ICAS

नेतृत्व लिन सक्षम छन् महिला

कविता श्रेष्ठ
पोखरा / 

फेब्रुअरी महिनामा अमेरिकी उपप्रधानमन्त्री माईक पिन्सले सामाजिक संजालमा अपलोड गरेका अमेरिकी कोरोना भाइरस टास्क फोर्सका सदस्यहरुको तस्बीरले चर्चा मात्र कमाएन,तस्विर हेर्नेहरुको मनमा एउटा प्रश्न पनि उब्जायो, ’ खै त महिलाको उपस्थिति ?’यो फगत प्रश्न मात्र होइन,अहिलेको आवश्यकता र वास्तविकता पनि हो । अहिले लकडाउनसँग प्रत्येक व्यक्ति जुद्दै गर्दा नेपालमा पनि उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको कोभिड—१९ को रोकथाम,नियन्त्रण र आवश्यक तयारी सम्बन्धी उच्च स्तरीय समितिमा एक जना पनि महिला अटाउन नसक्नुले महिलालाई हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन हुन नसकेको प्रस्टयाउँछ ।

Parichay
Infomatics

वास्तविकता के त ?

संसारभर स्वास्थ्यकर्मीको रुपमा अग्रपंक्तिमा रहेर काम गर्ने महिलानै हुन् र अहिले कोरोना भाइरसको आतंकको समयमा महिला स्वास्थ्यकर्मीको उपस्थिति उल्लेख्य छ । २०२० ग्लोबल हेल्थ ५० र ५० को रिपोर्ट अनुसार कुल स्वास्थ्यकर्मीहरु मध्ये ७० प्रतिशत महिला रहेका छन् । त्यसै गरी चीनमा कोरोना भाइरसको जोखिम न्यूनीकरणमा महिलाको अत्यन्त महत्वपूर्ण भुमिका देखिन्छ । जहाँ ९० प्रतिशत नर्स रहेका छन् भने कूल डाक्टरहरु मध्ये आधा भन्दा बढि महिलानै छन् । अमेरिकी कोरोना टास्क फोर्समा पुरुषको बहुलता भएता पनि महिलाको महत्वपूर्ण भूमिकालाई भने नजरअन्दाज गर्न मिल्दैन । विश्व स्वास्थ्य संगठनको कोभिड—१९ को प्राविधिक मारिया भान खेरकोभी हुन् वा रोग नियन्त्रण संस्था (सेन्ट्रल फर डिजिज कन्ट्रोल) का उपनिर्देशक येनी शचुचात वा हुबेइ प्रान्तका बरिष्ठ कर्मचारी सुन चुलन वा राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झानै किन नहुन् ? अहिले स्वास्थ्य क्षेत्रमा कार्यरत यी महिलाहरुको योगदान अतुलनीय छ ।

महिला नेतृत्व, सफल नेतृत्व

कोरोना भाइरसको महामारीले विश्वनै थर्कमान भएको बेला महिला नेतृत्व भएका राष्ट्रहरुले भने कोरोना नियन्त्रणमा इतिहास रचेका छन। हामीले महिलाको यो क्षमता नजरअन्दाज गर्न मिल्दैन । ताईवानकी राष्ट्रपति त्साई इ वेनले सुरुवाती चरणमा नै कोरोना नियन्त्रणका लागि चालेको कदम प्रशंसायोग्य छ । उनको सफल नेतृत्वको कारण ताईवानमा तत्कालका लागि कोरोनाको कुनै नयाँ केस देखिएको छैन । त्यसैगरी महामारी नियन्त्रणमा खेलेको भूमिकाका कारण क्वान्टम केमिस्ट्रीमा विद्यावारिधि हासिल गरेकी जर्मन चान्सलर एन्जेला मर्केलको एप्रोभल रेटिंगमा वृद्दि भएको छ । ८.३ करोड जनसंख्या भएको जर्मनीमा अहिले यूरोपकै सबैभन्दा बढी आइसीयु बेड र वृहत कोरोना परिक्षण कार्य्रक्रम रहेको छ । अन्य यूरोपियन देशहरुको तुलनामा संक्रमितको मृत्युदर कम छ । उता पर्यटनमा निर्भर देश न्युजिल्याण्डकी प्रधानमन्त्री जसिंडा आर्दनले मार्च १९ मा नै पर्यटकको आगमन बन्द गरी कोरोना नियन्त्रण गर्न सफल भइन् । आइसल्याण्डकी प्रधानमन्त्री क्याटरिन जाकोब्यस्दोटिर र सेन्ट मार्टिनकी प्रधानमन्त्री सिल्भिया ज्यकोब्स पनि कोरोना नियन्त्रणमा उठाएको कदमका लागि चर्चामा छन् ।

गण्डकी प्रदेशमा महिला नेतृत्व

गण्डकी प्रदेश प्राकृतिक स्रोत र साधनमा मात्र हैन,प्रभावकारी व्यवस्थापन र कुशल कार्य सम्पादनका लागि पनि परिचित छ । कोरोनालाई लिएर सबैको मन आक्रान्त भएको बेला गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले चालेको कदम प्रशंसा योग्य छ्र । उनको पहलमा कोरोना रोकथामको प्रयासलाई अझ प्रभावकारी र सफल बनाउन स्रोत, साधन र शक्तिको उच्चतम परिचालन पनि गरिएको छ । मन्त्री पुन भन्छिन्, ’कोरोना सङ्क्रमितको उपचारमा खटिनेलाई अतिरिक्त सुविधा, बीमाको व्यवस्था गरेका छौँ, पीपीई, मास्क, स्यानिटाइजर, पञ्जा, चश्मा, भिटीएस, भिएचएम, रिएजेण्टलगायतका सामग्री नभएर स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम हुने अवस्था आउन हरसम्भव प्रयासमा छौं।’

