ICAS
Rara

सम्पादकीय : थाँतथलो फर्कन आह्वान गर

यो याम कोरोना व्याधीले विश्वको वातावरण त्राहीमाम छ । कोरोना कहरले व्यवस्थाका विभिन्न अवयवहरूलाई चुनौती दिएको अवस्थामा नागरिकको मनोविज्ञान स्थिर छैन् । सरकार प्रमुखहरू आफ्ना नागरिकको सुरक्षा र स्वास्थ्यमा ध्यान केन्द्रित गरिरहेका छन् । विश्व स्वाथ्य सङ्गठनले आपतकालीन अवस्थाको उर्दी जारी गरेपछि विभिन्न देशका सरकारले धमाधम ‘लक डाउन’को घोषणा गरिरहेका छन् । मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थलाभको अवस्थामा रहँदा पनि देशवासीका नाममा सम्बोधन गर्नु प्रशंसनीय पाटो हो ।

सरकारले चैत्र ९ गतेदेखि मुलुकभर सरकारी, समुदाय र निजी क्षेत्रले सेवाग्राहीलाई प्रवाह गर्ने अति आवश्यक वाहेकका सेवाहरू चैत्र २१ गतेसम्म बन्द गरी कोरोनासँग लड्ने रणनीति बनाएको छ ।

govnotice

अत्यावश्यक सेवा अन्तर्गत सञ्चार छापाखाना, जल, स्थल एवम् हवाई मार्गबाट यात्रु र मालसामान ओसारपसार गर्ने सेवा, आन्तरिक सुरक्षा, हातहतियार तथा खरखजना, विद्युत, खानेपानी, इन्धन ढुवानी र वितरण सेवा, पर्यटकीय सेवा, स्वास्थ्य र औषधि सेवा, फोहर मैला व्यवस्थापन, बैंक वित्तीय बीमा सेवा, दैनिक उपभोग्य वस्तुको वितरण सेवालाई राजपत्र मुताविक नै सञ्चालन गरी अन्य गतिविधिलाई बन्द गरी सतर्कता अपनाउन गरिएको अपिलले सावधानीको सन्देश प्रवाह गरेको छ । ‘अनिकालमा बीऊ र प्रकोपमा जीऊ’ जोगाउनु नै बुद्धिमत्ता हो ।

parichay

सहरबजारको अटेसमटेसमा आइसोलेसन कठिन छ । हिजोका व्यवस्थामा पनि ‘गाउँ फर्क अभियान’, ‘आफ्नो गाऊँ आफै बनाऊ’ जस्ता स्लोगन बनेका थिए । ‘आफ्नो थाँतथलोलाई माया गरौं ’ भन्ने सन्देश अब क्रियात्मक अभियानमा रूपान्तरण गर्न ढिला गर्नु भएन । ‘गरिबलाई नहेपौं, कृषिलाई सम्मान गरौं’ भूमिपुत्रहरूको पसिनाले नै हाम्रो गास र स्वास अडिएको हो भन्ने मान्यतालाई स्थापित गर्नैपर्छ ।

कृषि अनुदानको धनपैसो सुकिलामुकिलाहरूको गाडी र साडीमा अनुवाद हुनबाट रोक्नै पर्छ । कृषि अनुदानको फाइदा तथाकथित सुकुलगुण्डाहरूले लिँदा घेरो फाटेको टोपी लाउनेको हुर्मत लिइएको छ । कृषिकर्म गर्नेलाई आधुनिकतामा अभ्यस्त बनाउनु पर्छ । गुजारामुखी कृषिको व्यवसायीकरण गरेर किसानको जीवनस्तर सुधार आवश्यक छ । शिक्षालाई अनिवार्य श्रमसँग जोड्ने हो भने कृषि क्षेत्रमा खेतालाको अभाव महसुस गर्नै पर्दैन् ।

गरिखानेको जमिन छैन् बसिखानेको जमिन बाँझो छ । भूमि व्यवस्थाको संरचनागत परिवर्तन पनि ६ दशकदेखि खड्किएको छ । श्रम गर्ने घाटामा र विचौलिया नाफामा जाने परिपाटीलाई तोडेर सरकारको सकारात्मक हस्तक्षेप अपेक्षित छ । मुलुकले समाजवादी अर्थतन्त्रको अपरिहार्यता खोजेको छ । गाउँमा न्युनतम स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, यातायात र सञ्चारका आभारभूत आवश्यकतालाई सम्बोधन मात्रै गरिदिने हो भने ४० रोपनी जमिन बेचर सुविधाका लागि कोही सहरको ४ आना जग्गा किन्न लालच गर्ने छैनन् ।

आफ्नो थाँतथलो छोडेर अवसर र रोजगारीका लागि सहरबजार झर्ने परिपाटीले बजारको जनघनत्व ह्वात्तै बढेको छ । गाउँका युवाहरू खाडी जाँदा गाउँमा मलामी जाने युवाको समेत खडेरी छ । घरबारीमा पाती फुलेर सुर्का र टारी बाँझो हुँदा उत्पादनमा कमी आएको तथ्याङ्कले पुष्टी गरेको छ । कृषि प्रणाली आफै निर्यातमुखीभन्दा आयातमुखी हुँदा रेमिट्यान्सले अर्थतन्त्रलाई थामेको अवस्थामा कोरोना व्याधीले संरचनागत परिवर्तनको अपेक्षा पनि गरेको छ । बुढापाकाको प्रक्षेपण छ, ‘सहरबजारमा अचानक रोगव्याधी फैलिँदा पुर्खाको थाँतथलो संझनु’ अग्रजहरूका ऐन बखतका अनुभवजन्य अभिव्यक्तिको पुनरावलोकन आवश्यक देखिएको छ । प्राकृतिक स्रोत जल, जङ्गल र जमिनमा जनशक्तिको श्रम र पसिना पोखियो भने मात्रै हामी आत्मनिर्भर हुन सक्छौं । माटोको ममतालाई मनमा राखौं । प्रकोपसँग लड्ने क्षमता हाम्रो हावापानीले नै निर्माण गर्ने छ ।

pokhara internet
Comments
Loading...