काठमाडौं कोरोना कारखाना नबनोस्

सम्पादकीय/ 

गणित र ग्राफले पुष्टि गरिसक्यो कोभिड–१९ अब किस्सा र मजाक मात्रै रहेन । लकडाउन र निषेधाज्ञामा सरकार प्रमुखले दिएका अभिव्यक्ति ‘हावा’ सावित भए । कोरोना रोकथाम र नियन्त्रणको कार्यविधि फेल खायो, सरकार पटकपटक चुक्यो । स्वास्थ्य मन्त्रालय र कोरोना सङ्कट व्यवस्थापन केन्द्र केवल औपचारिक बैठकमा मात्रै सीमित रह्यो । नारा तय गरेर बैठक सकिन्छ तर कार्यान्वयन हुँदैन् । देशको राजधानी काठमाडौं उच्च जोखिममा रहँदा समेत ढाकछोपको रणनीति अप्नाइएको छ । सङ्क्रमितको सङ्ख्या १ लाख नाघिसकेको छ । तर सरकारलाई सत्ताको काख नै प्यारो छ । ६ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । सङ्क्रमित मध्येका एकतिहाइ काठमाडौं मै छन् ।

परिस्थिति काबु बाहिर नजाँदै गम्भीर भएर समस्याको हल खोज्नु पर्ने हो, तर तालमेल मिलेको छैन् । सङ्कटमोचनका लागि जुक्ति र उपायको खोजी गर्न ढिला भएमा ५० लाख जनसङ्ख्या रहेको काठमाडौं कोरोना कारखाना बन्नेछ । त्यसघडी सरकारले कि काठमाडौं छोड कि काठमाडौं नआऊ भन्नु पर्ने अवस्था हुन सक्छ । उपत्यकाको चार भन्ज्याङबाटै कोरोना प्रवेश गरेको सत्य बिर्सन मिल्दैन् । चैत्र ११ गतेदेखि लकडाउन गर्दासम्म काठमाडौं सुरक्षित नै थियो । यद्यपि बाक्लो जनसङ्ख्याको भार थामेको काठमाडौं दिनप्रतिदिन कोरोना कहरले त्रसित बनेको छ । सानातिना प्रशासनिक कार्यसम्पादनका लागि पनि काठमाडौं आउजाउ गर्नै पर्ने शासकीय प्रणालीलाई सुधार गर्न नसक्दा प्रकोप बढ्यो । लकडाउन र निषेधाज्ञा नै कोरोना रोकथामको विधि ठान्ने सरकारले आवागमनमा कडाइ गर्न नसक्दा समस्या ऐँजरु बनेको प्रमाणित हुन्छ ।

ICAS

सङ्कटमोचनका लागि जुक्ति र उपायको खोजी गर्न ढिला भएमा ५० लाख जनसङ्ख्या रहेको काठमाडौं कोरोना कारखाना बन्नेछ । त्यसघडी सरकारले कि काठमाडौं छोड कि काठमाडौं नआऊ भन्नु पर्ने अवस्था हुन सक्छ ।

‘हामीसँग पर्याप्त सघन उपाचार कक्ष र भेन्टिलेटरको व्यवस्था छ ’ भन्ने सरकारको बल्ल आँखा खुलेको छ । जटिल स्थितिका बिरामी बढेसँगै अस्पतालका शैय्या र भेन्टिलेटर भरिभराऊ भएका कारण नै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘आवश्यकता नपरी अस्पताल नआऊ घरमै बस् ’ भन्न वाध्य भएका छन् । फोन घुमाउन सक्ने र जान्नेले मात्रै अब अस्पतालमा बेड पाउने स्थिति सिर्जना हुँदा अस्पताल प्रशासनलाई मनोवैज्ञानिक दवाव परेको छ । सर्वसाधारण स्वास्थ्य सेवा लिन पहुँचको पछि लाग्नु पर्ने भएको छ, यसले भोटको गणितलाई पनि प्रभाव पार्ने छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल गुमनाम वा सो सरह हुँदा स्वास्थ्य मन्त्रालयको अकर्मन्यता टालटुल गर्न प्रवक्ता डा. जोगश्वर गौतम जागे जस्तै सरकार चनाखो हुनुपर्छ । उनी खरो र रुखो पारामा जनस्वास्थ्यमा खेलवाड नहोस भनिरहन्छन् । आग्रहको भाषामा सकभर अस्पताल नआउनु अनुरोध गर्छन् । अन्तर्य अस्पताल भरिभराउ छन् । अब मृत्यु अस्पतालमा होइन घरमै होस् भन्ने सन्देश लाजै नमानी दिन्छन् । सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन सक्नु युद्ध नै जिते सरह भएको छ ।

