ICAS

पुस्तक समीक्षा : ‘कार्निभल’को कार्यशाला

सञ्जीव पौडेल
पोखरा / 

लेखक : भूमिराज बस्ताकोटी
विधा : कथा
मूल्य : रु. २००

Parichay
Infomatics

‘रोइलो रेट भउते दाइ खोक्रो सारङ्गीमा’ सङ्ग्रहको शीर्ष कथा ‘कार्निभल’ मा रहेको यो पङ्क्ति निकै बिम्बात्मक र प्रतीकात्मक छ । आख्यानकार भूमिराज बस्ताकोटीको पाँचौँ कृतिका रूपमा प्रकाशित कथा सङ्ग्रह ‘कार्निभल’बारे कुरा गर्दैछु म । सामाजिक यथार्थवादलाई मूल रूपमा बोकेको शीर्ष कथा (कार्निभल) ससाना टुक्रे कथाहरूको समग्र कथाका रूपमा प्रस्तुत भएको छ । रोमन क्याथोलिकको सर्कसजस्तो चाड हो कार्निभल । कताकता हाम्रा गाउँघरमा लाग्ने मेला महोत्सवजस्तै । जसरी मेलामा अनेक दृश्य देखिन्छन्, सर्कसमा अनेक खेल खेलिन्छन् त्यसरी नै नेपाली समाजमा पनि विविध स्वरूपका विकृतिहरू विद्यमान छन् । यही यथार्थलाई कार्निभलको सान्निध्यमा प्रतीकात्मक बनाएर प्रस्तुत गरिएको छ कथामा । समाजमा जँड्याहा, लामा(धर्मगुरु), अधिकारकर्मी, पर्यटनकर्मी र संस्कृतिकर्मी सबै यौनबाट परिचालित हुन्छन् कथामा । यौनका निकट पुग्दा बाहिरी अनुहार उदाङ्गिएर सबै एउटै देखिन्छन् । कथामा फ्रायड निकै प्रबल बनेर आएका छन् । मेलाहरूमा विकृत यौन अनियन्त्रित तबरले केन्द्रमा देखिने सन्दर्भलाई कथाकारले यहाँ प्रस्तुत गरेका छन् ।

शीर्ष कथामै अलि बढी अल्झिएँ । कारण अनेक प्रयोगशील कथा र उत्तरआधुनिक स्वर हुँदाहुँदै पनि शीर्ष कथाका रूपमा ‘कार्निभल’ रहेकाले यसबारे लेख्दा अन्यत्र बढी जोड पर्न गए सङ्ग्रहमाथि नै अन्याय हुने बुझाइ मेरो रह्यो ।

उत्तरआधुनिक लेखन शैलीभित्र पनि नवीनता घोलेर प्रस्तुत गरिएको यो सङ्ग्रहको मूल विषयपरक स्वर भनेको सामाजिक यथार्थ नै हो । शैलीपरक दृष्टिले हेर्दा यी कथाहरूमा प्रयोगशीलता निकै प्रबल रहेको छ ।

कथा सङ्ग्रहमा सङ्कलित कथाहरूमध्ये ‘न्याय पाऊँ सरकार’ र ‘न्याय पाऊँ सरकार–२’ मा पौराणिक पात्र र ऐतिहासिक पात्रलाई समसामयिक भूमिकामा उभ्याएका छन् कथाकारले । यसखाले जटिल प्रयोग गरेर पनि कथालाई सुबोध्य तुल्याइएको छ । जटिल प्रयोगलाई सहज प्रस्तुतिको सौन्दर्यले कथा सिँगार्ने लेखकको कला जरुर प्रशंसनीय छ ।

कथाकारले सहज प्रस्तुतिका लागि हास्यात्मक भाषाशैली अँगालेका छन् । यो शैलीसङ्ग्रहका प्रायः सबै कथामा विस्तारित छ । गम्भीरभन्दा गम्भीर विषय बोकेका कथामा पनि जसरी हास्यात्मक शैली प्रस्तुत भएको छ, यसले कथाको बुनोटमा कथाकारको राम्रो पकड रहेको प्रष्ट पारेको छ । कथाकोउत्कृष्टतायसको बनोटले भन्दा बुनोटले निर्धारण गरेको छ । कथा बुनोटको कुशलताले गर्दा हरेक कथा सुरु नहुँदै सकिएको मनोभावमा पाठक पुग्छन् । यसले वर्तमान पाठकको रुचिलाई मध्यनजर गर्दै कथाकारले कथा बुनेको प्रष्ट पार्छ ।

