NTHMC

“जे दियो सबथोक नृत्यले दियो”

सन्तोष बस्याल

पोखरा /

roma

गोरे गुरुङ पोखरेली कलाकारिताको क्षेत्रमा नौलो नाम होइन । संघर्ष र मेहनतका कारण पाएको प्रतिफलले आज समाजमा उनलाई हेर्ने नजर उँचो छ । नृत्यको क्षेत्रमा आफुलाई अब्बल ठहराई मैदानमा दौडीरहेका छन् उनी । लमजुङको पसगाउँ पुरानो थलो हो उनको, तर पोखरा शितलदेवी जन्मे, त्यहिँ नै हुर्के ।

ICAS

२०३८ सालमा माघमा बुबा शुकलाल गुरुङ र आमा दिलकुमारी गुरुङका ४ छोरा मध्ये कान्छो छोराको रुपमा जन्मेका गोरे गुरुङ बच्चैदेखि हस्तकलामा रुची राख्थे । सीपमुलक काममा उनको पहिलेदेखिकै लगाव हो । बच्चैदेखिको सपना पूरा गर्दै छन् गुरुङ ।

सानैमा काठको गितार, मादल, ड्रमसेट बनाउँथे । निगालो काटेर बाँसुरी बनाइ साथीहरु जम्मा गरेर बजाउने स्वभाव उनमा थियो । थालनी गरेको काम जसरी पनि सक्थे । अहिले पनि त्यो बानी छुटेको छैन । काम निरन्तर गर्दै गए सफल अवश्य भइने उनको सोच पहिलेदेखिकै हो ।

गोरे गुरुङको औपचारिक शिक्षा घरछेउकै गुरुसँग सुरु भयो । कक्षा २ सम्मको अध्ययन उनको शितलदेवी स्कुलमा भयो । शिवशक्ति स्कुल फुलबारीमा उनले कक्षा ३ देखि ५ सम्मको शिक्षा लिए । त्यसपछि बसाइसराइ २०४६ मा भद्रकालीमा भएपछि कक्षा ५ देखी अध्ययन उनले भद्रकाली स्कुलमा गरे । एस.एल.सी समेत उनको त्यहिँबाटै भयो ।

८ कक्षा पढ्दादेखिनै गोरे गुरुङ व्यवसायिक कलाकार भइसकेका थिए । त्यतिबेला डाँफे कला मन्दिरमा उनले ७ हजारको जागिर खान्थे । नृत्य उनको कलाकारिता विधा । आजसम्म जे पाएका छन् सबै नृत्यबाटै पाएका छन् । विद्यालयमा नृत्य प्रशिक्षकको काम उनले ८ कक्षा पढ्दाताकानै सुरु गरे ।

एस.एल.सी पास गर्नेवित्तिकै उच्च शिक्षाका लागि गुरुङ पृथ्वीनारायण क्याम्पस भर्ना भए । क्याम्पसमा विभिन्न संघसंस्था मार्फत सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो । सबै कार्यक्रममा गोरेको उपस्थिति अनिवार्य हुन्थ्यो । भनिन्छ नि “केही पाउन केही गुमाउनु पर्छ” । ठ्याक्कै यहि भनाई गुरुङको जीवनमा लागु हुन्छ । उनले नाम कमाउन पढाइ त्यागे र नृत्यको क्षेत्र अँगाले ।

नृत्य उनको रुचीको विषय थियो । सोही सम्बन्धी अध्ययन गर्ने इच्छा जाग्यो । उनले शास्त्रीय नृत्य कत्थक भारतको इलहावादबाट पाचौं वर्षसम्मको औपचारिक अध्ययन पुरा गरेका छन् ।

