ICAS

लकडाउनका बेला गाउँघरमा कामकै चटारो

सन्तोष बस्याल, पोखरा । 

विश्व अहिले कोरोना भाइरसको संक्रमणले आतंकित छ । नेपाल समेत यसबाट अछुतो छैन । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो चरणको लकडाउनको घोषणा गरेको थियो । फेरि ८ दिन थप गरी चैत २५ गते मध्यरातसम्म लकडाउन गर्ने निर्णय आइतबार मात्रै गर्यो ।

Parichay
Infomatics

नेपालमा कोरोना भाइरस संक्रमित ५ जना पुगेका छन । जसमा एक व्यक्ति निको भई काममा फर्किएका छन भने अन्य चारजनाले उपचार गराइरहेका छन । गण्डकी प्रदेशमा समेत कोरोना भाइरस देखिएको छ । बाग्लुङकी १९ वर्षिय एक युवतीलाई कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

यससंगै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले प्रदेशमा लकडाउन थप कडा गर्ने बताएका छन । विदेशबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्न आग्रहसमेत गरिएको छ । प्रदेश भित्र रहेका नगरपालिका, गाउँपालिका र वडाहरुमा लकडाउनलाई प्रभावकारी बनाउन कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति नै गठन गरि आवश्यक कामकारबाही अगाडि बढाईएको छ ।

पर्वत जिल्ला पैयुँ गाउँपालिकाले समेत लकडाउनलाई प्रभावकारी बनाउन नीतिगत निर्णय गरेको छ । गाउँपालिकामा विदेशबाट आएका ६० जनालाई होम क्वारेन्टाइनमै बस्न आग्रह गरिएको गाउँपालिकाकी उपप्रमुख जसमती गुरुङले बताईन ।

उनका अनुसार गाउँपालिकाले वडा —४ धरमपानीमा रहेको मिसन अस्पताललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाईएको छ । तर स्थानिय नागरिकलाई बुझाउन सकिएको छैन । गाउँपालिकाले उक्त अस्पतालमा २० बेडक क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । जस अनुसार ५ देखि ७ लाखसम्म व्यवस्थापनका लागि खर्च समेत भइसकेको गुरुङले बताइन् ।

गाउँपालिकाको सातै वडामा स्वास्थ्यकर्मी चौबिसै घण्टा खटाएको छ । उनीहरुलाई तलबको ६० प्रतिशत अतिरिक्त भत्ता समेत दिइने निर्णय भएको छ ।

गाउँमा अहिले गहुँ काटेर मकै छर्ने चटारो छ । शहर कोरोना भाइरसको त्रासले सुनसान भएका बेला गाउँका किसान भने खेतबारीमै व्यस्त छन । लाग्छ, उनिहरुलाइ कोरोनाको डर छैन । “यो बेला काम गरिएन भने के खाने के लाउने बाबु ?“, पैयु गाउँपालिका वडा—२ की स्थाई बासिन्दा धर्मी बस्यालले भनिन, “कोरोनाको डर त छ तर सतर्क भएर काम गरिरहेका छांै ।”

कोरोनाले पार्ने प्रभावका बारेमा अवगत हुदाहुँदै पनि गाउँका किसान काम गर्न बाध्य छन । स्थानीय जमुना भुर्तेल भन्छिन्, “खेतबारी बाँझै राख्नुभन्दा यो बेला दुःख गरेर थोरै उब्जाउन समेत सकियो भने भविष्यमा आफ्नै लागि राम्रो हुने हो ।”

गाउँघरमा बिहान, दिउँसो, बेलुकै कोरोनाका बारेमा चर्चा हुने गर्छ । कोरोनाबाट यस्तो हुन्छ उस्तो हुन्छ भन्नेहरुको अहिले दैनिकी नै भएको छ । तर काम गर्नेहरुको जमात पनि बाक्लै भेटिन्छ । कोही गहुँ काट्न व्यस्त छन्, कोही मल बोक्न भने कोही मकै छर्न । यता हिउँदे धान रोप्नेहरु पनि भेटिन्छन् ।

पैयुँ गाउँपालिका वडा— २ ले तीन देखी पाँच जनासम्म खेतबारीमा गएर काम गर्नसक्ने नीति बनाएको छ । वडाध्यक्ष भिमेसन गुरुङका अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न वडामा भएका विदेशबाट आएका १४ जनाको अभिलेख तयार गरि उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

वडाले खाद्यन्नको अभाव हुन नदिने गरी निर्णय गरेको छ । आपतका बेला वडामा भएका व्यापारीले कालोबजारी गरे कारबाही गरिने उनले बताए । वडाभित्र हुने विकासनिर्माणका काम भने सबै ठप्प छन ।

महामारीबाट बच्न गुरुङले वडाबासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र वडालाई सहयोग गर्न आग्रह गरे ।

pokhara internet
Comments
Loading...