Parichay add

ग्याजेट र स्वास्थ : कुन अंगमा कस्तो असर ?

पोखरा

सूचना तथा प्रबिधिको युगमा मानिसहरु विद्युतीय उपकरणहरुको प्रयोग विना दैनिकी चलाउन गाह्रो मानिरहेका छन् । एकतर्फ यसले मानिसको जीवनशैली बदलिएको छ। भने कामलाई छरितो बनाईदिएको छ ।

roma

मानिसहरु काम छरितो भयो भनेर दंग छन् । यसको अर्को पाटो उनीहरुको स्वास्थ्यमा कस्तो असर परिरहेको छ भन्ने बारेमा भने वेखबर छन् । ग्याजेटले मानिसको स्वास्थ्यमा कस्तो असर परिरहेको छ त ?

ICAS
  • आँखामा

विद्युतीय उपकरणहरूको अत्यधिक प्रयोगले असर पर्ने प्राथमिक अङ्ग आँखा हो। उपकरणको स्क्रिनबाट उत्सर्जन भएको प्रकाशले आँखालाई सर्वाधिक असर पार्छ। लगातार स्क्रिनमा हेरिरहँदा आँखामा कम्प्युटर भिजन सिन्ड्रोम नामक समस्या देखापर्छ।

विशेषगरी मोबाइल फोन, ट्याबलेट, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा आँखामा सुक्खापन बढ्न जान्छ। स्क्रिनमा लगातार हेर्दै गर्दा हामी आँखा झिम्क्याउन भुल्छौं। फलतः आँखा सुक्खा हुन्छ। सामान्यतयाः मानिसको आँखा एक मिनेटमा १५ पल्टसम्म झिम्किने गर्छ। तर, स्क्रिनमा लगातार हेर्दा आँखा झिम्क्याउने दर ५ देखि ७ पटक मात्र हुने गर्छ। जसले आँखा सुक्खा बनाउँछ र कम्प्युटर भिजन सिन्ड्रोम देखा पर्छ।

यसका अलावा स्क्रिनमा हेरिरहँदा आँखा सुक्खा हुने समस्याले रेटिनाको ओसिलोपन समेत नष्ट हुने हुँदा दृष्टि नास पनि हुन सक्छ।

  • कानमा

मोबाइल फोनको लगातार प्रयोगले कानको श्रवणशक्ति क्षय हुन सक्छ। यसका अलावा टिनिटसको समस्या पनि हुन सक्छ। केही अध्ययनहरुले मोबाइलको अत्यधिक प्रयोगले एकोस्टिक न्युरोमाको समस्या समेत हुने दर्शाएका छन्।

  • गर्धन र काँध

मोबाइलमा लगातार घोत्लिरहँदा ढाड, कम्मर, गर्धन दुख्ने समस्या आउन सक्छ। यसका अलावा मोबाइलमा लगातार कुरा गरिरहँदा एकातिर ढल्किरहनुपर्ने हुँदा काँध, गर्धन र मुन्टोमा अतिरिक्त दबाब पर्न जान्छ। फलतः ढाड, कम्मर, गर्धन, काँध र टाउको दख्ने समस्या देखा पर्न सक्छ।

  • औंला, नाडी र जोर्नीहरु

लगातार मोबाइल, ट्याब्लेट, कम्प्युटर एवं ल्यापटप चलाइरहँदा औंला, नाडी, एवं अन्य जोर्नीमा पनि दीर्घकालीन पीडा हुन सक्छ। लगातार कम्प्युटरको किबोर्ड हानिरहँदा कार्पल टनल सिन्ड्रोम जस्तो बिमारी पनि हुन सक्छ।

  • नोमोफोबिया

मोबाइल फोनको प्रयोगमा लत लागेकाहरुले एकछिन मोबाइलन नपाउँदा छट्पटिने, रिसाउने, मुरमुरिने, झगडा गर्ने जस्ता मानसिक उन्मादता देखाउने गर्छन्। यस समस्यालाई चिकित्सकीय भाषामा नोमोफोबिया भन्ने गरिन्छ।

