NTHMC
aama movie

‘काठमाण्डू’ नदेखेका दुर्गमान दराईको ८० वर्षे विन्दासी

पोखरा/

नाम दुर्गमान दराई । उमेर ८० वर्ष । ठेगाना बौदीकाली गाउँपालिका–२ डेढगाउँ, नवलपुर । पेशा परम्परागत कृषि । चार छोरा, चार छोरी सबै मिलाएर ३४ जना नातिनातिना ।

गण्डकी प्रदेशको नवलपुर जिल्ला स्थित बौदीकाली गाउँपालिका–२ का रैथाने दुर्गमानको सरसर्ती परिचयन यही नै हो । तर उनको खास परिचय चाहिँ उनको ‘विन्दासीपन’ नै हो । आजकल मानिसहरु ‘भोली मर्ने’ थाहा हुँदाहुँदै पनि भोलीको बारेमा टाउको दुखाउन छोड्दैनन् ।

सामाजिक सम्बन्धका जालाहरु जटिल हुँदै जाँदा यो जटिलताले मानिसको चिन्ताको ‘ग्राफ’ पनि बढाईदिएको छ । अनि सामाजिक सम्बन्धको जालोलाई आर्थिक प्रबृत्तिले भरपुर टेवा दिईरहेको छ । जसका कारण मानिसहरु हरपल चिन्तामा देखिन थालेका छन् । अझ भनौं डिप्रेसनको शिकार । मानिसहरु यति व्यस्त छन् की उनीहरुलाई आफ्नो बारेमा सोच्ने फुर्सद नै छैन् ।

तर दुर्गमान दराई ? उनलाई ‘नो टेन्सन् ।’

चिसो मौसम छ । विहानै उठ्छन् । घरको पछाडीपट्टी एउटा सानो टहरो जस्तो छ । माथिबाट घामपानी ओत्छ तर वरिपरिवाट सिरेटो र वाछिटा रोक्दैन । त्यहाँ आगोको जोरजाम गर्छन् । भुँग्रो बनाउँछन् र भर्खर बारिबाट खनिएका दुधे पिँडालुका केही छाउरा घुसार्छन् ।

यति गरिसकेपछि उनले आफुलाई ‘फ्रेस’ बनाउँछन् । डेढगाउँ उपत्यकामा चिसो अन्य स्थानमा जस्तै छ । त्यो चिसोले उनलाई मात्रै किन छोड्थ्यो र ? हात खुट्टा चिसोले कक्रिएका छन् । पिँडालुजस्तै हातखुट्टा पनि उनलाई भुँग्रोमा घुसारौंजस्तो हुन्छ उनलाई । जे भएपछि उनले एकछिन बाहिरी छालालाई मनतातो बनाउँछन् । तर मुटु काँप्न किन छोड्थ्यो र ?

मुटु काँपेको उपचार पनि उनले खोजिसकेका छन् । भित्र गएर सिलोटको एउटा ठुलो बटुकामा आधाउधी जति जाँड हाल्छन् । त्यसमा तातो पानी हाल्छन् र मुटु काँपेको उपचार गर्न थाल्छन् । ‘यो जाडोमा जाँड नखाई कसरी बस्ने हो र ?’ ‘पहिलो पानी’ चिरिप्प पारेपछि उनी खुल्न थाले । र लगत्तै ‘दोस्रो पानी’ थपे ।

दोस्रो पानी थप्दा उनले सखारै घुसारेका पिँडालु पनि लभभग पाक्न थालिसकेका हुन्छन् । उनको दोस्रो पानी शुरु हुन्छ पिँडालुको सिनतसँग । खरानी खोस्रेर एउटा पिँडालुमा नङ् गाडे अल्लि नपाकेको भएकाले उनले त्यसलाई जहाँको तहिँ, जस्ताको तस्तै राखे । अर्को विचार गरे । पाकेको रहेछ । खोल्साए र जाँडसँग खाए । यसरी उनले आधा बटुको जाँडमा तीन/चार पटक पानी थप्छन् । यति गर्दा घाम पनि तन्नेरी भईसकेको हुन्छ ।

त्यसपछि ?