फोन घुमाउन सक्ने र जान्नेले मात्रै अब अस्पतालमा बेड पाउने स्थिति सिर्जना हुँदा अस्पताल प्रशासनलाई मनोवैज्ञानिक दवाव परेको छ । सर्वसाधारण स्वास्थ्य सेवा लिन पहुँचको पछि लाग्नु पर्ने भएको छ, यसले भोटको गणितलाई पनि प्रभाव पार्ने छ ।

मुलुक भरिका १५ सय सघन उपचार शैय्या र ८ सय भेन्टिलेटर सङ्क्रमणको अनुपातमा पर्याप्त छैनन् । सघन उपचार कक्ष र भेन्टिलेटरभन्दा बिरामी बढि देखिएका छन् । महिना दिनमै अस्पतालले बिरामीको भार धान्न नसक्ने अवस्था आएको छ । यो अनुपात बढ्दा अस्पतालको भुईमा समेत खुट्टा राख्ने ठाउँ नहुन सक्छ । परीक्षणको दायरा फराकिलो बनाउने नीति कायमै राख्नुपर्छ । परीक्षणमा पोजेटिभ देखिएकालाई आइसोलेसनमा बस्ने योजना ल्याउनुपर्छ । सम्पर्कमा आएकालाई पहिचान गर्न ढिलो गर्दा भुसको आगो जस्तै हुनसक्छ । रणनीतिक योजनामा दू्रतगतिमा कार्यान्वयन हुन आवश्यक छ । सङ्क्रमित खुलमखुला हिँडडुल गरेमा कारवाही गर्ने सरकारी नीति कागजमा मात्रै सीमित रहनु हुँदैन् ।

काठमाडौंलाई कोरोना सङ्क्रमितको व्यवस्थापन गर्न हम्मेहम्मे परिसकेको छ । कार्यनीति र कार्यविधि ठीक नहुँदा यसको असर सर्वसाधारणमा परेको छ । लामो लकडाउन पछाडि बजारमा भीडभाड बढ्यो । नागरिकले माक्स लगाएनन्, भौतिक दूरी कायम गरेनन् र व्यवहारमा परिवर्तन आएन त्यसैले कोरोना बढ्यो, सरकार यही भनिरहेको छ । यही सत्यलाई आधार माने पनि सर्वसाधारणलाई स्वास्थ्य विधि अप्नाउन सरकारले प्रोत्साहन गर्नुपर्छ भने नागरिकले कर्तव्य पालना गर्नुपर्छ ।

‘उज्यालो नहुँदै झुकक्यायो जूनपापी ताराले… ’ रत्यौलीको गीत जस्तै कसैलाई गाली गरेर आफ्नो दम्भ प्रदर्शन गरेर समस्या टर्दैन् । सरकार समयमै बिउँझिनु पर्नेछ । ऋतु परिवर्तनसँगै चाडपर्व आँगनसम्म आइपुगेका छन् । परम्परागत पारामै चाडपर्व मनाउनु घातक हुनसक्छ । संस्कार र संस्कृतिमा परिमार्जनको खाँचो देखिइसकेको छ । सरकारको मात्रै भर नपरी नागरिक स्वयम्ले स्वास्थ्य सावधानी अप्नाउनु अपरिहार्य बनेको छ । समस्या आइसकेपछि सरकारको मुख ताक्दा ढिलो हुन सक्छ । सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि आफ्ना अवयवलाई चलायमान र जागरुक बनाउनु पर्छ । काठमाडौं कोराना कारखाना मात्रै होइन कालको मुख नबनोस् ।

pokhara internet
Comments
Loading...