NMB Bank

फुलवाला भाईहरुको फिरफिरे

  • सौगात पोखरेल

जिन्दगी बनाउने सपना बोकेर हरेक दिन मान्छेहरु जहाजमा उडिरहन्छन् । तर सबै सपना पुरा गर्न जहाजमात्र चढ्दैनन् बरु फिरफिरे चलाइरहन्छन् । फिरफिरे, अर्थात् जिन्दगीको चक्र जो कहिल्यै रोकिँदैन घुमि मात्र रहन्छ ।
पोखरा सिम्पानीका मानव कल्याण पराजुली र पस्र्याङ्गका मदन पौडेल यतिबेला अर्गानिक फिरफिरेलाई आफ्नो पुस्तामा फर्काउन कम्मर कसेर लागि परेका छन् । मदन पौडेल रामपुर कृषि क्याम्पस तथा वन विज्ञान विश्वविद्यालयमा बिएसी सकेर अहिले काठमाडौँमा एग्री बिज्नेसमा एमबिए गर्दै छन् । मानव कल्याण पराजुली बिबिए सकेर बसेका युवा हुन् । उनीहरुले तनहुँको फिरफिरेमा करिब ६० रोपनी जग्गा भाडामा लिएर फिरफिरे अर्गानिक फर्म सञ्चालन गरिरहेका छन् ।


हिजोको हाम्रो उत्पादन प्राणालीलाई आधुनिकरण गर्ने नाममा देशमा विषादी भित्र्याइएको उनिहरु चिन्ता प्रकट गर्छन् । ‘आधुनिकरणको नाममा हाम्रो देशलाई विषादीको व्यापारिक केन्द्र बनाईएको छ । नेपालीहरुलाई विषादीको लतमा फसाईएको छ । हिजोको हाम्रो उत्पादन प्राणालीमा कुनै चीज पनि खेर जान्थेन । बरु कहीं न कही प्रयोग भइरहन्थ्यो ।’ उनी भन्छन्, ‘त्यसलाई हाम्रै माटो सुहाउने हिसाबले उन्नत बनाउन पर्ने थियो तर हामीले त्यसलाई उन्नत बनाउनभन्दा पनि विषादीको प्रयोग गरेर उत्पादन बढाउन लागि परेका छौं । बदलामा हाम्रो उर्भरभूमी जर्जर भएको छ ।’ आजकाल मान्छेहरु बल्ल सचेत हुँदै गएको पौडेलको भनाई रहेको छ । अहिले जनता मात्र नभएर सरकार पनि विषादीरहित उत्पादनमा सचेत भएको छ ।


विषादी प्रयोग गरेर यही रेसियो उत्पादन बढ्दै जाने हो भने अबको केही वर्षमा सर्वसाधारणले तरकारी फलफुल नखाएर विष मात्र खानुपर्ने अवस्था आएको अर्का सञ्चालक मानव कल्याण पराजुली बताउँछन् । ४० लाख लागतबाट जग्गा भाडामा लिएर सुरु गरिएको फर्ममा अहिले १५ रोपनी जग्गामा सयपत्री फुल खेती गरिएको छ । १२ रोपनी जग्गामा माछापालन र अन्य जग्गामा हरियो तरकारी खेती गरिएको छ ।
देश बनेन भनेर सामाजिक सञ्जालमा गरिएको गुनासो देखेर उनीहरुलाई कहिलेकाहीं रिस उठ्छ । देशमा भएको दक्ष युवाशक्ति विदेश जाने अनि विदेश बसेर देश बनेन भनेर रोइलो गरेर मात्र देश नबन्ने उनीहरुको धारणा छ । उनीहरु प्रश्न थियो, ‘हिजो कृषिको धेरै चीजमा आत्मनिर्भर भएको देश आज पुरै परनिर्भर बनेको छ । अनि देश कसरी बन्छ ? नुनदेखि सुनसम्म किन्नपर्ने देश कसरी आत्मनिर्भर बन्छ ?’ उनीहरु भन्छन्, ‘जबसम्म यो देशमा पसिना बगाउने र परिश्रम गर्नेहरुको सम्मान हुँदैन तबसम्म देशको विकास हुँदैन ।’
उनीहरुका अनुसार परनिर्भरताले यति धेरै घर गरेको छ कि आत्मनिर्भर अर्थतन्त्र निर्माणबारेको छलफल हुने कार्यक्रममा आएका पाहुनाहरुलाई भारतबाट आयातित फुल दिएर स्वागत गरिन्छ ।