भनिन्छ– ‘संसारमा लेखिन बाँकी केही छैन, लेखकले नयाँ दिने भनेको शैली मात्रै हो ।’ यही नवीन शैलीमा पुरानै विषयलाई जोडेर प्रस्तुत गर्ने गरी विनिर्माणवादलाई कथाकारले केही कथामा राम्रैसँग प्रस्तुत गरेका छन् । ‘के पटाक्षेप हुन्छ र कथाको’ शीर्षक कथामा विपी कोइरालाको ‘शत्रु’ कथाका पात्र कृष्ण रायलाई फरक भूमिकामा प्रस्तुत गरेका छन् कथाकारले । कृष्ण रायकी जेठी श्रीमती र कान्छी श्रीमती उपस्थित गराएर कथाको पटाक्षेप कहिल्यै नहुनेतर्फ यसमा सङ्केत गरिएको छ ।

‘समाचार’ कथा विनिर्माणवादको अर्को प्रयोग हो । आख्यानकीपात्र (हरिकृष्णकी विधवा) ले आफूमाथि अन्याय गरेको भन्दै लेखक(विश्वेश्वर) माथि झम्टेर गाली गर्दै पिटेकी छे । यस घटनामाथि समसामयिक लेखकहरूका फरकफरक दृष्टिकोण प्रस्तुत गरिएको छ कथामा । खगेन्द्र सङ्ग्रौलाले विश्वेश्वरलाई मन नपराए पनि ठाडै भन्न नसकेको, आहुतिले आनन्द महसुस गरेको, दिनेश अधिकारी पीडाका भाव कवितामा बटुल्दै गरेका, डा. गोविन्दराज भट्टराई र कृष्ण गौतम सहानुभूतिशील बनेर कथामा आएका छन् । सञ्जीव उप्रेती भने पिटाइ खाँदा पनि विश्वेश्वरप्रसाद मुसुमुसु हाँसेको देख्छन् । अर्थात् पात्रले जे गरेपनि लेखक आनन्द मान्छन् । उही घटनाको पनि पात्रअनुसार फरकफरक प्रभाव पर्ने मनोवैज्ञानिक यथार्थ यस कथाले प्रस्तुत गरेको छ ।

‘øयाइ’ कथा अहिले पशुहरूमा गरिने कृत्रिम गर्भाधारणमा आधारित छ । यस कार्यले मौसमी यौनक्रीडा गर्ने पशुहरूको अधिकार खोसिएको बारेमा कथा केन्द्रित छ । मानिसले बाह्रैकाल यौनक्रीडामा लिप्त भई आनन्द लिने तर पशुको मौसमी यौनसुख तुहाउने गरी आएको विज्ञानको आविष्कारप्रति भैँसीले रोष प्रकट गरेको छ । यौनसुखका लागि आफूले रोजेको भालेसँग यौनक्रीडा गर्न नपाएको र अन्यत्रीको वीर्य धारण गर्नुपर्दाको पीडा भैँसीले आँसुको भाषामा व्यक्त गरेको छ । कथामा पुरुष पात्रले नबुझेको आँसुको भाषा पोथी जाती भएकैले नारी पात्रले बुझेकी छ । मानिसमा पनि कृत्रिम गर्भाधारणको क्रम सुरु भएको वर्तमान सन्दर्भमा भैँसीको व्यथा बुझ्न लगाएर कथाकारले मानिसलाई समेत झक्झक्याएका छन् ।

‘मौनकोट’ दसवर्षे जनयुद्धको परिणामलाई चित्रण गरिएको कथा हो । ‘टुसा व्यापारी’, ‘बिदाइ’, ‘बोके जुलुस’, ‘ठुलाबा’, ‘आँखा’ लगायतका कथाहरूले सामाजिक यथार्थवादको प्रतिनिधित्व गरेका छन् ।

‘मौनकोट’ कथामा तत्कालीन माओवादी र राज्यका बीचको द्वन्द्वको चपेटामा परेका सर्वसाधारणले बोल्नै छोडेको दारुण दृश्य प्रस्तुत गरिएको छ । दोहोरो यातनाबाट बच्न बोली बन्द गर्नु परेको दृश्य प्रस्तुत गर्दै उसबेला त्रसित जनताले आजसम्म मुख बाउन नसकेको देखाइएको छ । अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाइएको समयको रूपमा द्वन्द्वकालीन समयलाई चित्रित गरिएको छ । कथामा प्रस्तुत भएको स्वैर कल्पनाले कथाको स्तरीयता वृद्धि गरेको छ ।

