पुराना कम्युनिष्ट नेता झलकपाणीको अनुभव : अहिलेको समाज पनि जनयुद्ध पुर्वकै समयमा गयो

सन्तोष बस्याल / पोखरा 

२५ वर्षअघि तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्दा झलकपाणी तिवारी आजकै दिन लडाकु दलको कमाण्डर थिए । उनको कार्यक्षेत्र लमजुङ् थियो । लमजुङमै उनले बन्दुक चलाउन सिके । त्यो भन्दा पहिला १५ दिनको तालिम गरेका थिए । गोरखा, तनहुँ र लमजुङका १५ जना लडाकुहरु तालिममा सहभागी थिए ।

roma

लमजुङमै उनीहरुले विष्फोटक पदार्थ बनाउने तालिम लिए । तिवारी र उनको समुहले बनाएको बम पड्कियो पनि । जनयुद्धको बेला थियो । पैसाको अभावमा तिवारीको टोलीले ‘मनी एक्सन’ गर्यो । केही अपरिचित मान्छेसँग पैसा खोस्ने काम भयो । केही मान्छेहरुसँग सौहार्दपूर्ण ढंगले माग्ने काम समेत भयो । विस्तारै आर्थिक समस्या हल हुँदै गयो ।

ICAS

जनयुद्धलाई तिवारी गौरवपूर्ण घटनाको रुपमा स्मरण गर्छन । १० वर्षे जनयुद्धले नेपाली समाजलाई झक्झकायो । विश्वव्यापी तरङ्ग सिर्जना गर्यो । देश शान्तिप्रक्रियामा आएपछि जनयुद्धले प्राप्त गरेका उपलब्धिहरु संस्थागत गर्ने भनिएपनि क्रमश गुम्दै गए । आजको समाजलाई उनले जनयुद्ध पूर्वको अवस्थामा देख्छन् ।

पुरेत परिवारमा जन्मे तिवारी । उनले आफुलाई भौतिकवादीमा रुपान्तरण गरे । न आमाको क्रिया गरे न त बुबाको श्राद्ध । दशैंतिहार लगायतका पर्व समेत मनाएनन् । अहिलेपनि उनलाई भौतिकवादी भएर बाँच्न मन लाग्छ । तर अहिलेको पार्टी र तिनका संरचना हेर्दा विचित्र पाउँछन् तिवारी ।

जनयुद्धको उपलब्धिलाई उल्टाउँदै गएकोप्रति तिवारीलाई पिडाबोध हुन्छ । अहिले उनी ठूलाठूला भोजभतेरमा जादैनन् । सहिदहरुको स्मृति दिवस वा दुखपूर्ण घटनामा अनुकुल समय मिलाएर पुग्ने गर्छन । भन्छन्, ‘हिजो मरियो भने सहिद भइन्छ भनेर मैले पनि लडाकुहरुलाइ भनें । मेरो प्रेरणाबाट बेपत्ता हुनेहरु पनि छन् । उनीहरुका परिवारहरु धेरै असहज अवस्थामा छन् । मलाइ देख्दा घृणा गर्छन ।’

त्यसो त सुख तिवारीले पनि काटेका छैनन् । ‘तँ आबद्ध भएको पार्टी सरकारमा छ । तेरा मान्छेहरु मन्त्री छन्, सांसद छन्, सुखसुविधा उपभोग गरेका छन् । केही मान्छेको प्रश्न आइरहन्छन् ।’—उनले सुनाए ।

सहिद, बेपत्ता, अपाङ्ग भएका व्यक्तिहरुको हालत दयनीय भएको उनी बताउँछन् । जनयुद्धमा होमिएका लडाकुका अवस्था देखेर उनलाई लज्जाबोध हुन्छ । नेपाली समाजको अहिलेको राजनीतिक उपलब्धीहरु जनयुद्धकै श्रेय भएको उनको बुझाइ छ । नेपालमा राजतन्त्र पछि गणतन्त्र प्राप्त भयो । एकात्मक राज्यको ठाउँमा संघात्मक तथा समानुापातिक राज्य प्रणाली छ । जनताले अधिकारको प्रत्याभूति गर्न पाएका छन् । जनयुद्धका योद्धाहरुले हीनता, पश्चतापनै गर्नुपर्ने आवश्यकता नभएको उनी पाउँछन् ।

parichay

‘अहिलेको परिवेश आशालाग्दो छैन । भरोसायुक्त छैन । नेपाली समाजलाई नयाँ ठाउँमा लैजान्छ जस्तो देखिदैन ।’ परिचय नेटवर्कसँगको कुराकानीमा उनले सुनाए ।

तिवारीका अनुसार राज्य फेरी दलालहरुकै पन्जामा पुगेको छ । अहिलेको राज्यव्यवस्था राष्ट्रघाती सन्धि सम्झौता गर्ने जस्तो देखिएको छ । उत्पीडित जनतामाथि शोषण भइरहेको छ । जनताका सेवासुविधा प्रति राज्यको चासो देखिएको छैन ।

राजनीतिक स्थिरता होला भन्ने आशामा ताल न बेतालका निर्णयले अस्थिरता निम्ताएको उनी बताउँछन् ।

पार्टी, सरकार भित्र केही मान्छे समाज रुपान्तरणका लागि लागिपरेका छन् । त्यहि अनुरुप उनीहरुले कामको थालनी गरेता पनि कामयावी नभएको बताउँछन् ।

बेपता भएकाहरुको यथार्तलाई सरकारले छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने तिवारीको माग छ । अधिकांश बेपत्ताहरु मारिएका छन् । मारिएका हुन् भनेर राज्यले घोषणा गर्नुपर्यो । सहिद र बेपत्ता भएकाहरुले राज्यको निम्ति योगदान गरेका हुन् भनेर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

तिवारी भन्छन्, ‘जनयुद्धका लडाकुहरु कुकुर बिरालो मरेजस्तो हुनु भएन ।’

जनयुद्धकालको समयमा पोखरा प्रचार क्षेत्र थियो । पोखरा भन्दा तिवारी र उनको समूहले केन्द्रको रुपमा गोरखा र लमजुङलाई आधार बनायो । जनयुद्ध थालनीको ७ महिना अघिदेखि तिवारीले पोखरा छाडेका थिए । २०५१ साल जेठमा राष्ट्रवादी आन्दोलन चर्किएका बेला प्रहरीले उनलाई पक्राउ गर्यो । लाठी चार्ज समेत भयो । २०४७ साल देखि ०५१ सम्मको अवधिमा तिवारी दशौं पटक गिरफतार भए । पोखरामा बसेर गिरफतार भइरहँदा युद्धमा सामेल हुन कठिन भएपछि उनले पोखरा छोड्ने निर्णय गरे । उनको कार्यक्षेत्र गोरखा र लमजुङ भयो ।

नेपाललाई संविधानमै समाजवाद उन्मुख राज्य भनेर उल्लेख गरिएको छ । पार्टीकै बहुमत भएको सरकारले समाजवादतर्फ देशलाई लगेको छ जस्तो तिवारीलाई लाग्दैन । भन्छन्, ‘दलाल र नोकरशाहकै अधिनमा राज्यमा शासन भइरहेको छ । दलाल पूँजीवाद हाबी हुँदै गएको छ । पार्टीका नेताहरु समेत दलालको वरिपरि र घेराबन्दीमा छन् । दलालको घेरा पार गरी सरकार अघि जान्छ जस्तो लाग्दैन । कार्यदिशामा म सन्तुष्ट छैन ।’

pokhara internet
Comments
Loading...