ICAS
Rara

पोखरालाई स्मार्ट सिटी बनाउने कोसिस जारी छ – मेयर जिसी

पोखरालाई स्मार्ट सिटी बनाउने घोषणा गरी चुनावी मैदानबाट महानगरपालिकाको प्रमुख भएका मानबहादुर जिसीसँग परिचय नेटवर्कका प्रधान सम्पादक सुरेश रानाभाटले गरेको कुराकानी ।

नयाँ पारामा स्मार्ट सिटीको नारा दिनु भयो ? अभियान कहाँ पुग्यो मेयर साब ?

हामीले हिजो चुनावी अभियानमा जारी गरेका प्रतिवद्धताहरूलाई पूरा गर्नेे कोसिस गरिरहेका छौँ । अहिले कानुन निर्माणको काम सकिएको छ । अब कार्यान्वयनको चरणसम्म पुग्दा हाम्रा प्रतिवद्धताहरू पुरा हुनेछन् । अबको केही समयमा जनताले अनुभूति गर्नेगरि स्मार्ट सिटीको बाटोमा अगाडि बढ्ने छौं ।

फिर्के खोलाको मापदण्ड लागु गराउन कुन अदृश्य शक्तिले रोकेको छ ?

यसलाई कुनै अदृश्य शक्तिले रोकेको छैन् । हामी त्यसको अलि जरामा पुगेर अध्ययन गरिरहेका छौँ । हामी आउनु अगाडि १० मिटरको मापदण्ड भनिएको थियो । त्यसलाई कार्यान्वयन गराउँदा कति परिवार प्रभावित हुन्छन् भन्ने कुराको जानकारी लिदैँछौँ । त्यसपछि यसलाई पाँच मिटर बनाउँदाको असर के हुन्छ भनेर पनि अध्यायन गरिरहेका छौँ । नागरिकलाई पनि कम नोक्सान हुने गरी र फिर्केे खोलाको इतिहास पनि नमेटिने गरी महानगर लागिरहेको छ । अदालतले पनि क्षतिपूर्ति दिएर फिर्के खोलालाई जोगाउन अनुमति दिएको छ । अदालतको आदेश कार्यान्वयन गर्नका निम्ति हामी लागि परिरहेका छौँ । अर्को कुरा उपनिर्वाचनमा भएको सहमति देखाउँदै महानगरलाई विवादमा तान्न खोजिएको छ । त्यो सहमतिले खासमा अर्थ राख्दैन । मैले बुझेको कुरा यही हो ।

चर्चाका लागि तारहरू काट्दै हिड्नु भएको थियो अहिले तारलाई अण्डर ग्राउण्ड गर्ने काम कता पुग्यो ?

हामीलाई चर्चा कमाउन आवश्यक छैन् । पोखरालाई सुन्दर बनाउनका लागि अभियान थालनी भएको थियो । दुई ठाउँमा गर्ने कोसिस गरियो तर प्राविधिक अपुगताको कारण हामीले त्यसलाई कार्यान्वयन गर्न सकेनौं । यो आर्थिक वर्षमा त्यो काम पनि नतिजामुखी हुन्छ । त्यसका लागि हामीले टेलिकमसँग छलफल गरिरहेका छौँ ।

एउटाले बाटो बनाउँदै जाने अर्कोले भत्काउँदै जाने जस्तो भइरहेको छ । त्यसलाई एकीकृत विकास योजनाअनुसार सबै कामलाई सँगसँगै गर्ने वातावरण बनाउन सके राज्यको खर्च कम हुन्थेन र ?

खानेपानी, विद्युत र नेपाल टेलिकमसँग अहिले समन्वय गर्न खोजिरहेका छौँ । अब महानगरपालिकाले सबैलाई सँगै लिएर अगाडि बढ्छ । त्यसो गर्दा सबैले एकैचोटी नतिजा पनि दिन्छ । नगरवासीको गुनासोबाट मुक्त पनि भइन्छ ।

अदालतले फेवातालको अतिक्रमण हटाउन र ताल संरक्षणका लागि अनुमति दिएको यतिका समयसम्म पनि किन ताल संरक्षण र अतिक्रमण हटाउने काम भएन ?

अदालतले हामीलाई दिएको आदेश हामीले पूरा गरिरहेका छौँ । हामीलाई तालमा सिल्ट्रेसन ड्याम बनाउनु पर्ने भनेको थियो, त्यसको काम सुरु भइसकेको छ । जेठसम्म सकिएला । अरू काम प्रदेश र संघ सरकारलाई आदेश दिएको हो । त्यो आदेश कार्यानवयन गराउनका लागि महानगरपालिका प्रदेश र संघ सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ । अधिग्रहण गर्दा महानगरले ती सबै संरचनाको मुआब्जा दिन तयार छ कि छैन भन्ने कुरा हो । मुआबजाका लागि प्रदेश र संघ सरकारको पनि विशेष सहयोगको आवश्यकता छ । हामी छलफलमा नै छौँ । हामीले मात्र मुआव्जा दिने हो भने त हाम्रो एक वर्षको बजेटले पनि भ्याउँदैन् ।