‘टुसा व्यापारी’ कथाले सामान्य मानिसले पारिवारिक इच्छा पूरा गर्न नसक्दा परिवार नै क्षतविक्षत अवस्थामा पुग्ने यथार्थ प्रस्तुत गरेको छ । यसको प्रत्यक्ष प्रभाव हुर्कौला बालबालिकामा पर्ने यथार्थलाई कथाले उठान गरेको छ । यसले पछिल्लो पुस्ता पनि उस्तै जीवनस्तरमा बाँच्न विवश हुने सङ्केत गर्दै समयानुकूल विकास हुन नसकेकोप्रति असन्तुष्टि पोखेको छ ।

‘बिदाइ’ कथा वैदेशिक रोजगार÷विदेश पलायनले नेपाली समाजमा पारेको प्रभावलाई व्यक्त गरिएको कथा हो । डिभीवाला हरिनारायणलाई चाह नहुँदा नहुँदै बिदाइ गर्न पुगेको ‘म’ पात्र उसका आँखामा केबल पानीपानी देख्छ । विदेश भासिनु भनेको पोखरीमा डुब्नुसरह हो भन्ने निष्कर्ष लेखकको छ । युरोप, अमेरिका छिर्नेहरू फर्केर आउने आश नगरे हुन्छ, जसरी पोखरीमा डुबेकाहरू जीवित फर्कन्नन् । छिमेकीकहाँ प्रगति भए घरमा भाँडभैलो मच्चिने हाम्रो सामाजिक परिपाटी र कुण्ठित समाजको यथार्थ चित्रण कथामा छ । राष्ट्रभक्ति स्खलित भएकोबारे कथाकार संवेदनशील देखिन्छन् यस कथामा ।

‘बोके जुलुस’ कथामा भाषामाथिको मानिसको एकाधिकार तोड्दै बोकाले मानिसका जस्तै भाषा बोलेको दृश्य प्रस्तुत छ । स्वैरकाल्पनिकताको लेप लगाइएको कथामा मानिसको भाषिक एकाधिकार तोडिन सक्ने सङ्केत गरिएको छ । सिंहदरबारबाट एउटा मानिस निस्केर केही बोकाका कानमा दुई चार शब्द फुस्फुसाएपछि बोके जुलुस तुहिएको छ ।सरकार÷सत्तासँग बार्गेनिङ गर्ने आन्दोलनका केही नाइकेलाई सत्ताका मालिकले लोभलालचमा फसाएर आन्दोलन तुहाउने गरेको यथार्थ कथामा प्रस्तुत छ । नेपालमा जनसाधारणका अधिकार पक्षधर आन्दोलनहरू प्रायशः बोके जुलुसकै नियति भोग्न विवश भएको यथार्थलाई कथाले उजिल्याएको छ ।

ठुलाबा रित्तिँदै गरेका गाउँको कथा हो । शिशिरमा एक एक गरी पातले रूख छोडेझैँ गाउँलेले गाउँ छाड्दै गएपछि गाउँबाट हराएको गाउँ (गाउँले मौलिक जीवनशैली)का व्यथालाई कथाले उधिनेको छ । हिजो गाउँमा बत्ती, बाटो, पानी केही सहज थिएन, आज ती सबै सहज छन् तर तिनको उपभोग गर्ने मान्छे छैनन् । थोरै समय छोरानाति गाउँ जाँदा अनुहारमा बिहानीको लाली पोतिने बुढाबुढीका अँध्यारा अनुहारले धानेको गाउँको व्यथा यस कथाले बोकेको छ ।

‘आँखा’ कथामाफूलमाया र चेउटेको रसलीला देखेका मानबहादुरका एक जोडी आँखालाई फूलमायाले गीता छोएर कसम खाई गलत साबित गरिदिएकी छ ।धर्म, इमान आदि कुराहरू हराउँदै गएको वर्तमान युगमा आँखाले देखेको दृश्य पनि झुठो सिद्ध हुने कुरा प्रस्तुत गरिएको छ कथामा । प्रमाण खोज्ने कानुनका नजरमा व्यक्तिको आँखाभन्दा मेसिन (क्यामेरा) बढी मूल्यवान् हुने कटुसत्य बोलेको छ कथाले ।

