नेकपामा गलत संस्कार हाबी भयो, नेताहरू सत्तामा गएपछि पार्टीको काममा ध्यान दिन छाडे(अन्तर्वार्ता )

सन्तोष बस्याल

पोखरा /

कृष्ण थापा विद्यार्थी राजनीतिबाट मूलधारमा आएका हुन् । तत्कालिन समयमा पोखरा उपमहानगरपालिकाको मेयर समेत भइसकेका थापा राजनीतिमा लागेकै ४२ वर्ष पुग्यो । हठी स्वभाव र चित्त नबुझेका कुरा फ्याट्ट भनिहाल्ने नेताको रूपमा उनलाई लिने गरिन्छ । उनको सो स्वभाव कतिपय ठाउँमा उनकै लागि घातक समेत बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष समेत रहेका थापासँग पछिल्लो समसामायिक विषयमा परिचयनेटवर्ककर्मी सन्तोष बस्यालले गरेको कुराकानीको सम्पादित अंश :

ICAS

कोरोना महामारीको समयमा यहाँको दिनचर्या कसरी बितिरहेको छ ?

गण्डकी प्रदेशको सभासद भएकाले संसदीय भूमिकामा धेरै समय बिताउने गरेको छु । सदन चलेका बेलामा आफ्ना गतिविधिहरू नियमित गर्ने गरेको छु । त्यसको साथसाथै त्यो सदनलाई चलाउने मुख्य समिति भनेको कार्यव्यवस्था समिति हो । जहाँ सबै पार्टीको संलग्नता हुन्छ । म त्यो कार्यव्यवस्था समितिमा पनि छु । तसर्थ सदनलाई पूर्णरूपमा सञ्चालन गर्ने मुख्य समितिमा आफू पनि भएकाले व्यवस्थापनमा समेत समय दिनुपर्ने हुन्छ । संसदको प्रदेश मामिला समितिमा पनि छु । प्रदेश मामिला समितिको गतिविधिलाई अगाडि बढाउन सत्ता पक्षको सभासदको हिसाबले भूमिका निर्णायक हुन्छ । संसदलाई व्यवस्थापन गर्ने सभामुखको नेतृत्वमा एउटा व्यावस्थापन समिति छ । त्यहाँ पनि म छु । यसरी धेरै संसदीय काम र त्यसको साथसाथै पार्टीका महत्वपूर्ण काममा सक्रिय छु । अप्रत्यक्ष रूपमा व्यवसायिक गतिविधिमा समेत समय छुट्याएको अवस्था हो ।

दुई तिहाई सरकारको पार्टीको महत्वपूर्ण जिल्ला कास्की, कास्कीकै पार्टी कार्यालय जुनसुकै समयमा पनि अहिलेको अवस्थामा सुनसान देखिनुको कारण के हो ?

तपाईंले एकदमै महत्वपूर्ण कुरा उठाउनु भयो । वास्तवमा हाम्रो व्यवस्था बहुदलीयता छ । पार्टीहरूको भूमिकाले नै सत्ता निर्माण गर्ने हो । तर हाम्रो सत्ता कार्यकारी काममा जाने र सत्तामा गएपछि पार्टीको कामको व्यवस्थापनमा ध्यान नदिने गलत संस्कार शुरू भएको छ । अहिले कार्यकर्ताहरू पार्टी कार्यालयमा होइन वडाध्यक्षहरूको वडा कार्यालयमा, मेयर उपमेयरको कक्षमा, मन्त्रीहरूको कार्यालयमा, मुख्यमन्त्री कार्यालयमा अझै भ्याएसम्म प्रधानमन्त्रीसम्म पुग्ने गरिएको छ । यस्तो अवस्थाले पार्टी कार्यालय कसरी चल्छ ? के नेतृत्वले मात्रै पार्टी कार्यालय चलाउने हो ? होइन । कहाँ बाट मान्छेलाई तत्काल फाइदा हुन्छ त्यो काममा मान्छे झुम्मिएका छन् । जो एकदम गलत हो । किनभने त्यहाँ पुर्‍याउने मुख्य श्रेय भनेको पार्टी हो । पार्टीको नीति सिद्धान्त र विचारले हो । पार्टीको संगठनले हो । हजारौं नेता कार्यकर्ताहरूको रगत, पसिना र फलले हो । यो कुरालाई नजरअन्दाज गरिएको छ । यसलाई सुधार्नुपर्छ ।

गण्डकी प्रदेशको राजधानी कास्की र कास्की जिल्लाको प्रभावशाली नेता तपाईं, क्षमताको हिसाबले पनि प्रदेशको मन्त्रिमण्डलमा अटाउनुपर्ने हो । किन अटाउन सक्नुभएन ?

