Parichay add

बिग्रिएका नेता, बिर्सिएको जनयुद्ध

  • गोविन्दराज के.सी.

सायद माओवादीले शसस्त्र जनयुद्धलाई निरन्तरता दिएको हुन्थ्यो भने फागुन १ गते आज हरेक मानिसका कान रेडियो, टिभी, सामाजिक सञ्जालतिर हुन्थे होला । माओवादीले कुन जिल्लाको सदरमुकाममा आक्रमण गर्यो र कब्जा जमायो । कति सेना मारिए ? वा कति अत्यधुनिक हतियारहरु कब्जा भयो ? कुन राजमार्गमा मोर्चाबद्ध लडाईं भईरहेको छ र नेपाली सेनाले हवाई र रेन्जर बटालियनमार्फत प्रत्याक्रमण गरिरहेको छ । तर १५ वर्ष अगाडि गरिएको १२ बुँदे सहमतिले त्यो भयानक दृश्यलाई संधैको लागि रोकिदिएको छ ।

roma

तत्कालिन मालेले २०३० को दशकतिर नेपालमा फेरि अर्को सशस्त्र आन्दोलनको सम्भावना छैन भनेर शान्तिपुर्ण आन्दोलनमा अवतरण गरेको २ दशकपछि तत्कालिन नेकपा (माओवादी)ले दिर्घकालीन जनयुद्धको नाममा सशस्त्र युद्धको घोषणा गर्दै देशलाई युद्धको अग्नीकुण्डमा होमेको थियो। दुई दशकको अवधिमा माले (मार्क्सवादी एकतापछि नेकपा एमाले)को निर्माण, मदन भण्डारीको उदय, र नेकपा एमालेको नेतृत्वमा ९ महिने सरकार पनि बन्यो । तर त्यसले डढेलो जस्तो सल्कँदै गरेको माओवादी जनयुद्धलाई रोक्न सकेन। प्रजातन्त्र पुनर्स्थापनाको ५ वर्षपछि २०५२ फागुण १ गतेदेखि नेपालमा राजतन्त्र र संसदीय शासन व्यवस्थाको विरुद्ध घनिभुत युद्धको शुरुवात भयो ।

ICAS

गुरुत्व, सघनता र व्यापकताको हिसावले पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तार अभियानको अपार सफलतापछि माओवादी जनयुद्धले त्यो उत्कर्ष पक्डेको थियो। २०५२ सालमा शुरु गरेर २०५८ सालको छोटो अवधिमा यसले नेपाल सरकारको महत्वपुर्ण सुरक्षा अङ्ग नेपाल प्रहरीलाई पुर्णतः परास्त गर्यो । गाउँ-गाउँमा रहेका प्रहरी पोस्टहरु उठाइसकेको थियो। २०५८ मङसिर ११ गते सरकारको अन्तिम सुरक्षा अङ्ग तत्कालीन शाही सेनाको दाङ ब्यारेकमा निर्णायक हमला र विजयपश्चात नेपाली राजनीति र माओवादी जनयुद्धले नयाँ मोड लियो।

तर समय माओवादीको पक्षमा रहिरहेन नत सरकार वा राजसंस्थाले भने जस्तो । २०६२-६३ सम्म आईपुग्दा देश नयाँ रुप लिनैपर्ने वाध्यताम पुग्यो । गाउँबाट सरकारको उपस्थतिलाई शुन्यमा झारेपनि सदरमुकाममा थन्किएको सरकारलाई माओवादीले ठेगान लगाउन सकेन । सिमित स्रोत र साधन, कमसल जनशक्ति, गुणस्तरहिन तालिम र सैन्यशक्तिको गिरावटले माओवादीलाई नयाँ विकल्पमा जानैपर्ने वाध्यता सृजना गर्दैथियो भने सरकार, राजा र शाही सेनाको वीचमा ठुलो दरार पैदा भईसकेको थियो। राजा ज्ञानेन्द्रले निर्णायक तहमा आफ्नो कदम चाल्दै राज्यशक्तिका सवै अवयवमाथि कब्जा जमाएका थिए । सक्रिय राजतन्त्रको आसक्तिले ज्ञानेन्द्रको चाहले सगरमाथा छोएको थियो । तर यसको राजनीतिक परिणामको गम्भिर सम्भाव्यतालाई उनले निकै कमजोर आँकेका थिए।

