकाहरु संघर्ष गर्दै आ-आफ्नो क्षेत्रमा प्रगति गरिरहेका छन् । उनीहरुलाई थप प्रोत्साहित गर्न पनि वि नेपालको स्थापना गरिएको र सौन्दर्य प्रतियोगिता गर्न लागेको साबु पौडेलले बताइन् । वि नेपाललले अहिले अपाङ्गता भएका युवतीहरुमा सीप विकास गर्ने र रोजगार प्रदान गरिरहेको पनि उनले बताइन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?