NTHMC

वैदेशिक रोजगार र कोरोनाले सिकाएको पाठ

–केदार कुँवर

कोभिड–१९ को महामारीसँगै अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका धेरै नेपालीको रोजगारी धरापमा पर्ने निश्चित छ । कोरोना कहरका कारण आउँदा दिनमा धेरैको आम्दानीको मूल सुक्ने छ । यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने छ । विदेशमा रहेका नेपाली श्रमिकलाई अन्य चिन्तासँगै आर्थिक चिन्ताले पिरोलेको छ । यो बेला पैसा कमाउने, भएको पैसा पनि जोगाउने र पैसा कमाउनको लागि आफ्नो सीप र क्षमता पनि बढाउनुपर्ने आवश्यकता छ तर परदेशमा रोजगारी गुम्ने जोखिमले पसिनालाई धन पैसोमा अनुवाद गर्ने नेपाली स्वदेश फर्केर के गर्ने भन्ने तनावमा छन् । यसले मानसिक समस्याको विजारोपण पनि गरेको छ ।

roma

नेपाली अर्थतन्त्रको परिसूचकमा करिब २७ प्रतिशत रेमिट्यान्सको योगदान छ । झण्डै ४० लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् । रोजगारी गुम्नेहरू घरदेश फर्कन मन उचाली सकेका छन् । यसघडी आम्दानीको स्रोत बन्द भएकाले कसरी कमाउने र बढाउने भन्दा पनि आफूसँग भएको पैसालाई कसरी जोगाउने र कसरी मितव्ययी बन्ने भन्ने कुरा महत्वपूर्ण हो । यस विषयमा व्यक्तिले मात्रै होइन परिवारजन, समाज र राज्यले नै सोच्नुपर्छ । अनिकालमा बीऊ जोगाइयो भने नै अर्को पटकको फसलको आशा गर्न सकिन्छ ।

ICAS

नेपाललाई सधैं गरिबको दर्जामा नै सूचिकृत गरियो । सधै अन्तर्राष्ट्रिय श्रमबजारमा निमेक गर्न मात्रै पठाइयो तर हामीसँग प्राकृतिक साधनस्रोत र जनशक्ति छ भन्ने कुराको पाठ पढाइएन । घरफिर्ती पछि पनि आफ्नै जमिन हुनेले विदेशमा झैं खटेर काम गर्ने हो भने अवश्य सफल भइन्छ । जमिन नहुनेहरूले भाडामा जमिन लिएर जाँगर रोप्ने हो भने पसिनाको फल जरुर लाग्छ । सीप र ज्ञानहुनेलाई योजनाका आधारमा राज्यले लगानी गर्न चुक्नु हुँदैन् ।

परम्परागत कृषि प्रणालीलाई सुधार गरेर प्रविधिकरण गरी दोब्बर उत्पादन गर्ने सम्भावनाको क्षितिज टाढा छैन् । नेपाली माटोको एक रोपनी जमिनमा ५ देखि ६ मुरी धान फल्छ तर आधुनिक कृषि प्रणाली अप्नाएका देशले प्रविधि प्रयोग गरेर १५ देखि २० मुरी धान फलाइरहेका छन् । तरकारी खेती, फलफूल, पशुपालन, जडिबुटी लगायतका क्षेत्रमा यथोचित काइदा अप्नाउने हो भने मनग्य आम्दानी गर्न सकिन्छ । जो विदेशको तुलनामा दोब्बर हुन्छ भने परिवारको साथ र माया पनि बराबर हुन्छ ।

सबै कल्पनाहरू मनगढन्ते मात्रै हुँदैनन् सही तरिकाले योजनावद्ध रूपमा कार्यान्वयन गर्ने हो भने नतिजामुखी हुन्छ । यसका लागि कृषिमा ज्ञान सीप हाँसिल गरेका दक्ष जनशक्तिलाई सदुपयोग गर्नका लागि जिम्मेवार निकायको अहम् भूमिका हुन्छ । उत्पादनको साधन र पुँजी नभएकाहरू पनि निराश हुनु पर्दैन् सामूहिक कृषि प्रणालीमा लागेर आफ्नो समय र श्रमलाई पैसामा रूपान्तरण गर्न सक्ने ढोका खुल्ला नै छ ।

