ICAS

गरिबको आँशु पुछ्दै माया पार्वती, विपन्न परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण

सन्तोष बस्याल

पोखरा / 

Parichay
Infomatics

बैशाख २५ गते कान्तिपूर दैनिकमा दिपक परियारको बाइलाइनमा एक समाचार छापियो । समाचारको शिर्षक थियो गरिबीको मार ः नागरिकता राखेर उपचार, लास उठाउन चन्दा । गरिबीका कारण जन्डिसले थलिएकी प्रमिला साहले उपचार नपाएर जीवन त्याग्नुपरेको समाचार थियो त्यो ।

सिराहाको लहानमा स्थायी घर भई हाल पोखरा—१७ छोरेपाटनमा भाडामा बस्दै आएका रामदेव साहकी श्रीमती हुन् प्रमिला । जसको बैशाख २५ गते बिहान उपचारकै क्रममा निधन भयो । ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेका रामदेवले महामारीका बेला श्रीमती बचाउन सकेनन् । ३९ वर्षको अल्पआयुमै उनले प्रमिला गुमाउनुपर्यो ।

प्रमिलाको निधन पछि छिमेकी र वडाध्यक्ष तीर्थराज अधिकारीको पहलमा अन्त्येष्टि त भयो । तर उनीहरुको समस्या अझै टरेको छैन । क्रिया बसिरहेका रामदेवको परिवारमा आर्थिक समस्या हुँदा सकस भइरहेको छ ।

पछिल्लो समय उनीहरुको आर्थिक समस्यामा केही राहत भने मिलेको छ । काँगे्रस नेतृ सरस्वती गुरुङको पहलमा पार्वती गुरुङ र माया गुरुङ रामदेवकै घरमा पुगेर सहयोग गरेका छन् । आफुलाई माइलाकान्छा नामबाट परिचित गराउने उनीहरुले बुधबार रामदेवको परिवारलाई २० हजार रकम सहयोग गरे ।

लामो समयदेखि युके बस्दै आएका मायापार्वती हाल पोखरामा छन् । महामारीका बेला आपतमा परेका विपन्न परिवारलाई सहयोग गर्ने उनीहरुको दैनिकी बनेको छ ।

कोरोनाका कारण उनीहरुको परिवार समेत समस्यामा नपरेको होइन् । परिवार सदस्य कोही युके छन् भने कोही अमेरिका । तर परिवार भन्दा माथी उठेर अहिले उनीहरु नेपालमै दिनदुखीको सहयोगमा जुटिरहेको देख्न सकिन्छ । रामदेव जस्तै ज्याला मजदुरी गरेर खाने र समस्यामा परेका परिवारको घरमै पुगेर सहयोग गर्नमा तल्लिन छन् उनीहरु ।

रामदेवलाई आफुहरुले पाँचपाँच हजार, कालाबाङ घर भई हाल युके बस्ने भिममहेन्द्र गुरुङ पाँच हजार, मट्टिखान घर भई हाल युके बस्ने याम गुरुङ र तारा गुरुङबाट पाँच हजार गरी जम्मा २० हजार सहयोग गरेको पार्वतीले जानकारी गराइन् । रामदेवको दुखमा साथ दिन उनीहरु छोरेपाटन पैदल पुगेका थिए ।

उनीहरु राहत संकलनका लागि हात फिजाउँदै हिँडेका छैनन् । आफैले सहयोग गरेको रकम फेसबुक मार्फत लाइभ गर्दा विदेशमा भएका नेपालीहरुले स्वतस्फूर्त रुपमा सहयोग पाएको पार्वतीले बताइन् । गएको तीन महिनाको समयमा उनीहरुले करिब ९ लाख बराबर राहत गरिबविपन्नलाई सहयोग गरेका छन् ।

संघसंस्था मार्फत उक्त रकम राहत स्वरुप प्रदान गर्दा पीडित समक्ष नपुगेको गुनासो सुनेपछि उनीहरु आफै खटिएका हुन् ।

सरकारको मात्र मुख ताकेर बस्ननुहने माया गुरुङ बताउँछिन् । आपतविपतका समयमा हर नागिरकले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको बुझाइ छ ।

‘सरकारले कोरोना रोकथाम र उपचारका लागि आर्थिक कोष खडा गरेको छ । करोडौ रकम संकलन हुँदा विपन्न परिवारमा राहत पुगेको छैन । राहतमा समेत बिचौलियाहरुको हाबी छ । सरकारले विपन्नलाई सहयोग गर्न चाहनेलाई विपन्न परिवारसम्मै पुगेर सहयोग गर्ने वातावरण मिलाउनुपर्छ’, उनले भनिन् । राहतकोषको स्थापना गरेपश्चात सहिसमयमा सहिठाउँमा सदुपयोग हुनुपर्ने उनको सुझाव छ । उनका अनुसार सरकारले राहतको व्यवस्थापन छिटोछरितो गर्नुपर्छ ।

यो बेला कुर्सीको पछाडी नदौडिकन पार्टी जाती भन्दा माथी उठेर गरिब, विपन्न, असहाय, अशक्तलाई सहयोग गर्न सरकारलाई उनीहरुको सुझाव छ ।

 

pokhara internet
Comments
Loading...