NTHMC

‘सँगीत सँघर्षको सही मूल्याङ्कन नहुँदा दिक्क लाग्छ’

सन्तोष बस्याल

पोखरा / 

roma

“गाउँमा हल्ला चल्याछ रे, एउटा फूल फल्या छ रे

ICAS

टप्प टिपी लान्छु भन्ने यहाँ कोही आछ अरे

कल्ले लाने हो मलाई डोलीमा चढाई….”

अन्जु पन्तको आवाजमा २०६६ सालमा रेकर्ड भएको गीत हो यो । उक्त गीतलाई नसुन्ने सायद नै होलान् । यही गीतबाट जयकुमार परियारको चर्चा चुलियो । उनी सँगीतकारका रुपमा परिचित भए । त्यसपछि पछाडी फर्किएर हेर्नुपर्ने बाध्यता उनमा आएन । एक पछि अर्को सिर्जनामा व्यस्त रहे । ललितकलाका पाँचवटै विधामा पोख्त जयकुमार परियारलाई “रुप एक प्रतिभा अनेक”को संज्ञा दिने गरिन्छ ।

पर्वत जिल्लाको खौलालाकुरी पुर्खौली भएका जयकुमारको जन्म २०३५ साल साउन २० गते भारतको सिलोङ्मा भयो । बुवा गम्बिर परियार र आमा चन्द्रीमाया परियारका साईंला सन्तानको रुपमा जन्मिएका जयकुमार ५ वर्षको उमेरदेखि पोखरा बसे । उनको बाल्यकाल पोखरामानै बित्यो ।

बाल्यकालमा चकचके स्वभावका थिए जयकुमार । केही नगरी नबस्ने स्वभाव उनको उतिबेलैको हो ।

जयकुमार परियारको समुदायमा पुस्तौंदेखि बाजा बजाउने र गीत गाउने पेशाकै रुपमा चलिआएको थियो । विवाह व्रतबन्ध लगायतका विभिन्न समारोहहरुमा बाजा बजाएर जीविकोपार्जन गर्ने समुदायमा हुर्किएका जयकुमार सानै उमरेदेखि गाउन बजाउन भनेपछि हुरुक्कै हुन्थे । पुर्खौली पेशानै सँगीत भएकाले जयकुमारको प्रारम्भिक सँगीत शिक्षा परिवार र समुदायबाटै भयो ।

जयकुमार ११ वर्षका थिए । पोखरामा दाइ रोहनकुमार परियारका साथीहरुले देउसीभैलो कार्यक्रमको आयोजना गरे । भट्ट्याउने कलाकार कोही भएन । रोहनले भाई जयकुमारलाई डाके । त्यतिबेला जयकुमार पर्वतको आर्थर डाँडाखर्क थिए । देउसीभैलोकै लागि उनी पोखरा फिरे । यसरी देउसी भैलोमा सहभागि भएपछि जयकुमारको संगीतप्रति लगाव बढ्यो ।

जयकुमारले १३ वर्षको उमेरदेखि जागिर खाए । त्यो पनि सँगीतमै । पोखरामा डाँफे कला मन्दिर थियो । जहाँबाट नेपालका थुपै्र कलाकारहरु स्थापित भएका छन् । जयकुमार पनि त्यहाँ आबद्ध हुन पुगे । त्यतिबेला उनी नृत्यको क्षेत्रमा अझ बढी दख्खल राख्थे । सँगीतकारको रुपमा उनलाई पछि मात्रै चिनिएको हो । त्यो बेला उनले महिनाको पाँच सय रुपैयाँमा जागिर खाएका थिए । जीवनको पहिलो कमाइ उनले परिवारलाई बुझाए ।

२०५२ साल पछि मात्रै उनले सँगीतको औपचारिक शिक्षा प्रारम्भ गरे । जीवनको आरोह अवरोहलाई नजिकबाट बुझेका जयकुमारले शास्त्रीय सँगीतमा डिप्लोमा सम्मको अध्ययन गरेका छन् । डिप्लोमा पछि उनको सँंगीत शिक्षा रोकियो । कारण नेपालमा त्यतिबेला सँगीत शिक्षा बुझ्ने समाजको विकास भइसकेको थिएन । उनले ०५२ सालमै आदर्श कला केन्द्र सञ्चालनमा ल्याए । जहाँ नृत्यको प्रशिक्षण गराइन्थ्यो । डाँफे कला मन्दिरमा जागिर खाँदै यता आफ्नो संस्थालाई समेत हाँक्थे जयकुमार ।

