ICAS

तिमी जस्तै फुल्ने रहर छ ( कविता )

– मिना थापा

तिमी जस्तै फुल्ने रहर छ
—————————-
प्रिय फूल मलाई
तिमी जस्तै फुल्ने रहर छ
जगतभरि सुवास छर्ने रहर छ
तिमीले जस्तै
जीवन रंगीन बनाउने रहर छ

Parichay
Infomatics

प्रिय फूल
तिमी फुल्दा सयौं भमरा र पुतली खुसीले नाच्छन्
चराचुरुङ्गी गीत गाउँदै रमाउँछन्
मान्छेहरुले तिमीलाई चोखो प्रसाद सम्झिन्छन्
र भगवानलाई चढाउँछन्
प्रकृतिले सर्वश्रेष्ठ सौन्दर्य पाएको महसुस गर्छ
पाखापखेराले यौवन फुलेको आभास गर्छ

तिम्रो बैँस हुँदासम्म
तिमीले सुवास छर्दासम्म
तिम्रो जीवन रहँदासम्म
सबैले आँखामा सजाउँछन्
आफ्नो शोभा बढाउनको लागि
सबैले शिरमा सिउरिन्छन्
अनि
गलामा पहिरिन्छन्

तर
जब तिम्रो बैँस ढल्छ
तिम्रो सौन्दर्य भूइँमा झर्छ
तिम्रो सुगन्ध हावामा मिल्छ
तब
सबैले तिमी माथि थुकिदिन्छन्
दुष्टहरुले तिमीलाई कुल्चिदिन्छन्
अनि तिम्रो नाम बदलिदिन्छन्
फोहर भनी डस्टविनमा हालिदिन्छन्

फुल्दा मात्र तिमी फूल हौ
हाँगाबाट चुडिएपछि
तिम्रो जीवन समाप्त हुुन्छ
तिम्रो अस्तित्व माटोमा मिल्छ

र पनि
तिम्रो जीवन रहँदासम्म
हाँसी हाँसी जीवन फुलाइदिन्छौ
काँडा बीच जवानी भुलाइदिन्छौ
पाखा पखेरा हराभरा बनाइदिन्छौ

प्रिय फूल
मलाई थाहा छ
म पनि एक दिन
यो माटोमा विलिन हुनेछु
त्यो दिन मेरो पनि अस्तित्व मेटिने छ
अनि
तिम्रो र मेरो कथा उस्तै हुनेछ

त्यसैले
जीवन रहँदासम्म
भोलिको चिन्ता भुलेर
निस्फिक्री भएर
तिमी जस्तै फुल्ने रहर छ

हो फूल
मलाई तिमीले जस्तै
जगतभरि सुवास छर्ने रहर छ
अनि जीवनभर
उसको दिलको रानी बन्ने रहर छ ।

pokhara internet
Comments
Loading...