मुख्यमन्त्रीलाई मीन बहादुर गुरुङको खुलापत्र : कोरोना जस्तो महामारीमा राज्य किन गैरजिम्मेबार भयो ?

पोखरा /

केही समय अगाडि पोखराको लेकाली चुलो घर र होटल टास्क इन्टरनेशनल प्रालिका संचालक मीन बहादुर गुरुङलाई कोरोना संक्रमण भएको थियो । असोज २६ गते कोरोना संक्रमित भएका गुरुङले कोरोना जस्तो महामारी रोगमा सरकार गैरजिम्मेबार भएको तर्क गरेका छन् । उनले सो सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना जस्ता महामारीमा राज्य किन गैरजिम्मेबार भयो भन्दै प्रशन गरेका छन ।

उनले सरकारले बोल्ने काम मात्रै गरेको काम भने केही नभएको उल्लेख गरेका छन् । होटलका कर्मचारीको पिसिआर परीक्षणका लागि समन्वय गर्न पोखरा महानगरपालिकालाई पटकपटक अनुरोध गरे पनि सुनवाई नभएको उनको गुनासो छ । नागरिकको स्वास्थ्य प्र्र्रति प्रदेश सरकार संवेदनशील छ भन्ने अन्तर्वार्ता मुख्यमन्त्रीको सुनेता पनि व्यवहारमा भने नपाएको मीन बहादुर गुरुङले बताए । नागरिकलाई भोट बैंकको रुपमा प्रयोग गर्न खोजिएको उनको आरोप छ । खुलापत्रमा हामी सचेत रुपमा सार्वजनिक भएर संक्रमण रोक्नलाई राज्य सँग गुहार माग्दा राज्य अमुक हुन्छ भने अपराधी को हुन्छ? भन्दै प्रशन समेत गरिएको छ ।

ICAS

खुलापत्र :

माननीय मुख्यमन्त्री ज्यु नमस्कार।

मुख्यमन्त्रीको कार्यालय पोखरा, गण्डकी

बिषय: ध्यानाकर्षण सम्बन्धमा।

माननीय मुख्यमन्त्री ज्यू, म कोरोना संक्रमित मीन बहादुर गरुङ हु। मलाई कोरोना संक्रमण पुष्टि मिति २०७७ साल आश्विन -२६ गते भएको छ। उक्त दिन देखि मेरो परिवार र मेरो लेकाली चुलो घर र होटल टास्क ईन्टरनेशनल प्रा. लि. मा कार्यरत म संग सम्पर्कमा आएका कर्मचारीहरु महानगरको निर्देशन बमोजिम क्वारेन्टीनमा बसेको ७ अौ दिन भयो र मेरो ब्यबसाय पूर्ण बन्द छ।

हामीले परिवार र कर्मचारीहरुको Paid PCR Test गराउछौ समन्वय गरिदिनु पर्यो भन्यौ महानगरलाई , हुदैन महानगरबाटनै जानु पर्छ भनियो । हामी कुर्यौ र आज महानगरको घुम्ती स्वाब केद्र मालेपाटनको कृषि तालिमकेन्द्र गयौ। तर हामीलाई तपाईहरु हाेटलको रहेछ हुदैन ।तपाईंहरु आफै गर्नुहोस भनियो? मेरो होटलको कर्मचारी र पाहुनालाई लागेको होइन, म होटल संचालकलाई लागेको हो।

त्यसैले Contact Tracing Test मा परेको हो। वडाले हुन्छ भनेर हामीलाई एक हप्ता थुनेर राख्यो तर भएन। कहाँ जाने? त्यो पनि स्पष्ट भएन। मुख्यमन्त्री ज्यु हामी जाने कहाँ हो? राज्यले गैरजिम्मेवारी कुरा गर्न मिल्छ? कोरोना जस्तो महामारी रोगमा। मुख्यमन्त्री ज्युको केही दिन अगाडिको अन्तरवार्ता हेरेको थिए- गण्डकीमा समुदाय स्तरमा कोरोना छैन भन्नू भयो। मुख्यमन्त्री ज्यु म लगाएत धेरै संक्रमित साथिहरु पोखरा छोडेर बाहिर गएका छैनौ।

हामी कसरी संक्रमित भयौ? कृपया हामी उत्तर चाहन्छौ। PCR घर दैलोमा भन्ने पनि सुनियो हामी गण्डकी हस्पिटल नजिकको मान्छे, मालेपाटन जादा पनि पाएनौ? समाजमा धेरै मानिस संक्रमित छन्।राज्यको यहि नीतिले गर्दा समुदायमा कुहिएर बसेकाछन्।के जनता राज्यलाई कर भुक्तान गर्न र चुनावमा भोट हाल्नका लागि मात्र हुन?

मुख्यमन्त्री ज्यु हामी दास होइन संघिय गणतन्त्र नेपालको स्वाभिमानी नागरिक भएर बाच्न चाहन्छौ। मलाई लाग्छ कोरोना संक्रमण लुकाउनु अपराध हो। हामी सचेत रुपमा सार्वजनिक भएर संक्रमण रोक्नलाई राज्य संग गुहार माग्दा राज्य अमुक हुन्छ भने अपराधी को हुन्छ? मुख्यमन्त्री ज्यू जिम्मेवार उत्तर दिनु होला। धन्यवााद।।

संक्रमित 

मीन बहादुर गुरुङ पोखरा-१०

अमरसिंहचोक, कास्की ९८५६०३२६७६

pokhara internet
Comments
Loading...