हरेक मानिससँग कुनै न कुनै प्रकारको प्रतिभा निहित हुन्छ । त्यस्तै विदेशबाट फर्कने नागरिकसँग पनि एक न एक प्रकारको सीप र क्षमता लुकेको हुन्छ र परिश्रम गर्ने बानीको पनि विकास भएको हुन्छ । उद्यमशीलता र उत्पादनका लागि यो अति महत्वपूर्ण पक्ष मानिन्छ । कृषि हाम्रो पुख्र्यौली पेसा पनि भएकाले यसमा सहजै लाग्न सकिन्छ । ६६ प्रतिशतभन्दा बढी मानिस कृषिमा आधारित रहेको तथ्यले पुष्टी गर्छ ।

कोरोना कहरको अन्त्य होला र विचार गरौंला भनेर हात बाधी बस्नु हुँदैन् । लकडाउनको स्वरूप जस्तो सुके भए पनि र जति लामो भए पनि जीवन जीउने तरिकालाई सहज र सरल बनाउन सकिन्छ । परिवारसँगै बसेर परिवार पाल्न सक्छु भन्ने क्षमताको विकास हामी आफैले गर्नु पर्छ । परदेशको चर्को घाम र दुःखको काम अनुभव गरेका नागरिकमा यस्तो खालको क्षमता विकास भइसकेको छ । अहिले परदेशमा विविध कारणले हण्डर खाई स्वदेश फर्किने मुड र मोडमा पुगेका साथीहरूले आफ्नै माटोमा केही गर्छु भन्ने मानसिक तयारी गरिहाल्नु पर्छ । एउटा माघले जिन्दगीका जाडोहरू जाँदैनन् । ऋतु परिवर्तनसँगै मौसमको माधुर्यता पनि आइरहेको हुन्छ ।

समयले सिकाएको पाठअनुसार ठूलो घर बनाउनु, सानका लागि कार राख्नु र सोखका लागि बगैंचा बनाउनुभन्दा आवश्यकतानुसारको घर र करेसाबारी बनाउन जोड मात्रै दिँदा विहान बेलुकाको सागसब्जीका लागि विहारको विषादीयुक्त सागसब्जीको भर पर्नु पर्दैन् ।

parichay

कोभिडले अर्थतन्त्रका सबै अवयवहरूमा धावा बोलेको छ । उद्योग, व्यापार, पर्यटन सबै क्षेत्रमा असर परेको छ । यस्तो विषम् परिस्थितिमा व्यवसाय सञ्चालनका लागि वैकल्पिक उपायहरू के के हुन सक्छन् ? घरदेश पुगेपछि के कसो गर्ने ? आफूसँग भएको पैसा वा श्रमलाई कसरी उत्पादनसँग जोडने ? आदि सवालमा प्रष्ट चित्र र सपना देख्नुपर्छ । समयले सिकाएको पाठअनुसार ठूलो घर बनाउनु, सानका लागि कार राख्नु र सोखका लागि बगैंचा बनाउनुभन्दा आवश्यकतानुसारको घर र करेसाबारी बनाउन जोड मात्रै दिँदा विहान बेलुकाको सागसब्जीका लागि विहारको विषादीयुक्त सागसब्जीको भर पर्नु पर्दैन् । प्रयोगविहिन भूमिमा फलफूल रोप्न सके मात्रै पनि नजानिदो पारामा आम्दानी भइरहेको हुन्छ ।

प्रारम्भिक सोचाइ नकारात्मकबाट होइन सकारात्मकबाट सुरु गुर्नपर्छ । त्यही काम पनि फरक र भिन्न शैलीमा गर्दा नविनता आउँछ । खेतबारी छैन् भनेर चिन्ता लिनुभन्दा छत र कोसीमा फालिएका बोरा र गमलामा गोलभेँडा, खुर्सानी र साग लगाउने जाँगर चलाउन सकिन्छ । यसले किनिखाने भन्दा उब्जाइखाने संस्कारको जग बसाल्छ । बजारलाई बुझाउने धनपैसो बचत गरी आफ्नै पसिनाको सुगन्धमा रमाउन सकिन्छ । खुशी आकाशबाट झर्दैन् भन्ने ज्ञान अरुले बताउनु पर्दैन् ।