नवीन प्रयोग अँगाल्दा केही कथाहरू अलि क्लिष्ट बनेका छन् । यस खालका कथाहरूमा पाठक पढ्दै जाँदा अल्मलिने थुप्रै मोडहरू छन् । कथाको पठनमा पाठक अल्मलिनु सिर्जनाको यात्रामा सर्जक अड्किनुसरह हो । प्रयोगशील कथाहरूमा लेखकको हृदयभन्दा मस्तिष्क सक्रिय बनेर प्रस्तुत भएको छ । ऐतिहासिक पक्ष थाहा नभएका पाठकलाई ती कथाहरू झन्झटिला लाग्छन् । केही साहित्यिक रचनाको विनिर्माण गरिएका कथाले पनि सीमित पाठकको अपेक्षा गर्दछ । यो एउटा सर्जकका लागि घाटाको विषय हो । इतिहास र साहित्यिक रचनाको पूर्वपठन भएका पाठक पनि कथाकारको बौद्धिकतालाई छिचोलेर कथाको साध्य (विचार)मा पुग्न कठिन देखिन्छ । मस्तिष्कको सक्रियताले हृदय पक्षलाई प्रबल हुनबाट रोक्नु यस सङ्ग्रहका केही कथामा कथाकारको मुख्य कमजोरीका रूपमा आएको छ । प्रयोगशीलता र विनिर्माणको मूल मर्मभित्र कथाको सार्वकालिकता घोल्ने सन्दर्भमा कथाकार खरो उत्रिन सकेका छैनन् ।

यो कमजोरीलाई कथाकारले आफ्नो चातुर्य प्रस्तुत गर्दै छोपिदिएका छन् । सङ्ग्रहमा सबै कथा विनिर्माणवादी र प्रयोगवादी राखेका भए कथाकारले पाठकको सानो घेरा मात्रै प्राप्त गर्दथे । साहित्यसचेत सर्जक र केही समालोचकको घेराबाट सङ्ग्रह बाहिर जान मुस्किल थियो । तर यहाँ प्रस्तुत गरिएका सामाजिक यथार्थ बोकेका कथाले सङ्ग्रह आम पाठकको पनि रोजाइमा पर्न सफल छ । यस कार्यमा कथाकारको व्यवस्थापकीय व्यक्तित्व लेखक व्यक्तित्वकै हाराहारीमा कुशल देखिन्छ ।

समग्रमा कथाकार प्रयोगशील देखिन्छन् । विविध विषयलाई कथामा उन्नु र सबैजसो कथामा बुनोट फरक पाइनुले उनीभित्रको प्रयोगशील सर्जक सक्रिय रहेको वस्तुतथ्य प्रस्तुत गर्दछ । केही प्रमुख कथाहरूमा उनले उत्तरआधुनिकताको प्रयोग गरेका छन, अन्य कथामा आधुनिकताकै प्रबलता छ ।सङ्ग्रहभित्र कथाकार विषयगत रूपमा सामाजिक यथार्थवादी र शैलीगत रूपमा उत्तरआधुनिक कथाकारका रूपमा देखा पर्दछन् । आधुनिक विषयको उत्तरआधुनिक प्रस्तुति पस्कन सक्ने कथाकारका रूपमा बस्ताकोटी छन् ।

कृतिको भूमिकामा पनि शैलीगत प्रयोग पाइन्छ । यसरी हेर्दा प्रयोगवाद यस कृतिको जरो हो भने उत्तरआधुनिकताको विनिर्माणवाद यस सङ्ग्रहको मूल हाँगो हो । त्यसैगरी सामाजिक यथार्थवाद र समसामयिक विषयवस्तु यसका शाखा प्रशाखाहरू हुन् । प्रयोगवादी शैली र रोचक भाषिक बुनोट यस कृतिरूपी वृक्षका सुन्दर फलका रूपमा देखिएका छन् । ‘कार्निभल’ कथालेखनको कार्यशालामा नवीन प्रयोग गर्दै सिर्जना गरिएको सुन्दर कृति हो । कुशल शैली भएका कथाकारले कार्यशालामा भरपुर मिहिनेत गरी कुँदेर तयार पारेको यस कृतिले नेपाली कथामा विशिष्ट प्रभाव छाड्नेमा ढ्क्क हुन सकिन्छ ।

pokhara internet
Comments
Loading...