आदर्श कला केन्द्रबाट अहिले पोखरा लगायत काठमाडौंमा सँगीत संघर्ष गरेका धेरै कलाकारको जन्म भएको उनी बताउँछन् ।

जयकुमार परियारले सँगीत शिक्षा लिएको ७ महिना पछाडी औपचारिक रुपमा गीत रेकर्ड गराए । त्यतिबेला पोखरामा धेरै स्टुडियो थिएनन । बार स्टुडियो भर्खरै सुरु भएको थियो । “म तिम्रो…”, “मैले पर्खिरहे तिमी आउँछौ कि भनेर…” र “ फर्कि आउने बाचा गर्दै गयौ परदेशी…” जयकुमारले सुरुमा रेकर्ड गराएका गीत हुन् । त्यतिबेला ७ हजारको लगानीमा उनले उक्त गीतहरु रेकर्ड गराएका थिए । सिने साउण्ड काठमाडौं, नमस्ते स्टुडियो काठमाण्डौं र बार स्टुडियो पोखरामा रेकर्ड गराएको गीत थियो । तर विडम्बना तिनै गीत बजारमा आएनन् । कारण एक एल्बममा ६ वटा गीत हुनुपथ्र्यो जयको ३ वटा मात्र थियो । आर्थिक समस्याले अरु गीत उनले रेकर्ड गर्न सकेनन् ।

parichay

०६६ सालमा जयकुमार परियारको शब्द सँगीत र लगानीमा “कल्ले लाने हो मलाई डोलीमा चढाई…” बजारमा आयो । गीतले सफलता पायो । उक्त गीतबाट जयकुमारलाई नचिन्नेहरुले पनि चिन्ने अवसर पाए ।

जयकुमारसँग बाध्यवादन, नृत्य निर्देशन, गीत रचना, चलचित्र सबैमा काम गरेको अनुभव छ । त्यतिबेलाका चर्चित कलाकार राजेश हमाल, निखिल उप्रेती, श्रीकृष्ण श्रेष्ठ लगायतले अभिनय गरेका चलचित्रका गीतमा उनी नाचेका छन् ।

“कल्ले लाने हो” गीत चलेपछि उनलाई एक पछि अर्को संगीतका लागि अफर आउन थाले । पोखरामै रहेर व्यस्त सँगीतकारको रुपमा उनलाई पहिचान गराउन थालियो । २७ वर्षदेखि निरन्तर जयकुमार सँगीत क्षेत्रमा लागिरहेका छन् । उनले सँगीतलाई नै पेशा बनाएका छन् । विगत दुई वर्षदेखि पोखराको चिप्लेढुंगामा सञ्चालित सान्नानी दोहोरी साँझका सञ्चालक समेत हुन् जयकुमार । भन्छन्, “आजसम्म जे दियो संगीतले नै दियो, सँगीत बाहेक अरु केही सोचिनँ ।”

पहिले र अहिलेको कलाकारिता क्षेत्रमा उनी आकाश जमिनको फरक पाउँछन् । पहिले सँगीत शिक्षा लिनै पर्ने हुन्थ्यो । अहिले सिकाई कम, चर्चामा आउने हुटहुटी ज्यादा भएको उनी पाउँछन् । भन्छन्, “हामी पुसको जाडोमा बिहान २ बजे कठयाङ्ग्रीएर संगीत शिक्षाका लागि पाठशाला पुग्ने गथ्र्यौ । अहिले त्यो छैन । एक्कासी गाउँबाट झरी एउटा गीत रेकर्ड गरेको भरमा कलाकार भएका छन् । कलाकारितामा संघर्षको “स” नजान्नेहरु धेरै छन् ।’ उनका अनुसार  परिवारको कमाइमा गीत रेकर्ड गर्ने र पैसाको खोलो बगाएर चर्चा कमाउने कलाकारको अहिले विगविगी छ ।

 

