Parichay add

उज्यालोको खोजीमा ‘रुची’

सुरज उपाध्याय-
गाउँमा केहि अपरिचित मान्छेहरु आए । अपरिचित मान्छेहरु देखेपछी जो कोहि बच्चा पनि रमाइलो मान्छन् ।गोमालाई पनि रमाइलो लाग्यो । चुल्बुले स्वभावकी गोमा नाच्न गाउन पनि सिपालु थिइन् । रेडियोमा बासुदेव मुनालले चलाउने बाल कार्यक्रम नबिराई सुन्थिन । गीत कविता भनेपछि हुरुक्कै हुन्थिन ।छिमेकीमा डुल्दा पनि गीत गाउँदै डुल्ने गोमाको स्वभाव ती अपरिचित मान्छेहरुलाई मनपर्यो । लमजुङको भलायखर्क गाउँमा माओवादीको राम्रै प्रभाव थियो ।रातीराती गाउँमा गोष्ठीहरु हुने गर्थे । हतियार उठाएर जनयुद्ध सुरु गरेको माओवादीले बालबालिकालाई पनि रचनात्मक कार्य गर्ने बाहनामा संगठित गरेको हुन्थ्यो ।गोमाको प्रतिभाबाट प्रभावित भएर माओवादीले भलायखर्क गाउँमा गोमाको अध्यक्षतामा बाल क्लब नै गठन गरे । बालक्लवको अध्यक्ष हुन पाए पछि उनि फुरुङ्ग भइन् ।गाउँका साथी संगतीहरु बटुलेर बालक्लबलाई अझै राम्रो बनाइन्।

बालक्लबमा हुँदा जनयुद्ध के हो ? माओवादी कस्तो पार्टी हो ? अहँ, उनलाई केहि थाहा थिएन ।उनलाई माओवादको बारेमा जान्नु पनि थिएन । जान्ने उमेर पनि भएको थिएन ।उनलाई यत्ती थाहा थियो बाल क्लबमा आवद्ध भएर राम्रो गाउनु पर्छ । राम्रो नाच्नु पर्छ । स्कुलमा आफ्नो क्लबको नाम चम्काउनु पर्छ ।बेला बेलामा गाउँमा आइरहने दाइ दिदीहरुले नाँच्न र गाउन प्रोत्साहन गर्दा उनलाई झन् आनन्द आउथ्यो । दाइ दिदीहरु भनेपछि हुरुक्कै हुन्थिन उनी ।

roma

दिनहरु यसरी नै बितेका थिए । बाल क्लवमा गोमा रमाइरहेकै थिइन । एकदिन ठुलो संख्यामा हतियार सहित उनको गाउँमा पुलिसहरु आए ।पुलिस आउँदा उनको गाउँमा आइरहने दाइ दिदीहरु एकाएक गायव भए । गाउँलेहरुलाई पुलिसहरुले थर्काए ।अबदेखि माओवादी पालेको थाहा पाए गोलीले उडाइदिने धम्की समेत दिए । पुलिसले आफ्ना बा आमालाई थर्काएको उनले सुनी मात्रै राखिन् ।

ICAS

पुलिस फर्किएको केहि दिनमा फेरि दाइ दिदीहरु उनको गाउँमा आए । गाउँलेहरुले अघिल्ला दिनका घटनाहरुको बेलिबिस्तार लगाए ।हकी र हठी स्वभावकी गोमालाई ती दाइ दिदीहरुको साह्रै माया लाग्यो । कलिलो बाल मष्तिकमा अस्ति आएका पुलिसहरुप्रति नराम्रो प्रभाव पर्यो । पछि बालक्लबले गाउँमा पुलिस आए नआएको सुचना पनि दाइ दिदीहरुलाई दिन थाल्यो । तत्कालीन माओवादीले बालक्लबको माध्यमबाट विभिन्न सुचनाहरु पनि लिने गर्थ्यो । थाहै नपाई उनी माओवादी जनयुद्धमा लागिन् । उनलाई थाहा नै थिएन । माओवाद भनेको के हो ? माक्र्सवाद भनेको के हो ? मिलिसिया भनेको के हो ? जनसेना भनेको के हो ?

