ICAS

कोरोना प्रभाव : पोखरा र आसपासका पूर्वनिर्धारित कुन कुन कार्यक्रम भए स्थगित ?

एलिजा क्षेत्री/ विद्यार्थी पत्रकार
पोखरा /

चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका विभिन्न देशमा फैलिइसकेको छ । यसको प्रभाव पोखरामा समेत पर्न थालेको छ । पोखराको पर्यटन क्षेत्र सँगै साँगीतिक क्षेत्रमा समेत असर परेको देखिन्छ । भाइरसले आन्तरिक एवम बाह्य पर्यटकमा त्रासको वातावरण बनेको छ ।

Parichay
Infomatics

पर्यटन व्यवसाय क्षेत्रमा मात्रै नभई पोखरामा आयोजित पूर्वनिर्धारित सबै कार्यक्रममा कोरोनाको असर देख्न सकिन्छ । होली नजिक छ । होलीको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सुचना प्रकाशन गरेलगतै स्थगित गरिएको छ ।

फागुन २६ गते होलीको दिनमा पोखरा साँगीतिक कलाकार संघले विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने मिति तोकेको थियो । उक्त कार्यक्रम स्थागित भएको अध्यक्ष सुनिल थापाले जानकारी गराए । यस्तै, पुष्पाञ्जली इभेण्ट म्यानेजमेण्ट प्रालीले समेत होलीमा साङ्गीतिक उत्सवको अयोजना गरेको थियो । कार्यक्रमको स्थागित गरिएको निर्देशक शोभा गौतमले बताइन् ।

सिटी रेवान पोखराको आयोजनामा फागुन २३ देखि २५ गते सम्म सिमलचौर आलुमाइला चोकमा हुने भनिएको आठौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल हाललाई स्थगित गरिएको छ । गण्डकी प्रदेश सरकार, महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीले संयुक्त रुपमा प्रदेश भित्र कुनैपनि भेला, समारोह, महोत्सव एवं खेलकुदका गतिविधि नगर्न आग्रह गरेसँगै आफुहरुले स्थगित गरेको अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी गराए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले चैत १ गते बनभोज कार्यक्रम गर्ने भनेर मिति तोकेको थियो । उक्त कार्यक्रम समेत स्थगित गरिएको अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

यस्तै, भीरकोट नगरपालिका बयरघारी स्याङजाको आँधीखोला पीस यूथ क्लबले यहि फागुन २५ गते नारी दिवसको अवसरमा विशेषज्ञ सेवा सहित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम समेत हाललाई स्थगित गरिएको अध्यक्ष राजकुमार गुरुङले परिचयनेटवर्कलाई जानकारी गराए ।

कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना प्रकाशन गरेपनि पोखरामा आयोजित आहा रारा गोल्ड कप र ‘सुमन श्रापित एकल साँगीतिक साँझ—२०७६’ कार्यक्रमलाई भने असर नपार्ने भएको छ । आजबाट पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप चैत १ सम्म चल्नेछ । साहारा क्लब पोखराको आयोजनामा अन्तरस्तरिय फुटवल प्रतियोगिता जारी छ ।

यस्तै, सुमन श्रापित एकल साँगीतिक साँझ कार्यक्रम समेत तोकिएकै मिति फागुन ३० गते गरिने आयोजक संस्था सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानले जानकारी गराएको छ । दुवै कार्यक्रममा प्रशासनको भने अघिपछि जस्तो सहयोग नरहने बताइएको छ ।

pokhara internet
Comments
Loading...