स्वदेश मै अवसर नपाएका बेरोजगार युवालाई सस्तो दरमा श्रमबजारमा पठाएपछि सरकारलाई हाइसञ्चो भएको थियो । कोभिड महामारीले लाखौं युवा स्वदेश फर्कदा व्यवस्थापन गर्न सजिलो त छैन् । जटिलता र चुनौतीहरू त जरुर थपिने छन् तर मानव पुँजीलाई सदुपयोग गर्ने महान सम्भावना पनि छन् । फर्किनेहरूले के गर्ने भन्ने चिन्ता लिए जस्तै सरकारले पनि आफ्ना नागरिकलाई कसरी स्वदेशमा टिकाउने भन्ने दीर्घकालीन योजना बनाउन चासो दिइहाल्नुपर्छ ।

नेपालबाट श्रमको लागि विदेश जाने युवाको लस्कर अब पहिला जस्तो हुने छैन् । श्रम गन्तव्य रहेका देशमा पनि कोरोनाले आर्थिक संकट पैदा गराएको छ । रोजगारीमा कटौती हुनु यसको उपज हो । आफ्नौ थाँतथलो फर्केर केही गर भन्ने सन्देश राज्यले दिनैपर्छ । यहि माटोमा जन्मेका नेपालीलाई चिहान पनि यही सुरक्षित छ भन्ने भावना जगाउनुपर्छ ।

नेपाली युवाले विदेश सिकेको सीप आफ्नै पाखापखेरामा देखाउने सही बेला हो यो । त्यसको लागि सरकारले सहुलियत दरको ऋण, मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ । त्यति मात्रै होइन, कृषकको उत्पादनको ग्यारेन्टी पनि सरकारले लिनुपर्छ भने उत्पादन बिक्री वितरणमा देखिएका बिचौलियालाई निर्मुल पार्नका लागि निययमन निकाय र अनुगमनको कडा व्यावस्था गर्नु पर्छ ।

कृषकले दूध बिक्री नभएर सडकमा पोख्ने, तरकारी बिक्री नभएर बारीमै पुर्ने र ऊखु विक्रीको भुक्तानी नपाएर नुनिला आँसु झार्ने परिस्थितिले कृषि पेशा अँगाल्न चाहनेलाई निराशा पैदा गराएको छ । कृषकको उत्पादनको ग्यारेन्टी सरकारले गरिदिने मात्रै हो भने लाखौं युवा स्वरोजगारको पथमा लाग्ने छन् । अग्र्यानिक खेती प्रणालीका साथै तरकारी, फलफूल, दूध, माछामासु र खाद्यन्यमा आत्म निर्भर बनाउन युवाको पलयान होइन आगमनको स्वागत गर्नुपर्छ ।

बाँझो जमिनको सदुपयोग सँगै हेपिएको चेपिएको कृषि क्षेत्रलाई आधुनिकीकरणसँगै व्यवसायिक बनाउन कृषि मन्त्रालयको सकारात्मक हस्तक्षेप आवश्यक छ । फर्किने नेपालीलाई उत्पादन र उद्यमशीलताको अभियानमा लामवद्ध गर्दा अर्थतन्त्रलाई टेवा पुग्नेछ ।

कृषिको अनुदान हुनेखाने र प्रशासनिक तथा राजनीतिक पहुँच भएका सम्भ्रान्त वर्गले मात्रै पाउँदा उत्पादनमा ह्रास आएको हो । अनुदान र प्राविधिक सहयोगजस्ता सुविधाको अवसरबाट वास्तविक कृषक वञ्चित छन् । नक्कली र कागजी कृषकको कारण पनि वास्तविक किसानको जीवनस्तरमा सुधार हुन सकेको छैन । यसले कृषिप्रति आकर्षण होइन, विकर्षण पैदा गरिरहेको छ ।

कृषि क्षेत्रका तमाम वेथिति र समस्यालाई कानुनी तथा संस्थागत तवरबाट निरुत्साहित गरी युवा पुस्तालाई कृषिमा आकर्षित गर्न आवश्यक वातावरण निर्माण गर्न सके नेपालको कृषि क्षेत्रको विरासत पुनरागमन हुने निश्चित छ । आउँदा दिनमा विदेशको सपना बोकेको युवाले पनि स्वदेशमै अवसर पाएमा उद्यमशील र कर्मशील बन्ने छ ।

(कास्की आदर्श समाज युएईका अध्यक्ष कुँवर पोखरा –२५ हेमजाका स्थायी बासन्दिा हुन् ।)

pokhara internet
Comments
Loading...