गोमा कक्षा आठमा पुगिन् । कक्षा आठबाटै उनी अखिल क्रान्तिकारीसँग जोडिइन् । घरमा बाबा आमा खेती किसानी गर्नु हुन्थ्यो । छोरी अखिल क्रान्तिकारीमा संगठित भएपछि  सुरक्षाकर्मीको निगरानीमा उनका बा आमा समेत परे । घरमै पुलिसहरु आएर दुख दिन थाले । माओवादी कहाँ छन् भन, होइन भने तेरी छोरीलाई कारबाही गर्छौँ भनेर धम्की समेत दिन्थे । पुलिस आतंकबाट गोमालाई पनि गाउँमा बस्न अफ्ठ्यारो पर्यो । भर्खरै दस कक्षासम्म पुगेकी गोमाले पढाइ चटक्कै छाडिन् ।माओवादी कार्यकर्ताको पछि लागेर हिडिन् । पन्ध्र वर्षको उमेरमै उनी भुमिगत हुन बाध्य हुनु पर्यो ।

छोरी माओवादीमा लाग्दा बाबा आमाले गहभरी आँसु पारेर विदाइ गरेका थिए । त्यो दिन सम्झिदा अहिले पनि उनलाई नरमाइलो लाग्छ । बाबा आमाको काख छोड्न मन त उनलाई थिएन । घरमै असुरक्षित भएपछि पार्टीमा पुर्णकालिन भएर लाग्नुको अर्को विकल्प थिएन ।

२०५७ सालबाटै उनी पूर्णकालीन भएर हिडिन् । पार्टीले उनलाइ स्वास्थ सम्बन्धि तालिम दियो ।स्वास्थकर्मी भएर पार्टीको काममा लागिन् ।पार्टीमा उनको परिचय फेरियो । नाम फेरियो । काम फेरियो । गोमा घिमिरेबाट उनी ‘कमरेड रुचि’ भइन्। कमरेड रुचिलाई जनसेना हुने रहर जाग्यो । मिलिसिया हुँदै जनसेना भइन् । बन्दुक चलाउन सिकिन् । ग्रीनेट खेलाउन सिकिन् । सानातिना भिडन्तहरुमा सहभागी हुने अवसर पनि पाइन् । जनयुद्ध उत्कर्षमा पुगिरहेको थियो ।

राज्यले माओवादी मास्न हरतरहको प्रयास गरेको थियो । सेना र पुलिस मिसाएर सशस्त्र पुलिस गठन गरेको थियो । एक पछि अर्को ठाउँमा माओवादीले आक्रमण तिब्र पारेका थिए । थुप्रै जिल्लाका सदरमुकामहरु माओवादी आक्रमणबाट ध्वस्त भएका थिए । थ्री नट थ्री बाट सुरु भएको माओवादी विद्रोह देशब्यापी बनीसक्दा जनसेना अत्याधुनिक हतियार एके ४७ वाट सुसजित थियो । कमरेड रुचिका दिनहरु पार्टीले खटाएको काम गरेर बितिरहेको थियो।

२०६० साल चैत सात गते माओवादीले बेनी आक्रमण गर्यो । बेनी आक्रमणमा रुचि पनि सहभागी हुने अबसर पाइन् । बेनी आक्रमणबाट माओवादीले राम्रै सफलता हात पार्यो । थुप्रै हतियार कब्जा गर्न सफल पनि भयो । लडाइको मोर्चामा खटिएकी रुचिलाइ गोली लाग्यो उनी घाइते भइन्, हिड्न नसक्ने भइन् । तत्काल प्राथमिक उपचार गरेर उनलाई सहकर्मी साथीहरुले सुरक्षित स्थलमा लगे ।

घाइते रुचिलाई उपचारको लागि भैरहवा लगियो । पच्चीस दिनसम्म स्टेचरमा बोकेर भैरहवा पुर्याउदा उनको खुट्टा निकै बिग्रीसकेको थियो । २०६१ बैशाख दुई गते उनको खुट्टाको अप्रेसन भयो । गुप्ता थरका एकजना डाक्टरले उनको अप्रेसन गरेका थिए । नेपाल प्रहरीका हवल्दारले उनलाई ताजा रगत दान गरेका थिए । हवल्दार आफैलाई थाहा थिएन माओवादी कार्यकर्तालाई रगत दान गर्दैछु भन्ने । सुरुमा उनलाई रुखबाट लढेर घाइते भएको भनिएको थियो । अप्रेसन पछि उनी होसमा आउदा उनको यौटा खुट्टा काटिएको थियो ।आफ्नो खुट्टा गुमेको थाहा पाउँदा उनलाई सारै दुख लाग्यो ।

युद्धमा घाइते हुँदा उनलाई त्यति दुख लागेको थिएन ।उपचारको क्रममा खुट्टा गुम्दा भने उनी विछिप्त भइन् । एक घन्टा जति आफ्नो खुट्टा सम्झेर रोइन ।

उनी हस्पिटलमा भएको बाहिर हल्ला चल्यो । बेनिबाट २५ दिनसम्म बोकेर माओवादी नेतालाई भैरहवामा ल्याएर उपचार गरेको भनेर । बाहिर हल्ला भए जस्तो उनी पार्टीको ठूलो मान्छे थिइनन् । बेनी आक्रमणबाट आत्मसमपण गरेका सुरक्षाकर्मी र सहायक सिडियोले समेत उनलाई स्टेचरमा बोकेर ढोरपाटन जंगलसम्म लगेका थिए । सरकारलाई उनी ठुलै नेता भएको आशंका लाग्यो । रुचि हस्पिटल हुँदैखेरी भैरहवाका तत्कालीन एस. पि. ढकबहादुर कार्कीको नेतृत्वको टोलीले पक्राउ गर्यो । घाइते अवस्थाबाटै सुरु भए उनका हिरासतका दिनहरु । उनलाई मुद्दा चलाइयो । अदालतको आदेशमा उनलाई कपिलवस्तु कारागारमा राखियो ।