शाही सेनाले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै माओवादीलाई गाउँमा अल्झाउने, सदरमुकामको क्याम्पलाई जसै जोगाउने र विस्तारै कमजोर बनाउँदै माओवादी सक्ने योजनामा केन्द्रित थियो। यसलाई माओवादीले नबुझ्ने कुरै भएन। सेनाको यो रणनितीमाथि हावी हुने र राजालाई घुँडा टेकाउने दाउ खोजेको माओवादीले माघ १९, २०६१ को राजाको शाही कदमलाई आफ्नो पहलमा पार्दे संसदीय दलहरुसंग मोर्चाबन्दी गर्ने शुर कस्यो । अन्ततः त्यो कार्यनीतिक योजनाले माओवादीलाई देशकै ठुलो पार्टीमात्र होइन, राजतन्त्रको अन्त्य, गणतन्त्रको प्राप्ति र संघियताको स्थापना गर्यो।

माओवादी भुईतहमा निर्माण भएको पार्टी थियो। तल्लो तहका कार्यकर्ताको व्यवस्थापन गर्न असफल भएपछि विस्तारै माओवादी सकियो । जनयुद्धको १० वर्षमध्ये ८ वर्ष भारतमा विताएका प्रचण्ड-वावुराम चरम अवसरवादी, आत्मसुरक्षावादी र उपयोगतावादी नेतामा रुपान्तरित भएका थिए।

वावुराम प्रचण्डले युद्धकालमा कुनै परिवारका सदस्य गुमाएनन बरु सम्भव भएसम्म भारतका उत्कृष्ट स्कुल र कलेजहरुमा भर्ना गरेर पढाए । कुनै सन्तान युद्धमा नगुमाएपछि त्यसको माया ममता र स्नेह देखावटीमात्र हुँदोरहेछ भन्ने कुरा स्पष्ट छ । जवकि परिवार गुमाएका सदस्य आजपनि माओवादी भन्दा स्नेह र ममता देखाउँछ ।

माओवादीले अवसरलाई परिणाममा बदल्न सकेन । यसको मतलव प्रचण्ड वावुरामको विकास सम्बन्धि कुनै ठोस योजना र खाका थिएन, बाहिर जसरी ब्यक्त गरेपनि । ऋण, चन्दा र कमिसनमा टिकेको माओवादी सेना र हजारौं पुर्णकालीन कार्यकर्ता रहुञ्जेल टिक्थ्यो जब शक्तिको ह्रास हुनथाल्यो त्यसैगरि यसको पतन अवश्यम्भावी बन्यो ।

लेनिनवादी संगठनात्मक पद्धति माओवादी पतनको अर्को प्रमुख कारक थियो । सामुहिक नेतृत्वको अभ्यास सतहमा देखिए पनि यो पुर्णत : प्रचण्डको एकाधिकारवादमा सञ्चालित थियो। वावुरामको कुण्ठित मनोदशाले कहिल्यै त्यो पार्टीको नेतृत्वमा पुग्ने मनोकांक्षालाई प्रचण्डको प्राधिकार सम्पन्न टिमले दिंदैन्थ्यो। वावुराम किरणहरु त्यो आन्दोलनका ‘शो पिस’ मात्र थिए । तर वावुराम आकांक्षा प्रचण्डको सहायक भएर बस्ने मात्र होइन कि देशकै कार्यकारी हुनेथियो। यस्तो लेनिनवादी संगठनात्मक ढाँचालाई ब्रेक नगरि त्यो सम्भव थिएन। मौका परस्त वावुरामले खुला राजनीतिको फाइदा उठाउँदै प्रचण्ड प्राधिकारमाथि धावा बोलि नै रहे । विचार, सिद्धान्त, शहिद, बेपत्ता, घाईते, अङ्गभङ्ग केवल लोकरिझाइका साधनभन्दा बढि केहि थिएनन।

२०६२-६३ पछि क्रान्तिकारी आन्दोलनको प्रभावमा आएको युवापुस्ता सवैभन्दा जुझारु, योग्य, विश्वविधालय पढेको, र खुला राजनीतिलाई व्यवस्थापन गर्नसक्ने ईमान्दार थियो । तर युद्ध राजनीतिबाट आएको एउटा पुस्ताले यसलाई अवसरवादी र वुर्जुवाको संज्ञा दिंदै संधै खेदिरहयो । माओवादी स्वयं वुर्जुवा राजनीतिको अभीन्न अङ्ग हो भन्ने अनुभूति नै गरेको थिएन। नयाँ र पुरानो कार्यकर्ताको द्वन्द्वमा माओवादीले आफ्नो आधार खडा गर्न र पार्टी संस्थागत गर्न नै सकेन। यहि अन्तरविरोधलाई अर्को वामपार्टी एमालेले बुझेर आफ्नो जनाधारलाई मजबुत पार्न लाग्यो । प्रकारान्तरले माओवादी किनारामा धकेलियो। न नयाँ कार्यकर्ताले जिम्मेवारी पाए न पुरानो युद्ध लडेको भनिएका कार्यकर्ताले आधार जोगाउन सके । गाउँदेखि केन्द्रसम्मको नेतृत्वमा युद्धकालीन कार्यकर्ता हावी थिए । कलेज देखि विश्वविद्यालयसम्मको नेतृत्व सम्हालेको नयाँ युवा टिमको व्यवस्थापन गर्नसकेको भए माओवादीको यो दुर्दशा हुँदैन्थ्यो।