  • ध्यान केन्द्रित नहुने

विद्युतीय उपकरणहरूको प्रयोग धेरै गर्दा एकाग्र हुन नसक्ने, ध्यान नलाग्ने र विषय विश्लेषण गर्ने क्षमता घट्ने जस्ता मानसिक समस्या देखा पर्छन्।

  • छाला

विद्युतीय उपकरणको अत्यधिक प्रयोगले यसबाट निस्कने प्रकाश छालामा त्यसमा पनि अनुहारको छालामा परिरहने हुँदा छालाका कोषहरु मर्दै जाने, चाउरी पर्ने जस्ता समस्या देखा पर्छन्। फलतः व्यक्ति समयभन्दा पहिले नै बुढो जस्तो देखिने हुन्छ।

  • क्यान्सर

विद्युतीय उपकरणहरू त्यसमा पनि मोबाइल फोनको अत्यधिक प्रयोगले ग्लायोमा, एकोस्टिक न्युरोमा, मोनिन्जियोमा जस्ता समस्याको जोखिम बढ्छ।

  • प्रजनन् क्षमतामा ह्रास

विद्युतीय उपकरणहरूबाट निस्कने रेडियसन एवं ताप दुवै प्रजनन् प्रणालीका लागि हानिकारक सिद्ध भइसकेका छन्। यी उपकरणको प्रयोगले पुरुषमा शुक्रकीटको संख्या कम हुने विर्यको गुणवत्ता कम हुने एवं नपुसंकता जस्ता समस्या देखा पर्छन् भने महिलामा पनि बाँझोपनको समस्या आउन सक्छ।

  • अनिद्रा

मोबाइल फोन लगायतका स्क्रिन भएका विद्युतीय उपकरणको प्रयोगले निद्रासम्बन्धी समस्या थपिदिन सक्छ। विशेषगरी सुत्ने समय पूर्व स्क्रिन हेर्ने बानीले अनिद्राको समस्या ल्याउँछ।

  • नैराश्यता

नैराश्यता एउटा मानसिक समस्या हो। खासगरी विद्युतीय उपकरणको दुनियाँमा रमाउनेहरुले आफूलाई आफ्ना साथीभाइ एवं परिवारजनसँग टाढा राख्ने हुँदा पारिवारिक माया–ममता, सद्भाव एवं साथी–संगीको साथ, सहयोग र शुभकामनाबाट बञ्चित रहन्छ। त्यसले एक्लोपनले सताउन थाल्छ। फलतः यी समस्या निराशा वा नैराश्यताको रुपमा प्रकट हुने गर्छ।

  • स्मृति नास

मोबाइल, ल्यापटप एवं ट्याब्लेट जस्ता उपकरणलाई मानिसले डायरी नोटप्याडको रूपमा सूचना भन्डारणका लागि पनि उपयोग गर्ने हुँदा प्रयोगकर्ताहरुमा यी उपकरणप्रति निर्भरता बढ्दै गइरेकाले सूचना याद राख्ने क्षमतामा ह्रास आउँछ।

  • स्नायु क्षय

मोबाइल फोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले स्नायु तन्तुहरुको डिएनए ड्यामेज गर्न सक्छ। स्नायु तन्तुहरुको ड्यामेज हुँदा यसले स्नायुहरुको कार्य प्रणालीमा पनि असर पार्न सक्छ। फलतः एकाग्रता, ध्यान, लय, तानभाव प्रकटीकरणमा समस्या देखिनुका साथै श्रव्यदृश्य संज्ञान वाणी रस स्वादन र चाल नियन्त्रण जस्ता क्रियाहरुमा पनि समस्या देखिन सक्छ।

  • मुटुको समस्या

मोबाइल, ट्याब्लेट एवं कम्प्युटर जस्ता विद्युतीय उपकरणको प्रयोगले मुटुको चालसम्बन्धी समस्या निम्त्याउन सक्छ। साथै शारीरिक निष्क्रियता बढाउने हुँदा कोरानरी मुटु रोगको समस्या पनि बढ्ने गर्छ।