त्यसपछि पनि उनको विन्दासी रोकिँदैन् । खाना खाएर गाउँ चाहार्छन् । गाउँमा दुःख सुखका बात मार्छन् । चौतारिमा कोही भेटिए भने गफिन्छन् । उनी कुनै पनि कुराको फिक्री लिँदैनन् । एक वर्ष अघि उनले जहान गुमाए । ‘आखिर जानु नै रैछ त ।’ मुखवाट तातो वाफ निकाल्दै उनले भने ।

चार छोरा र चार छोरीलाई थान्को लगाउँदा उनको पेशा कृषि नै थियो र छोराहरुको पेशा पनि मुलतः कृषि नै हो । दुई छोरा विदेश छन् । दुई छोरा गाउँमै छन् । सबैले आफ्नो आफ्नो मेसो लिएका छन् । उनी कान्छो छोरापट्टि बसेका छन् । उनको विन्दासीपनबाट छोरा बुहारी पनि अचम्मित छन् । ‘बाजेको दिन नै जाँडबाट शुरु हुन्छ ।’ बुहारी हाँस्दै भन्छिन् ।

जीवनको ८० वर्षमा पुग्दा उनलाई अपुग्दो केही भएन । त्यसो ‘काल पनि लिन आउँदा ढोकाबाट निहुरिएर पसोस्’ भनेजस्तै उनको होचो एकतल्ले घर छ । अर्थात भर्नौ कान्छा छोराको । घरको वरिपरि आधुनिक घर बन्न थालेका छन् । अर्थात डेढगाउँ गाउँबाट बजार बन्ने तरखरमा छ । तर उनलाई त्यही आफनो होचो घर नै काफी छ । त्यही घरले नै सन्तुष्टि दिएको छ । जीवनमा खुपै गरम्, पैसा कमाम्, धुरी हेर्दा टोपी खस्ने घर बनाम् भन्ने महत्वाकाँक्षा पनि दुर्गमानमा कहिल्यै पलाएन ।

यो त अझै परको कुरा । उनमा देशको राजधानी काठमाडौं जाम् जाम् पनि भएन । ‘त्यहाँ त एक पटक पनि गएको छैन ।’ धुवाँको पिरोले आँखाको चेपमा निस्केको आँसु पुछ्दै उनले भने । तर उनी किशोर अवस्थामा अदुवा लिएर बुटवलसम्म गएका छन् । त्यो उनको बाध्यता थियो । गाउँबाट अदुवा लिएर बुटवल जाने र उताबाट घरखर्ची सामान लिएर आउने । उनी दुईचार पटक तनहूँ सदरमुकाम दमौली गएका छन् । पोखरा र उनी जीवनमा एकपटक मात्रै आएका छन् ।

जीवनमा आफ्ना ८ सन्तानको तारतम्य मिलाईदिए । उनलाई जीवनको सफलता नै यही हो जस्तो लाग्छ । अर्थात छोराछोरीको राम्रो घरजम भएको हेर्ने एउटा बुढो किसानको सपना पुरा भएको छ । त्यही पुरा भएको सपनाको सम्झनामा उनी विन्दास जीवन बाँचिरहेको छ । यहाँ भन्दा उनको सन्तुष्टि केही छैन ।

मानिसहरु सन्तुष्टिलाई आर्थिक उपार्जन, घर, गाडी घो्डा, वैंक व्यालेन्ससँग दाँजेर हेर्न अभ्यस्त छन् । उनीहरु त अभ्यस्त छन् तर आर्थिक उपार्जन, घर, गाडी घोडा बैंक व्यालेन्स सबैले परिपूर्ण भएको मानिस सन्तुष्ट छ त ? उनीहरु त्यो मापन गर्न सकिरहेका छैनन् ।

डेढगाउँको दराई बस्तीको एउटा होचो घरमा बसेर आँखा चिम्लेर बाँच्ने बुढो किसान सुखी कि ? व्यस्त सहरको बिचमा अग्लो घर सहितका गाडी भएर नचिनेको फोन नम्बर रिसिभ गर्न डराउने र कतिपय चिनेको नम्बरलाई व्ल्याक लिष्टमा राख्न बाध्य धनाड्य सुखी ?

जिन्दगीमा यस्तो गर्न पाएको भए हुन्थ्यो, गर्न सकिएन भन्ने कुनै कुरा छ ? कुराको विट मार्न दुर्गमानलाई यो प्रश्न सोधियो ।

‘अहिलेसम्म जे पाएको छु, भरिपूर्ण छ । अब यो उमेरमा आएर यो गर्न सकिनँ भनेर गुनासो गर्नुको के अर्थ ?’ अन्तिम घुट्को जाँड निलिसकेर खोल्साईसकेको अन्तिम छाउरो पिँडालुलाई फु ..फु.. गर्दै उनले प्रतिप्रश्न गरे ।

तस्विर : अमृत क्षेत्री

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?