संकटमा पोखराको दोहोरी साँझ : लगानी डुब्ने खतरा, एक हजार बढी कर्मचारीको रोजिरोटी गुम्दै (भिडियो )

सन्तोष बस्याल
पोखरा /

तीन महिना लामो लकडाउन सकिएको निकै दिन भयो । धेरैले सोचेका थिए– लकडाउन अन्त्य भएपछि देश पुरानै अवस्थामा फर्कन्छ । तर, देशको अर्थतन्त्र र हरेक क्षेत्र डामाडोल छ । लकडाउन खुल्यो, तर कोरोना संक्रमण समुदायस्तरमा फैलियो । जसका कारण देश पुरानो लयमा फर्कने सम्भावना तत्काल कम छ । अहिले त्रासका बीच पनि रेष्टुरेन्ट तथा होटल खुलेका छन् । सामाजिक सुरक्षा अपनाउँदै सेवा प्रवाह समेत गरिएको पाइन्छ । सरकारले नाइटक्लब, दोहोरी रेष्टुरेण्ट, सिनेमा हल, गजललगायतका व्यवसायहरू भने अहिले नै खुल्न सक्ने अवस्था नरहेको बताउँदै आएको छ । कोरोना महामारीका कारण पोखराका दोहोरी रेष्टुरेण्टमा लकडाउनको प्रभाव बढेको व्यवसायीहरू बताउँछन् । दोहोरी साँझ रेष्टुरेण्ट सञ्चालनमा आउन नसक्दा आश्रित कर्मचारीको रोजीरोटीमै असर पुगेको छ ।

roma

पोखरामा २४ वटा दोहोरी साँझ रेष्टुरेण्ट सञ्चालनमा छन् । लगभग एक हजार ५० कर्मचारी आश्रित छन् । सामाजिक सुरक्षा अप्नाउँदै सरकारकै निर्देशन अनरूप रेष्टुरेण्ट सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ । यस विषयमा दोहोरी साँझ रेष्टुरेण्टहरूको छाता संगठन पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र समेत बुझाइ सकेको छ ।

ICAS

दोहोरी साँझहरूले कोरोनाका कारण भोग्नुपरेको समस्या, चुनौती र अबको सम्भावनाको विषयमा पोखराका ६ वटा दोहोरी साँझ रेष्टुरेण्टका सञ्चालकसँग गरिएको कुराकानीको सम्पादित अंश :

जीवन गुरुङ ( सञ्चालक, निरमाया दोहोरी साँझ)
पोखराको चिप्लेढुङ्गामा अवस्थित निरमाया दोहोरी साँझ विगत १४ वर्षदेखि सञ्चालनमा छ । लकडाउनका कारण सबै क्षेत्रमा असर परिरहँदा दोहोरी रेष्टुरेण्ट अछुतो रहने कुरै भएन । हाल केही व्यवसायहरू सञ्चालनमा आएका छन् ।

कोरोना संक्रमण संख्यामा समेत पछिल्लो समय वृद्धि भएको पाइन्छ । कोरोनासँग डराएर भन्दा पनि जुधेर काममा फर्किनुपर्ने बाध्यात्मक अवस्था छ । सोही अवस्थालाई मध्येनजर गर्दै हामी दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरू सरकारी नीति निर्देशनको पालनाअनुसार सामाजिक सुरक्षालाई ख्याल गर्दै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागमा छौं । अहिले दोहोरी साँझ रेष्टुरेण्टलाई घरभाडाको समस्या छ । व्यवसाय सञ्चालन नहुँदा कर्मचारीको मनोबलमा समेत गिरावट आएको छ । हामीलाई थाहा छ दोहोरी रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्न अब थप चुनौती आउनेवाला छ । पुनःनिर्मित गरी सञ्चालन गर्नुपर्ने दोहोरी साँझहरू समेत छन् । केही त भर्खरै सञ्चालनमा आएका छन् । अन्य व्यवसायको लगानीको सुरक्षा सरकारले गर्दै गर्दा दोहोरी साँझ रेष्टुरेण्टको हकमा पनि नीति नियम बनाउनुपर्ने हाम्रो माग हो । म दोहोरी साँझको सञ्चालक सँगै पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघको अध्यक्ष भएकाले घरबेटीहरूलाई भाडा छुटको आग्रह गर्दछु ।