पार्टीलाई सिस्टममा चलाउन नसकेको माओवादीले देशको व्यवस्थापन गर्छ भन्ने भ्रमपुर्ण आकाँक्षामा जनताहरु बाँच्नु र अपेक्षा गर्नु नेपालीको अर्को विडम्वना थियो।

संसदीय राजनीतिमा स्थानिय नेतृत्वको महत्वलाई माओवादीले बुझ्नै सकेन । देशको मुख्य केन्द्रहरुमा प्रायः बाहिरी जिल्लावासीलाई नेतृत्व थमाउने आम चलन नै थियो । स्थानिय नेतृत्वको विकास र प्रवर्द्धन गर्न सकेको भए परिस्थिति बेग्लै बन्नसक्थ्यो । एमाले र काँग्रेसले यसलाई संस्थागत नै गरेका थिए । झापामा चुनाव लडन रोल्पाको नेता जाने, कास्कीको ईन्चार्ज बन्न गोर्खा र पर्वतबाट तान्नुपर्ने, माथिल्लो नेतृत्वको चरम चाप्लुसि गर्नुपर्ने गम्भिर समस्यामा माओवादी जकडियो । यसले स्थानिय र प्रदेशको चुनावमा मओवादीको  हैसियत देखाइदियो ।

सवैभन्दा ठुलो समस्या प्रचण्ड, वावुराम र किरणमा थियो । आत्मसुरक्षाले यिनको दिमाग यसरी गाँजेको थियो कि नेपाल भित्र रहेर नेतृत्व दिने हैसियत नेताहरुले राख्दै राखेनन । भारतीय खुफिया एजेन्सीसंगको आडभरोसमा सुरक्षित रहने, मन नपरेको नेतृत्वलाई गिरफ्तार गराउने र गलाउने षडयन्त्र दिल्लीमा बसेर नै गरेका थिए। यस्तो आत्मपरस्त रुझान र व्यक्तिवादी कायरताले खुला राजनीतिमा वैदैशिक शक्ति केन्द्रको चौतर्फी दवाबलाई थेग्न सकेन। एकपछि अर्को सहमतिको नाममा माओवादी आन्दोलनलाई नै नेताहरुले बन्धक बनाए।

जनताका छोराछोरीको त्याग, बलिदान र उत्सर्गलाई खुला राजनीतिको शक्तिको स्रोत मानेको भए माओवादीको मुल नेतृत्व वैदेशिक शक्ति केन्द्रसंग झुक्दैन्थ्यो । एउटै परिवारबाट ४-५ जना सन्तान गुमाएका, युद्धमा अङ्गभङ्ग भएका, बेपत्ता पारिएका मानिस नै युद्धका असली उर्जा र बल हुन् । १७ हजार हाराहारीमा ज्यान गुमाउँदा नेतृत्वले पनि आवश्यकतामा बलि चढाउन आफुलाई तयार पारेर खुला राजनीतिको मोर्चामा होम्न सकेको भए कुनै शक्तिले माओवादीलाई रोक्ने थिएन। एकपछि अर्को खुलामोर्चामा माओवादी आफ्ना मुद्धाहरुबाट च्युत हुँदै सकियो।

अमेरिका लगायत पश्चिमा शक्ति, युरोपियन युनियन, भारत समेत नेपालमा माओवादीको उदयलाई कुनै हालतमा सहन गर्नसक्दैनथे। युद्धकालीन मुद्दाहरु भड्काएर माओवादी नेतृत्वलाई थकाउने, गलाउने र हेगमा लैजाने सम्मको मनोवैज्ञानिक त्रास अप्रत्यक्ष माध्यमबाट शक्ति केन्द्रहरुले निरन्तर दिईरहे । यो मानसिक र मनोवैज्ञानिक त्रासले माओवादी नेतृत्वलाई पुरै गलाईदियो। अन्ततः पश्चिमा शक्ति
राष्ट्रहरुको राजनैतिक एजेण्डामा माओवादीले आँफूलाई बदल्यो र आंशिक भएपनि हेगको भयबाट मुक्ति पायो।

