ICAS

कोरोना प्रभाव : फेवातालका डुङ्गा आजबाट ठप्प (फोटो फिचर)

दर्शनार्थी नहुँदा फुलमाला, प्रसाद व्यवसायी मर्कामा

सन्तोष बस्याल

पोखरा / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) को प्रभाव फेवातालका डुङ्गामा समेत देखिएको छ । फेवा डुङ्गा व्यवसायी संगठन पोखरा — ६ बैदामको आइतबार बिहान बसेको बैठकले आजबाट अर्को सुचना जारी नभएसम्म डुङ्गा नचलाउने निर्णय गरेको हो ।

Parichay
Infomatics

संगठनका अध्यक्ष बुद्धी बहादुर नेपालीले नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुनुभन्दै सुचना प्रवाह गरेसँगै आफुहरुले डुङ्गा बन्द गर्ने निर्णय गरेको बताए । “सबै भन्दा ठूलो स्वास्थ्य हो”, उनले भने, “ग्राहक सँगै डुङ्गा चालकको स्वास्थ्यलाई मध्यनजर गर्दै बन्द गरेका हौं ।”

बाराही मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको भिडभाड कम भएको र फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकमा समेत कमी आएको उनले बताए । उनका अनुसार कोरोनाको प्रभावले आन्तरिक धार्मिक पर्यटकमा गिरावट आएको छ । भारतिय पर्यटक भने छिटफुट रुपमा देख्न पाइन्छ ।

“सरकारको नीति नियमको उलङ्घन गर्दै हामीले डुङ्गा सञ्चालन गर्न सक्दैनौ”, उनले भने, “कोरोनाको त्रासबाट उम्कन हाम्रो सरकारलाई पूर्णतया समर्थन छ ।” फेवातालमा हाल ७ सय भन्दा माथि डुङगा छन् । डुङ्गा व्यवसायी देखि चालकसम्मको दैनिक गुजारा यसैबाट चल्छ । महामारीको रुपमा फैलिएको कोरोनाले उनीहरुको दैनिकीमा समेत असर परेको भान हुन्छ ।

दर्शनार्थी नहुँदा फुलमाला, प्रसाद व्यवसायी मर्कामा

बाराही मन्दिर जाने दर्शनार्थीमा कमी आउँदा फुलमाला र प्रसादको व्यापार गर्न बसेका व्यवसायीहरु निराश देखिन्छन् । कोभिड —१९ ले उनीहरुको व्यवसायमा समेत असर गरेको छ । दिनभरी फुलमाला, प्रसाद बेचेर दैनिक गुजारा गर्ने महिलाहरुको अवस्था बिजोग छ । फेवाताल किनारमा फुल व्यवसाय गर्ने साबत्री भुजेल कोरोनाले गर्दा मानिसको चहलपहल कम भएको र त्यसको असर आफ्नो व्यवसायमा परेको बताउँछिन् । बिरौटा स्थाई घर भएकी भुजेलका अनुसार अघिपछिका दिनमा राम्रै व्यापार हुन्थ्यो । अहिले ठप्प छ । “बाराही मन्दिर दर्शन गर्न जाने दर्शनार्थीनै कोरोनाका त्रासले दर्शन गर्न नआएपछि फुलमाला बिकोस् पनि कसरी ?” —उनले प्रशन गरिन् ।

फुलमालाकै व्यवसाय गर्ने श्रीमाया नेपाली आन्तरिक तथा बाह्य पर्यटकमा कमी आएपछि व्यवसाय कमजोर भएको बताउँछिन् । परिवार पाल्ने आधारनै फुलमाला, प्रसाद व्यवसाय हो । भन्छिन्, “ व्यवसायनै नचलेपछि छोराछोरी कसरी पाल्ने ? के खुवाउने ? कोरानाले बित्याँस नै पार्यो बाबु ।” नेपालीको ५ जनाको परिवार छ । उनीहरुको दैनिक गुजारा सबै यसैबाट चल्छ । लामो समय सम्म कोरोना भाइरस रहीरहे खाना लाउन समस्या हुने उनले बताइन् । डुङ्गा ठप्प भएपछि आफ्नो व्यापारमा समेत असर पुगेको उनले बताइन् ।

यस्तै समस्या छ मधु भुजेलको पनि । पोखरा लेकसाइडकै स्थाइ बासिन्दा उनी पनि फुलमाला व्यवसायी हुन् । फेवाताल किनारमा फुल बेचेरै उनको दैनिकी चल्छ । महिना बिराएर रोटेशनमा फुलप्रसाद व्यवसाय गर्न पाउँदा पनि बेलाबेलामा आइपर्ने प्राकृतिक विपतीबाट उनी आजित छिन् । कोरोनाको प्रभावले आफ्नो व्यवसाय चौपट भएको उनी बताउँछिन् । पहिले हल्का मानिसहरुको चहलपहल हुन्थ्यो र व्यापार व्यवसाय चल्थ्यो”, उनले भनिन्, “अहिले त दर्शनार्थी नै हुदैनन्, डुङ्गा पनि ठप्प छ, कसरी चल्ने ? गाह्रो छ बाबु ।”

मोरङ जिल्ला स्थाई घर भई बिरौटा बस्दै आएकी मीना लिम्बु पनि फेवाताल किनारमा फुल प्रसादको व्यवसाय गर्छिन् । पहिले मानिसको चहलपहल व्यवसाय राम्रै भएपनि अहिले कोरोनाको प्रभावले दैनिक आम्दानीमा गिरावट भएको उनले बताइन् । उनको पाँच जनाको परिवारको दैनिकी यसैबाट चल्छ । उनी स्वास्थ्य प्रति सचेत देखिन्छन् । भन्छिन्,“ विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको रोकथामका लागि पहिले आफ्नो स्वास्थ्यमा ख्याल राख्नुपर्यो नि । व्यापार त पछि गरौला नि ।”

तस्बिर : प्रेम थापा / परिचय नेटवर्क

pokhara internet
Comments
Loading...