आफ्नो पेशाप्रति गुरुङ सन्तुष्ट छन् । भन्छन्, “८ कक्षा पास हुनेबित्तिकै लाहुरे बन्न गुरुङ समुदायमा समाज, इष्टमित्र, परिवारको प्रेसर हुन्थ्यो । मेरा दाईहरु पनि त्यहि मान्यताबाट पिडित हुनुभयो । अहिले उहाँहरु विदेश हुनुहुन्छ । मलाई लाउरे प्रथा भनेपछि कत्तिपनि मन नपर्ने । मेरो अङ्कल ब्रिटिस आर्मीको डबल पेन्सनर । भर्ती हुन इच्छा जागेको भए लाहुरे बन्न मलाई समस्या थिएन । बुवाले तुरतुरेमा भर्ती हुन लिएर जाँदा भागेर घर आएको थिएँ । मसँगै भर्ती हुन गएको एक जना साथी लाउरे भयो । त्यो साथी जतिपटक घरमा छुट्टीमा आउथ्यो । त्यतिपटकनै मैले बुवाको गाली सुन्नुपथ्र्यो, “तँ नाचेर हिडेने भइस्, या क्षेत्रमा तैले केही नगर्ने भइस, जिन्दगीको सवाल भएन तसँग, रमाइलो मात्रै तेरो लागि ठूलो कुरा भो” ।

गोरे गुरुङले बुवाको केही सुनेनन् । उनी आफ्नो कर्ममा अडिग थिए । उनलाई थाहा थियो निरन्तर काम गर्दै गएपछि एकदिन सफल अवश्यक भइन्छ । आज त्यही सफलताले परिवारमा मात्र नभई समाजमा उनको नाम पुकार्नेहरुको जमात बाक्लै छ । भन्छन्, “आज मेरा लाहुरे भएका साथीहरुको छातीमा प्रत्यक्ष देखिने एकदुईवटा फूली होलान्, तर मेरो छातीमा नदेखिने अदृश्य ति फूलीहरु धेरै छन् ।”

parichay

पैसा सबैथोक नभएको गुरुङ बताउँछन् । समाजमा प्रतिष्ठासँग जिउनु सबैभन्दा महत्वपूर्ण कुरा रहेको उनको अनुभव छ । पहिला नाम त्यसपछि दाम उनको सिद्धान्त हो ।

गोरे गुरुङको आर्थिक आम्दानीको माध्यम बनेको छ नृत्य । नृत्य बाहेक उनी कुनै पेशामा आबद्ध छैनन् । पोखराका ५ विद्यालयमा उनले नृत्य सिकाउँछन् । १६ वर्षदेखि अनुशिलन कला पाठशाला सञ्चालन गर्दै आएका गोरे गुरुङले नृत्यको क्षेत्रमा थुप्रै कलाकार जन्माएका छन् । नृत्य बाहेक आफुले केही सोच्न नसकेको उनी बताउँछन् । नृत्यबाट नै उनी फिल्म क्षेत्रमा  प्रवेश गरे ।

दुःखका धेरै सिँढीहरु उक्लँदै सुख प्राप्त गरेका गुरुङ भन्छन्, “जुन क्षेत्रमा जुन व्यक्ति निरन्तर लाग्छ । त्यो क्षेत्रको अध्यारो उज्यालो पाटोलाई उसले बुझ्न सक्छ । उक्त पाटोलाई बुझेर पार गर्नसक्यो भने आबद्ध भएको पेशामा उ पक्कै सफल हुन्छ । तर दुखबिना नै सुख प्राप्त गर्न खोज्नु मुर्खता हो ।”

लाहुरेप्रथा, विदेशप्रथा, डलरप्रथाबाट पिल्सिएका मान्छे हुन् गुरुङ । यस्ता प्रथाविरुद्ध लड्दै भिड्दै संघर्षको मैदानमा लडीबुडी खेलिरहेका छन् । नृत्यको क्षेत्रमा मिहिनेत गर्न सके राम्रो भएको उनी बताउँछन् । गोरे गुरुङ एक कलाकार हुन् । नृत्यकै क्षेत्रमा लागेर उनले रोजगारी दिएका छन् । नृत्यबाटै उनले पोखरामा जग्गा किने, घर बनाए । नृत्यबाटै बालबच्चा पढाएका छन् । समाजका हरेक गतिविधिमा उनको अग्रता नृत्यलेनै दिएको पहिचान हो ।