खोई यो कुरा त मलाई थाहा छैन । यो त तपाईंले मन्त्रिमण्डल बनाउने जिम्मा मुख्यमन्त्रीलाई छ, उहाँलाई नै सोध्नुपर्छ । यसमा मेरो कुनै गुनासो छैन । तर सत्य के हो भने अहिले नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट जति सभासद छौं । भएका सभासदमा सिनियरमा पर्छु । यो मेरो दाबा नै हो । राजनीतिमा लागेको ४२ वर्ष पुग्यो । तसर्थ यो प्रश्न मलाई भन्दा पनि मुख्यमन्त्रीलाई नै गर्दा राम्रो होला ।

पछिल्लो समयमा पार्टीमा देखिएको आन्तरिक किचलोपनलाई नेकपा कास्कीले कसरी मूल्याङ्कन गरिरहेको छ ?

नेपालमा भएका हरेक पार्टीहरूमा आन्तरिक किचलो छ । नेकपामा मात्रै होइन । भर्खरभर्खर जन्मेका पार्टीहरूमा पनि किचलो छ । नेपालको लोकतान्त्रिक आन्दोलन, गणतान्त्रिक आन्दोलन, नेपालको अहिलेको राजनीतिक संरचना संघीयता समावेशितालाई स्थापित गर्न मेजर दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसको महत्वपूर्ण भूमिका छ । अब अरू पार्टीहरू त भर्खर आउनुभएको छ । उहाँहरूको भविष्य के हुन्छ ? म अहिले भन्न सक्दिनँ । तर यो दुईटा पार्टीको निकै लामो यात्रा छ । सबैभन्दा पहिलो पार्टी नेपाल कम्युनिष्ट पार्टी हो । २००६ साल वैशाखमा जन्मेको हो । त्यसपछि काँग्रेस २००६ साल फागुनमा जन्मेको हो । यी दुई वटा पार्टीसँगै जन्मेका र अहिलेसम्म निरन्तर राजनीतिमा भएकाले नेपालको समृद्धिका लागि, जनआन्दोलन र जनक्रान्तिबाट स्थापित गरिएको राजनीतिक व्यवस्थालाई मिलेर सुदृढीकरण गर्दै स्वस्थ प्रतिस्पर्धाका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । परराष्ट्र नीति एउटै बनाउँदै समृद्धिको बाटोमा लाग्ने बेला आएको छ । देश बनाउन नेताहरू काँधमा काँध मिलाएर हिँडे भने समस्याको समाधान हुन सक्छन् । तर अहिले हाम्रो समस्या के छ भने नेताहरू समग्र देशका जनताका लागि भन्दा पनि आफ्नो र आफ्ना वरिपरिका मान्छेहरूका लागि निकृष्ट भएर गरिएका निर्णयहरू बाधक छ । यसलाई हामीले परिवर्तन गर्नैपर्छ ।

पार्टी भित्र पनि विभिन्न गुट उपगुटका कुराहरू आइरहेका हुन्छन् । वैचारिक हिसाबले केन्द्रमा तपाईंहरूको कमान्डर प्रधानमन्त्री हुनुहुन्छ तर गण्डकी प्रदेश भएपश्चात एउटै विचारका नेताहरू आफ्नो स्वार्थका लागि कित्ताकित्तामा विभाजित भइरहेको देखिन्छ । अब तपाईं भन्न सक्नुहुन्छ, तपाईं पृथ्वीसुब्बा गुरुङको मान्छे कि खगराज अधिकारीको ?

म कसैको पनि मान्छे होइन । म नेपाल कम्युनिष्ट पार्टीको एउटा बफादार, इमान्दार कार्यकर्ता हुँ । राम्रो गरेका नेतालाई मैले राम्रो भन्छु । नराम्रो गरे कृष्ण थापाको अन्तरनिहीत शक्तिलाई दमन गर्ने दुनियाँको कुनै पनि शक्ति छैन । नराम्रो नेताको विपक्षमा पहिलो नम्बरमा उठ्ने नेताको रूपमा म आफूलाई विश्वास गर्छु ।

तपाईंहरूको तत्कालीन पार्टी नेकपा एमाले र माओवादी बाहिर देखिने गरी एकता भएकै झण्डै तीन वर्ष पुग्न आँट्यो । अहिले पनि नदेखिने गरेर तपाईंहरूको समूहगत छलफलहरू आ—आफ्नै छन् । तपाईंलाई के लाग्छ, यो एकताले दीर्घकालीन रूप लिन्छ होला ?