यसै गरी नेपालकै दोस्रो महिला नगर प्रमुख स्याङ्जाको पुतलीबजार नगरपालिकाकी सीमा क्षेत्रीको कार्य शैली पनि लोभ लाग्दो छ । उनकै पहलमा नगरबासीको सुरक्षामा आवश्यक स्वास्थ्यकर्मीलाई कहाँ, कसरी खटाउने ‘एक्सन प्लान’ बनाइएको छ । लकडाउनलाई अझ कडाई गर्दै विभिन्न कार्यदलहरु बनाएर काम थालनी गरिएको उनको भनाइ छ । क्षेत्रीका अनुसार स्याङ्जा प्रवेश गर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र स्वास्थ्यपरीक्षण गरिएको छ।

त्यसै गरी पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले पर्वतमा कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणलाई प्राथमिकतामा राखि थालनी गरिएका गतिविधि प्रशंसनीय छ । उनको नेतृत्वमा कोभिड संकट व्यवस्थापन केन्द्रको स्थापना,जिल्ला विपद व्यवस्थापन समितिको अग्रतामा राहत वितरण,विपदका घटनामा घाइतेको उद्धार गरिएको छ । घिमिरेका अनुसार लकडाउन कार्यन्वयनमा एकीकृत सुरक्षा योजना,स्वाव संकलन बुथ,कोरोनामैत्री एम्बुलेन्स,तालिम र क्वारेन्टाइनको व्यवस्था पनि गरिएको छ । गण्डकी प्रदेशकी सांसद पुष्पा के. सी. भण्डारीका अनुसार लकडाउनको बेला आवतजावतमा समस्या भएकोले राहत वितरणका लागि टोल, वडा र स्थानिय जन प्रतिनिधिलाई परिचालन गरिएको छ । टोल सुधार समिति,आमा समूहहरुसँग समन्वय गरी आवश्यकता अनुसार राहत वितरण गरिएको उनको भनाई छ ।

चिनिया सामाजिक सञ्जाल ‘वोइबो’ मा महिलाहरुको कामको सम्मान गर्दै चिनिया नागरिकद्वारा बनाइएका चित्रहरु

महिलालाई जिम्मेवारीसँगै नेतृत्वको आवश्यकता

चिनियाँ सामाजिक संजाल ’वोइबो’ले कोरोनाको कहरको बेला अग्रपंक्तिमा रहेर काम गर्ने महिलाको साहस र कार्यको उच्च सम्मान गर्दै चिनियाँ नागरिकद्वारा कोरिएका चित्रहरु प्रकाशित गरेको थियो । यसले महिला जुन सुकै कार्य गर्न सक्षम छन् भन्ने पुष्टी मात्र गरेन उनीहरुको मनोबल बढाउने काम पनि गर्यो । समाजशास्त्री शान्ती भुसालका अनुसार घररुपी संसारको डुङ्गा सजिलै पार लगाउने साहस महिलामा छ जसले उनीहरुलाई राष्ट्रियस्तरका कुनै पनि समस्यासंग जुध्न सीप प्रदान गर्दछ । उनका अनुसार कोभिड १९ को महामारीसँग जुध्नका निम्ति स्थापित कुनै पनि समितिमा महिलालाई नेतृत्व प्रदान गराउन अपरिहार्य छ । चाहे स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरणहरुको आपूर्तिमा होस वा राष्ट्रका तमाम अन्य क्षेत्रको व्यवस्थापनमानै किन नहोस् भुसाल थप्छिन्,’ महिलालाई जिम्मेबारी र प्रोत्साहन दिए मात्र समानताको आभास गर्न सकिन्छ ।’

लिनुपर्ने बाटो के त?

अहिले कोरोनाले दावा बोलिरहदाँ लकडाउनको प्रत्यक्ष असर महिला र बालबालिकामा परेको छ । श्रीमान् विदेशमा क्वारेन्टाइनमा रहदाँ, घरमा रासन पानीको अभावको जटिल परिस्थितिमा पनि महिलाले घरव्यवहारको जिम्मेबारी बहन गर्दै आइरहेका छन् । एक कुशल गृह व्यवस्थापकको रुपमा लकडाउनमा भान्सासँगै सबैको स्वास्थ्य,सुरक्षा र आत्मीयता महिलाले बाँडी रहेकी छिन् । बिहान घाम उदाउनु अघि सुरु भएको उनको जिम्मेवारी अबेर रातिसम्म पनि सिद्दिएको हुदैन् । उनको काँधमा दोहोरो जिम्मेवारी दिन कति पनि नहिच्किचाउने समाज नेतृत्व दिने सवालमा भने खुट्टा कमाउँछ । आइसल्याण्डदेखि न्युजल्याण्डसम्म,जर्मनी देखि ताईवानसम्म आंकलन गर्दा महिलाले गर्ने नेतृत्व फरक,प्रभावकारी र उपयोगी छ भन्नेमा दुई मत छैन । तसर्थ हरेक संघ संस्था, कम्पनि र राजनीतिक दलले प्रभावकारी व्यवस्थापनका लागि महिलालाई जिम्मेवारी,अवसर र नेतृत्व दिनु जरुरी पर्छ । किनकी महिला पुरुष सरह हैन,पुरुष भन्दा पनि सक्षम नेतृत्व बहन गर्न सक्छन् ।

pokhara internet
Comments
Loading...