भन्छन,“जे दियो सबथोक नृत्यले नै दियो ।”

पहिले र अहिलेमा नृत्यको क्षेत्रमा आकाश जमिनको फरक पाउँछन् गुरुङ । उनले २०५४ सालमा डाँफे कला मन्दिरमा नृत्य सिकाउँदा विद्यार्थीहरु परिवार समाजबाट लुकेर नृत्य सिक्न आउनुपथ्र्यो । २०६२ ६३ को पछाडी अभिभावकले नै आफ्ना छोराछोरीलाई नृत्यमा भर्ना गर्ने क्रमको सुरुवात भयो । अहिले नृत्य पनि एउटा विषय हो भनि हरेक स्कुलमा नृत्यको प्रशिक्षण गराउन थालिएको उनी बताउँछन् ।

सात वटा विषय पढेर मात्रै जिन्दगी पास नहुने उनको बुझाइ छ । विषयहरु धेरै भएको उनी पाउँछन् । “कुन विषय छनोट गरेर त्यसलाई आफ्नो जिन्दगी बनाउने त्यो व्यक्तिमा निर्भर गर्छ”, उनले भने, “स्कुलमा नृत्य, सँगीत विषयलाई समेत पाठयक्रममा जोडिनुपर्ने माग हाम्रो छ ।”

नेपाली मौलिक सँस्कृतिको संरक्षण, प्रर्वद्धन र त्यसको आवश्यकताका बारेमा प्रशिक्षकको रुपमा उनलाई नेपाल सरकारले देशका विभिन्न जिल्लामा पठाएको थियो । त्यतिबेला उनले स्कुलका पाठ्यक्रमा नेपाली गीतसंगीतलाई समेत समावेश गरिनुपर्ने अभियान चलाएका थिए । अभियानले सार्थकता पाउँदै गएको उनले बताएका छन् ।

लोपन्मुख नेपाली संस्कृतिलाई जोगाउन विद्यालयस्तरबाट नै लाग्नुपर्ने उनको धारणा छ । उदाहरण दिदैं गुरुङ भन्छन्, “हाम्रो नेपाली साराङ्गी र भायोलिन सँगै राखेर हामीले हाम्रा सन्तानलाई नेपाली बाजा कुन हो ? भनेर सोध्यौ भने सम्भवत उनीहरु भायोलिनलाई नै नेपाली बाजा भन्छन् होला, यस्तो हुनुहुदैन ।” परिवर्तन अब विद्यालयबाटै सम्भव छ ।

नृत्यमा उनी विकृति पनि देख्छन् । नृत्यलाई नबुझनेहरुले विकृति निम्ताएको उनी पाउँछन् । तर नृत्यमै सपना देख्नेहरु पनि नभएका होइनन् । निरन्तर १६ वर्षदेखि नृत्यमै आबद्ध रही आफैसँग काम गर्ने कलाकारको उदाहरण दिदै गोरे भन्छन्, “लामो समय देखि अनुशिलन कला पाठशालामै नृत्यलाईनै जिन्दगी ठान्नेहरुको जमात बाक्लै छ । राज्यले समेत कलाको क्षेत्रमा लगानी बढाइ औपचारिक शिक्षा पद्दतिको व्यवस्था गर्नुपर्छ ।”

नयाँलाई यसै क्षेत्रमा भविष्य बनाउँछु भनेर सिकेर आउन गोरे गुरुङको सल्लाह दिन्छन् । विदेश गएर अर्काको जुठो भाँडा माझ्नुभन्दा आफ्नै देशमा मेहनत गरेर सम्मानका साथ जिउनु सबैभन्दा उत्तम हुने उनको बुझाइ छ ।

pokhara internet
Comments
Loading...