मेहनत गरे सफलता मिल्ने कुरामा विश्वास गर्ने मध्येका कलाकारमा पर्छन् जयकुमार । आफुलाई उनी भाग्यमानी कलाकारको रुपमा परिचित गराउँछन् । हरेक सुमदायसँग जोडिएर गीतसँगीत सिर्जना गर्ने मौका पाउँदा उनी खुशी छन् । एक अर्थमा भन्दा सँगीतबाट उनी सन्तुष्ट छन् ।

“कल्ले लाने हो …” पछि जयकुमारको चर्चामा आउने गीत बन्यो “दरौं शिरुबारी…” । जसमा उनले लय दिएका थिए । राजु परियारको आवाजमा रहेको उक्त गीतलाई रुचाउनेहरुको जमात पनि बाक्लै छ ।  जयकुमारले सँगीत भरेका भाषाभाषीका गीतलाई पनि धेरैले रुचाएका छन् । उनले गाउँका गीतमा समेत सँगीत सिर्जना गरेका छन् ।

“तमुस्यो” चलचित्रको गीत  “कहिले फुल बने…”, गीतकार आरजु बिष्ट ‘सल्यानी’को शब्दमा रहेको गीत “चोखो माया” गुरुङ चलचित्रको “पुर्णेको जुन जस्ती चहकिली भाकी छु…”, “आगे ठागु” गुरुङ चलचित्रको अन्जु पन्तको आवाजमा रहेको गीत “मलाई गाउन मन लाग्छ….” लगायतका गीत जयकुमारद्वारा सँगीतबद्ध भएका र चर्चामा आएका गीत हुन् । उनले अहिलेसम्म ५ सय ६८ वटा गीतमा शब्द, सँगीत र आवाज दिएका छन् ।

जयकुमार भन्छन्, “पहिले साराङ्गी छोयो भने सुनपानी छर्कन्थे । भाग्यवश अहिले त्यही साराङ्गी कतिको पहिचान बनेको छ ।”

उनका अनुसार समाजमा ठूला कुरा गर्नेहरुले आफ्नै बैठक कोठामा साराङ्गी मादल झुण्डाउँदा सम्धी सम्धिनीले केही भन्ने हुन् की भनेर अझै पनि अफ्ठ्यारो मान्छन् । परिवर्तन ल्याउन सोचमा परिवर्तन हुनुपर्ने उनको बुझाई छ ।

अहिले गीतसँगीतमा पुरानो शैलीलाई मोड्ने माड्ने काम भइरहेको उनी पाउँछन् । अर्काको सिर्जनामा रमाई आफ्नो भन्नेहरुको जमात ठूलै भएको उनी बताउँछन् । वास्तविक सिर्जना गर्ने पछाडी पर्नु र तोडमोड गरेर आफ्नो सिर्जना बनाउने प्रवृत्ति सँगीतका लागि विकृति भएको उनी बताउँछन् । खारिएको र लामो समय संघर्ष गरेको श्रष्टाले त्यहि अनुसारको सम्मान पाउनुपर्ने उनको बुझाइ छ । भन्छन्, “सँगीत संघर्षको सही मूल्यांकन नहुँदा दिक्क लाग्छ ।”

सँगीतमा भएका विकृतिमा सुधारपन ल्याउन सम्बन्धित निकायबाटै सकरात्मक पहल हुनुपर्ने उनको धारणा छ । नीति नियम बनाएर गीतसँगीतको सुधारमा लाग्न उनी आग्रह गर्छन् ।

नयाँ पिढीलाई सँगीत शिक्षा सिकेर आउन जयकुमारको सल्लाह छ ।

सत्यको बाटोमा हिँडे एकदिन जित अवश्य मिल्नेमा उनी विश्वास गर्छन् । “कल्ले लाने हो” गीतबाट उत्कृष्ट सँगीतकारको विधामा अन्नपूर्ण अवार्ड, भारतको दिल्लीबाट डा.अम्बेडकर अवार्ड लगायतका थुप्रै सम्मानबाट जयकुमार सम्मानित भइसकेका छन् । भन्छन्,“अझै धेरै गर्नु छ, सँगीत सिक्दै छु ।”

pokhara internet
Comments
Loading...