  • आनीबानीमा परिवर्तन

मोबाइल फोन लगायत अन्य उपकरणको अधिक प्रयोगले मानिसलाई साथीभाइ, परिवार एवं समाजबाट टाढा लैजान्छ। फलतः प्रयोगकर्ताको आनीबानी असामाजिक हुने, स्वार्थी, एकलकाटे एवं आपराधिक संस्कृतिले प्रश्रय पाउने जस्ता समस्या देखा पर्न सक्छ।

  • दुर्घटना

रोड ट्राफिक दुर्घटनाका धेरै कारणमध्ये महत्वपूर्ण कारण विचलित ड्राइभिङ पनि हो। विचलित ड्राइभिङको पहिलो कारक तत्व मोबाइल फोन हो। सवारी चलाउँदा हातले पक्रेर फोन सुन्दा, म्यासेज पठाउँदा, अडियो भिडियो सुन्दा÷हेर्दा वा गेम खेल्दा चालकको ध्यान विचलित हुने हुँदा यसले दुर्घटना निम्त्याउँछ। विभिन्न अध्ययनले दर्शाएअनुरुप चालकले वाहन चलाउँदाका बखत मोबाइल चलाउँदा दुर्घटना हुने सम्भावना ३र४ गुणाले बढेर जान्छ।

  • संक्रमणको सम्भावना

मोबाइल फोन एवं अन्य विद्युतीय उपकरणको लगातार प्रयोग गर्दा पसिना, सिंगान, थुक, चिप्रा, खानाको पार्टिकल जस्ता जैविक मल जम्ने र ब्याक्टेरिया फैलिन सक्छ। त्यसले रुघाखोकी र संक्रमण जस्ता समस्या आइरहने हुन्छ।

  • शरीरमा राखिएका उपकरणलाई दखल

मोबाइल फोन जस्ता विद्युतीय तरंग पैदा गर्ने उपकरणले मुटुको पेस मेकर, श्रवणयन्त्र जस्ता यन्त्र–उपकरणको कार्य क्षमतामा दखल पुर्‍याउँछ।

  • छद्म पकेट कम्पन सिन्ड्रोम

मोबाइल फोन पकेटमा कम्पन मोडमा राख्नेहरु फोन नआउँदा पनि पकेटमा मोबाइल भाइब्रेट भएको महसुस गर्छन्। यसलाई चिकित्सकहरु छद्म पकेट कम्पन सिन्ड्रोम भन्छन्।

  • साइबर बुलिङ

मोबाइल वा कम्प्युटरमा नेट चलाउनेहरु अक्सर साइबर बुलिङ वा साइबर उत्पीडनको सिकार हुने गर्छन्। साइबर उत्पीडनमा विशेषगरी सामाजिक अफवाह फैलाउने, धम्की दिने, यौनजन्य सामग्रीहरु पठाउने, व्यक्तिगत सूचनाहरु खुलासा गरिदिने र उत्तेजक भाषणहरु गर्ने जस्ता क्रियाकलाप पर्छन्।

  • व्यक्ति, परिवार र समाजसँग दूरी बढ्ने

यी विद्युतीय उपकरणको अति प्रयोगले व्यक्तिलाई अर्को व्यक्तिसँग दूरी बढाएको, परिवार र समाजसँग पनि दूरी बढाएको छ। फलतः मान्छे आज असामाजिक बन्दै गइरहेको छ।

  • उपकरणको नशा

अध्ययनहरुले दर्शाएअनुसार आज समाजमा विद्युतीय उपकरणको निर्भरता पनि बढ्दै गइरहेको र उपकरणको अभावमा मान्छे छट्पटिने र नभई नहुने जस्ता समस्याले ग्रस्त हँुदै गइरहेको छ।

  • शिशुको विकास प्रभावित

गर्भवतीले इलेक्ट्रोम्याग्निटोक रेडियसन उत्सर्जन गर्ने उपकरणहरूप्रयोग गर्ने गरे यसले गर्भको शिशुलाई समेत असर पुर्‍याउन सक्छ। फलतः शिशुको विकास पनि प्रभावित हुन सक्दछ।

  • मानसिक तनाव

विद्युतीय उपकरणको प्रयोगले दिमागी लोड बढ्ने हुँदा प्रयोगकर्ता चाँडै तनावग्रस्त हुन सक्छ।

pokhara internet
Comments
Loading...