वास्तवमा माओवादी जनयुद्ध संसारभरि कम्युनिष्ट शासन पतन भएको बखत नेपालमा तिब्रगतिमा फैलंदो थियो । अमेरिकी एकध्रुवीय प्रभुत्व विश्वभरि फैलिंदै थियो । सोभियत संघको पतन भएर भु-मण्डलीकरण र नवउदारवादले संसारलाई पुरै निलेको थियो। कम्युनिष्टहरुका नाम युरोपमा सवैभन्दा घृणायुक्त शव्द थियो। चीनले आँफुलाई पुरै खुला बजारमा ढालिसकेको थियो । यस्तो बिषम परिस्थितिमा नेपालमा माओवादीले जनयुद्धलाई व्यवस्थित तरिकाले अगाडि बढाउनु चानचुने कुरा थिएन। यस्तो गौरवपुर्ण विरासत नेतृत्वको कमजोरीका कारण गर्लयामगुर्लुम्म ढल्यो।

विधार्थीको एउटा प्रशिक्षणताका तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले भनेका थिए- ‘दिल्लीमा नेताका श्रीमतिहरु कुन औंलामा सुनका औंठी लगाउने भनेर झगडा गर्थे ।’  संगठनको केन्द्रीय वैठकमानै न्यौपानले यो कुरा जमेर राखेका थिए जसको परिणाम उनले लामो समय पार्टीको नेतृत्वबाट नै बञ्चित गरियो।

माओवादी नेताभन्दा कार्यकर्ताले लडिएको पार्टी थियो। भुईं तहका कार्यकर्तामा जुन स्तरको त्याग, समर्पण र बलिदानी भाव थियो त्यो पार्टी नेतृत्वमा थिएन । खुला राजनीतिपछि माओवादी नेतृत्वले त्यो भुईं तहको कार्यकर्तालाई नेतृत्वमा बदल्न सकेन। युद्धकालमा आवश्यक पर्ने विशाल कार्यकर्ता पङ्क्ति खुला संसदीय राजनीतिमा टिक्न गाह्रो पर्थ्यो । निरन्तर वहस, छलफल, आवश्यक प्राविधिक तालिम, र राष्ट्रिय-अन्तर्राष्ट्रिय ज्ञानले समृद्ध पार्नुको सट्टा छलछाम र धोकाधाडीको राजनीति गर्दै विद्रोह र आवश्यकता परे फेरि युद्ध गर्ने बकबासमा माओवादी रुमल्लियो । अस्पष्ट रणनीतिको प्रभाव कार्यनीतिको योजनामा स्पष्ट प्रकट भयो। जसले माओवादीलाई न क्रान्तिकारी न संसदीय पार्टी जस्तो पेन्डुलम बनाईदियो।

एउटा नमेटिने इतिहास कोरेपनि आज माओवादी पार्टी नेपाली राजनीतिमा अस्तित्वमा छैन। नेतहारुले आँफैले खडा गरेको महान उपलब्धिलाई बिर्सिएका छन । जुंगाको लडाईंमा फस्दा कस्तो दुर्दशा भोग्नुपर्छ त्यो इतिहासले प्रचण्ड र वावुरामबाट हरेक मानिसलाई सिकाईदिइको छ। आज प्रचण्ड, वावुराम, किरणहरुले गरेको अक्षम्य गल्तिलाई आधार बनाएर जनयुद्धलाई दुत्कार्ने गम्भिर समस्या यतिबेला नेपाली राजनीतिमा देखिंदैछ। नेतृत्वको गल्तिलाई सिंगो राजनीतिक आन्दोलनसंग जोडेर इतिहासको अबमुल्यन गर्नु कृतघ्नता बाहेक केहि होइन। इतिहास नबुझ्ने, पुर्वाग्रही र परजिविहरुले जनयुद्धलाई जुनसुकै तरिकाले व्याख्या, बदनाम वा नजरअन्दाज गरेपनि नेपाली समाजमा पारेको वृहंगम प्रभावलाई कसैले मेटन सक्दैन । यसर्थ कसैले इतिहास अस्विकार गर्ने, विकृत पार्ने, निषेध गर्ने अभिष्टता गर्नसक्ला तर जनयुद्धको इतिहासलाई मेटन सक्दैन । २५ औं जनयुद्ध दिवसको सवैमा शुभकामना !!!

pokhara internet
Comments
Loading...