अरुण गुरुङ (सञ्चालक, आँधिखोला दोहोरी साँझ)
कोभिड १९ संक्रमणले विश्वका हरेक क्षेत्रमा असर परिरहँदा दोहोरी रेष्टुरेण्टमा समेत असर नपर्ने कुरै भएन । समस्याहरू धेरै छन् । घरभाडादेखि कर्मचारीको रोजीरोटीको कुरा छ । मेरो दोहोरी साँझमा ४५ जना कर्मचारी काम गर्छन् । सबैको आम्दानीको स्रोत भनेकै दोहोरी रेष्टुरेण्ट हो ।  बस्न घरभाडा छैन, खान खर्च छैन भन्दै कर्मचारीका गुनासाहरू हरेक दिन सुन्नुपर्ने भएको छ । सञ्चालन गरेको ३ महिनामै कोरोनाका कारण व्यवसाय ठप्प भयो । लकडाउनको अन्त्य हुँदा केही आश लागेको थियो । तर कोरोना संक्रमण दिनप्रतिदिन बढ्दा यसले झन समस्या ल्याउने हो कि भन्ने भान हुन्छ । लकडाउन फेरि भयो भने त आपत नै हुन्छ । रेष्टुरेण्ट सञ्चालनका लागि सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने देख्छु । सामाजिक सुरक्षा अपनाउँदै दोहोरी रेष्टुरेण्ट सञ्चालन गर्न आतुर छु । र यो सम्भव पनि छ ।

parichay

प्रदीप तिवारी (सञ्चालक, कास्की न्युरोड दोहोरी साँझ)
लकडाउनको अन्त्यसँगै अन्य व्यवसाय सुचारु हुँदा हामीले पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । दोहोरी साँझकै कारण कोरोना संक्रमण हुन्छ भन्ने पनि छैन । सामाजिक सुरक्षाको विषयलाई अवलम्बन गर्दै हामी रेष्टुरेण्ट सञ्चालन गर्न तयार छौँ । अन्य व्यवसाय क्षेत्रको आवाज सरकारले सुनिरहँदा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरूको मागलाई समेत सम्बोधन गर्नुपर्ने देख्छु । सीमित मान्छेलाई सेवा प्रवाह गर्ने गरी सरकारले निर्देशन दिनुपर्ने आवश्यकता छ ।  दोहोरी साँझ सबै ठप्प हुँदा सञ्चालक मात्र नभई कर्मचारीमा समेत मानसिक एंव आर्थिक समस्या परिरहेको छ । मेरो दोहोरी रेष्टुरेण्टमा ३५ जना कर्मचारी आश्रित छन् । उनीहरूको दैनिकी यसैबाट चलिरहेको छ । थाहा छ सरकारले हाम्रै सुरक्षाका लागि दोहोरी रेष्टुरेण्ट सञ्चालन केही समय नगर्ने भन्ने निर्देशन दिएको हो । तर, कोरोनाको डरले भन्दा भोकमरीले समस्या निम्त्याउने होकि भन्ने चिन्ता छ । त्यसैले सरकारले दोहोरी व्यवसायीहरूको मर्का बुझिदिनुपर्र्छ ।

भिडिओ हेर्न यहाँ किल्क गर्नुहोस् :