२०७५ साल जेठ २ गते हाम्रो एकता भयो । एकता भएकै दुई वर्ष तीन महिना भयो । यो समयमा हामीले जति फास्ट ट्र्याकका कामहरू गर्नुपर्थ्यो, त्यो गरेका छौं । यो बेलासम्म हामीले सबै एकीकरणका काम सकेर एकजुट भयौं । अब हाम्रो एकमात्र दृष्टि भनेको सबल, सक्षम, एकताबद्ध पार्टी र यो मूलूकको विकासमा कायापलट ल्याउने हो । विकास नभएका होइनन्, भएका छन् । तर त्यसलाई अझै जनताले चुम्नेगरी योजना बनाउने लक्ष्यमा हामी छौं । अहिलेको कोरोना महामारीलाई सम्पूर्ण शक्ति परिचालित गरेर देश र जनतालाई जोगाउने नै पहिलो कार्यभार हुन्छ भन्ने मलाई लाग्छ ।

अन्त्यमा, प्रदेश सरकार र स्थानीय सरकार अन्तर्गत पोखरा महानगरपालिकाको कामप्रति जनताको व्यापक जनगुनासो छ । तपाईं पूर्वमेयर पनि, यो जनगुनासो तपाईंको कानसम्म पुगेको छ वा छैन ?

मेरो कानसम्म मात्रै होइन । मेरो आँखाले मैले प्रत्यक्ष देखेको छु । प्रदेश सरकार नेपालको इतिहासमा पहिलो पटक बनेको सरकार हो । प्रदेश सरकारको अनुभूति जनताले अहिले होइन अबको तीन चार वर्ष पछाडि सम्झनेछन् । तर नेपाल सरकारको करीब दुई सय वर्षको लिग्यासी छ । स्थानीय सरकारको कुरा गर्ने हो भने करीब-करीब ६५ वर्षको लिग्यासी छ । जुन हिजो पनि थियो । आज पनि छ । पोखरा महानगरपालिकाको विषयमा जनताले मलाई धेरै कुरा सुनाएका छन् । म हिजो एउटा अल्पमतको मेयर भएर पोखरा चलाएको । मलाई सहयोग गर्ने केन्द्रीय सरकार पनि थिएन । मलाई सहयोग गर्ने जिल्ला सरकार पनि थिएन । म आफैं अल्पमतमा थिएँ । त्यो बेलामा पनि नेपालमै एकखालको नयाँ दशवटा काम पोखरा गरेका थियौं । जे बोल्यौं, हामीले त्यो गर्‍यौं । त्यो बेलामा हामीले के बोल्यौं ? पोखरालाई नेपालको धनी शहर घोषणा गर्ने । हाम्रै पालामा घोषणा गरेर देखायौं । हामीले त्यो बेलामा भन्यौं कि पोखरालाई नेपालको मातृ शिशु मृत्युदर कम भएको घोषणा गर्ने । त्यो पनि हामीले गरेर देखायौं । र, पोखरालाई सफा शहर घोषणा गर्ने । त्यो पनि हामीले गरेर देखायौं । नेपालमा पहिलो स्यानिटरी ल्यान्डफिल्ड हामीले बनाएका हौं । नेपालकै सबैभन्दा चाक्लोबाटो हामीले बनाएका हौं । त्यो बेलामा जम्मा बजेट ६ करोड थियो । अहिले हाम्रो आन्तरिक बजेट ७ अर्ब छ । सबै कुरा जोड्दा खेरि पोखरा महानगरपालिकाको करीब १० देखि १२ अर्बको बजेट छ । समस्या छन् त्यसलाई सम्बन्धित ठाउँबाट हेरिरहेका छौं, बुझिरहेका छौं । पोखरा महानगरमा देखिएको समस्याको मूल्यांकन भइरहेको छ । समस्याको समाधान अवश्य हुन्छ ।

pokhara internet
Comments
Loading...