उत्पादन बढाउने नाममा कृषकहरुलाई अधिकत विषादी प्रयोग गर्नको लागि सरकारले प्रेरित गरिरहेको छ । एउटाले गरेको विषादी प्रयोगका असरहरु धेरैलाई पर्ने पौडेल बताउँछन् । एउटाले खेतमा विषादी हाल्दा त्यो खेतबाट पानी बगेर जाने अन्य खेतहरुसँगै खोला भएका माछाहरुलाई समेत प्रभाव पार्छ ।
त्यो विषादीले हाम्रो घुमिरहेको जीवनचक्रलाई नै असर पारेको छ ।
जुनकारण प्राकृतिक असन्तुलन पैदा हुन्छ । त्यो मानव विकासका लागि सबैभन्दा हानिकारक कुरा हो । हाम्रो हिजो उत्पादन पद्धतिले काम नलाग्ने वस्तुको उत्पादन गर्थेन । आज कहीं पनि काम नलाग्ने वस्तु उत्पादन भइरहेका छन् । जब काम नलाग्ने वस्तुको उत्पादन बढ्छ, तब वातावरणमा असन्तुलन पैदा हुन्छ । तत्काल लाभको लागि हामीले आफ्नै भविष्यमाथि कुठाराघात गरिरहेका छौं ।
तिहारलाई केन्द्रित गरेर सयपत्री फुल उत्पादन गरिरहेका उनीहरुले सयपत्रीले १५ लाख बराबरको व्यापार गर्ने अनुमान गरेका छन् । बजारको माग र स्वास्थ्यमा सचेत रहेर हरिया तरकारी उत्पादनमा लाग्ने उनीहरुको भनाई छ । स्तरिय वस्तुको उत्पादन गर्न सकियो भने बजारको समस्या नहुने उनीहरुको धारणा छ । सञ्चालकमध्येका एक मानव कल्याण पराजुलीले फर्ममा गाईपालनदेखि, बंगुरपालनसम्मको उत्पादन गर्ने योजना रहेको बताउँछन् ।


अहिले त सरकारले पनि कृषकहरुको लागि विभिन्न प्रकारको योजना ल्याएको छ, सहयोग पाइरहनुभएको होला नि ? भन्ने प्रश्नमा अर्का सञ्चालक मदन पौडेल भन्छन्, ‘सरकारले योजना ल्याएको कुरा त सत्य हो तर त्यो योजना जनस्तरसम्म पुग्न सकेको छैन । अहिले ६ प्रतिशतमा कृषि ऋण लिनको लागि पनि हामीले अनेकन समस्या झेलिरहेका छौँ । सरकारले सहयोग गरेपनि नगरेपनि काम गर्छु भनेर अगाडि बढ्यो भने सफल भइन्छ भनेर हामी लागिरहेका छौँ ।’
देशमा पसिना बगाउन लाज नमान्ने हो भने देशमा धेरै गर्न सकिने उनीहरुको धारणा छ । ‘जबसम्म हामीले हाम्रो पुस्तालाई उत्पादनमा जोड्न सक्दैनौँ तबसम्म केही हुँदैन । त्यसका लागि सरकारले उत्पादनमुखी कृषि नीति र युवाहरुले परिश्रम गर्ने योजना बनाउन जरुरी छ ।’ पौडेल भन्छन् ।
हिजोको समयको हाम्रो उत्पादनका राम्रा शैलीहरुलाई अवलम्बन गरेर आफ्नो भुगोल सुहाउँदो प्रविधिको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउने उनीहरुले कृषि क्षेत्रमा बढेको विषादी प्रयोगलाई रोक्न नसक्ने हो भने विकराल समस्या पैदा हुने बताउँछन् । पृथ्वी एउटा चक्र हो यो निरन्तर घुमिरहन्छ । यसलाई बिना रोकतोक घुमाउनको लागि हाम्रो पुस्ताले पनि योगदान गर्न जरुरी छ । त्यही चक्रलाई हामीले फिरफिरे भनेको हौँ । यसले हाम्रो जीवनचक्रसम्म प्रत्यक्ष सरोकार राख्छ । जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कसैले पनि खेलबाड गर्नुहुँदैन भनेर हामीले अर्गानिक उत्पादनमा जोड दिएका हौँ ।
किसान भन्ने बित्तिकै हेप्ने संस्कृतिलाई यी २ युवा किसानहरुको मेहनतले गतिलो जवाफ दिएको छ । देशमा केही भएन भनेर बारी बाँझो राखेर बाहिर हानिनेहरुको लागि पनि देशमा नै केही गर्न सकिन्छ है भन्ने प्रेरणाको स्रोत पनि मानव र मदन बन्न सक्छन् ।
देश बनाउने अभियानमा फुलवाला भाइहरुको फिरफिरे अझै तेजले घुमोस्, शुभकामना छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?