महानगरपालिकाले हरेक कामको सुरुवात गर्छ तर टुङ्गोमा पु¥याउँदैन भन्ने आरोप लाग्दै आएको छ । नगरबसमा इटिकेटिङ किन लामो समयसम्म टिक्न सकेन ?
सबै नभनौं केही कामहरू त्यस्ता भएका छन् । नगरबसको पनि त्यस्तै भो लागू गरिहालौं भनेर लागियो तर त्यसको पूर्वाधार तयार गर्न लागिएन । त्यसका लागि सरोकारवालासँग प्रर्याप्त छलफल हुन सकेन । अहिले पूर्वाधार निर्माण र सरोकारवालासँग गम्भीर छलफल भएको छ । केही समय रोकिएको इटिकेटिङ फेरि लागू हुन्छ । ढुक्क हुनुहोस ।

parichay

सुन्दर पोखरा बनाउँछु भन्नु हुन्छ तर पोखराको पार्किङ यतिबेला अस्तव्यस्त छ यसमा महानगर किन गम्भीर बन्न सकेन ?
ठाउँको अभावका कारण पार्किङ व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । पार्किङ व्यवस्थापनका लागि पिपिए मोडलमा जानुपर्छ भनेर तयारी गरिरहेका छौं । त्यसका लागि बजार क्षेत्रभित्र रहेका सरकारी र निजी जग्गालाई पार्किङ स्थल बनाउनको निम्ति पहल भइरहेको छ । पोखराको पार्किङ व्यवस्थापनको लागि नागरिक तहवाट नै गम्भिर भएर सोच्न सकेको खण्डमा यो समस्या हल हुन्छ ।

महानगरका ठेक्काहरु सकिएका छन् तर त्यसको टेण्डर भएको छैन् कतै आर्थिक चलखेलका कारण टेण्डरहरू नखोलिएका त होइनन् ?
आरोप लगाउनेहरूले त लगाउन सक्छन् तर सत्य त्यस्तो होइन । फोहोरमैलाको र कवाडीको टेण्डरको कुरा गर्नुभएको होला । त्यो टेण्डर निकाल्ने प्रक्रियामा हामी अगाडि बढिरहेका छौं ।

तपार्इंले चुनावी घोषणापत्रमा लेखेअनुसार आजसम्म कति जना वेरोजगारले रोजगार पाए र कतिले वेरोजगार भत्ता पाए ?

ठ्याक्कै त्यसको यति सङ्ख्यामा भन्ने त भएको छैन हिसाब नै निकाल्नुपर्छ । तर हामीले कृषि लगायतका उत्पादनका क्षेत्रलाई लक्षित गरेर योजनाहरू निर्माणसँगै कामको थालनी गरिसकेका छौं । जति सङ्ख्यामा त्यो हुनुपर्ने हो त्यति सङ्ख्यामा नभएको होला तर हुँदै भएन भन्ने कुरा नि सत्य होईन । हामी त्यहि बाटोमा अगाडि बढिरहेका छौं । सकभर उत्पादनमा पोखरालाई हामी आत्मनिर्भर बनाउने अभियानमा नै लागिरहेका छौं ।

महानगरमा जनप्रतिनिधि निर्वाचित भएर आए पनि शासन त कर्मचारीकै चल्छ भन्छन् नि ?

परेको छाप मेटाउन साह्रै गाह्रो हुँदो रहेछ । शासन जनप्रतिनिधिहरूको नै चल्छ । यो आरोप कर्मचारीतन्त्रलाई दिमागमा राखेर लगाइएको मात्र हो । कर्मचारी समायोजनको समस्या सकिएको छ । अब जनताले त्यस्तो अनुुभूति अलिकति पनि गर्दैनन् ।

तपार्इंले गरेका प्रतिवद्धताहरू पूरा भएको अनुभुति जनताले कहिलेसम्म गर्न सक्छन ?

हाम्रो कार्यकालको अन्त्यसम्ममा हाम्रा प्रतिवद्धताहरू जनताले अनुभूति गर्ने गरि पूरा हुन्छन् । हामीलाई त्यो प्रतिवद्धताबाट भाग्ने छुट छैन् । केही दीर्घकालीन योजनाहरू तत्काल देखिदैन् तर ती योजनाहरूमा गम्भीर हिसाबले काम भइरहेका छन् ।

बसपार्क बनाउने कुरा त उखानजस्तो भयो नि मेयर साब ?

यतिबेला पोखरामा दुईवटा वसपार्क निर्माणको कुरा भएको छ । एउटा पृथ्वीचोकमा अर्को लेखनाथमा । पृथ्वीचोकको बसपार्कलाई नगर बसपार्क र लेखनाथकोलाई अन्य जिल्लाहरूमा चल्ने बसपार्क बनाउन खोजिएको छ । लेखनाथको वसपार्कको लागि प्रदेश सरकारले जग्गा प्राप्तिका लागि पहल गरिरहेको छ । त्यसको व्यवस्थापन पश्चात् पृथ्वीचोकमा नगर बसपार्क चालु गरिन्छ ।

महानगरलाई जानकारी गएको खण्डमा खाल्डोहरू एक घण्टामा पुरिन्छ भन्नुभाको थियो खाल्डोहरू त उस्तै छन नि ?

पहिलाका तुलनामा सडकका खाल्डोहरू कम त भएका छन् । तर पोखराको भौगोलिक बनावट र पानीको प्रभावले त्यो दीर्घकालीन समाधान बन्न सकेन । त्यसैले अब बाटोहरू टालेर मात्र हुँदैन । पिच नै गर्नुपर्ने रहेछ भन्ने अनुभूति हामीलाई पनि भएको छ । अब भत्केका बाटोहरू पिच गर्ने र पिच नभएका केही बाटोहरू पनि पिच गर्ने योजनामा महानगर रहेको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?