ICAS

फुटपाथका व्यापारी भन्छन् : ‘गरिखान पाईएन’

सन्तोष बस्याल

पोखरा/ 

Parichay
Infomatics

बिहान बेलुकाको छाक टार्न र आफ्ना बालबच्चालाई राम्रो शिक्षा दिन अर्काको ज्याला मजदुरी र फुटपातमा व्यवसाय गर्नुपर्ने मानिसको बाध्यता हो । पोखरामा धेरै यस्ता महिलाहरु छन्, जसले दिनभरी ज्याला मजदुरी र फुटपाथमा व्यवसाय गरेर परिवार पालिरहेका छन् । देशमा धेरै राजनीतिक परिवर्तन भए तर मजदुरी गर्ने र फुटपाथमा व्यवसाय गर्ने महिलाहरुको व्यथा जहाँको त्यहि छ । काम पनि खुलेर गर्न पाइरहेका छैनन् । लुकेर गर्नुपर्ने अवस्था छ ।

पोखरा महानगरपालिकाले फुटपाथ व्यवसायीलाई व्यवस्थापन नगरेको पनि होइन । तर व्यापार कम हुने ठाँउमा व्यवस्थापन गरेर दैनिक गुजारा चलाउन मुस्किल भएपछि महानगरसँग लुक्दै भएपनि व्यवसाय गर्नुपर्ने अवस्था छ । अर्काको मजदुरी गर्ने र फुटपाथमा व्यवसाय गर्नेहरुको काम कस्तो छ त ? महिला भएकै कारण उनीहरुले के कस्तो समस्या भोग्नुपरेको छ ? उक्त विषयमा हामीले एक रिर्पोट तयार पारेका छौ ः

नेपालगञ्ज स्थायी घर भई हाल पोखराको फूलबारीमा बस्दै आएकी पेरिस खत्री चिप्लेढुंगास्थित होटल देउरालीमा भाँडा माझ्ने काम गर्छिन् । उनी आफ्नो कामबाट सन्तुष्ट छिन् । भन्छिन्, “दुख सुख गरी दुई छाक टार्न पुगेकै छ, अरु के चाहियो बाबु ।” महिला भएकै कारण कुनै समस्या भोग्नुनपरेको उनी बताउँछिन् । तर पनि समस्या कति छ कति । उनको महिनाको तलब ९ हजार छ । विगत एक वर्षदेखि काम गर्दै आएकी पेरिस अहिले ठूलो छोरासँग पोखरा बस्छिन् । उनका ठूला छोरा अपाङ्ग छन् । काम गरेर खान सक्ने अवस्था छैन । छोराको मुखको माड पेरिसको पाखुरामा निर्भर छ । दुई छोरीको विवाह भयो । एउटा कान्छो छोरोलाई चितवन पढाएकी छिन् । उमेरले ५७ वर्ष लागेकी पेरिसका श्रीमानको देहान्त भएको आज १९ वर्ष पुग्यो ।

गोर्खा स्थाई घर भई हाल पोखरा गैह्रापाटन बस्ने सम्झना भुजेल फुटपाथ व्यवसायी हुन् । उनी रहरले नभई बाध्यताले उक्त पेशामा लागिन् । व्यवसायबाट अलिअलि आम्दानी भएको रकमले नै उनको दैनिक घरखर्च चल्छ । पेटमा माड र बच्चालाई किताब कापीको जोहो हुन्छ । फुटपाथ व्यवसायबाटै जीवन चलाउनुपर्ने बाध्यता हो उनको । भन्छिन्, “गरिखान गाह्रै छ । महानगरपालिकाले हाम्रो पीडालाई बुझेर व्यवसाय हुने ठाउँमा व्यवस्थापन गरे हामी पनि खुशी सहित जान तयार छौं ।” महिला भएकै कारण फुटपाथ व्यवसायमा चुनौतीहरु खेप्दै दिन गुजारा गर्नुपर्ने बाध्यता बनेको छ । भावुक बन्दै भनिन्,“ नगरी पनि भएन बाबु । मैले काम गरिनँ भने मेरा केटाकेटी भोकै हुन्छन् । पढ्न पाउँदैनन् । तर महानगरपालिकाले आफ्नो दुःख गरेर खान पनि दिएन । व्यापार नै नहुने ठाँउमा व्यवस्थित गरेपछि के खानु के लाउनु बाबु । महानगरले हाम्रो समस्या बुझिदिए हुन्थ्यो ।”

नयाँपुल स्थाई घर र हाल पोखरामै फुटपाथ व्यवसाय गरिरहेकी पवित्रा पराजुली आफुले गरिरहेको कामबाट दुख खेपिरहनुपरेको बताउँछिन् । नगरपालिकाको डरले लुक्दै व्यवसाय गर्नुपर्ने बाध्यता उनको छ । भन्छिन्,“ महानगरले गरिखान दिएन । डोको बोकेर सडकमा फलफुल बेच्न बस्यो कि लखेट्न आउँछ । हाम्रा पनि बालबच्चा छन् । दुई चार सय कमाएकै भरमा जीविका चलिरहेको छ । हाम्रा लागि त “जुन जोगी आएपनि कानै चिरेको” जस्तो भएको छ ।” महिला भएकै कारण उनले व्यवसायमा भोगेका कठिनाईहरु थुप्रै छन् । भन्छिन्, “सबै कुरा नभनौं बाबु । आखिर हाम्रो कुरा कस्लेनै सुन्छ र । भने पनि नभनेपनि उही त हो ।”

pokhara internet
Comments
Loading...