उत्तम गुरुङ (सञ्चालक, रूपाहिल दोहोरी साँझ)
दोहोरी साँझ सञ्चालकसँगै कर्मचारी हामी सबै अहिलेको अवस्थामा पीडित छौँ । कोरोना कहरका कारण धेरै समस्यामा अझ कर्मचारी छन् । हाम्रो दोहोरीमा ४५ जना कर्मचारी काम गर्छन् । एक जनाले काम गरेबापत उनीहरूको ४ जनाको परिवारको भोक टर्छ । यसरी करिब दुई सय जना दोहोरीमै आश्रित छन् । हामीले पनि आफैँसँग पैसा नभएर बैंकबाट लोन झिकेर नेपालमै केही गर्नुपर्छ भन्ने अभिप्रायले लगानी गरेका हौँ । सरकारले अहिलेको समयमा सबै व्यवसायलाई समानरूपमा हेरिदिनुपर्छ । अन्य व्यवसायलाई सुरक्षात्मक तवरले सञ्चालन गर्न दिँदा हाम्रो व्यवसायको विषयमा समेत सरकारले उचित नीति निर्माण गर्नुपर्ने आवश्यकता छ । सरकारको निर्देशन अनुरूप हामी आफ्नो व्यवसाय सञ्चालन गर्न तयार छौं ।

विष्णु आचार्य (सञ्चालक, बगैँचा दोहोरी साँझ)
लकडाउन चैतको ११ गतेबाट भए पनि हाम्रो व्यवसाय चैत ५ गतेबाट नै बन्द भयो । करिब चार महिना जति बन्दाबन्दीको चपेटामा परियो । साउन ७ गते लकडाउनको अन्त्यसँगै सरकारले दोहोरी व्यवसायीको हकमा समेत केही निर्णय गर्ला भन्ने लागेको थियो । तर अन्य सबै व्यवसाय सञ्चालनमा आउँदा दोहोरी व्यवसाय अझै पनि ठप्प छ । मेरोमा ३८ जना कर्मचारी छन् । उनीहरू सबै दोहोरीमै आश्रित छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा अझ कति समय लाग्ने हो यसको कुनै हेक्का छैन । त्यसैले सरकारले दिएको मापदण्डअनुसार सुरक्षा नीति अपनाएर दोहोरी साँझ सञ्चालन गर्न दिए राम्रै हुन्छ जस्तो लाग्छ । अर्को कुरा दोहोरी साँझ भनेको लोकल व्यवसाय हो । हामी कहाँ बढी यहाँकै ग्राहकहरू आउने गर्नुहुन्छ । बाहिरका मानिससँग त्यति सम्पर्क हुँदैन । नाइटक्लब भन्दा दोहोरी साँझ व्यवसाय सञ्चालनमा सम्भावना देखिन्छ ।

दीपक थापा (सञ्चालक, बरपिपल दोहोरी साँझ)
म आफै कलाकार हुँ । कोरोना कहर चारैतिर हुँदा सबैभन्दा मर्कामा परेको क्षेत्र हो हाम्रो । २७ वर्षको कलाकारिताको अनुभवमा यस्तो समस्या पहिलो पटक भोग्दै छु । नाम नै नसुनेको रोगले सताइरहेको छ । नेपालमै केही गर्ने हेतुले पहिलो पटक दोहोरीमा लगानी गरेँ । आफुले जानेको बुझेको व्यवसाय नै दोहोरी हो । विस्तारै राम्रो हुँदै थियो । कोरोनाले चौपट बनायो । हुन त महामारीले पाठ सिकाएको छ । तर दोहोरीका अन्य कलाकारको समस्या सुन्दा दया लागेर आउँछ । सरकारले समयमै दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी सँगै कर्मचारीको समस्यालाई सम्बोधन हुने गरी नीतिनिर्माण बनाउन आवश्यक छ । अन्य व्यवसाय चलिरहँदा हामी काम नगरी बस्न सकेनौ । सामाजिक सुरक्षाको विषयलाई अप्नाएर दोहोरी रेष्टुरेण्ट सञ्चालन गर्ने सम्भावना देख्छु ।

भिडिओ : प्रेम थापा, परिचय नेटवर्क

pokhara internet
Comments
Loading...