घाइतेलाई कारागारमा राखिएकोमा व्यापक बिरोध भयो । बिरोध हुँदाहुँदै पनि उनलाई तीन महिना बेपत्ता पारियो । उनी आफैलाई समेत थाहा भएन उनलाई लगिएको ठाउ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्थाले बेपत्ता बनाएकोमा विरोध गर्यो । युद्धको सामान्य नियम पनि पालना नगरेको आरोप सरकारलाई लाग्यो । घाइते अवस्थामा शारिरीक तथा मानसिक यातना दिएको भनेर सार्वजनिक गरेर छोड्नको लागि दबाब पर्यो। अदालतमा फेरि मुद्दा चल्यो । रेडक्रसको जिम्मामा रिहाई गर्न बाध्य भयो सरकार । रेडक्रसको टोलीले नै उनलाई पोखरा ल्यायो । उनको काटिएको खुट्टामा पोखराको हरियोखर्क अस्पताल लगेर कृत्रिम खुट्टा राखियो । आफ्नै गाउँ भलायखर्क लगेर अभिभावकको जिम्मा लगाइयो । उनी केही समय गाउँमै बसिन । पार्टी सम्पर्क पनि भएन । घरमा रहदा पनि बेलाबेलामा सेनाका मान्छेहरु आएर दुख दिने क्रम जारि नै थियो ।

नेपाल कम्युनिस्ट पार्टीका नेता कमरेड श्याम सुरक्षाकर्मीको आँखा छल्दै उनको घरमा आए । कमरेड श्याम आएपछि उनको पार्टी सम्पर्क भयो । अखिल नेपाल महिला सङघ क्रान्तिकारीमा रहेर उनले काम गरिन् । पोखरा आएर लुकिलुकी कम्प्युटर पनि सिकिन् । उनलाई कमरेड हितराज पाण्डेले पनि बेला बेलामा अभिभाकत्व दिए । राजु क्षेत्री र संगीता खड्कासँग पनि भेट भयो । स्वाभिमान साप्ताहिकमा समाचार लेख्ने काम गरिन् । राजु क्षेत्रीले उनलाई जनपक्षीय पत्रकारिता गर्न हौसला प्रदान गरे । राजाले ‘कू’ गरेपछि एमाले र काङ्ग्रेसहरु पनि आन्दोलनमा होमिएका थिए । समय क्रमले दुई थरी शक्तिलाई यौटै मोर्चामा आउन बाध्य बनायो । पोखरामै रहेर पत्रकारिता गरिन् ।छोटो समयमै जनपक्षीय पत्रकारिता परिचीत भइन् ।

चटक्कै छोडेको पढाईलाई पनि निरन्तरता दिइन् ।पार्टीले उनको जनवादी बिबाह पनि गरायो ।

अहिले समय फेरिएको छ । हिजो सँगै जनयुद्ध लडेका साथीहरू पाँच तिर बिभाजित छन् । एमालेसँगको एकतापछि युद्धमा प्रत्यक्ष सहभागी भएकाहरु निराश छन् । तत्कालीन नेकपा माओवादी (माओवादी केन्द्र) बनेर एकता हुँदा उनलाई दुख लागेको थियो ।अहिले त तत्कालीन नेकपा माओवादी इतिहास बनिसकेको छ ।

जो जहाँ भएपनि सबै साथीहरूलाई जनयुद्ध दिबसको शुभकामना बाँड्न तयार छन् उनी । एकताले सबैलाई तितरबितर बनायो । हिजो जनयुद्ध दिवसको पुर्वसन्ध्यामा उनको डेरासम्म पुग्दा आफ्ना दुई सन्तानहरुसँग रमाईरहेकी थिइन् । उनकी ठुली छोरी प्रार्थनाले छुट्ने बेलामा जनयुद्ध दिवसको शुभकामना समेत दिन भ्याएकी थिइन् । यौटा सानो परिवार । जनयुद्धप्रति समर्पित छन् । जनयुद्ध दिबस उनीहरुको लागि दशै तिहारभन्दा बढी महत्त्वको हुन्छ । जिन्दगी यो मोडसम्म आइपुग्दा उनका जिन्दगीका थुप्रै पाटाहरु खुल्न बाकी नै छन् । प्रिय रुचि तिमीलाई जनयुद्ध दिबसको सम्पुर्ण शुभकामना !!!

pokhara internet
Comments
Loading...